पशुपति एकेडेमीमा कक्षा-३ मा पढ्छन्,
दीपेन्द्र डाँगी । उनलाई गएको आइतबार स्कुलमा साथीहरूले घेरा हालेर सोधे,
'तिमीले चढेको प्लेन कस्तो थियो ?' डाँगीले आकाशतिर हेर्दै साथीहरूलाई भने,
'एक्कैछिन पख ल, आकाशमा आउँछ अनि देखाउँछु ।' ठ्याक्कै त्यही भए पनि नभए
पनि उनले एक दिन अगाडि आफू चढेझैं लाग्ने जहाज देखाए साथीहरूलाई । उनले
सुनाए, 'हामीले यहाँबाट देख्ने प्लेन मात्र सानो हो, चढ्न जाँदा त क्या ठूलो
हुँदो रै'छ ।' उनको कुरा सुनेपछि त्यसअघि हवाई जहाज नचढेका थुप्रैले अचम्म
माने ।
दीपेन्द्र काठमाडौंको बाल मन्दिरमा बस्छन् । त्यहाँ उनीजस्ता एक सय ५० जना
बालबालिका बस्छन् । कोही बाबुआमा दुवै गुमाएका त कोही आमाबुवामध्ये कसैले
अर्को विवाह गरेपछि अलपत्र भएका छन् । शारीरिक-मानसिक समस्या झेलिरहँदा वा
आमाबुवा जेलभित्र हुँदा स्याहार गर्ने कोही नभएपछि एक्लो भएका पनि छन् बाल
मन्दिरमा । प्लेनमा उडाउने भनेपछि कसलाई, उडाउने कसलाई नउडाउने छान्न निकै
हम्मेहम्मे परेको बाल मन्दिरका उपनिर्देशक बालकृष्ण डंगोल बताउँछन् ।
१८ जना लैजान मिल्नेमा उनीहरूले आधा छात्र, आधा छात्रा छाने । बोल्न र
सुन्न दुवै नसक्ने कविता गुरुङ एवं मानसिक विकास राम्रोसँग नभएकी आशा
क्षेत्रीलाई छुटाउनै नहुने ठाने । बौद्धिक विकास राम्रोसँग नभएका
दिदी-बहिनी अनिता दाहाल र संगीता दाहालले पनि हवाई जहाज चढ्न पाए । प्लेन
चढ्दा उनीहरू यति खुसी भएछन् कि अरू साथीहरूले उनीहरू त्यति धेरै रमाएको
यसअघि देखेकै रहेनछन् ।
भाद्र २९ अर्थात् बाल दिवसको अवसर पारेर उनीहरूलाई यति एयरलाइन्सले
माउन्टेन फ्लाइटमा लगेको थियो । माउन्टेन फ्लाइट हवाई जहाजबाटै हिमालहरू
नजिकबाट चियाउने अवसर हो । अनिताले भनिन्, 'झन् त्यसमाथि प्लेनमा एयर
होस्टेस दिदीले कलर ब्याग र टि-सर्ट पनि दिनुभयो ।'
प्लेनबाट तल हेर्दा घर र गाडीहरू कस्ता देखिन्छन् भन्ने जान्न धेरै रहर
लागेको थियो रे पूजा महरालाई । उनले भनिन्, 'प्लेन उड्न थालेपछि घरहरू त
कस्तो सानो सानो देखिन थाले । पछि त केही पनि देखिएन ।' सबैलाई चकित पारेको
कुरा त बादलभन्दा माथि प्लेन उडेको देखेर रे । कक्षा ३ मा पढ्ने वसन्त
नेपालीले कोपिलालाई भने, 'बादल कत्ति धेरै माथि छ भन्ने लाग्थ्यो, प्लेन त
त्योभन्दा नि माथि पुग्दो रै'छ ।' जब प्लेन हिमालको नजिक पुग्यो एयर
होस्टेस अस्मिता अग्रवालले पालैपालो हिमालको नाम भन्दै चिनाइन् ।
उनीहरूसँगै हास्यकलाकार हरिवंश आचार्य पनि थिए । त्यतिधेरै नजिकबाट हिमाल
देख्दा धेरैलाई त त्यहीं झरेर हिमाल चढ्न मन लागेछ । उनीहरू पालैपालो पाइलट
बस्ने ठाउँ 'ककपिट' पनि छिरे । पूजा भन्छिन्, 'म त गाडीमा जस्तो घुमाउने
ह्यान्डिल हुन्छ भने सोचेको त ककपिटमा त कति धेरै बटन चिथ्ने कुराहरू मात्र
हुँदो रहेछ ।'