Showing posts with label QnA. Show all posts
Showing posts with label QnA. Show all posts

Saturday, December 6, 2014

[QnA] अन्तर्राष्ट्रिय पुस्तकको बजार निकै क्रुर छ -- नारायण वाग्ले

पत्रकार नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’को फ्रेन्च संस्करण हालै सार्वजनिक भएको छ । २०६१ सालमा पहिलोपटक प्रकाशित उपन्यास अंग्रेजी र कोरियन संकरण यसअघि नै बजारमा आइसकेका छन् । यही परिवेशमा लेखक वाग्लेसँग गरिएको कुराकानी ।

ट्रेन्डसेटर पुस्तकको लेखक हुनुको मज्जा के छ ?
ट्रेन्डसेटर अरुको टिप्पणी हो । मेरा लागि त यो उपन्यास मात्र हो । लेखक हुनुको मज्जा उसको निरन्तरतामा हुन्छ किनकि उसले कथा भन्ने पदवी पाएको हुन्छ । एउटा लेखेर थन्किनु भनेको चट्याङ परेजस्तो हो ।

पुस्तक कसरी लामो समयसम्म विकिरहन्छ ?
कथाभित्रको तत्व र त्यसले बोक्ने समयको शक्तिले लामो कालखण्डसम्म तान्छ । पल्पसा क्याफेको कथामा समयलाई स्पन्दन गर्ने शक्ति छ ।

अन्तर्राष्ट्रिय बजारमा जानुको चुनौति के छ ?
हाम्रा पुस्तक अनुवाद भएर बाहिर जाने बलियो परम्परा नहुँदा विदेशी भाषाका पाठकसँग हाम्रो पहुँच छैन । नाम नसुनिएका लेखकको किताब सितिमिति विदेशी बजारमा जाँदैनन् ।

अन्तर्राष्ट्रिय बजारमा कस्ता पुस्तक विक्छन् ?
अन्तर्राष्ट्रिय पुस्तकको बजार निकै क्रुर छ । जसले अन्तर्राष्ट्रिय पुरस्कार, रोयल्टी वा अन्तर्राष्ट्रिय पहिचान पाएका आधारलाई हेरेर पुस्तकको बजार तय गर्छ । नेपाली पुस्तकको त्यो परिवेश नहुँदा विक्री र प्रतिक्रिया दुवै कम आउँछन् । 

पहिलो कृतिले धेरै चिनाउँछ कि राम्रो कृतिले ?
ती सबै पाठक र बजारको अवधारणामा निर्भर हुन्छ जुन लेखकको बसमा हुँदैन । तर पहिलोबाट धेरै चिनिएका छन् । जस्तो, सलमान रुस्दीको मिडनाइट चिल्ड्रेन होस वा पारिजातको शिरिशको फूल जत्तिको उनीहरुले कहिल्यै लेखेनन् भनिन्छ ।

पत्रकार भएर उपन्यासकार हुनुको फाइदा ?
म पत्रकार नभएको भए पल्पसा क्याफे नै जन्मंदैनथ्यो । लेखिए पनि यसरी लेखिन्थेन । तत्कालिन द्वन्द्वको बस्तुगत अवस्था र सुचना प्रत्यक्ष देख्न पाएं ।

पुस्तकबारे सम्झिरहने प्रतिक्रिया ?
हालै नगरकोटको एउटा एटिएम बाहिर दुई जना मलाई भेट्न पर्खिरहेका थिए । एउटा चित्रकार थिए जसले पल्पसाको नाममा आर्ट ग्यालरी खोलेका रहेछन् । अर्को अक्सर पढ्न नरुचाउने मान्छे हुँदाहुँदै पनि फ्लाइटफोमिया मेट्न साथीबाट पाएर पढेछन् । उनलाई किन राम्रो लागेछ भने अरु किताब नै पढेका रहेनछन् ।

Thursday, July 3, 2014

के पूर्विय, के पश्चिमा ? -- सम्राट उपाध्याय

अंग्रेजीमा लेख्ने नेपाली लेखक सम्राट उपाध्यायको छैटौँ कृति द सिटी सन उपन्यास यही वर्ष प्रकाशित भएको छ । अमेरिकाको इन्डियाना युनिभर्सिटीका प्राध्यापक उपाध्यायको सन् २००३ को उपन्यास द गुरू अफ लभलाई न्युयोर्क टाइम्सले वर्षको सम्झनलायक  पुस्तकको सूचीमा पारेको थियो । नयाँ पुस्तकका सन्दर्भमा उनीसँगको कुराकानी:

द सिटी सनको कथावस्तु के हो ? नेपाली बजारमा पुस्तक कहिले आउँछ ?
आफ्नी सौतेनी आमासँग अस्वाभाविक सम्बन्ध बनाउन पुगेको युवाको कथा छ, यसमा । वाल स्टि्रट जर्नलले यसलाई 'बाल दुराचार र यौनिक अपनत्वबारेको तनावरहित उपन्यास' भनेको छ । पुस्तक केही महिनाभित्रै नेपाली बजारमा आइपुग्छ  ।

पश्चिमा पाठकलाई नेपाली परिवेशका कथा बुझाउन कत्तिको सहज छ ?
सहज किन पनि छ भने मैले पश्चिमा पाठकका लागि मात्र कथा भनिरहेको छैन । कथा सुन्न खोज्ने पूर्वीय, पश्चिमा वा त्यसबीचमा पर्ने जो-कोहीका लागि सोचेर कथा लेखिरहेको हुन्छु । बरु समस्या प्राथमिक भाषा अंग्रेजी नभएको परिवेश र मानिसका  कथालाई कसरी अंग्रेजीमा लेख्ने भन्ने हो । यद्यपि, कतिपय कुरा अनुवादका बेला चुनौती बन्छन् । तर, अंग्रेजीमा लेख्दाको रमाइलो आफ्नो स्थानमा छ ।

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको सन्दर्भलाई कसरी बुझ्नुभएको छ ?
नेपाली साहित्यलाई विश्वस्तरमा कसैले चिन्न सकेन भनेर पछुताउनुको अर्थ छैन । यसरी तुलना गर्नेहरूले नै पर्याप्त मात्रामा विश्व साहित्यको अध्ययन गरेका छैनन् । अंग्रेजीमा अनुवाद भइरहेका नेपाली साहित्यको अनुवादको स्तरसमेत कमजोर  भएका कारण त्यस्तो पहल झनै निरर्थक बनिरहेका छन् । अध्ययनका उच्च तहमै पनि अंग्रेजीको स्तर नेपालमा निकै कमजोर छ ।

यहाँको पहिलो छोटा कथाको संग्रह अरेस्टिङ गड इन काठमाण्डूमा पूर्वीयवादलाई पश्चिमा जगत्को आँखाबाट प्रचार गरेको आलोचनालाई कसरी लिनुहुन्छ ?
म स्पष्टीकरण दिन किन पनि आवश्यक ठान्दिनँ भने ती आलोचनालाई त्यति धेरै सत्य मान्दिनँ । आलोचकहरूले त्यसलाई सतही रूपमा बुझेका छन् । ती साहित्य र सत्य वान टु वान सम्बन्धमा आधारित हुन् । मैले नबुझेको कुरा 'के पूर्वीय, के पश्चिमा'  भन्ने हो । कान्तिपुर टीभीले अंग्रेजी समाचार बजाउनुअघि नेपाली मन्दिर र लोकनृत्य देखाउँछ, पोखराका ट्याक्सी ड्राइभरहरू एकअर्कामा 'गुड मर्निङ' साट्छन्, त्यसलाई पूर्वीय भन्ने कि पश्चिमा ?

Thursday, May 29, 2014

[QnA] All eyes on K2

A conversation with mountaineer Maya Sherpa, 35 (pic, left), who with Pasang Lhamu Sherpa, 29, and Dawa Yangjum Sherpa, 25, is preparing to climb Mt K2 in Pakistan, the second highest peak in the world, to raise awareness about the effects of climate change on mountain ranges.

Why climb K2?

Mountaineering is like an addiction and all of us are fully immersed in it. We have experience climbing other peaks, but we also wanted a more technical challenge. And it can’t get any more technical than K2. You need to master rock climbing, ice climbing, and snow climbing techniques to summit K2, which is why they call it the ‘mountain of mountains’. Very few people repeat expeditions to K2 and only 317 people have reached the top in 60 years of mountaineering. One in four summiteers die. Seven women have summited K2, three of whom did not make it back.

Do you think you have what it takes?

Well, you’ll never know until you actually face difficulties. But we’re full of confidence and training hard.

Have you summited Everest before?

Since mountaineering is our business, we practically go up and down Sagarmatha. Pasang and I got the chance to summit in 2007 and Dawa in 2012.

How did your expedition get a climate change connection?

Because ours is the first all-woman team to take on K2, a lot of people wanted us to focus on the gender side of things. Others wanted us to campaign for domestic violence. But we had seen ourselves what climate change does to mountains and because of the recent incident on Everest, we thought raising awareness about climate change would be best.

How did you gather support?

Even the most economical of expeditions cost at least Rs 80,00,000. We were fortunate that organisations like Sherpa Gear, ICIMOD, Nepal Mountaineering Association, Trekking Agencies Association of Nepal and other mountaineering companies contributed to 70 per cent of our cost. And people from our community filled the gap saying they wanted us to go ahead in high confidence. Now we will summit come what may.

First Appeared in Nepal Magazine. Re-appeared with English translation in Nepali Times

Saturday, May 17, 2014

'एज अफ स्पेस'मा नेपाली झण्डा

अमेरिकाको बोस्टनस्थित नर्थइस्टन युनिभर्सिटीमा कम्प्युटर इञ्जिनियरमा स्तानक गरिरहेका क्षितिज लोहनी, २१, ले अन्तरिक्ष (एज अफ स्पेस)मा पहिलोपटक नेपाली झण्डा फहराउन र राष्ट्रिय गान बजाउन सफल भएका छन् । बैशाख १७ मा पृथ्वीको सतहभन्दा ८० हजार फिटमा उक्त काम सफल भएको थियो । सुनौ उनको अनुभव :
 
नेपाली झण्डा हेलियम बेलुनमा राखेर पठाइएको थियो । खासमा मेरो उद्देश्य अहिलेसम्म जेट विमान उड्ने ३५ हजार फिट माथि मात्रै पुर्‍याउन सके हुन्थ्यो भन्ने थियो । तर त्यो भन्दा दोब्बर नै माथिसम्म बेलुन पुग्यो । जहाँबाट अन्तरिक्षको अन्धकार र पृथ्वीको आकार राम्रोसँग छुट्याउन सकिन्छ ।

मैले बेलुनमा एउटा नयाँ र दुईवटा बिग्रेर फ्याकेका क्यामेरालाई मर्मत गरेर प्रयोग गरेको थिएँ । माथिको अत्याधिक चिसो, चापबाट बचाउन र सीमित उर्जामा धेरै समय काम सम्भव गराउन तिनलाई आफ्नो योजना अनुकुल मोडिफाई गरें । दुई वटाले तल र माथिबाट भिडियो खिच्थे र एउटाले तस्विर । त्यस्तै पुराना बिग्रेका एन्ड्रोइड मोवाइलमा ग्लोबल पोजिसनिङ सिस्टम सेट गरेर निश्चित उचाई लिएपछि राष्ट्रिय गान बजिरहने गराएँ । जमिन छाडेदेखि जमिन टेक्दासम्म ८० माइल यात्रा तय गरेको थियो । जसका लागि १ घण्टा ५८ मिनेट लाग्यो ।

विदेशमा बस्ने धेरै नेपालीले देशका लागि केही राम्रो गर्न खोजिरहेका हुन्छन् । पैसा र पहुँच हुनेले च्यारिटीदेखि अन्य सहयोग गर्छन् । मजस्ता विद्यार्थीलाई त्यो सम्भव हुँदैन । त्यसैले सिमित स्रोतबाट नेपालीलाई गर्व हुने केही काम गर्न खोजेको हुँ । यो कसैले नगरेको नयाँ काम भने होइन । तर इन्टरनेट र सोसल मिडियाको जमानामा सानै कामले पनि यो कुराले थुप्रै नेपालीलाई खुसी बनाएको छ । इन्डियाना जाने खर्च मेरा प्राध्यापकले हालिदिनुभएको थियो नत्र काम फत्ते गर्दासम्म मेरो झण्डै २५० अमेरिकी डलर मात्र खर्च भएको छ ।

भिडियो बनाउन मैले बेलुनमा एउटा नयाँ र दुईवटा बिग्रेर फ्याकेका क्यामेरालाई मर्मत गरेर प्रयोग गरेको थिएँ । माथिको अत्याधिक चिसो, चापबाट बचाउन र सीमित उर्जामा धेरै समय काम सम्भव गराउन तिनलाई आफ्नो योजना अनुकुल मोडिफाई गरें । दुई वटाले तल र माथिबाट भिडियो खिच्थे र एउटाले तस्विर । त्यस्तै पुराना बिग्रेका एन्ड्रोइड मोवाइलमा ग्लोबल पोजिसनिङ सिस्टम सेट गरेर निश्चित उचाई लिएपछि राष्ट्रिय गान बजिरहने गराएँ ।
उडान त्यतिधेरै असहज नभएता पनि सामान्य बेलुनमा त्यतिधेरै उचाई हासिल गरेपछि क्यामेरा आफूले भनेजसरी झार्न सहज थिएन । त्यसैले म इन्डियाना राज्यको फराकिलो फार्मल्याण्ड ‘फिसअर्स इन्डियाना पोलिस’ पुगेको थिएँ । जहाँको मौसमी लयलाई मैले ५ महिनाअघिदेखि पछ्याइरहेको थिएँ । अत्याधिक उचाई लिएपछि बेलुन फुट्थ्यो र केहीबेर फ्रिफल भई पछि प्यारासुटमार्फत झर्ने गराइएको थियो । नभन्दै १ माइल रेडियसमै ल्याण्ड भयो ।

Sunday, February 23, 2014

"पाएँ भन्दैमा धेरै फिल्म खेल्दिंन" [QnA]

र्‍यापर आशिष राना उर्फ लाहुरेको चर्चा अहिले संगीतकर्मी कम अभिनेताको रुपमा चुलिएको छ । बेलायती निर्देशक मुर्रे केरको लेखन तथा निर्देशनमा बन्न लागेको ‘ताण्डव’ मा उनको मुख्य अभिनय छ । र्‍यापब्याटलबाट अभिनेतामा बदलिन लागेको लाहुरेको परिचयबारे उनीसँग गरिएको कुराकानी ।

र्‍यापले चर्चा बुटुलिराखेकै बेला कसरी फिल्ममा लागियो ?
निर्माता मोहन डोटलले केही महिनाअघि फोन गरेर अफर गरे । उनलाई मैले यसअघि चिनेको पनि थिइन । शुरुमा अस्विकार गरेता पनि पछि अरुले स्क्रिप्ट हेर्न सुझाएपछि भने त्यसैले तान्यो ।

स्क्रिप्टमा के त्यस्तो छ जसले तपाईंलाई आकर्षित गर्‍यो ?
र्‍याप ब्याटलमा समेत धेरैले मेरो शब्दजत्तिकै शारीरिक हाउभाव र आक्रोसपूर्ण अभिव्यक्तिलाई रुचाएका हुन् । खासमा त्यो पनि मैले निकै तयारीसाथ गरेको अभिनय नै थियो । स्क्रिप्टमा मैले गर्ने अभिनयको स्वभाव धेरैतिर त्यस्तै छ । 

यसअघि अभिनय गरिएको थियो त ?
मेरो यो पहिलो अभिनय हो । फिल्मको अफिसियल एनाउन्समेन्ट बुधबार गरिएता पनि मैले ३ महिनाअघिदेखि अनुप बराल र टिकाभट्ट जिरेलसँग अभिनय सिक्ने र वर्कसपहरुमा सहभागि भइरहेको थिएँ ।

फिल्ममा यहाँको सांगितिक योगदान पनि हुन्छ ?
हुँदैन । सायद फिल्मको अन्त्यमा बाहेक यसमा गीत पनि हुनेछैन । यो एक्सन थ्रीलर मुभि हो । यसमा म नितान्त अभिनय गर्नेछु । ३ महिनाको तयारीले मलाई निकै आँट र उत्साह दिएको छ ।

गायनको मानिस अभिनयको टोलीसँग काम गर्दा कस्तो अनुभव हुँदोरहेछ ?
शुरुमा त मलाई अर्कै ग्रहमा आएँ कि जस्तो नि भएको थियो । जब फिल्मका धेरै प्राविधिक पक्ष बिस्तारै बुझ्न र एउटा अनुभवी पुस्तासँग काम गर्न थालेपछि बल्ल सहज भएको छ । फेरी चाहे त्यो, गायन होस् वा अभिनय दुवै कलाकै भावना अभिव्यक्त गर्ने फरक विधा हुन् ।

अन्य फिल्मको लागि पनि अफर आउन थालेका छन् ?
एउटामा अभिनय शुरु नगर्दै २ वटा स्क्रिप्ट हात परेका छन् । तर मैले हेर्न भ्याएको छैन । फिल्मले यतिधेरै समय खान्छ भन्ने मलाई शुरुमा लागेको थिएन मैले संगितमा ध्यान दिन नपाएको धेरै भइसक्यो । फेरी मैले अन्तत: गर्ने भनेको सांगितिक क्षेत्रमै हो । त्यसैले पाएँ भन्दैमा मैले धेरै फिल्म खेल्दिन ।

First Appeared in Nepal Magazine 
***
यो पनि पढ्नुहोस:: ब्याटलम्यान 

Monday, April 29, 2013

'लेखेरै रिटायर्ड लाइफ बिताउँछु’

अभिनेता हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छे १५ वैशाखमा सार्वजनिक हुँदैछ । पुस्तकको सेरोफेरोमा आचार्यसँग गरिएको कुराकानी : 

आत्मकथा लेख्ने सोच कसरी जन्मियो ?
म सानैदेखि आफ्ना जीवनका महत्त्वपूर्ण कुरा टिपोट गर्थें। तर, पत्नी मीराको निधनपछि एक वर्ष मैले केही काम गरिँन । त्यसबीचमा आफ्ना वियोगका कथा एवं संस्मरण लेखेँ। एक दिन डाक्टर रवीन्द्र समीरले त्यसलाई आत्मकथा बनाउन सुझाउनुभयो। पहिलेका टिपोट, पछिल्लो एक वर्षमा लेखेका संस्मरण र अनुभूतिलाई मर्ज गरेर आत्मकथा लेख्न सुरु गरेँ। त्यसमा अन्य घटना जोड्न थालेँ र पुस्तक तयार भयो।

अभिनय क्षेत्रको मानिसलाई लेख्न कत्तिको गाह्रो हुँदो रहेछ ?
कलाकार भन्दैमा लेखनबाट पन्छाएर हेर्ने हाम्रो सोचमै समस्या छ। हामीले जति अभिनय गर्‍यौँ, त्यसभन्दा बढी लेख्यौँ पनि। हाम्रो अभिनयको प्रभावकारिता पनि लेख्दाखेरी विषयवस्तुलाई सक्दो नजिकबाट अनुभव गरेकै आधारमा हुन्छ। त्यसैले लेखन मेरा लागि नयाँ थिएन।

चिना हराएको मान्छे शीर्षकपछाडिको रहस्य ?
आत्मकथाको शीर्षक मेरो जीवनको विम्ब हो। हामी सबै रहस्यवादमा छौँ। हरेक कामको योजना र तयारी भाग्यरेखासँग जोडेर गरिने भए पनि हामी कसैको भविष्य कसैलाई थाहा छैन। संयोगले सुनको प्रतिमासाथ राखिएको मेरो चिनासमेत सानैमा हराएको थियो। जीवनमा सोच्दै नसोचेका थुप्रै घटना मैले बेहोर्नुपर्‍यो।

आत्मकथा लेख्दा मानिसहरू आफैँसँग सत्य बोल्न हिचकिचाउँछन् । यहाँको अनुभव कस्तो रह्यो ?
हरिवंश भनेपछि मानिसले बैगुन नै नभएको सोच्छन्। तर, मैले जानेर अरूलाई हानि पुग्ने काम नगरे पनि मभित्र पनि लोभ, मोह, इच्छा र क्रोध छ। त्यसैले मैले आफूलाई एउटा साधारण व्यक्तिका रूपबाट आफैँलाई हेर्न खोजेको छु। त्यति हुँदाहुँदै पनि कतिपय कुरा समाजमा ल्याउँदा अप्ठ्यारो नै पर्ने हुँदा ती राखिएका छैनन् पनि।

मह जोडीका रूपमा यहाँनेर तपाईंहरुको पार्टनरसिप टुट्यो नि ?
म २२ वर्षको हुँदा मदन दाइलाई भेटेको हुँ। त्यस बेलासम्म एउटा लामो समय बितिसकेको थियो। निश्चय नै मदन दाइ आएपछि हाम्रो जीवन र कर्म गाँसिएको छ। तर, आत्मकथामै त्यसलाई लैजान गाह्रो पर्ने रहेछ। हामी (मह)माथि कसैले लेख्छन् भने चाहिँ त्यो सम्भव होला।

अन्य कुनै पुस्तकको पनि तयारीमा हुनुहुन्छ ?
आत्मकथालाई प्रेसमा पठाएपछि बल्ल कतिपय महत्त्वपूर्ण घटना सम्झिरहेको छु। अझै सम्झँदै गइएला। कम्तीमा १०/१५ वर्ष सक्रिय कलाकारिता गर्न सकियो भने अझै राम्रा अनुभव पनि आउलान्। त्यसैले तत्काललाई कुनै योजना नभए पनि अर्को पुस्तकको सम्भावना नकार्न सकिँदैन। रिटायर्ड लाइफमा मेरो काम नै लेखन हुनेछ।

First Appeared in NEPAL Magazine

Tuesday, March 12, 2013

'एसएमएसबाटै सर्वे हुन सक्छ’

मोबाइल प्रयोगकर्ताको बढोत्तरीसँगै नेपालमा एसएमएस संस्कृति बिस्तारै मौलाउँदो छ। त्यसैले यसले व्यावसायिक आकार पनि ग्रहण गर्दै छ। एसएमएसको व्यावसायिक कम्पनी 'स्प्यारो एसएमएस'का प्रमुख प्राविधिक अधिकृत ध्रुव अधिकारी, २६, सँग गरिएको कुराकानीः 

एसएमएस कल्चर भनेको के हो ?
हाम्रो सहज पहुँचमा हुने ग्याजेट भनेकै मोबाइल हो। मोबाइलमा बढीभन्दा बढी एसएमएस प्रयोग हुन थाल्नु नै एसएमएस संस्कृति हो। एसएमएसबाट विभिन्न जानकारी लिन र दिन सकिन्छ।  

यस्तो संस्कृति कुन कुन क्षेत्रमा छ ?
खेलको लाइभ स्कोर, ब्रेकिङ् न्युज, टीभी/रेडियोका भोटिङ्, परीक्षाका नतिजा, एसएमएस बैंकिङ्, लोडसेडिङ् तालिका, जोक्स, राशिफल, सीआरबीटीजस्ता कुरामा एसएमएसको प्रयोग बढी छ। 

एसएमएसको अधिकतम प्रयोगको अवस्थामा केकेसम्म हुन सक्छ ?
एसएमएसकै भरमा उच्च गुणस्तरका नतिजा आउने सर्वे गर्न सकिन्छ। मोबाइल वा इन्टरनेट गेम्समा यसको प्रयोग बढ्न सक्छ। कार्यालयमा सूचना डेक्सको आवश्यकता नै नपर्न सक्छ। एसएमएसबाटै सोसल मिडिया अपडेट, इमेल पठाउने, डिजिटल भिजिटिङ् कार्ड पठाउनेजस्ता काम हामीकहाँ सुरु भइसकेका छन्। एसएमएसको महत्त्व यसरी बढ्दै जान्छ।

एसएमएसको प्रभावकारिता अरूभन्दा बढी किन छ ?
एसएमएस भनेकै आपत्कालीन अवस्थाका लागि हो। र, यस्तो बेला सबैभन्दा सजिलै प्रयोग गर्न सकिने पनि मोबाइल नै हो। हामीकहाँ नेटवर्कमा समस्या आइरहने हुँदा एसएमएस अनलाइन/अफलाइन दुवै स्वरूपमा प्रयोग भइरहेको छ। कुरा गर्न नमिल्ने मिटिङ्, जमघटजस्ता परिवेशमा यसको महत्त्व स्वाभाविक रूपमै बढी छ।

एसएमएस कल्चरका कस्ता समस्या छन् ?
एसएमएस भनेकै छिटो प्रतिक्रियाको अपेक्षासहित गरिन्छ । तर, एसएमएस पठाउनेको आधिकारिकता मेत निर्धारण गरिनुपर्छ  किनभने, प्रविधिले व्यवहार परिवर्तन  गर्न सघाउने मात्र हो। मुख्य काम त मानिसहरूले नै गर्नुपर्छ। 

Sunday, February 10, 2013

'डाक्टर भगवान् होइनन्’

महोत्तरी, साहदहका अञ्जनीकुमार झा, ४८, नेपाल चिकित्सक संघको हालै सम्पन्न महाधिवेशनबाट तीनवर्षे कार्यकालका लागि अध्यक्ष चुनिएका छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत झा दुई दशकयता चिकित्सा क्षेत्रमा छन् । झासँग गरिएको कुराकानी :

आफ्नो कार्यकालका चुनौती केलाई मान्नुभएको छ ?
पछिल्लो समय चिकित्सा क्षेत्रले थुप्रै खाले चुनौती झेल्नुपर्‍यो। चिकित्सकहरू आन्दोलित हुनुपर्‍यो। सेवाग्राही र चिकित्सकबीच दूरी बढिरहेको छ। राज्यसँग यो क्षेत्रलाई व्यवस्थित गर्ने योजनाको अभाव छ। यिनै विषयमा अघिल्ला समितिले उठाइरहेकै सवाललाई ठोस निष्कर्षमा पुर्‍याउने चुनौती मेरो टिमसामु छ।

चिकित्सक-सेवाग्राही दूरी बढ्नुको कारण के हो ?
हामीकहाँ अस्पताल पुगेपछि बिरामी निको भएरै र्फकनुपर्छ भन्ने ठानिन्छ। कहिलेकाहीँ हाम्रो अधिकतम पहलबीच पनि सम्भव नहुन सक्छ। डाक्टरहरू भगवान् होइनन्, त्यसैले गम्भीरता बुझ्दै नबुझी आ-आफ्ना फरक स्वार्थ जोडेर विरोध गरिहाल्नुहुँदैन। अर्कोतर्फ, हाम्रा पनि सीमितता छन्।

सीमितता भनेर केलाई इंगित गर्न खोज्नुभएको ?
एकातर्फ सरकारले चिकित्सकलाई दिने सेवा सुविधा अत्यन्त न्यून छ भने अर्कोतर्फ औसत बिरामीको अनुपातमा चिकित्सक संख्या न्यून छ। त्यसैले डाक्टरहरू बाह्य क्लिनिकमा समेत काम गर्न विवश छन्। दुर्गम क्षेत्रमा चिकित्सक पुगेनन् वा कम भए भन्ने गुनासो पनि छ। त्यहाँ डाक्टर पुग्दैमा सबथोक हुने होइन, अस्पतालको पूर्वाधारमा उत्तिकै चासो दिनुपर्छ।

सरकारका कमजोरी के के हुन् ?
मुख्य कुरा स्वास्थ्य क्षेत्रमा विनियोजन हुने झन्डै ६ प्रतिशत बजेट पर्याप्त छैन। संविधानमा यसलाई मौलिक अधिकारका रूपमा राख्दैमा आफ्नो दायित्व पूरा भएको ठान्नु हुँदैन।

Wednesday, February 6, 2013

'एक्टिभिजमका लागि मोडलिङ्’

काठमाडौँ स्कुल अफ लमा दोस्रो वर्षकी विद्यार्थी पुष्पा पलाञ्चोकी, २०, आफूलाई कलाकारभन्दा महिला अधिकारवादी भन्न रुचाउँछिन्। उनको अवधारणामा गत साता दामिनी फोटो प्रदर्शनी काठमाडौँ र बनेपामा सम्पन्न भयो। प्रदर्शनीमा राखिएका तस्बिरहरूले महिलाहरू समाजमा कसरी कुण्ठित, अपहेलित र असुरक्षित छन् भन्ने देखाएको छ । त्यसकी मोडलसमेत उनै हुन्। तस्बिर भने अभिषेक मास्के र शिलु जैनले खिचेका हुन्।

दामिनी फोटो प्रदर्शनी के कुरामा पृथक् रह्यो ?
सबैमा मैले एक्लै मोडलिङ् गरेकी छु। समाजमा महिलाले भोगिरहेका पीडालाई सादा कपडामा रंगको प्रयोगमार्फत अभिव्यक्त गरेकी छु भने फोटो सुट गरएिका स्थानले समेत धेरै अर्थ प्रकट गरेका छन्।

कुन रंगले कस्तो अवस्थाको प्रतिनिधित्व गरेका छन् ?

मैले पहेँलो, हरियो र सेतो रंग प्रयोग गरेकी छु। पहेँलो रगले दक्षिण एसियाका महिलाबारे बताउँछ भने हरियो रंगले उनीहरूका समस्या र त्यसबाट कसरी गुजि्ररहेका छन् भन्ने देखाउँछ । सेतोले कतैबाट साथ नपाएपछि हुने शारीरकि, मानसिक र भावनात्मक मृत्यु झल्काइरहेको हुन्छ।

अनि, स्थानको प्रयोग नि ?

स्थानको प्रयोग कतै प्रतीकात्मक छ भने कतै कुनै घटना सम्झाउन खोजिएको छ। जस्तो : मैले नागदहमा फोटोसुट गरेँ, जसको अर्थ महिलाहरू पवित्र भईकन पनि पखालिइरहनुपर्छ भन्ने थियो। ग्वार्कोमा बसभित्र विक्षिप्त अवस्थाको फोटोसुट गरेर दिल्ली ग्याङ् रेपको झल्को दिन खोजेकी छु। डुंगा तरेको फोटोमा मृत्युलाई झल्काइएको छ।

दामिनीको अवधारणाचाहिँ कसरी आयो ?

दामिनीको खास अर्थ बिजुली हुन्छ। मैले महिलाहरू बिजुलीझैँ बल्न सक्नुपर्छ भन्ने आवाज उठाएकी हुँ। दिल्ली ग्याङ् रेपको सिकार बनेकी युवतीको 'फेक' नाम पनि दामिनी नै थियो। यी दुई सन्दर्भको सम्मिश्रण हो यो। दिल्ली घटनापछि जसरी भारत र नेपालमा विरोधहरू भए, त्यसमा मैले समेत केही योगदान दिनुपर्ने ठानेर यसो गरेँ।

तपाईं कलाकार, मोडल कि अधिकारवादी ?

 मैले न कहिले मोडल बनुँला भन्ने सोचेँ, न भावी सोच नै छ। मैले त एक्टिभिजमका लागि मोडलिङ् गरेकी हुँ। आफूलाई कलाकार मान्दिनँ। किनभने, तस्बिर अरूले खिचेका हुन् । बरू, म महिला अधिकारवादी नै हुँ।

'प्रथम हुनेलाई दोस्रोसँग डर हुन्छ’

'जति लेखे पनि नम्बर नै राम्रो आउँदैन !' त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको साझा गुनासो रहँदै आएको छ। त्यसलाई धनुषाका नवीनकुमार महतो, २७, ले गलत साबित गरिदिएका छन्, स्नातकोत्तरको गणितमा ९४ प्रतिशत अंक ल्याएर। सबै स्नातकोत्तर संकायमध्ये सर्वप्रथम भएर हालै उनले विश्वविद्यालयको चान्सलर पदक र रामप्रसाद मानन्धर पदक पाएका छन्। एक वर्षयता त्रिविकै गणित केन्द्रीय विभागमा पढाइरहेका उनीसँग गरिएको कुराकानी :

एसएलसीयता तपाईंको प्रतिशत कस्तो रह्यो ?
एसएलसीमा ७५, आईएस्सीमा ५०, बीएस्सीमा ७२.४३, एमएस्सीमा ९४ ।

धेरै अंक ल्याउने सूत्र के के हुन् ?
निरन्तर एउटै लयमा पढ्नुपर्छ। परीक्षाका बेला धेरै तनाव लिनुहुँदैन। किताबसँगै इन्टरनेटजस्ता नयाँ स्रोतको पनि प्रयोग गर्नुपर्छ। धेरै कुराको अभ्यास लेखेरै गर्नुपर्छ।

घरमा दैनिक कति घन्टा पढ्नुहुन्थ्यो ?
म कलेजका कक्षा नियमित लिन्थेँ। त्यसैले कलेज हुँदा दैनिक चार-पाँच घन्टा र कलेज नभएको अवस्थामा आठदेखि दस घन्टासम्म पढ्थेँ। एसएलसीयता पढ्ने र पढाउने सँगसँगै गरेकाले मेरो दैनिकी निकै व्यस्त हुन्थ्यो।

जीवनमा मार्कसिटको उच्च अंकले के फाइदा गर्छ ?

मनोबल उच्च पार्छ। मनोबल उच्च भएपछि हरेक कुरामा आँट आउँछ।

सहपाठीबीच प्रतिस्पर्धा कस्तो थियो ?

मेरो विभागमा त प्रथम वर्षमा एक नम्बरले मात्र अर्को साथी दोस्रो हुनुभएको थियो। त्यसैले दोस्रो वर्षमा पछि परिने हो कि भन्ने डर थियो। दोस्रो वर्षमा भने चार नम्बरले अगाडि भएँ।

विश्वविद्यालय पढ्दा छुट्टीका दिन कसरी बित्थे ?

म पत्रपत्रिका पढ्छु। खेलसम्बन्धी कार्यक्रम हेरेर रमाइलो गर्छु।

त्रिभुवन विश्वविद्यालयको नराम्रो पक्ष के हो ?

यहाँ विद्यार्थी, कर्मचारी र शिक्षक सबै सस्तो राजनीतिमा अल्भिmएका छन्। त्यसको अन्त्य हुनेबित्तिकै थुप्रै समस्याको समाधान हुन्छ।

Tuesday, January 8, 2013

'मलाई क्रेजी फ्यान चाहिन्छ’


विश्वकै सबैभन्दा सेक्सी डिजेका रूपमा चिनिन्छिन्, मारी फरारी । रसियाको गर्लडिजेज एजेन्सीमार्फत काम गर्ने फरारी हाल पोर्चुगलमा बस्छिन् । टपलेस भएर डिजेइङ् गर्न माहिर उनी मोडलिङ् जगतमा समेत उत्तिकै रुचाइने सेलिबि्रटी हुन् । थुप्रै मुलुकका चर्चित क्लब तथा समारोहमा आफ्ना प्रस्तुति दिइसकेकी फरारी नयाँ वर्षको अवसरमा काठमाडौँ आउँदा गरिएको कुराकानी :

काठमाडौँ बसाइ कस्तो रह्यो ?
म पहिलोपटक काठमाडौँ आएकी हुँ । नयाँ वर्ष परेको हुँदा यहाँको बसाइ रमाइलो र विशेष रह्यो। नेपालीले राम्रैसँग रमाइलो गर्न जानेका रहेछन्।

अन्य ठाउँ र यहाँ डिजेइङ् गर्नुको फरक के रह्यो ?
यहाँ आउनुअगाडि मनमा कताकता सोचेजस्तो नहोला कि भन्ने लागिरहेको थियो। म र मेरो डिजेइङ्बारे के कस्तो प्रतिक्रिया देलान् भन्ने पनि थियो। तर, मैले यहाँ सोचेभन्दा भिन्न परविेश पाएँ। नेपाली तन्नेरीहरूले मलाई राम्रोसँग सघाए। न्युयोर्क, युरोपतिर हुने पनि यस्तै हो।

एउटी सेक्सी महिला डिजेलाई नेपाली तन्नेरी कस्ता लागे त ?
निकै चलाख र सम्हालिनसक्नु । उनीहरू खुसी भएको देखेँ । यहाँका केटीहरू पनि कम रहेनछन्।

एउटा डिजेले कस्ता सहभागीको अपेक्षा राखेको हुन्छ ?
म पाँच वर्षयता डिजेइङ् गररिहेकी छु। हरेक डिजेले आफ्नो कामबाट सहभागीहरू रमाउन् भन्ने सोच्छ। पार्टीमा मज्जाले खुलेर या क्रेजी भएर सहभागी भएको देखियो भने डिजेलाई समेत सहज हुन्छ।

अनि 'क्राउड’ नि ?
मानिसको संख्याले मलाई त्यति धेरै फरक पार्दैन। मैले अमेरकिाको मियामीमा १० हजारभन्दा बढी दर्शकमाझ प्रस्तुति दिएकी छु भने ५०/६० जनाको बीचमा पनि। जति छन्, तिनीहरू कत्तिको 'इन्गेज' हुन्छन् भन्नेले बढी महत्त्व राख्छ।

काठमाडौँका सम्झनलायक क्षण के के रहे ?
म हेलिकप्टरबाट सहर घुमेँ। डाँडाकाँडातिर पनि गएँ। अहिले मेरो फेसबुकमा यहाँका फ्यानले पठाइरहेका क्रेजी म्यासेजले यो ठाउँ सम्झनलायक बनाएको छ। उनीहरूको प्रेम देख्दा मलाई फेरि पनि नेपाल आएर प्रस्तुति दिन मन लागेको छ।