अन्यत्रभन्दा फरक लुक्लाको तेञ्जिङ–हिलारी एयरपोर्टमा हरेकजसो अवतरणपछि यात्रीहरु लामो ताली पिट्छन्, निधार र छातिमा हात लगाएर भगवानलाई धन्यवाद दिन्छन् । पाइलट मात्र होइन हरेकजसो यात्रुलाई त्यतिखेर आफ्नो साहसमा गर्व लाग्छ, विश्वकै ‘मोस्ट एक्स्टि्रम एयरपोर्ट’को सूचिमा एक नम्बरमा पर्ने एयरपोर्टमा उत्रेकोमा ।
सन् २०१० मा अमेरिकाको द हिस्ट्री च्यानलले शीर्ष १० एक्स्टि्रम एयरपोर्टको सूचि निकालेको थियो । उक्त विशेष कार्यक्रम तयार पार्दा कतै जटिल स्थानको अवस्थिति त कतै उडान/अवतरणमा लिनुपर्ने विशेष शैली, मौसम, धावनमार्गजस्ता फरक फरक मापदण्डलाई आधार मानेको थियो । अघिल्ला ९ एक्सट्रिम एयरपोर्ट देखाइसकेपछि लुक्लाबारे उसले भनेको थियो, “यो त्यस्तो एयरपोर्ट हो जहाँ अगाडिका एयरपोर्टमा देखिएका यी सबै चुनौती एकैसाथ आउँछन् ।”
९३८३ फिट उचाईमा रहेको एयरपोर्टमा ‘ओभरसुट’ छैन जुन हरेकजसो एयरपोर्टको एउटा साधारण मापदण्ड हो । अन्तिम अवस्थामा अवतरण सुरक्षित नमानिए सिधा अगाडि वा दायाँ बायाँ उड्न सकिने अवस्था हो यो । दुधकोशी नदि कटेपछि जहाज दुई पहाडका बिच रहेको साँघुरो खोंचबाट अगाडि बढ्छ । तारा एयरका क्याप्टेन प्रमोद पौडेल भन्छन्, “त्यसपछि अवतरण गर्नैपर्छ, जुनसुकै सर्तमा ।” वायुसेवा क्षेत्रमा रहेको एउटा चर्चित भनाईझैं, 'नो गो' क्रस गरेपछि 'गो गो' ।
एयरपोर्टको विशिष्ठता त्यत्तिमै सकिंदैन । ४६० मिटरको धावनमार्गको तल्लो भाग र माथिल्लो भाग १२ डिग्री कोणमा छ जसले रनवेको दुई पुछारबिच १५० फिटको उचाई फरक पार्छ । यो झण्डै १० तले घर बराबरको उचाई हो । छोटो धावनमार्गसँग जुध्ने विज्ञानकै रुपमा उकालो धावनमार्ग बनाइएको हो । तर टेक अफको बेला भने ओरालो ठिक होइन । भिरालोमा बिचमा इञ्जिनले काम गर्न छाडेमा होस् वा आधा रनवे काटेपछि जहाज रोक्न सहज छैन । अझ जहाजको गति ४० नट्सभन्दा माथि भए त त्यो असम्भव नै छ । ६० नट्समा विमान उड्छ । साधारणतया जहाजलाई मोड्दा ३० डिग्री भन्दा बढि कोणमा ढल्काइने जहाज लुक्लामा भने ४५ डिग्रीसम्म ढल्काउनुपर्छ ।