महाविनाशकारी भूकम्पपछि उद्धार र राहतका लागि मानव बस्तीमा भीड बढिरहँदा त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका उपप्राध्यापक दीपक चम्लागाईं आफ्नो टोलीसँग चुरेका डाँडातिर लागे । कारण थियो, भूकम्पका कारण त्यहाँ परेका चिराहरूको पहिचान गरी त्यसका आधारमा सम्भावित भौगर्भिक अवस्थाको मूल्यांकन गर्नु । भारतीय र युरेसियन प्लेटका कारण नेपालमा जहाँ भूकम्प गए पनि त्यसको ऊर्जा निकास चुरे पर्वतमा बन्ने दरारबाट हुन्छ ।
सुरुमा भौगर्भिक दृश्यका आधारमा अगाडि बढे पनि पछि स्थानीयवासीका सूचनालाई समेत पछ्यायो, चम्लागाईंको टोलीले । त्यस क्रममा उनीहरूले सर्लाही, हरिवनको अत्रौली पहाडमा भूकम्पसँगै सक्रिय भएको झन्डै आठ मिटर लामो पहिरो फेला पारे । “तर, त्यो पहिरोलाई सामान्य ढंगबाट हेर्न मिल्दैनथ्यो,” चम्लागाईं सुनाउँछन्, “त्यसले जमिनमा भएको पानीको स्थितिमा परिवर्तन ल्याएको छ ।” जस्तो : त्यसको असर तत्कालै देखिन थाल्यो । भूकम्प रोकिएको एक घन्टामै केहीअघिसम्म सुक्खा रहेको अत्रौली खोलामा पानी बग्न थाल्यो, डाँडातिरका रूख भने सुक्न थाले ।