Showing posts with label Family. Show all posts
Showing posts with label Family. Show all posts

Saturday, March 5, 2011

पहिलो जन्मदिनमा प्रसिद्धिलाई चिठी


प्यारी भाञ्जी,


 तिमी आज १ बर्षकी भयौ । जन्मदिनको धेरैधेरै शुभकामना । अहिले त तिमी लेख्न, पढ्न जान्ने भइसकेकी छैनौ । तिमीले बोल्न जानेको पनि पापा, मामा, ममी, मात्रै हो । तर तिमीले भब्य सफलतापूर्वक पार गरेको यो १ बर्षले तिम्रो पूरा जीवनको संकेत गरिरहेको मैले देखिरहेको छु । तिमी पढ्न जान्ने भएपछि यो पत्र पढ्नेछ्यौ, आफूलाई मामाको आँखाबाट पनि चिन्नेछ्यौ र एउटा  असल र सफल व्यक्ति हुन सदा लालायित हुनेछ्यौ ।

तिमी गतबर्ष जन्मदाँ तिम्रो बुवा अधिकृत पास हुनु भएको दुई दिन मात्र भएको थियो । अरुहरुले तिम्रो बुवालाई जिस्क्याउँथे, ‘बाबा अधिकृत नभइकन म जन्मिन्न भनेर नानी आमाको कोखभित्रै कुरेर बसेकी रैछिन्, अब खुसीसाथ जन्मिन्छिन् ।’ भयो पनि त्यस्तै तिमी जन्मिएपछि घरमा अर्को खुसी थपियो । तिम्री आमा तिम्लाई जन्माउनु अघि निकै आत्तिरहेकी थिइन्, हामीहरु अस्पतालको प्रशुतिगृह बाहिर एकटकले भगवानलाई पुकारीरहेका थियौं । तिम्रो घर र मामाघरबाट तारम्तार फोनहरु आइरहेका थिए । तिमी जन्मिएपछि सबैले लामो शास फेरे । तिम्री आमाले पुर्नजन्म पाएको अनुभव गरिन् । अथाह पीडाका बावजुत उनी निकैबेर तिम्लाई छातीमा राखेर सुम्सुम्याइन् । भाञ्जी, तिम्लाई बताउँ, तिम्री आमा त्यतिधेरै खुसी भएको मैले त्यसअघि देखेकै थिइन ।
तिमी सानैदेखि बिलक्षण र बिशेष थियौ । बिलक्षण कोही बिशेष आविस्कार गर्दैमा मात्र मापन गरिँदैन । सच्चा बिलक्षणता उसको दिनचर्याले बोलिरहेको हुन्छ । तिमी सानैदेखि त्यस्तै थियौ । तिमी सानैदेखि परिस्थिति आत्मासाथ गथ्र्यौ, जति भोकाउँदा पनि ‘एकैछिन पर्ख ल’ भन्दा धैर्यतासाथ हाँस्दै कुरेर बस्थ्यौ, एकोहोरो रोइरहने तिम्रो स्वभाव झनै थिएन । तिम्रो अर्को विशेषता सबैखाले मानिससँग सजिलै झ्याम्मिन सक्नु पनि हो । मलाई अझै याद छ, गाडिमा कतै यात्रा गर्दा छेवैमा बस्ने अन्य यात्रीहरु तिमीबाट निकै प्रभावित हुन्थे ।
तिमी निस्फिक्री उनीहरुसँग खेल्थ्यौ । त्यसैले बिछोडिँदा धेरैका आँखा तिम्लाई हेरेर रसाउँथे । सबैले तिम्लाई केही न केही किनिदिन्थे त कसैले तिम्रो हातमा पैसा राखिदिन्थे । तिमीसँग त्यस्तो एउटा चुम्मकिय शक्ति छ ।  तिमीसँग झण्डै एक महिना बिताएपछि घर फर्कँदा तिम्री जिजुआमालाई निकै गाह«ो भएको थियो । भाञ्जी, तिमीलाई बताउँ, तिम्री मावली जिजुआमा निकै ‘बोल्ड’ महिला हुनुहुन्छ । तिमी ममी र हामीहरु हाम्री ममीभन्दा बढि उनै जिजुआमाको समिपमा रहेर हुर्कियौँ । उहाँले कत्ति पढ्नुभएको छैन । तर अनुभव र दुःख–सुखसँग पैँठेजोरी खेल्दा निकै बलियो महिला हुनुभएको हो । सितीमिती वहाँ रोहेको मैले देखेकै थिइन, जुन तिम्लाई काठमाण्डौंमै छाडेर जाँदा देखेँ । म आजकल त्यही भएर तिम्रो घरमा लामो समय बस्न मन लाग्दैन, तिमीसँग रिसाएर होइन कि लामो समय सँगै बसेर फेरी मेरै घर फर्कँदा तिम्रो सम्झनाले झनै पिरोल्छ ।

मैले अघि नै भनिसकेँ, तिमी सानैदेखि ‘मेचुअर’ थियौ । हुन पनि तिम्रो दाँतहरु पाँच महिना नपुग्दै आइसकेका थिए । अहिले त तिम्रा दाँतहरु धेरै नै आइसकेका छन् । आफ्नो शरीर धान्नै नसक्ने अवस्थामै पनि तिमी चारपाउ टेकेर हिड्थ्यौं । सात महिनाकै हाराहरीमा तिमी भित्ता समातेर घरभित्र एउटा कोठाबाट अर्कोमा गइरहन्थ्यौं । तिम्लाई ‘झोलुङ्गे’ त २/३ महिनाभन्दा बढि त चाहिँदै चाहिएन । र तिम्लाई १ महिनाअघि देख्दा त तिमी हिँडिरहेकी थियौ । तिमी बाबासँगै बिहान दुधपसल पुगेर दुध ल्याउन थालिछौ । दुवै हातमा केही न केही बोकेर हिँड्न थालिछौ । तर तिमी जब लड्छ्यौ, तिम्ले आफ्ना दुवै हातमा बोकेका सामानहरु छाड्दिनौ, जसले गर्दा उठ्न तिम्लाई गाह«ो पर्दौ रहेछ । तिम्रा यस्ता धेरै स्वभावहरु निकै प्यारा छन् ।