गत ९ वैशाखमा कलंकी सडकमा अलपत्र एउटा बोरा दिउँसो २ बजेसम्म कसैले उठाएन । त्यहीँ चिया पसल गरेर बस्ने तुलसीप्रसाद अधिकारीले बिहान पसल खोल्दाखेरि नै उक्त बोरा देखेका थिए । कसैले नलगेपछि उनले नै बोरा ल्याए, जसभित्र करिब २० किलोको एउटा बाल्टिन थियो । त्यसमा अंग्रेजीमा लेखिएको थियो, ‘डेन्जर’ अर्थात् खतरा । धन्न, ग्राहकले बारम्बार बिर्को खोल्न आग्रह गर्दा पनि उनले खोलेनन् । र, एउटा सम्भावित विपत्ति टर्यो ।
खासमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरबाट कुरियरमार्फत बेल्जियम पठाउन लागिएको उक्त सामग्री बाटोमै हराएको खबर फैलिएपछि चिया पसले अधिकारीले त्यो प्रहरीलाई बुझाइदिएका थिए । खासमा गहु्रँगो सामान देखेर कसैले चोरेर लगेको तर डेन्जर लेखिएको देखेपछि सडकमै छाडेर हिँडेको थियो । नेपालका लागि नौलो उक्त घटनापछि बल्ल प्रश्नहरू उब्जिए– आखिर के थियो त, उक्त बाल्टिनभित्र ? बाल्टिन खोलेको भए के हुन्थ्यो ?
स्तन, छाला, गर्भाशयलगायत क्यान्सरको उपचार हुने ब्राक्याथेरापीमा प्रयोग हुने विकिरणयुक्त स्रोत ‘इरिडियम १९२’ थियो त्यो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियोग (आईएईए)को वर्गीकरण अनुसार दोस्रो श्रेणीको ‘निकै खतरनाक’ मानिने उक्त स्रोत केही दिनसम्म हराए पनि कुनै गलत व्यक्तिको हातमा परेन वा कसैले सामान्य वस्तुलाई जसरी चलाएनन् । परिणाम, कुनै अप्रिय घटना हुन पाएन ।
यस्ता रेडियोधर्मी विकिरणयुक्त स्रोत कुन हदसम्म संवेदनशील हुन्छन् भने त्यसको प्रयोग सकिएपछि पनि उक्त स्रोतलाई ‘डिस्युज्ड’ (नष्ट गर्ने प्रक्रिया)का लागि जहाँबाट ल्याइएको हो, त्यहीँ लैजानुपर्छ । इरिडियम १९२ पनि त्यस्तै सिलसिलामा चितवनस्थित क्यान्सर अस्पतालबाट काठमाडौँ ल्याई हवाईजहाजमा बेल्जियम लगिँदै थियो । तर, जुन असावधानीका साथ उक्त काम गरियो, त्यसले रेडियोधर्मी विकिरणयुक्त स्रोतको सुरक्षामा हाम्रो कमजोर अवस्थाको चित्र बाहिर ल्याएको छ ।