सन्तोष आचार्य र प्रदीप बस्याल
साउन लागेपछि सेलिबि्रटीजस्ता लाग्छन्, भगवान् शिव। युवक-युवतीहरू उनका
फ्यानजस्ता लाग्छन्। युवतीहरू त सोमबारे व्रत बस्छन् नै, युवकहरूसमेत
महिनाभरि मांसाहारी भोजन लिँदैनन्। पहिरन, मेहन्दीदेखि पुस्तक र
गीत-संगीतसम्म जताततै 'शिव ग्ल्यामर' छ।
साउन र शिवको सम्बन्ध नङ र मासुको जस्तो छ, नेपाली समाजमा। जहाँ जहाँ
शिवका नाममा स्थापित मन्दिर, त्यहाँ त्यहाँ सनातन हिन्दु धर्मावलम्बीको
घुइँचो। साउने सोमबार हातमा फूल-प्रसाद, जल र दूध लिएर दर्शन गररिहेका
भेटिन्छन् भक्तजन।
विवाहिता वा अविवाहिता महिलाहरूले शिवलाई नै सम्झिएर हातमा हरियो मेहन्दी,
हरिया चुरा अनि रातो र केही हरियो मिश्रति शिव-शक्ति रंगका सारी वा कुर्ता
सुरुवाल लगाउनु सामान्य हो। पुरुषसमेत हरियो पहिरनमा शिव मन्दिर परसिरमा
देखिन्छन्।
साउनमा
सहरका बुटिक तथा ब्युटीपार्लर निकै व्यस्त हुन्छन्। सादा हरियो रंगका
कुर्ता र साडीमा विभिन्न रंगका इम्ब्रोइडरी गर्नुका साथै पत्थर जोड्ने काम
बढी हुन्छ साउनमा। फेसन डिजाइनर तरुणिका महतोसमेत अचेल साउन थिमका पहिरन
परिकल्पनामै व्यस्त छिन् । भन्छिन्, "ग्राहकहरू हिन्दी सिरियलको जस्तै
डिजाइन माग्छन् । त्यसैले म पनि साउनमा त्यस्ता सिरियलमा तानिन्छु ।"
शिव मन्दिर धाउने युवतीहरू साउने सोमबारलाई सहरमा आइरहेका फेसनसँग
साक्षात्कार गर्न पाइने अवसरका रूपमा बुझ्छन्। डिजाइनर महतोका अनुसार गत
वर्ष बजारमा हरियो र प्याजी रंगको फेसन थियो भने यसपालि हरियो र पहेँलो रंग
मिश्रति फेसन।
महिनाभरि हात वा खुट्टामा मेहन्दी राख्छन् युवतीहरू। त्यसबीच मेहन्दीका
डिजाइन थुप्रैपटक फेरिन्छन्। नेपाली बजारमा अहिले अरबिक, जयपुरी,
पाकिस्तानी र अफ्रिकी डिजाइनका मेहन्दीको फेसन चल्तीमा छ। लहरा र पत्ताले
भरिएको अरबिक शैलीको डिजाइन अझ चल्तीमा छ। सुन्दर देखाउनु त छँदै छ,
त्यससँगै अनेकथरी मिथक जोडिएका छन्। हनुमानढोकामा कलेज ड्रेसमै मेहन्दी
लगाउँदै गर्दा भेटिएकी स्मारिका अधिकारी भन्छिन्, "जसको हातमा मेहन्दी गाढा
बस्यो, उसलाई श्रीमान्ले धेरै माया गर्छन् रे!"
एकथरी शिवभक्त पुरुषहरू कपाल पाल्नका सोखिन हुन्छन्। यसको कारण नक्कल वा
आडम्बरभन्दा पनि प्राकृतिक स्वभावमै रमाउने भगवान्का रूपमा शिवप्रति झुकाव
हो। समस्यामा परेका वा समाजबाट बहिष्कृत भएकामा शिवप्रतिको झुकाव बढी रहेको
चर्चित भारतीय लेखक अमिश त्रिपाठीको ठम्याइ छ। उनले शिव दर्शनलाई आधार
मानेर उपन्यास लेखेका छन्।
शिवको 'रफटफ' आकृति र बुझाइ विभिन्न गीतमा समेत तन्नेरीहरू उस्तै गरी
पोख्छन्। भुवन खनालको पप गीत 'शिव मान्दै मान्दैन' होस् र कोमल वलीको
'पोइला जान पाम् शिव' यस्ता केही उदाहरण हुन्। यस्ता गीतले सामाजिक एवं
धार्मिक आस्थामाथि ठेस पुर्याउने भन्दै धेरैतिरबाट विवादका स्वर उठे पनि
शिवभक्त तन्नेरीहरू त्यस्ता आक्रोश एवं विरोधलाई स्वाभाविक ठान्छन्।
रातो र हरियो सौभाग्यको रंग हो, शिव-पार्वतीको पि्रय रंग पनि। साउन
महिनालाई शिवको पि्रय महिना मानिन्छ। यस महिनामा गरिएका पूजा-आराधना विशेष
फलदायी हुन्छन् भन्ने हिन्दु मान्यता छ। यस महिना शिवजीकै एउटा रूप
ज्योर्तिलिंगमा जलाभिषेक गर्नाले शुभलाभ हुन्छ भन्ने विश्वास गर्नेहरूको
संख्या पनि ठूलै छ।