Showing posts with label Destination. Show all posts
Showing posts with label Destination. Show all posts

Saturday, June 28, 2014

उन्मुक्त पोखरा, स्वच्छन्द पोखरेली



"यहाँ कति वर्ष बिताइयो भनेर गन्न आवश्यक नै छैन किनभने पोखरा कसैलाई कहिल्यै पुग्दैन।" अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नदीपुर, पोखराका स्वयंशु श्रेष्ठ, २३, ले फेसबुक स्ट्याटस लेखे। हुन पनि, स्वयंशुलाई पोखरा कहिल्यै पुरानो लाग्दैन। त्यसैले त पोखरा छाड्नु नपरे हुन्थ्यो भन्ने लागिरहन्छ।

न्यु इयर इभका लागि तयार भएको पोखरा, त्यसमाथि लेक साइड। फेवाताल छेवैमा 'पोखरा स्टि्रट फेस्टिभल'का लागि सजाइएको तीन किलोमिटर लामो बाटो इभको माहोलमा खचाखच छ। बिस्तारै हिँड्नेले पनि तीन किलोमिटर दूरी ३० मिनेटमा सजिलै काट्न सक्छ। तर, न्यु इयरको लेक साइड तीन किलोमिटर दूरी वा ३० मिनेटको समयले मात्र व्याख्या गर्न सक्दैन। त्यहाँ के मात्र थिएन ? पाइलैपिच्छे हिन्दुस्तानी क्लासिकदेखि पश्चिमा रकसम्मका अनेकौँ संगीत, मानिसका गालामा विभिन्न भावभंगी झल्कने फेस पेन्टिङ्। अझ सडकको ठेलमठेलबीच अलिकति अग्लिएर हेर्न खोज्ने हो भने त्यहाँ हलिउड अभिनेता विल स्मिथ, क्यानेडियन गायक जस्टिन विवर, गायिकाहरू रिहाना, माइली साइरस, फुटबलर डेबिड बेक्यामजस्ता थुप्रै सेलिब्रिटीको हेयर स्टाइलको झल्को पनि देखिन्छ। 


Saturday, April 12, 2014

बहुरंगी पोखरा


पोखरा बहुरंगी छ । त्यसैले मानिसहरू आ-आफ्नै आँखाबाट पोखरालाई व्याख्या गर्छन् । कसैले यसलाई साहास जाँच्ने ठाउँको रूपमा चिन्छन् त कसैले योग गर्न बिताउनुपर्ने सहर । साहित्य/संगीतमा त यो सहर प्रेम, सुन्दरता र निश्चलताको विम्बकै रूपमा धेरैले प्रयोग गरेका छन् । एउटा पर्यटकीय आँखाबाट हेर्दा पोखरामा के मात्र गर्न सम्भव छैन ! यो ३६० डिग्रीमा चियाउन र रमाउन सकिने सहर हो । 

अघिल्लो वर्ष अंग्रेजी नयाँ वर्षमा एक हप्ता म लेकसाइड, पोखरामा थिएँ । त्यसबेलाको पोखरा अर्कै थियो, उन्मुक्त । त्यहाँको रमाउने शैली कुनै पश्चिमा सहरको भन्दा कम थिएन । त्यसबेला विदेशी नभई स्वदेशी हाबी थिए । त्यसले निकै सुन्दर ढंगबाट मध्यमवर्गीय नेपाली समाजको रमाउन खोज्ने चाहनाको प्रतिविम्ब बोलिरहेको थियो । र, पोखरा त्यसमा सबैभन्दा राम्ररी फिट भएको थियो ।  

पोखरासँग अनेकथरी मिथक जोडिएका छन् । अर्मलाको भ्वाङ वा सेतीको बाढीजस्ता घटना घट्दा ती मिथक झन् बरालिन्छन् । तर मिथक डरलाग्दा मात्र होइनन्, रहरलाग्दा पनि छन् पोखरामा । १६ वटा प्याराग्लाइडिङ कम्पनीका सयभन्दा बढी पाइलटहरू सारङकोटको डाँडाबाट चराझैं हाम फाल्छन् । मानिसलाई आफूसँगै उडाउँछन् । त्यसबेला मानिसले डर र रोमान्सको मिश्रति अनुभूति गर्छ । आँखैअघि माछापुच्छ्रे र तलपट्टि फेवातालको आनन्द । 

प्याराग्लाइडिङ मात्र होइन, खेलौनाजस्ता अल्ट्रालाइट हवाई जहाजले पोखराको फेवादेखि माछापुच्छ्रेको फुटहिलसम्म पुग्छन् । शान्त तालमा बोटिङ गर्दै आकाशमा उडिरहेका मानिसहरूको झुन्ड हेर्न पनि निकै गजबको अनुभूति हुन्छ । पोखरा र आसपासमा रहेका ८ वटा तालमाथि साँझमा विभिन्न आकृति बनाएर उड्ने चराको झुन्ड झनै रोचक देखिन्छ । फेवातालको मज्जा मानिसहरूले कतिसम्म लिएका छन् भन्ने जान्न त्यहाँ व्यावसायिक रूपमा सञ्चालित ७ सयभन्दा बढी संख्यामा डुंगाले स्पष्ट छनक दिन्छ । दुई वर्षयता सराङकोट डाँडाबाट हेम्जा फेदीसम्म तारमा अल्झिएर 'जिप ड्राइभ' गर्ने नयाँ खेल पनि थपिएको छ । थुप्रै ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पाइलटहरू पोखराको आकाशमा आफ्नो एड्भेन्चर अनुभूति गर्न बेलाबखत आइरहन्छन् । 

व्यावसायिक उडानका लागि व्यावसायिक, सरकारी र स्थानीय सहकार्य नमिलेता पनि पोखरामा अल्ट्रालाइट हवाई जहाज तालमा अवतरणको अभ्यास समेत भइसकेको थियो । बिनाइन्जिन उड्ने हयान्डग्लाइडरको समेत सफल अभ्यास भइसकेको छ । जति बढी यसरी पोखरामा साहसिक उडानका अभ्यास भएका छन्, उत्तिकै तिनले विदेशीको ध्यान पोखरातर्फ तान्छन् । र, पोखराको 'भ्यालु' दिनानुदिन विश्वभर फैलिइरहेको छ । सायद, अन्तर्राष्ट्रिय क्षेत्रमा सबैभन्दा राम्ररी ब्रान्डिङ भएको नेपाली सहर पनि यही नै हो । 

Saturday, March 8, 2014

अजैमेरुकोट: डोटेली राज्यको अवशेष [Travel]

पश्चिम नेपालका बाइसे राज्यबारे ईतिहासमा धेरैपटक पढिएको हो । त्यहीमध्येको एक डोटेली राज्यको सम्झना हुन्छ हाल डडेलधुरा जिल्लामा पर्ने अजयमेरुकोट पुग्दा । अजैमेरुकोट खासमा एउटा डाँडाको थुम्कोमा रहेको दरबार हो । यो ठ्याक्कै के थियो भन्नेमा दुईखाले भनाई पाइन्छ । एउटाले भनाइले डोटीका संस्थापक राजा निराजनदेवले स्थापना गरेको डोटेली राजधानी भन्छ भने अर्कोले चौधौं शताब्दीमा तत्कालिन डोटेली स्वर्ण युग हाँकेका राजा नाग मल्लको गृष्मकालिन राजधानी । सत्य जे सुकै भएता पनि त्यसलाई गन्तव्य बनाएर तय गर्न सकिने पदयात्रा र त्यहाँको भौगोलिक अवस्थित र बास्तुकलाले भने जो कोहीको मन लोभ्याउन सक्छ ।

यहाँ पुग्ने यात्रा शुरु हुन्छ सुदुरपश्चिमको हिल स्टेसन डडेलधुरा जिल्लाको सदरमुकाम ‘अमरगडि नगरपालिका’बाट । १५ मिनेटको जिप यात्रा गरेर आइतबजारसम्म पुर्‍याउँछ । आइतबजारबाटै अजैमेरुकोटसम्मको झण्डै ३ घण्टे यात्रा शुरु हुन्छ । र, त्यहाँबाट अगाडि बढ्नका लागि कि त पैदल यात्रा गर्नुपर्छ या घोडसवार । शान्त जंगलबिचबाट चराचुरुंगीको आवाज सुन्दै यात्रा गर्नुको आनन्द निकै अनुपम हुन्छ ।

बिचमा आउँछ सुन्ताला र अन्य अग्र्यानिक फलफूलका लागि चर्चित सुनेन्दा गाउँ । सुन्ताला गाउँको अर्को विशेषता भनेको त्यहाँबाट निकै राम्रोसँग देखिने अपी हिमश्रृङ्खला पनि हो । यदि घोडसवार भइएको छ भने सुन्ताला गाउँको अन्त्यसम्म मात्र त्यसको आनन्द लिन सकिन्छ । किनकि त्यहाँबाट सिंडिजस्तो बाटोमा निकै ठाडो ओरालो झर्नुपर्छ । घोडामा यात्रा गर्नेका लागि अजैमेरुकोटको रुट किन पनि बढि रोचक हो भने यहाँ घाँेडाहरु समथरदेखि उकालो, ओरालो र खोंचमा समेत यात्रा गर्छन् । उकालो यात्राको क्रममा घोंडाले तान्न नसक्ला कि भनेर पहिलोपटक घोडसवार हुनेहरु निकै डराउँदा रहेछन् । तर घोंडासाथ हिड्ने स्थानिय गाइडहरु पनि हुन्छन् । घोंडसवारमा एउटा उखानै रहेछ, “ओरालोमा घोंडालाई बचाउने, उकालोमा घोंडाले बचाउँछ ।”

Sunday, July 15, 2012

तन भुल्ने तिमालडाँडा


काठमाडौंको पट्यारलाग्दो दैनिकीबाट छोटो समयका लागि निस्किएर प्रकृतिसँग  रमाउन खोज्नेहरुलाई काभ्रेको तिमालडाँडा स्वागत गर्न आतुर छ । काभ्रेको पूर्वी भेगमा अवस्थित यो डाँडा प्राकृतिक सुन्दरतासँगै बौद्ध संस्कृतिसँगै जोडिएको महत्वपूर्ण ठाउँ हो यो जसलाई भकुण्डेबेसीबाट १५ किलोमिटरको दूरी हाइकिङ गर्दै पुग्न रुचाउँछन् प्राय: मानिसहरु । तामाङ्ग जातिको बाहुल्यता रहेको यहाँ बौद्ध धर्मका गुरु रिम्पोचेले लामो समय तपश्या गरेका थिए जसले विभिन्न ठाउँमा थुप्रै गुम्बाहरु छन् जसले प्राकृतिक डाँडालाई बौद्ध धामजस्तो पनि देखाउँछ । 

Sunday, June 17, 2012

सानदार सत्यवती



नाकै ठोक्किने उकालो पार गर्नासाथ देखिने सुन्दर तालको दृश्यले उकालोको थकाइ मेटाइदिन्छ। थाप्लोमै आकाश अडिएजस्तो देखिँदा  झन् मन त्यसै रमाउँछ। पाल्पाको कोलडाँडास्थित सत्यवती ताल पुग्दा यस्तै अनुभव गर्न सकिन्छ। 


१ हजार ४ सय मिटर उचाइमा रहेको यो ठाउँमा पुग्न झन्डै दुई घन्टा ठाडो उकालो चढ्नुपर्छ। बाटोमा मगर समुदायको जनजीवन र संस्कृतिका विविध आयाम अवलोकन गर्दै ताल वरपरका डाँडाबाट पाल्पा, रूपन्देही र नवलपरासीतिरका ग्रामीण बस्तीसमेत हेर्न पाइन्छ। यहाँको चुकौनी बिर्सनै नहुने परकिार हो ।

धार्मिक दृष्टिले समेत ताल महत्त्वपूर्ण भएकाले धार्मिक पर्यटनको सम्भावनासमेत छ, यहाँ। तालमा सत्यवती माईको बास भएको विश्वास गरिन्छ, जसका कारण धार्मिक आस्था भएकाहरू भाकल लिएर पुग्छन्। अन्य धार्मिक ठाउँका तुलनामा सत्यवती तालको विशेषता फरक छ। सत्यवती देवीको श्रवणशक्ति कम तर अन्य शक्ति विशेष भएकाले चिच्याउनुपर्छ भन्ने जनश्रुति छ। त्यसैले यहाँ चिच्याएरै वर मागिन्छ।

यहाँ पुग्न सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने चौबीस माइल भन्ने ठाउँमा ओर्लिएर उकालो लाग्नुपर्छ ।

Thursday, February 9, 2012

दामी दामन



दामन, भन्नासाथ धेरैले ‘हिउँ खेल्ने ठाउँ’ सम्झन्छन् । हुन पनि २,५८४ मिटरको उचाइमा रहेको मकवानपुर जिल्लाको उत्तरमा पर्ने दामन गाविसको सिमभञ्ज्याङले सबैभन्दा प्रशिद्धि हिउँबाटै कमायो । त्यसबाहेक दामन अन्य दुई कुराले चर्चित छ, ‘विश्वका उत्कृष्ठ १४ मध्ये ८ वटा हिमालको एकै ठाउँबाट हुने अवलोकन’ र ‘उत्कृष्ठ सूर्योदयको दृश्य’का लागि । एकै ठाउँबाट त्यतिधेरै हिमाल देखिने नेपालको निकै कम ठाउँहरु मध्ये दामन समेत एक हो । त्यहाँको एउटा “भ्यूटावर” समेत छ जसमा रहेका दूरविनको सहायताले परपरसम्मका गाउँहरु एवं हिमाललाई झनै राम्रोसँग हेर्न मिल्छ । 


त्यससँगै त्यहाँ वरपरको जंगलमा एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् भने विभिन्न शैलीका सुनगाभाका लागि समेत यो चर्चित छ । त्यहाँबाट २ घण्टा हाइकिङ् गर्दै मानवनिर्मित ताल ‘इन्द्रसरोवर’ पुग्न समेत सकिन्छ । शिशिर याममा दामनमा हिउँ पर्ने भएता पनि जाडोभर नै त्यहाँका कुलोहरुमा विहानपख पानी जमेर शिशाझैं बरफका पाताहरु देखिन्छन् । त्यही विशेषतालाई बुझेर हालै त्यहाँको करुणाभूमि सामुदायिक वन उपभोक्ता समूहले ‘क्रितिम पर्वतिय ताल’ निर्माण थालेको छ जसले चिसोमा हिमतालको रुप लिनेछ । पर्यटकको बढ्दो चापलाई बुझेरै अहिले यहाँ थप एक भ्यूटावर निर्माण थालिएको छ ।


त्रिभुवन राजपथ अन्तर्गत पर्ने दामन काठमाडौंबाट झण्डै ४ घण्टाको बस यात्राबाट  पुग्न सकिन्छ । रात विताउनका लागि त्यहाँ थुप्रै होटल तथा रिसोर्टहरु छन् ।


तस्विर: गोकर्ण लामिछाने 
  
This appeared in NEPAL magazine 

Sunday, January 22, 2012

रमाइलो रामग्राम

नवलपरासी जिल्लाको एक मात्र नगरपालिका रामग्राम धार्मिक एवं पर्यटकीय स्थल हो। रामग्रामको मुख्य आकर्षण त्यहाँको सुन्दर स्तूप हो, जहाँ भगवान् बुद्धका अष्ट धातुमध्ये एक राखिएको छ। सम्राट अशोकले युद्धबाट विरक्तिएर शान्तिका लागि बुद्ध धर्म अपनाएपछि स्तम्भ निर्माण गरेका थिए। लुम्बिनीमा पनि त्यस्तै एउटा स्तम्भ छ। तर, रामग्राम स्तूपको महत्त्व लुम्बिनीमा रहेको स्तूपको भन्दा धेरै छ। कारण सम्राट अशोकले आठ ठाउँका अष्ट धातु झिकी कलसमा भरेर विभिन्न ठाउँमा राख्ने योजना बनाएका थिए तर उनले सात ठाउँको मात्र झिक्न सके, रामग्रामको भने सकेनन्।

रामग्रामलाई गौतम बुद्धकी आमा मायादेवीको जन्मस्थल अर्थात् बुद्धको मावलीका रूपमा पनि चिनिन्छ। रामग्रामलाई बुद्ध धर्मावलम्बीहरू जीवनमा एकपटक पुग्नैपर्ने ठाउँका रूपमा लिन्छन्। काठमाडौँबाट एकदिने बस यात्रामा पुगिन्छ, रामग्राम। हवाई मार्गबाट भैरहवामा ओर्लेर ३० किलोमिटरको मोटरयात्राबाट पनि त्यहाँ पुग्न सकिन्छ। विश्व सम्पदा सूचीमा परेको लुम्बिनी घुम्न जाँदा रामग्रामलाई पनि आफ्नो गन्तव्यमा पार्न सके घुमाइ अझ रमाइलो हुनसक्छ। परासीबाट तीन किलोमिटर दक्षिणमा रहेको रामग्रामसम्म जिप, भ्यान वा रिक्सामा सजिलै पुग्न सकिन्छ। बस्नका लागि केही होटलहरू छन्। त्यहाँबाट एक घन्टाको बसयात्रामा बुटवल वा भैरहवा र्फकन सकिन्छ।

This appeared in NEPAL magazine

हिलपार्कको मज्जा

बुटवल बजारबाट उत्तरतर्फ डेढ किलोमिटर मात्र टाढा रहेको हिलपार्क रमणीय स्थल हो । चुरे पर्वतको काखमा रहेको यस पार्कबाट बुटवल बजार र आसपासका क्षेत्रको प्रस्ट दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट तराईको सुन्दर फाँट लमतन्न परेको देख्दा मन त्यसै रमाउँछ । सानो पहाडको थाप्लोमा अवस्थित हिलपार्कमा बुटवल नगरको भीडभाड र कोलाहलबाट मन बहलाउन थुप्रै मानिस पुग्ने गर्छन् । खासगरी बेलुकीपख परविारका सदस्य एवं साथीहरूको लर्को मिलाएर हिलपार्क घुम्दाको आनन्द नै फरक हुन्छ । मर्निङ् वाकका लागि समेत धेरैले हिलपार्कलाई नै गन्तव्य बनाउँछन् । हिलपार्क वनभोज जाने सुन्दर थलोसमेत हो ।

डेटिङ् गएर युवकयुवतीका जोडीसमेत यहाँ रमाउँछन् । पार्कमा ठडिएका सालका रूखमा आड लिएर प्रेमीहरू गफिएको दृश्यले प्रेममा व्यग्र जोडीका लागि यो ठाउँ स्वर्गै रहेछ कि क्या हो जस्तो लाग्छ । चराचुरुंगीको आवाजले यहाँको माहोललाई झनै रोमाञ्चक बनाउँछ भने हावाको बहावसँगै सालको पात बज्दा मनै लट्ठ हुन्छ । अहिले हिलपार्कमा अर्को विशेषता पनि थपिएको छ, देशका चर्चित कलाकारले त्यहीँको ढुंगामा कुँदेर  बनाएका मूर्ति तथा चित्रकलाहरू । यी कलाकृतिमा शान्ति, मानवता, प्रेम र यौनभाव समेटिएका छन् । पार्कभन्दा माथिल्लो भाग छिचोल्दै हाइकिङ्समेत जान सकिन्छ ।

Sunday, December 11, 2011

स्टिमरमा सरर...


स्याङ्जाको मिर्मी पुगेपछि जलयात्रा गरिएन भने भ्रमण अपूरो हुन्छ। नेपालकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी 'ए' बन्ने क्रममा मिर्मीनजिकै बाँध बाँधिएपछि नदी तालमा परिणत भएर त्यहाँ जलयात्रा सम्भव भएको हो। मिर्मी ड्यामसाइटबाट स्टिमरले गुल्मी जिल्लाको सेतीबिनीसम्मको साढे सात किलोमिटर दूरी ४५ मिनेटमा तय गर्छ, जसमा एकपटकमा ६० जनासम्मले यात्रा गर्न सक्छन्। सेतीबिनी पुगेर विश्वको सबैभन्दा ठूलो शालिग्राम शीलाको अवलोकन गरेर र्फकन सकिन्छ। अहिले त्यहाँ १२ वटा स्टिमर चालू अवस्थामा छन् । स्टिमर घन्टैपिच्छे छुट्छन्। 

स्टिमरमा यात्रा गर्नेले जल यातायातको अनुभव मात्र गर्दैनन्, यात्रा अवधिभर दुवैतर्फ रहेका घना जंगललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्नसमेत पाउँछन्। नदीको दुवैतर्फ अवस्थित पहाडका खोँचमा रहेका स-साना प्वालहरू र जमिनमुनिबाट रसाउँदै निस्कने पानीका फोकाहरूसमेत उत्तिकै हेर्नलायक हुन्छन्। स्टिमर चालकले कतिपय ठाउँमा एक्कासि नदीको किनारतर्फ लैजान्छन्, जतिखेर छेउको पहाडमा रहेका अग्ला रूखहरूबाट निरन्तर झर्ने पानीका थोपाले यात्रीलाई आनन्द दिन्छन्। यसमा एकतर्फी यात्रा गर्न ५० रुपियाँ लाग्छ। मिर्मी पुग्न पोखरा वा बुटवलबाट स्याङ्जाको जिरो भन्ने ठाउँमा पुगेर त्यहाँबाट २० किलोमिटर पश्चिमको जिप यात्रा गर्नुपर्छ।



This appeared in NEPAL magazine


Related Post:: Steamers a boon