क्यान्सरसँग कसरी भिडिराख्नुभएको छ ?
स्तन क्यान्सर पत्ता लागेको एक महिनामै मेरो डिम्बाशयमा पनि क्यान्सर देखियो । दुवै अलगअलग प्रकृतिका थिए । ती पहिलो चरणमै रहेका कारण समयमै उपचार सम्भव भयो । क्यान्सरभन्दा बढी समस्या त एक महिनाभित्रै दुइटा अपरेसन गर्नुपर्दाको मानसिक तनाव थियो । शारीरिक रूपमा निकै कमजोर भएँ । चिकित्सक, मनोचिकित्सकहरू आउनुभयो । उहाँहरूले निद्रा लाग्ने औषधि दिनुभयो, जसलाई मैले ‘ह्याप्पी मेडिसिन’ नाम दिएकी थिएँ । त्यसले मेरो खास समस्या समाधान गरेन । जब उहाँहरूले अर्को औषधि दिने कुरा गर्नुभयो, म झन् बढी चिन्तित भएँ । औषधिले समस्या समाधान गर्दैन भन्ने लागेपछि म योगतिर लागेँ । जसले मलाई अहिले निकै ऊर्जा र उत्साह दिएको छ ।
बीपी कोइरालालाई समेत क्यान्सर लागेपछि एक सन्दर्भमा ‘झैझगडाहरू सबै बेकार रहेको, जीवन नै ठूलो कुरा रहेको’ भन्नुभएको थियो । तपाईंलाई पनि कुनै बेला यस्तो लाग्यो ?
हामीले आफैँलाई मात्र संसार सोचेका हुन्छौँ, जुन आखिर भ्रम रहेछ । मलाई थुप्रैपटक यस्तो लाग्यो । दोस्रोपटक म १२ दिनजति अस्पताल बसेँ । त्यतिखेरसम्म मलाई मानसिक रोग लागिसकेको रहेछ । अस्पतालमा डाक्टर–नर्ससँग हुँदा मात्र सुरक्षित अनुभव हुने, बाहिर निस्केर बस्न डर लाग्ने । मैले निस्किनै नमानेपछि डाक्टरहरूले बाहिर गएर घुलमिल हुन, राम्री बनेर घुम्न, सपिङ गर्न, रमाइलो गर्न हौस्याए । उनीहरूले खास मेरो उदासपन नापेरै त्यसो भनेका रहेछन् । त्यतिखेर मलाई पावर, पैसा, ग्ल्यामर भन्ने कुरा केही रहेनछ भन्ने अनुभव भयो । हामी बेकारमा एकअर्कामा द्वैष, झगडा पालेर बसेका छौँ । हिजो साथी–भाइ र परिवारसँग गरेका झैझगडा सम्झिँदा अहिले निकै हास्यास्पद लाग्छ ।