प्रदीप बस्याल र मनबहादुर बस्नेत
फोटोग्राफर जगदीश तिवारीले खिचेका हजारौँ तस्बिर नेपाल चिनाउने पोस्टकार्डका रूपमा बजारमा छन् । त्यसका लागि उनले तीन दशकयता मुलुकका पचहत्तरै जिल्ला चहारेका छन् । उमेरले ५० काटेका यी ‘मुडी’ फोटोग्राफर अझै पनि अपर्झट यात्रामा निस्किन्छन्, हप्तौँ हराउँछन् । फोटोग्राफर हुनुको एउटा विशेष पक्ष के छ भने उनले पुगेका ठाउँको पनि सबैभन्दा उत्कृष्ट दृश्यावलोकन गरेका छन् ।
झन्डै एक दशकअघि पूर्णिमाको रात एक्लै कालापत्थरमा काटेका रहेछन् तिवारीले । रात जति ढल्कँदै जान्थ्यो, चन्द्रमाको उज्यालो हिमालमा ठोक्किएर विचित्रको चमक देखिन्थ्यो । “सुनसान त्यस रातमा १ सय ८० डिग्रीमा सगरमाथा अगाडिपट्टि राखेर आकाशका तारा हेरेँ,” उनी सुनाउँछन्, “मलाई लाग्यो, स्वर्ग त्यही हो ।”
नेपालमा अझै त्यस्ता थुप्रै ठाउँ छन्, जहाँ स्वर्ग महसुस गर्न सकिन्छ । नेपाल त्यस्तो देश हो, जहाँ घुम्न हिँड्नुअघि धेरै सोचिरहनु आवश्यक छैन । निकै छोटा दूरीमै भेटिन्छन्, विभिन्न जातजातिका, संस्कृति र जीवनशैली । उस्तै विविधतापूर्ण मौसमयुक्त भूगोल । “एउटा खोल्सोमा कलकल पानी आइरहेको हुन्छ । थोरै ढिस्को नाघ्दा झरना देखिन्छ । थोरै माथि उक्लँदा क्रमैसँग मगर गाउँ, शेर्पा गाउँ । नाकै ठोक्किने हिमाल,” तिवारी भन्छन्, “घुम्दा यसभन्दा बढी के चाहियो ?”
भ्रमणका सोखिनहरू विकासका पूर्वाधार खडा भइनसकेको हाम्रो दुर्गम र पिछडिएको जस्तो लाग्ने परिवेशलाई नै वरदान ठान्छन् । जसले यात्रामा साहसीपन अनुभूति गराउँछ । थुप्रै ठाउँका ‘आइटिनरी’ नै बनेका छैनन् । यात्रा कति दिन लम्बिन्छ र के के देखिन्छ भन्ने थाहा हुँदैन । पुगिसकेपछि सबै कुरा ‘सरप्राइज’का रूपमा आउँछन् ।
गत वर्ष रारा ताल पुग्दाको अनुभव त्यस्तै छ, आर्थिक विषयका शोधकर्ता सुरथ गिरी, ३०, सँग । गुगलमा भेटिएको नेपालगन्ज–ताल्चा–रारा रुटलाई छाडेर उनी दैलेखबाट पदयात्रामा हिँडेका थिए । ६ दिन लगाएर पुगेको त्यो रुट त्यस्तो थियो, जसबारे दैलेखीलाई नै खासै थाहा थिएन । यात्रामा इँट्टा भन्ने गाउँमा खण्डहर भएका घर र मानवरहित बस्ती देख्दा द्वन्द्वलाई नजिकबाट अनुभूत गरेझैँ लागेछ उनलाई ।
कालीकोटको सिञ्जा उपत्यकाको छेवै छेउ रारानजिक पुग्दा पनि कहाँ बस्ने के खाने पत्तो नभएर केही बेर त सुरथ र उनका साथीहरू अत्तालिएछन् पनि । “मुस्किलले भेटिएको सानो झुप्रोमै विशेष आतिथ्य पाइयो,” उनी सुनाउँछन्, “यसरी पाइलैपिच्छे भेटिने कथाहरू नै पछिसम्मका लागि यात्राका अमिट स्मृति हुन् ।”