Showing posts with label Children. Show all posts
Showing posts with label Children. Show all posts

Tuesday, August 19, 2014

हिजो कमिक्स, आज कार्टुन

कार्टुन जगतका चर्चित पात्र 'आर्ची'को कमिक शृंखलामा निधन भयो, ३२ असारमा। सन् १९४१ मा कमिक शृंखला 'पेप कमिक'बाट उदाएको उक्त पात्र सन् २०१४ को जुलाईमा आइपुग्दा 'लाइफ विथ आर्ची'बाट हरायो। प्रेम, मित्रता, साहसजस्ता थुप्रै गुणले चिनिएको आर्ची मारएिको खबरले बालबालिकादेखि युवासम्मका लाखौँ प्रशंसक निराश भए। अमेरिकादेखि अस्ट्रेलियासम्म फैलिएका उसका कतिपय शुभेच्छुकबीच रुवाबासी नै चल्यो।

अन्ततः आर्ची कमिकका प्रकाशक जोन गोल्डवाटरले सार्वजनिक रूपमै बोल्नुपर्‍यो। आर्चीको मृत्युको कारण प्रस्ट्याउँदै उनले भने, "यो घटना दुःखद होइन, बरू प्रेरणादायी हो। आर्चीले त्यही गर्‍यो, जुन कुरा तपाईंहरू आर्चीले गरोस् भन्ने चाहनुहुन्थ्यो। उसले आफ्नो साथीको ज्यान बचाउन गोली खाएको हो।" उक्त तर्कबाट आर्चीका फ्यान कत्तिको सम्हालिए कुन्नि! तर, यस घटनाले कार्टुनका पात्रहरू मानिसका मनभित्र कसरी गडेर बसेका छन् भन्नेचाहिँ पुनः एकपटक छर्लंग भयो। उता २० साउनमा भारतीय कार्टुनिस्ट प्राणकुमार शर्माको निधन हुँदा उनले जन्माएको पात्र 'चाचा चौधरी'लाई त्यत्तिकै सम्झना गरियो ।

चाचा चौधरी कार्टुनका सामान्य पात्रभन्दा माथि थियो। भारतमा अंग्रेजी कमिक्सको दबदबा रहेका बेला प्राणले चाचाजस्ता पात्र जन्माएर स्थानीयकरणको सुरुआत गरेका थिए, सन् १९७१ मा। उक्त सुरुआतले आफ्नै परविेशका कथा र पात्रसँग भारतीय कार्टुनप्रेमीलाई जोडेको थियो। चाचा चौधरीले दिने सन्देश के थियो भने हरेक परविारमा एउटा एउटा पाका मानिस हुन्छन्, जसले विवेकपूर्ण ढंगबाट घरका समस्या समाधान गर्छन्। यही मर्मलाई स्थापित गर्न हास्य रसको आलोकमा चाचा चौधरी क्रियाशील थियो।

नेपालमा भने सन् १९९० अघिसम्म अंग्रेजीभन्दा भारतीय कमिक्सको प्रभाव थियो। लोटपोट, मधु मुस्कानजस्ता हिन्दी कमिक्स नेपाल आउँथे। आफूलाई हिन्दी कमिक्सकै उत्पादन ठान्ने कार्टुनिस्ट रविन साय्मि सुनाउँछन्, "काठमाडौँमा कमिक्सका किताब किन्नै पर्दैनथ्यो, ती भाडामै पाइन्थे र घरघरमा झुन्ड्याएर राखिएका हुन्थे।"

Saturday, February 1, 2014

नदेखेको देश


मसुद अहमद, बर्ष ६, को घर पाकिस्तानको साल्कोटमा हो । उनलाई थाहा छ, साल्कोट पाकिस्तानको पञ्जाब प्रान्तमा पर्छ । पाकिस्तानको राजधानी इश्लामावाद नजिकै छ उनको गाउँ । यी सबै कुरा उनले आफ्ना बुवाले बताए अनुसार थाहा पाएका हुन् । धेरैपटक पाकिस्तानको नक्सा पल्टाएर उनी आफ्नो गाउँ कहाँ पर्छ हेरेका छन् ।

उनी स्वयं भने पाकिस्तान कहिल्यै पुगेका छैनन् । उनी काठमाडौंकै पाटन अस्पतालमा जन्मिएका हुन् । आजभन्दा १० बर्षअघि उनका बुवा नविद् अहमद नेपाल आएर शरणार्थी बनेका थिए । अहिले मसुद आफ्ना बुवाआमा, भाई र चार अंकलका साथ काठमाडौंमा छन् ।

उनीहरु अहमदिया मुस्लिम हुन् । पाकिस्तानमा भने अहमदियालाई मुस्लिम नै मानिदैन । त्यहाँको सरकारले नै उनीहरुलाई अरु मुस्लिमसँगै मस्जिदमा गएर प्रार्थना गरे कारवाही हुने नियम बनायो । हामीले कसैलाई भेट्दा नमस्ते भनेझैं मुस्लिमहरु ‘सलाम वालेकुम’ भन्छन् र नमस्ते फर्काएझैं ‘वालेकुम सलाम’ भन्छन् । त्यसो भनेको ‘ईश्वरले तिम्रो रक्षा गरुन्’ हो । अहमदियाहरुले त त्यसो भन्न पनि नपाउने भए । गाउँघरमा उनीहरुलाई अछुत्जस्तै व्यावहार गर्न थालियो । ज्यानकै डर भनेपछि मसुदका बुवा नविद भागेर नेपाल आएका थिए ।

धर्म, राजनीति, शरीरको रंग, भाषाजस्ता कुरामा मतभिन्नता भएसँगै त्यसले निम्त्यने असहज वातावरण र युद्धले मानिसहरुलाई शरणार्थी बनाउँछ । र, उनीहरु आफ्नो देश, आफन्त छाडेर अन्य देशमा बस्छन् । विश्वभर यस्ता शरणार्थीहरु झण्डै ३ करोड छन् । कति लामो समयसम्म शरणार्थी नै रहन्छन् त कोही जन्मंदै शरणार्थीको रुपमा जन्मन्छन् ।

नेपालमा अहिले मसुदजस्ता थुप्रै देशका शरणार्थी छन् । सबैभन्दा बढि भुटानका छन् । त्यसपछि चीनको तिब्बतबाट आएका छन् । भुटान र तिब्बतबाट आएकाहरु थुप्रै परिवार एकैसाथ आएकाले एकै ठाउँमा क्याम्प बनाएर बसेका छन् । तर मसुद्जस्ता अन्य देशबाट आउनेहरु भने थोरै थोरै छन् र एक दुई परिवार भएर छुट्टाछुट्टै आएका कारण काठमाडौंमा कोठा भाडा लिएर बस्छन् । उनीहरुलाई ‘शहरी शरणार्थी’ भनिन्छ । कोठा भाडामा लिएर बस्नेहरु म्यानमार, सोमालिया, इराक लगाएतका देशका छन् । नेपाल सरकारले चाहीं भुटानी र तिब्बतीलाई मात्र शरणार्थी मान्छ । तर पनि यहाँ आइसकेका र घर फर्कन नसक्ने त्यस्ता शहरी शरणार्थीलाई मानवियताका आधारमा राखेको छ । शरणार्थी भएपछि काम गर्न पनि पाइंदैन । सरकार वा संयुक्त राष्ट्रसंघिय शरणार्थी नियोग (युएनएचसिआर)ले दिने थोरै पैसामा जीवन चलाउनुपर्छ ।

Tuesday, December 10, 2013

साइन्स सीटीको रमाइलो

चन्द्रमामा पुगिएला वा नपुगिएला, विशाल समुद्रमाथि पानी जहाज चढिएला वा नचढिएला । यो विशाल पृथ्वी र त्योभन्दा कयौँ गुणा ठूलो सौर्यमण्डलका थुप्रै रोचक कुराहरू किताबमा पढिन्छ मात्र । धेरै पढेका कुरा नदेखेसम्म थोरै मात्र दिमागमा घुस्छन् । त्यसो भन्दैमा फेरि सबै कुरा देख्न पनि त सकिँदैन । र, अर्को कुरा के पनि हो भने हरेक कुराका पछाडि केही न केही विज्ञान लुकेकै हुन्छ । भारत सरकारले त्यही भएर कोलकातामा साइन्स सीटी भनेर एउटा सानो सहर नै बनाएको छ । जहाँ छिरेपछि जता गए पनि, जता हेरे पनि हाम्रो मनमा उब्जने ठुल्ठूला जिज्ञासाहरूको उत्तर पाइन्छ । साइन्स सीटी दक्षिण एसियाकै सबैभन्दा ठूलो हो ।

हामीले पढ्ने चाहे ती न्युटनका गतिसम्बन्धी नियम हुन् वा ऐनाले कसरी काम गर्छ भन्नेजस्ता थुप्रै कुराहरू जान्न सीटीको एउटा कुनामा चक्कर लगाए पुग्छ । हामी बसिरहेको पृथ्वी कस्तो होला भन्ने जान्न मन लाग्यो भने त्यहाँ 'अर्थ एक्सप्लोरेसन हल' पुग्नुपर्छ । त्यहाँ पृथ्वीको एउटा ठूलो ग्लोब छ । ग्लोब यति ठूलो छ कि पृथ्वीको उत्तरी ध्रुव हेर्न मन लागे एक तलामाथि नै चढ्नुपर्छ दक्षिणी धु्रव हेर्ने भए भुइँतलाबाट । ठूलो ग्लोब भएकाले विभिन्न ठाउँका विशेषताहरू धेरै त त्यसमै देखिन्छन् । कुन भागमा कस्ता मान्छे वा जनावर बस्छन्, उब्जाउ कता के हुन्छ, कुन ठाउँमा कस्तो मौसम हुन्छजस्ता थुप्रै अरू जान्न मन लागे त्यससँगै छेउमा हुने कम्प्युटरको सहायता लिनुपर्छ ।

साइन्स सीटीमा छुट्टाउनै नहुने अर्को ठाउँ हो 'इभोलुसन पार्क' । त्यो त्यस्तो पार्क हो जहाँ मानिस, जनावर र वनस्पतिको उत्पत्ति र विकास कसरी भयो भन्ने थाहा हुन्छ । त्यहाँ २६ वटा त डाइनोसर मात्र छन् । तर डराउनु पर्दैन, साँच्चिकै डाइनोसर त पृथ्वीबाट लोप भइसक्यो । बरु डाइनोसरको मुखबाटै छिरेर उसको शरीरभित्र हेर्न मिल्छ । डाइनोसर निकै ठूलो आकारको हुने हुँदा उनीहरूको विभिन्न अंगको आड लिएर लुकामारी समेत खेल्न मिल्छ । त्यसबाहेक त्यहाँ हामीले नामै पनि राम्रोसँग नसुनेका तर थुप्रै वर्षअघि पृथ्वीमा रहेका डाइनोसरजस्ता ७१ वटा जनावर छन् । कति त रोबटको सहायताले बनाइएका हुँदा हिँड्छन् पनि ।