Showing posts with label War. Show all posts
Showing posts with label War. Show all posts

Saturday, January 25, 2014

"यसरी जित्यौ फकल्याण्ड" [with Video]

(इन्द्रेणी पोखरी, खोटाङका बुद्धिराज राई, ५४, सन् १९८० मा धरान क्याम्पबाट ब्रिटीस आर्मीमा प्रवेश गरेका भूपु सैनिक हुन् । गोर्खा सैनिकको भरमा बेलायतले अर्जेन्टिनाको कब्जाबाट फुत्काएको फकल्याण्डको युद्धका साक्षी हुन् उनी । खासमा गोर्खा सैनिकले कसरी जिताएको थियो उक्त युद्ध । प्रदीप बस्यालसँगको कुराकानीमा आधारित राईको युद्ध सम्झना यहाँ प्रस्तुत गरिएको छ ।)
****
७ महिना बेलिजमा बिताएर फर्कंदा मेरो बिस्तारामा फकल्याण्ड जानका लागि हतियार, बन्दोबस्ती र खानपानको लागि सामान तयारी अवस्थामा थिए । र, बेलायत टेकेको ३ दिनमै म त्यता जानुपरेको थियो । हुन त मध्य अमेरिकाको उत्तरपुर्वी तटमा रहेको सानो राष्ट्र बेलिजमा छंदै फकल्याण्डमा बढेको तनावबारे थाहा पाइसकेको थिएँ । बेलिज भने सन् १९८१ को सेप्टेम्बरमा बेलायतबाट स्वतन्त्र भइसकेको थियो । त्यसै त अति सानो देश, त्यसमाथि उसको आफ्नै सेना थिएन । त्यसकै फाइदा उठाउँदै दक्षिणी छिमेकी ग्वाटेमालाले उसलाई हडप्न पूरा तयारी गरिरहेको थियो । ब्रिट्रीस आर्मीको ७ गोर्खा रेजिमेन्टको तर्फबाट समेत हाम्रो एउटा कम्पनी बेलिज डिफेन्स फोर्स तयार पार्न र प्रारम्भिक अवस्थामा ग्वाटेमालाबाट जोगाउनका लागि त्यहाँ गएका थियौं । त्यहाँ युद्ध चाहीं भएन तर कतिखेर युद्ध छेडिएला भन्ने भयले कुनैबेला छाडेन । ग्वाटेमालालाई त्यसैबेला चिलीले आक्रमण गर्ने भय नभएको भए सायद युद्ध हुन्थ्यो होला पनि । आजभोलि लाग्छ, बेलिजमा युद्धमय बनेको मेरो दिमाग सायद फकल्याण्ड युद्धको लागि भएको रहेछ ।

एउटा सिपाहीका लागि युद्धमा जानु कुनै असाधारण कुरा होइन । तर फकल्याण्डको युद्ध भने साधारण तरिकाले जितिने युद्ध थिएन । इङल्याण्डबाट ८०६४ माइल पर थियो उक्त टापु अर्जेन्टिनाबाट भने ३१० माइल मात्र । सन् १८३३ यता बेलायतको अधिनमा रहेता पनि सायद दूरी र निकै सानो भूभाग भएकाले बेलायतको प्राथमिकतामा त्यो कहिल्यै परेन । बेलायती सेनाको स्थायी क्याम्प समेत थिएन त्यहाँ । त्यही फाइदा उठाएको थियो अर्जेन्टिनाले । र, त्यहाँ आफ्ना सैनिक पठाएर युद्धका सबै व्यवस्थित पूर्वाधार तयार पारेपछि मात्र आफ्नो कब्जा घोषणा गरेको थियो । जसबाट ब्रिट्रीसहरु निकै चिडिएका थिए र युद्ध जित्ने निकै बलियो आड खोजिरहेका थिए । गोर्खालीहरु त्यही रणनीति अनुसार प्रयोग भएका हुन् । खासमा फकल्याण्ड युद्ध बेलायतले खडा गरेको त्यही ‘गोर्खाली त्रास’का भरमा जितेको थियो । बिबिसीले गोर्खालीको सैन्य परिचय दिन के मात्र बढाइचढाई गरी देखाएनन । उसले प्रचार गरेको थियो–– गोर्खाली मान्छेकै रगत खाने स्वभावका हुन्छन्, एउटै खुकुरीको भरमा कम्तिमा एक सय मिटर व्यासमा त उनीहरुलाई छुन पनि सकिंदैन । एउटै कसैलाई केही भए पनि कोही विपक्षीलाई छाड्दैनन्, जस्ता केके हो केके । दुश्मनमा त्रास भर्न उसले प्रचार गरेको सबैभन्दा ठूलो झुट भने गोर्खालीको सङ्ख्याको थियो । ६ सय जना जति गएकामा उनीहरुले ६ हजार गोर्खाले फकल्याण्डतर्फ रवाना भए भनेका थिए । खास, त्यसबेला ब्रिटीस आर्मीमै जम्माजम्मी ६ हजार गोर्खा सैनिकहरु थिए । तर जाने भने हाम्रो सेभेन गोर्खा रेजिमेन्ट मात्र थियो ।