दुई दशकपछि जब दुई-दुई पटकका ओस्कार र ग्रेमी अवार्ड विजेता संगीतकार तथा गायककार एआर रहमानले भारतमा आफ्नो कन्सर्ट टुर 'रहमानइक्स' घोषणा गरे, धेरैलाई खुसीसँगै अचम्ममा पार्यो । कारण, उनी मुम्बई, दिल्ली, बैंगलोर कहीँ पुगेनन् जहाँ व्यावसायिक रूपमा सबैभन्दा बढी फाइदा हुन्थ्यो । उनलाई लाइभ सुन्ने सौभाग्य पाउने ठाउँहरू बने, कोलकाता, विशाकापटनम, जयपुर र अहमदावाद ।
हुन सक्छ, उनले सिर्फ भीड खोजेनन्, थोरै सही तर त्यसको मर्म बढीभन्दा बढी बुझ्ने श्रोता रोजे । अक्टाबेर १ मा कोलकाताबाट सुरु भएको रहमानइक्सको यात्रा २७ अक्टोबरमा अहमदावादमा टुंगिँदै छ । रहमानइक्ससँग जोडिएको सन्दर्भ जेसुकै भए पनि विश्व संगीतमा पूर्वीय जगतले गर्व गर्नलायक बनेका रहमानको गुणस्तरप्रति कति संवेदनशील छन् भन्ने उनले छानेका सहरबाट झल्किन्छ ।
तमिल मातृभाषी उनी हिन्दी नै पनि धेरै राम्ररी बोल्न सक्दैनन् । यद्यपि निकै कम शब्दसाथ सार्वजनिक समारोहमा बोल्दा उनका हिन्दी शब्दको कम्पोजिसन उत्तिकै सुन्दर हुन्छ । जसमा उनको मन्द मुस्कान, स्वरको मात्राजस्ता थुप्रै पक्ष मिसिन्छन् । अनि मानिसहरू सीर्फ रहमानको कामको फ्यान बन्दैनन्, उत्तिकै फ्यान बन्छन् उनको व्यक्तित्वको पनि ।
रहमानइक्सको पहिलो कन्सर्टका लागि कोलकाताको साल्ट लेक फुटबल रंगशालामा मैले रहमानको अनेकखाले परिचय एकैपटक देख्न पाएँ । मनसुन लम्बिएपछि अक्टोबर १ को साँझ हुने कन्सर्ट अन्तिम अवस्थासम्म दोधारमा थियो । झरिकै बीच पनि न उनका फ्यान रोकिए न रहमान नै । उनले स्टेज टेकेलगत्तै झरिमय बनेको माहोल संगीतमय बन्यो ।
कन्सर्टको भोलिपल्ट भारतको द टेलिग्राफ दैनिकले लेखेको थियो, 'जब रहमानले स्टेज सम्हाले, झरीका देउता पनि झरी बिर्सेर गीतमा रमाए ।'
***
रहमानको सबैभन्दा ठूलो सफलताको साधारण सूचक के हो भने उनलाई रूचाउने खास कुन उमेर समूहका छन् भन्न निकै गाह्रो छ । उनी शुद्ध क्लासिकलदेखि आधुनिक रकसम्म गाउँछन् ।
हिन्दुस्तानी स्वाद, पश्चिमा क्लासिक र नुसरत फतेअली खान शैलीको कवालीसम्ममा उनी उत्तिकै जम्छन् । संगीतमा यो दायरा यति फराकिलो हो कि जसलाई एउटा गायकले दुर्लभ रूपमा समेट्न सक्छ । यहि विविधताले उनलाई विश्वकै शीर्ष १० सदावहार प्रभावशाली संगीतकर्मी बनाएको छ । बीबीसीको अनुमानमा अहिलेसम्म विश्वभर उनका एल्बम मात्र १० करोडभन्दा बढी बिकेका छन् ।
***
मद्रास (हालको चेन्नई) को एक सांगीतिक परिवारमै जन्मिए तापनि यो सफलतासम्मको उनको यात्रा सहज भने भएन । उनका बुवा आरके शेखर तामिल फिल्मका लागि म्युजिक कम्पोज गर्थे । त्यही देखेर उनले धेरै सिके पनि । कतिसम्म भने रेकर्डिङकै समयमा उनले किबोर्ड बजाएर बुवालाई सघाउँथे । यो उनी ९ वर्षभन्दा कम उमेरको छँदैको हो । किनकि ९ वर्षमा उनका बुवाको निधन भयो ।
उनको परिवार आफ्नो दैनिक गुजारा चलाउनकै लागि बुवाले संगालेका बाद्यबादनका सामग्री भाडामा दिन्थ्यो । तर उनले संगीत छाडेनन् बरू चेन्नईमै साथीहरू जम्मा पारेर रक ब्यान्ड खोले । ११ वर्षदेखि नै बुवाका साथीसँग संगीत सिक्न थाले । उनको फिल्मी करिअर भने २ दशकअघि आफै घरछेउमा एक रेकर्डिङ स्टुडियो 'पञ्चथन रेकर्ड' खोलेसँगै भयो ।
जुन अहिले एसियाकै प्राविधिक रूपमा निकै कम उत्कृष्ट स्टुडियोमा पर्छ । त्यही वर्ष उनले तामिल फिल्म 'रोजा' का लागि संगीत दिने अवसर पाए जुन उनका लागि गज्जबको भइदियो । युवाअवस्थामै उनको त्यो कामले 'इन्डियन नेसनल अवार्ड' पायो । त्यो भन्दा ठूलो अमेरिकी म्यागेजिन टाइमले सन् २००५ मा रोजाको म्युजिकलाई '१० बेस्ट साउन्डट्याक्स अफ अल टाइम' मा दर्ज गर्यो ।