एलियन-वल्र्डमा सवार भएझैँ लाग्छ, पुस्तक पढ्दा । तर, विषय हामी बाँचिरहेको विश्वकै छ । अहिले पनि डिजिटल युगका प्रशस्त झिल्का महसुस भइसकेका छन् । 'द न्यु डिजिटल एज, रिसेपिङ द फ्युचर अफ पिपुल, नेसन्स एन्ड बिजनेसेस'मा चाहिँ देख्न बाँकी दृश्यहरू केलाइएका छन् । त्यसो त यो कुनै रोमाञ्चक फिक्सन होइन । बरू मानवशास्त्रको मापनमा नपर्ने डिजिटल युगको परिकल्पना हो ।
गुगलका कार्यकारी अध्यक्ष एरिक स्मिथ र गुगल आइडियाजका निर्देशक जर्ड कोहिनको यो पुस्तकले विश्वको सबैभन्दा ठूलो 'अन गभन्र्ड' क्षेत्रको भविष्यबारे नयाँ शिराबाट सोचेको छ । किनभने, आगामी दशक अनलाइन विश्वमा आबद्ध मानिसको संख्या दुई अर्बबाट सात अर्ब पुग्दै छ । त्यो भर्चुअल विश्वले भौतिक विश्वलाई राम्रो गर्ला वा नगर्ला ? वा, कस्तो भिन्नता ल्याउला ? यही विषयमा पुस्तक केन्द्रित छ ।
सञ्चार प्रविधिको सबैभन्दा ठूलो उपलब्धि नै शक्ति बिस्तारै राज्य वा संगठनबाट व्यक्तिगत तहमा सर्दै जानु हो । मानिस सीमा, धर्म, भाषा र संस्कृतिका पर्खाल नाघेर यसरी जोडिएका छन् कि युद्ध, कूटनीति र आन्दोलनका स्वरूप परिवर्तन भइरहेका छन् । इन्टरनेट जगत् अराजकता (एनार्की)सम्बन्धी इतिहासमै सबै भन्दा ठूलो प्रयोग भइरहेको क्षेत्र बनेको छ । हरेक मिनेट लाखौँका संख्यामा इन्टरनेटमा जन्मिने सामग्रीलाई कुनै कानुनले बाँध्न सक्दैन । त्यसैले भौतिक विश्व र भर्चुअल विश्व कहिले एकअर्काका परिपूरकजस्ता देखिन्छन् त कहिले आपसमा जुधेजस्ता ।
स्वतन्त्रता र गोपनीयताको चर्को वकालत गर्ने पछिल्लो पुस्ताले डिजिटल युग प्रवेशसँगै थुप्रै कुरा गुमाउनुपर्नेछ । लेखकद्वय आन्तरिक गुटमै रमाउने 'बाल्कनाइजेसन'को नयाँ शृंखला डिजिटल संसारमा सुरु हुने सोच्छन् । मानौँ, सुन्नी मुस्लिम बाहुल्य रहेको साउदी अरब, यमन, अल्जेरिया, मौरिटानियाजस्ता धार्मिक कट्टरपन्थी मुलुकको समूहले बाह्य प्रभाव नहुने 'सुन्नी वेब' निर्माण गर्न सक्छन् । त्यहाँ पश्चिमा जगत्को आलोचना वा आफ्नो सम्प्रदायको मात्र गुनगान सम्भव त होला तर त्यसका फाइदाभन्दा बेफाइदा बढी हुन सक्छन् ।
पुस्तकका अनुसार 'भर्चुअल बहुराष्ट्रवाद'को सम्भावना प्रबल छ, जहाँ बेलारुस, इरिटिया, जिम्बाबे, उत्तर कोरियाजस्ता निरंकुश राज्यले साइबर युनियन बनाउन सक्छन् । त्यसले सेन्सरसिप, नियमनकारी रणनीति र प्रविधि आदानप्रदानको वातावरण बनाउन सक्छ । यसको कुरा गरिरहँदा इन्टरनेटमा लाग्न सक्ने यस्ता प्र तिबन्ध र गुटबन्दीका कारण अन्य देशमा 'इन्टरनेट शरणार्थी'का रूपमा बस्नुपर्ने अवस्था दर्साइएको छ ।
'ग्लोबल भिलेज'को चर्चामा रमाइरहेका हामीमाझ उनीहरूले पुस्तकमा नयाँ शब्दावली क्वाइन गरेका छन्, 'भर्चुअल सार्वभौमिकता र राष्ट्रवाद' । भौतिक विश्वमा औपचारिक राष्ट्रवादबाट टाढा हुनेहरू अनलाइनलाई नै माध्यम बनाएर प्रतिस्पर्धामा लाग्छन् । यो अवसरले अन्ततः वास्तविक राष्ट्रवादकै पक्षमा अवसर सिजर् ना गर्नेछ । जस्तो: इरान, सिरिया र इराकमा रहेका कुर्दिस नागरिकले 'कुर्दिस वेब' निर्माण गरेर एक खाले भर्चुअल सार्वभौमिकता कायम गर्न सक्छन् ।