सानोबाबु सुनुवार, ३०, के हुन् -- कायकर, प्याराग्लाइडिङ पाइलट वा आरोही ? केहीअघिसम्म यस प्रश्नको स्पष्ट उत्तर उनीसँग पनि थिएन। तर, नेसनल जियोग्राफिक म्यागेजिनले विश्वका १० उत्कृष्ट साहसिक काममा आरोही लाक्पा छिरी शेर्पासहित उनको सगरमाथादेखि बंगालसम्मको 'द अल्टिमेट डिसेन्ट' छानेपछि नयाँ शब्द क्वाइन भएको छ -- 'मल्टिएड्भेन्चर म्यान'।
मृत्युको भयले कहिल्यै पछ्याएन सानोबाबुलाई। उनको परिवार र शुभेच्छुकका नजरमा त्यो अझै पनि एउटा ठूलो कमजोरी हो। त्यही 'कमजोरी' सानोबाबुको लोभलाग्दो परिचय बनेको छ। भन्छन्, "मैले जीवनको हरक्षणको आनन्द लिइरहेको छु किनभने म एड्भेन्चर गर्छु।"
एड्भेन्चर पनि यस्तो, जुन त्यसअघि कसैले नगरेको, कसैले नबुझेको। सानोबाबुले के के मात्र गरेनन् -- सगरमाथा चुचुरोबाट उडेर तल झरी कायकिङ गर्दै बंगालको खाडी पुग्नेदेखि मेचीदेखि महाकाली प्याराग्लाइडिङ गरेरै नाप्नेसम्म।
रामपुर, रामेछापका उनको बाल्यकाल धेरैजसो सुनकोसी नदी किनारमा बित्यो। त्यहाँ जब मानिसहरू कायकिङ र र्याफ्टिङ गर्दै आउँथे, उनलाई पनि त्यस्तै रहर लाग्थ्यो। सानोबाबुलाई पौडन राम्रोसँग आउँथ्यो तर कायकिङ/र्याफ्टिङ उनका लागि टाढाको कुरा थियो। सिन्धुलीको डुडभञ्ज्याङ उच्च माविबाट एसएलसी सकेपछि एक दिन उनलाई एक साथीले काठमाडौँको सपना देखाए। त्यसअघि मोटरसमेत नदेखेका उनलाई दिन-रात छुट्याउन गाह्रो पर्ने सहर भनेपछि जसरी पनि पुग्ने भूत सवार भयो।
काठमाडौँमा ज्यान पाल्न गलैँचामा धागो कात्ने, सार्वजनिक यातायातमा भाडा उठाउने र फर्निचर कम्पनीमा काम गर्नेजस्ता थुप्रै काम गरे उनले। सम्झन्छन्, "तैपनि, ममा खोलातिरै खेल्न पाइयोस्, कायकिङको अनुभव गर्न पाइयोस् भन्ने सपना मरेको थिएन।"
उनको मनोभावना बुझेका एक साथीले कुनै विदेशीलाई पक्रिन सके त्यस्तो गर्न सकिने भन्दै ठमेल जान सुझाए। एउटा टोलीले पोखरा हुँदै अन्नपूर्ण पदयात्रा जाने टोलीमा भरयिाका रूपमा उनलाई लैजाने भयो। दिनभर गाडीमा सामान लोड गराएपछि होचो मान्छे काम गर्न अप्ठ्यारो हुने भनेर उनी निकालिए, ज्याला २० रुपियाँ थमाएर।
पोखरा पुग्न भाडासमेत नभएका उनी लाटोको अभिनय गरेर बसमा बसे। त्यो जुक्तिले काम गर्यो र पोखरामा नयाँ अध्याय सुरु भयो, कुइरे जंक्सन लेकसाइडमा। काम माग्न सुरुमै कोठाभर कायाक सजाइएको पसल छिरे। तर, उनलाई कसैले पत्याएनन्। त्यहाँ पनि केही महिना भारी बोक्ने काम मात्र हात लाग्यो उनलाई। पछि एक्सुडस र्याफ्टिङ कम्पनीमा काम पाए उनले, ब्रोसर बाँड्ने र डुंगा धुने। त्यहाँ उनलाई सिनियर गाइड चित्रबहादुर पुनले कायकिङ सिकाउँथे पनि।