Showing posts with label Fashion. Show all posts
Showing posts with label Fashion. Show all posts

Sunday, July 28, 2013

स्टाइल कोरियन

'ब्वाइज ओभर फ्लावर्स,' 'सिटी हन्टर'जस्ता टेलिसिरियलका डीभीडी किनबेच सुरु हुनासाथ काठमाडौँका तन्नेरीले कोरियाली अभिनेता ली मिन होको जस्तै 'हेयर स्टाइल' बनाए। अहिले पनि नेपाली तन्नेरीको ध्यान कहिले मिलिनियर फस्ट लभका ह्युन बिनको हेयर स्टाइलतर्फ मोडिन्छ त कहिले साउथ कोरियाली ब्यान्ड सुपर जुनियरतर्फ।

के–पपमा विश्वभर ध्यान खिचिराखेको सुपर जुनियरका हरेक सदस्य भिन्नभिन्न हेयर स्टाइलमा देखिन्छन् । कसलाई एउटाले तान्छ त कसलाई अर्काकोले । “कोरियन हेयर स्टाइल आधारभूत रुपमा एकखाले भएता पनि कुनै अभिनेता वा गायकले हल्का ट्विस्ट गरिदियो भने त्यही नै फेसन बन्छ,” कोरियन ब्युटी पार्लरकी बरिष्ठ ब्युटिसियन सोनाम घले भन्छिन्, “कपालका शैली मात्र होइन, रंग समेत अहिले कोरियाली प्रभावमा फेरिरहन्छन् ।”

नेपालको टाढाको छिमेकी भइकन पनि नेपालमा कोरियाली संस्कृतिको प्रभाव नजिककोझैं लाग्छ । हेयर स्टाइलमा मात्र नभई शहरका परिकार, पहिरनदेखि सिनेमा र संगितसम्म कोरियाली प्रभाव बढिराखेको छ । झण्डै आधा दशकअघिसम्म पनि कोरियाली फेसनबारे जानकार दुईथरी मात्र हुन्थे जो वा जसको परिवार कोरिया पुगेर फर्केको छ वा उसको घरमा कोरियाली च्यानल आउँछ । सन् २००५ अगाडिसम्म डिभिडि यति सहजै नपाइंदा कोरियाली च्यानल अरिराङमा मानिसहरु झुम्मिन्थे । तर पछिल्लो ३/४ बर्षमा जब कोरियन फिल्म तथा ड्रामा डिभिडिको रुपमा नेपाली बजारमा सहज उपलब्ध हुन थाले, त्यसले कोरियन संस्कृतिको प्रभाव एकाएक बढेर गयो । अहिले सन् २००८ यता ठूलो सङ्ख्यामा इपिएसमार्फत नेपालीहरु कोरिया जाने थालेता पनि त्यसअघि भने कोरिया जानु भनेको त्यहाँ रहेका आफन्तमार्फत या धेरैजसो पदयात्रा एवं तिर्थाटनका लागि नेपाल आउने कोरियाली पर्यटकमार्फत थियो । झण्डै २ दशकयता ठमेलमा चलिआएको कोरियाली रेष्टुराँ ‘भिल्ला एभरेष्ट’का दावा शेर्पा भन्छन्, “उनीहरु फर्केपछि त्यो लहर झनै बढ्नेछ ।”

कोरियाली फेसनको बजार अहिले नेपालमा मात्र नभई विश्वभर बढिराखेको छ । ब्युटिसियन घले भन्छिन्, “अन्य देशका फेसनभन्दा यसले बढि तन्नेरी देखाउँछ ।” सायद त्यही कारण हो कोरियाली फेसनमा ३० बर्षमुनिकाकै क्रेज सबैभन्दा बढि पाइन्छ ।

Monday, December 17, 2012

एउटा अग्लो नेपाली



सन् '८० को दशकतिरको प्रसंग हो। काठमाडौँको नामी सेन्ट जेभियर्स स्कुलमा केटीहरू पढ्न पाउँदैनथे। त्यसैले स्कुलमा हुने नाटकमा केटाले नै केटीको भूमिका निर्वाह गर्नुपथ्र्यो। त्यसका लागि शिक्षक र विद्यार्थी दुवैको छनोट हुने गर्थे, हाल अमेरकिा बसेर फेसनको दुनियाँमा धुम मच्चाइरहेका प्रबल गुरुङ। उनका त्यतिबेलाका शिक्षक देवेन्द्र खनाल सम्झन्छन्, "प्रबलले केटीको चरत्रि बुझेर त्यसलाई अभिनयमा उतार्थे।"

सेन्ट जेभियर्सको भित्तामा सबै पूर्वविद्यार्थीको जस्तै प्रबलको तस्बिर पनि सजिएको छ। अझ त्यसभन्दा बढी, त्यसबेला अन्तरमुखी र अधिकांश समय लाइब्रेरीमा बिताउने प्रबलले फेसनको राजधानी न्युयोर्कमा पाएको सफलताबाट उनका शिक्षक र सहपाठी आश्चर्यचकित छन्। नहोऊन् पनि किन, जेभियर्सबाट एलएलसी सिध्याएर फेसनमा करिअर बनाउन निस्किएका प्रबल त्यसको दुई दशकपछि अहिले न्युयोर्क फेसन नगरीमा राज गररिहेका छन्। र, त्यसो गररिहँदा उनमा स्कुलदेखिकै नारी भावना बुझ्ने गुण सहयोगी भएको देखिन्छ।

Wednesday, September 14, 2011

टिसर्टमा तन्नेरी मन

Anupama, Khem & Sarose (from left)


 एकवर्षअघिसम्म खेम पौडेलको रोजाइमा सेलिबि्रटीका तस्विर वा कुनै ब्रान्डका लोगोअंकित टिसर्टहरू पर्थे। वर्षदिनयता उनको रोजाइले 'यूटर्न' लिएको छ। उनी अहिले सादा टिसर्ट किन्छन्। आफूले मन लागेको कुरा प्रिन्ट वा इम्ब्रोइडरी (बुट्टा भर्नेकाम) गर्न लगाउँछन्। हालैको एक साँझ पोटला इम्ब्रोइडरी, ठमेलमा भेटिएका २४ वर्षे पौडेलले ठट्यौलो भावमा भने, "मेरो मनको कुरा कसरी टिसर्ट कम्पनीले बुझोस्, त्यसैले आफैँ भिडिराछु।" यसो भनिरहँदा उनले लगाइरहेको टिसर्टमा लेखिएको थियो, 'दाल-भात, पावर ट्वान्टी फोर आवर।' उनी थप्छन्, "म प्राय: फन्नी कुराहरू लेखिएको टिसर्ट मन पराउँछु, जसले अरूको ध्यान मतर्फ केन्द्रीत गरोस्।"


अहिले प्रिन्टेड टिसर्टको लहर चलेको छ। कसैले चर्चित एवं महान् व्यक्तिका भनाइलाई टिसर्टमा पि्रन्ट गराउँछन् त कसैले तिनै भनाइका 'रिमिक्स' तयार पार्छन्। आफ्नै मनमा फुरेका भावनालाई टिसर्टमा प्रिन्ट गर्नेहरू उत्तिकै छन् अचेल। ठमेलकै हिमालय इम्ब्रोइडरीका अमल लामा भन्छन्, "प्रिन्टेड टिसर्ट अहिले फेसनमा छन्।" पश्चिमा देशहरूमा विभिन्न अर्थ र प्रकृतिका भनाइ प्रिन्ट गरिएका थरीथरीका टिसर्ट बजारमा सहजै किन्न पाइन्छन्। तर, नेपालमा अझै त्यस्तो अवस्था आइसकेको छैन। लामा थप्छन्, "युवा त्यस्ता टिसर्ट इन्टरनेटमा देख्छन् र बनाउन आइपुग्छन्।" भनाइ प्रिन्ट भएका धेरै त्यस्ता टिसर्ट नेपालमा थाइल्यान्डबाट आउँछन्। तुलनात्मक रूपमा केटाहरूका लागि यसरी नेपाल आउने टिसर्टहरूमा बढी विकल्प भेटिन्छन्।

Thursday, September 8, 2011

बाइकर्स गाथा

अहिलेको जमानामा कोही फेसबुक या टि्वटर (र, मेरोपोस्ट पनि) बाट मात्रै साथीहरूको सञ्जाल तयार गर्न सक्छ भन्ने भ्रममा हुनुहुन्छ भने तपाईं गलत ठहरिन सक्नुहुन्छ । 'किनभने,' आशिष निरौलालाई सुनौं, 'हामीसँग यो पनि छ ।'

उनीहरूको सर्कललाई थप मजबुत (र, प्रगाढ) बनाउने त्यो नयाँ अस्त्र हो- बाइक (बाइकर्स ग्रुप) । मोरङका आशिषसँग काठमान्डुका पुकार धिमाल, झापाका सिद्धान्त पोखरेल र स्याङ्जाका विष्णु भट्टराई यही ग्रुपमार्फत आपसमा जोडिएका हुन् । सबै काठमान्डुमा अध्ययनरत छन् तर एउटै कलेजका भने होइनन् । देशका फरक ठाउँ र पृष्ठभूमिका भईकन पनि अहिले निकै मिल्ने साथीहरू भएका छन् यी चारै जना, आफ्नो बाइकर्स क्लब 'फ्लो राइडर्स' मार्फत ।

फ्लो राइडर्स काठमान्डुमा रहेका झन्डै एक दर्जन बाइकर्स क्लबहरूमध्येको एक हो । तर अन्यभन्दा फरक हुनुमा 'बाइकिङ फन' बाहेक उनीहरूको एउटा फरक काम पनि छ, 'बाइकमार्फतको समाजसेवा' । अध्यक्ष पुकार भन्छन्, 'धेरैले बाइकर्सको संगठन भनेपछि मात्र स्टन्टका लागि हो भन्ने सोच्छन् ।' यसको सुरुवातमात्र स्टन्टका लागि सामूहिक अभ्यासहरू गर्ने धरातलमा भएको हो । तर समयसँगै त्यसको स्वरूप अहिले फेरिइसकेको छ । फ्लो राइडर्समा मात्र अहिले ३ विभिन्नखाले उपसमितिहरू छन्, स्टन्टिङ, ननस्टन्टिङ र फोटोग्राफी । स्टन्टिङ ग्रुपले स्टन्टका कामलाई प्राथमिकतामा राख्छ भने ननस्टन्टिङ बाइकका सौखिन तर स्टन्टमा रुचि नहुनेलाई अन्य बाइकिङ स्पोर्टस्हरू सामेल गराउँछ । तेस्रो समूह फोटोग्राफरहरूको हो जसले अघिल्ला दुईका गतिविधिहरू तस्बिरमा कैद गर्छ र क्लबलाई चर्चामा ल्याउन मुख्य काम गर्छ । 'तर जब सामाजिक तथा जनचेतना फैलाउने कामको प्रसंग उठ्छ, हामी सबै उत्तिकै जुटिरहेका हुन्छौं,' फ्लो राइडर्सकै इभेन्ट डिजाइनर्स आशिषले बताए ।


अहिले उनीहरू प्राय: सप्तान्तमा जुट्छन् । बाइकसँग सम्बन्धित वा असम्बन्धित विभिन्न विषयहरूमा छलफल गर्छन् । उनीहरूको आगामी इभेन्ट्सबारे फेसबुकबाट सबैलाई जानकारी दिन्छन् जहाँ मात्र दस हजार बढी फ्यान छन् । क्लबका प्राय:जसो जागिरे वा विद्यार्थी छन् । त्यसैले झन्डै तीन महिनाको फरकमा उनीहरू 'लङ टि्रप' मा जान्छन् । पछिल्लोपटक उनीहरू बन्दीपुर पुगेका थिए भने त्यसअघि दामन र नेपालथोक ।

Thursday, September 1, 2011

छायाँमा ‘मिस्टरहरु’


शहरमा ‘ट्यालेन्स सो’ को लहर छ । एक पछि अर्को गर्दै विभिन्न टाइटल र सबटाइटल जोड्दै यस्ता सौन्दर्य (आयोजकहरु सौन्दर्य र बौद्धिकताको संयोजन भन्दछन्) प्रतिस्पर्धाहरु संचालन भइरहन्छन् । तर ‘पुरुष’ सम्बन्धी प्रतिस्पर्धाहरु त्यतिधेरै चर्चामा आउँदैनन् ‘महिला’ सम्बन्धी प्रतिस्पर्धाहरुको तुलनामा । महिनादिन अघिदेखि मिस ‘ट्यालेन्ट सो’ का तयारीदेखि उनीहरुबारे अनेकथरी गसिपहरु समाचार बन्छन् तर खोई त ‘मिस्टर’बारे कसैको चासो ? प्रतिस्पर्धाको फाइनलको दिन समेत पुरुषसँग सम्बन्धित ट्यालेन्ट सो कहिलेकाहीँ सानो सर्कलमै हल्ला भएर सकिन्छ ।

हामीकहाँ अझै ग्यामल कल्चरको राम्रो पूर्वाधार नै तयार नहुनुलाई यसको मुख्य कारण देख्छन् ‘मिस्टर नेपाल’ आयोजना गर्ने एक्सपोज नेपाल डटकमका निर्देशक दिनेश शाही, २९ । भन्छन्, ‘यहाँ ग्यामलर भनेकै केटीमात्र हो भन्ने संकुचित सोच छ ।’ त्यसो त समाजशास्त्रीहरुको तर्क भने बेग्लै हुनेगर्छ । समाज कुन धरातलमा उभिएको छ र त्यहाँ कस्ता खालका संस्कारहरु व्याप्त छन् भन्ने कुराले महिला/पुरुषको तुलना हुन्छ र प्राथमिकताहरु त्यसैगरी निर्धारण हुन पुग्छन् । दिनेश त्यसै सोच्छन् । ‘सायद हाम्रो समाजमा महिलाहरु कम स्वतन्त्र छन्, त्यसैले उनीहरु थोरै मात्र पनि बाहिरी ग्यामर दुनियाँसँग एक्सपोज भए भने त्यसले यहाँ ठूलै चासोको रुप लिनपुग्छ’, उनको भनाई छ, ‘पुरुषप्रधान देशमा यस्ता कुरामा त्यसैले पुरुषहरु नै मर्कामा परिराखेका हुन्छन् ।’

तर ‘मिस्टर नेपाल– २००२’ तथा अभिनेता जीवन लुइटेल भने पुरुषको तुलनामा महिलाको चर्चा बढि हुनु विश्वव्यापी ट्रेण्ड नै देख्छन् । भन्छन्, ‘सायद यो मानविय स्वभाव नै हाृेला सुन्दरताको मामिलामा केटीहरुलाई नै धेरैथोक सम्झने ।’ जीवनलाई लाग्छ एश्वर्या राय वा एञ्जेलिना जोलीको जति चर्चा हुन्छ त्यति त्यत्तिकै हाइटको अर्को सीनेकर्मीको हुनै सक्दैन । उनी हाँस्छन्, ‘खै किन हो केटाहरु ग्यामर नै हुन सक्दैनन् भन्ने सोच्छन् कि ?’

समस्याको चूरो बजारमा चर्चा नपाउनु मात्र छैन । प्रायोजकहरु समेत पुरुष ट्यालेन्ट सो हरुमा हात हाल्न सितिमिति खोज्दैनन् जुन कुरा ‘लेडिज सो’ मा हुन्थ्यो भने प्रायोजकहरु नै आयोजकसम्म आइपुग्छन् । जीवनको तर्क छ, ‘नेपालमा मात्र होइन विश्वको जुनसुकै राष्ट्रको विज्ञापन उद्योगमा महिलाकै डिमान्ड बढ्ता गरिन्छ । उस्तै अवस्थामा मात्र पुरुष मोडल खोज्छन् ।’

यस्ता ‘ट्यालेन्ट सो’ मा युवाहरु सहभाागि हुनुका पछाडिको कारण आफ्नो भावी करिअर निर्माणका लागि ‘पब्लिक प्याटफर्म’ निर्माण गर्ने हुन्छ जसले उनीहरुलाई ग्यामलर वा अन्य फिल्मडै करिअर बनाउँदा प्लस प्वाइन्टको रुपमा काम गरोस् । मिस नेपालजस्ता ‘लेडिज सो’ लाई हेर्ने हो भने त्यसले सिर्जना गर्ने चर्चा परिचर्चाको आफ्नै अर्थ छ पनि, पछिल्ला अनुभवहरुलाई हेर्दा । फिल्म, म्युजिक, सञ्चार, व्यावसायजस्ता अनेकन क्षेत्रमा उनीहरुले पाउने ‘मिस’ जडित टाइटलले ठूलो महत्व जोडिराखेको हुन्छ । तर पुरुषतर्फको मिस नेपालकै बरोबरीजसो हैसियत राख्ने ‘मिस्टर नेपाल’ कहिलेकाहीं निरन्तर पनि हुन नसक्ने अवस्थामा पुग्छ । सन् २००१ देखि ६ बर्ष निरन्तर भएको मिस्टर नेपाल पुन: ५ बर्ष रोकिएर पछिल्लोपटक यहि २०११ म सम्पन्न हुन पुगेको थियो । जसबिचमा आयोजक मात्र ३ वटा फेरिइसकेका छन् मिस्टर नेपाल संचालन गर्नका निम्ति । पछिल्ला मिस्टर नेपालहरुमा जीवन लुईंटेल, रोहित थेबेजस्ता केहीलाई अपवाद मान्ने हो भने धेरै नेपालमा सम्भावना नदेखेर अहिले विदेशमा छन् । दिनेश लामो सास फेर्दै थप्छन्, ‘मिस्टर सो संचालन गर्नु गाह्रो त गाह्रो छ ।’

Wednesday, August 10, 2011

मौसम मेहन्दीको




काठमाडौंको शंकरदेव कलेज पुग्ने बित्तिकै लुना थापाका, २१, साथीहरु उनको हात हेर्न हतारिन्छन् । हातमा पोतिएका विभिन्न खाले ‘रंग’ र ‘शैली’का मेहेन्दी हेर्नु अहिले उनको कलेजमा अघोषित प्रतिस्पर्धा जस्तो नै भइसकेको छ । लुनाले हाँस्दै भित्री राज बताइन्, “हातमा मेहेन्दी गाढा बस्यो भन्ने भविष्यमा पतिले धेरै मायाँ गर्छन् फिक्का भए गर्दैनन् रे ।”


लुनाले भनेजस्तो प्रतिस्पर्धा मात्र मेहेन्दीमा केन्द्रीत छैन । भगवान शिवको ब्रतको लागि सबैभन्दा उपयुक्त महिना मानिने साउन शुरु भएपछि मेहेन्दी बाहेक हरियो चुरा, हरियो पोते, हरियो पहिरन    (साडि,कुर्ता सुरवाल) को लहर अहिले शहरदेखि गाउँसम्म फैलिएको छ । त्रिभुवन विश्वविद्यालयको नेपाल इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी प्रमुख प्राडा वीणा पौड्याल त्यसैले साउनको यो चलन धार्मीक आस्था र संस्कृतिभन्दा धेरै माथि उठिसकेको ठान्छिन् । भन्छिन्, “विश्वव्यापीकरण र प्रविधिको विकाससँगै यो एउटा सुन्दर फेसनको रुपमा नै फस्टाएको छ ।”

पहिले पहिले घरमा मेहेन्दीको पातलाई पिसेर लगाइने यो अहिले व्यावसायिक रुपमा नै अघि बढेको पाइन्छ । साउन शुरु नहुँदैदेखि काठमाडौंका ब्युटिपार्लरहरुमा मेहेन्दी लगाउने महिलाहरुको भिडभाड बढ्न थाल्छ । “केही दिनअघि नै बुकिङ गर्नुपर्छ”, कुपण्डोलस्थित एञ्जल ब्युटिपार्लरकी प्रोपाइटर रुपा बानियाँ क्षेत्रीले भनिन्, “यो महिनाभर महिलाहरु धेरै खाले मेहेन्दीमा सजिन खोज्छन् ।” सामान्यत: एकपटक लगाएको मेहेन्दी एक हप्तासम्म राम्ररी रहन्छ । त्यसैले साउन महिनाभर हातखुट्टामा मेहेन्दी खाली नराख्ने भनेर महिलाहरु हप्तादिन नपुग्दै स्टाइल फेर्न आइपुग्छन् । काठमाडौंमा अहिले दुई खाले मेहेन्दीको फेसन सबैभन्दा बढि चर्चित छन् । लहरा र पत्ताले भएको अरबिक फेसन अविवाहित र किशोरकिशोरीमा बढि चलेको छ । यो हत्केला र त्यसमाथिको हातको  एकातर्फ (नाडि) मात्र लगाउँदा बढि सुहाउँछ  । चुरा लगाइने हातको भागनेर  सबैतिर भरिनेगरी लगाइने जयपुरी फेसन विवाहित र बढि उमेर भएका महिलाहरुमा लोकप्रिय छ जुन खुट्टामा समेत उत्तिकै सुहाउँछ ।

Thursday, June 30, 2011

सिजन अफ ‘अम्ब्रेला’

अब बर्षा शुरु भइसकेकोमा शंका गर्न छाड्नुस । किनकि काठमाण्डुमा छाताको अत्याधिक बिक्री शुरु भइसकेको छ । चाहे त्यो हिँड्दा हिँड्दै पानीले रुझेर होस् या दिनहूँ बढिरहेको बर्षे झरीसँग जुध्ने तयारी स्वरुप हरेकजसोले आफूसँग एउटा छाता राख्न थालिसेका छन् । झरी परिरहेको दिनमा माथिबाट हेर्ने हो भने अब मानिसका टाउकोहरु देखिँदैनन्, देखिन्छन् त रंगिचंगी र ठूलासाना छाताहरु । झट्ट हेर्दा लाग्न सक्छ, यो पानीको मौसम नभई अम्रेलाको मौसम हो । अझ तन्नेरीहरुको बढ्दो प्रयोगसँगै छाताहरु अब दैनिक आवश्यकता मात्र गनिंदैनन्, यो बर्षे फेशनको एउटा महत्वपूर्ण पक्ष बनिसकेको छ ।


तर छाताहरु मात्रको बिक्रीको लागि भनेर काठमाण्डुमा छुट्टै पसलहरु छैनन् । अझ मलहरुमा छाताहरु झनै कम भेटिन्छन् । ‘छाता फुटपाते ब्यापार हो’, सुन्धारास्थित काठमाण्डु मलको अगाडि भेटिएकी एक छाता व्यापारी रीता अधिकारीले सुनाइन् । झरी पर्दै गएको हालैको एक साँझ उनको बेफुर्सदी रहरलाग्दो देखिन्थ्यो । भन्दैथिइनन्, ‘बर्षा शुरु हुने पहिलो महिनामै हो छाता व्यापार आकासिने । दोस्रो महिनातिर त सबैसँग यो सालको लागि कम्तिमा एउटा छाताको जोहो भइसक्छ ।’ त्यसो त न्यूरोड खिचापोखरीमा भेटिएका सिभिल इञ्जिनियर अञ्जन खनालले यसपटकको बर्षाको लागि भनेर आफ्नी बहिनीसाथ छाता किन्नमा व्यस्त थिए । ‘आफूलाई त सिम्पल भए चल्छ’, आफूले किनेको मार्वल छाता (बाहिरपट्टि कालो र भित्र सेतो रंगको) देखाउँदै  अञ्जनले भन्दैगर्दा उनकी बहिनी अस्मिताको मनखाँदो रोजाई अझै भेटिएको थिएन । ‘नयाँ खालको खोज्दैछु’, अस्मिताले बताइनन्, ‘झरीमा कलेजमा पुग्दा केटीहरुले पानीले त रुझिनस् भन्दैनन्, बरु उल्टै छाता यस्तो र उस्तो भन्दै तुलना गर्न शुरु गरिहाल्छन् ।’ उनका अनुसार त्यसैले पनि लेडिज छाताको बढि प्रकारहरु बजारमा भेटिन्छन् । ‘सामान्य रुपमा भन्नुपर्दा केटीहरुले रोज्ने भनेको रंगीचंगी छाताहरु नै हुन्’, अस्मिताले अर्को राज बताइनन्, ‘त्यसबाहेक हाम्रो पर्समै पनि सजिलै अट्ने छाताहरु हाम्रो रोजाइमा पर्छन् ।’ त्यसकै कारण पनि केटीहरुका आँखा ३ फोल्डिङका छाताहरु बढ्तै पर्नेगर्छ । उता अञ्जन भने केटाहरु फेसनेवल रुपमा छातामा त्यती धेरै रुचि नराख्ने बताउँछन् । तर भन्छन्, ‘ग्रुपमा हो हामीहरुले प्राय: छाता ओड्न रुचाउने ।’ फलामको टुप्पो भएको ठूलो छाता जसको समात्ने ‘कर्क ह्याण्डल’ काठ वा फलामले बनेको घुमाउरो हुन्छ, ती हाइकिङ वा ट्रेकिङ जाँदा बढि रुचाइने अञ्जन बताउँछन् । भन्छन्, ‘पानी पर्दा ठिकै छ नपरे उकालो चड्न साहारा लिने लठ्ठीको नि काम गर्छ ।’ तर सामान्य रुपमा पानीबाट जोगिन केटाहरुले ओड्ने भनेको ‘मार्वल’ र ‘चेक’ छाता नै रहेको छाता विक्रेता रीता अधिकारीको अनुभव छ ।

अञ्जनले त्यसो भन्दैगर्दा पाटन क्याम्पस ग्रामिण विकासमा स्नातक गर्दै गरेकी प्रतिभा पोखरेल, २०, पनि आफ्नो दैनिक प्रयोगमा ‘डबल कलर’ र ‘डबल लेयर’ भएका छाताहरु प्रयोग गर्ने भएता पनि दाईका छोराछोरीलाई स्कुलसम्म पुर्‍याउन ठूला छाताहरु प्रयोग गर्ने बताउँछिन् । ‘नत्र हाम्रो लागि त पानीबाट मात्र बच्न नभई गर्मीमा समेत छाला डढ्नबाट जोगाउन समेत पर्ने हुँदा धेरैजसो ह्याण्डव्याग वा पर्समा छाता छुटाउँदैनौं’, उनले हाँस्दै भनिन्  ‘काठमाण्डुको मौसमको त भर नै हुँदैन, त्यसैले यो त कतै हिंड्दा छुटाउनै नहुने बाइकको लाइसेन्स जस्तो पो हो त ।’

Thursday, April 28, 2011

टिसर्ट ट्रेन्ड


‘तन्नेरीहरु आजकल मौसमलाई फेसनेवल बन्ने अवसरको रुपमा लिन थालेका छन्, जसरी अहिलेको गर्मीमा ‘टिसर्ट फेसन’ लोकप्रिय छ’
.............................................................

बिस्तारै बढ्दै गरेको वायुमण्डलीय तापक्रमले तपाईं स्पष्ट संकेत गरिरहेको हुनुपर्छ– यो गर्मी पनि कम चुनौतिपूर्ण हुनेछैन । तर तआत्तिनुस् ‘फेसन कन्सियस’ जमानाले तपाईँलाई त्यससँग जुध्न  सिकाउँदै नयाँ नयाँ फेसनसँग पनि अपडेट गराउनेछ, जसरी अहिले ‘समर स्पेसल’को रुपमा तन्नेरीहरुमाझ टिसर्ट लोकप्रिय बनेको छ । 

एउटा समय थियो जतिखेर एउटा बर्ष किनेको टिसर्ट अघिल्ला केही बर्षसम्मलाई काम गथ्र्यो । ‘तर, अहिले मेरै बहिनीले मैले एउटा सिजन लगाएको राम्रै टिसर्ट पनि लगाउँदिन’, प्लसटु सकेर विदेश अध्ययनको तयारी गरिराखेकी प्रिथा कार्की, २०, भन्छिन्, ‘त्यसबिचमा बजारमा नयाँ फेसनको टिसर्ट आइसकेको हुन्छ ।’ उनले भनेजस्तै अहिले बजारमा फिटिङ टिसर्टको लहर बढ्दो छ जसमा हुने कल्लर, चित्र पेन्टीङ, रंग, शब्दहरु, पथ्थर लगायतका चिजहरुले फेसन निर्धारण गरिराखेको हुन्छ । प्रिथाको टिसर्ट रोजाईमा पनि अहिले परिवर्तन भइरहने यिनै चिजहरुले भूमिका खेलिराखेको छ ।  उनले लगाउने टिसर्ट एकैनासको पनि हुँदैन । साथीहरुबिच हुने डान्स प्रार्टीहरुमा जाँदा कम्मर मुनीसम्मै फैलने ‘लङ्ग टिसर्ट’ उनको रोजाइमा पर्छ जसलाई ‘लेगिङस्’सँग लगाउँदा राम्रो देखिन्छ । यस प्रकारको टिसर्टमा बेल्ट लगाउन पनि मिल्छ । ‘फर्मल कार्यक्रमहरुमा भने ‘वान सोल्जर टिसर्ट’ लगाउन राम्रो लाग्छ जसले उखरमाउलो गर्मीमा ‘रिर्‍याक्स’ गराउँछ ।’

तर नम्रता दाहालको भने टिसर्ट रोजाईको तरिका अर्कैँ छ । उनी माथिदेखि तलसम्मै एउटै रंगको पहिरनमा सजिन्छिन् । ‘त्यसैले मैले लगाउने ‘डाउनवेयर्स’ले पनि मैले लगाउने टिसर्ट निर्धारण गरिराखेको हुन्छ’, युनाइटेड एयरलाइन्सकी २३ बर्षे एयर होस्टेज भन्छिन्, ‘त्यसबाहेक फर्मल पाइन्टसँग खुकुलो टिसर्ट लगाउँछु भने स्कर्टसँग फिटिङ ।’ प्रिथालाई जस्तो उनलाई पनि ‘वान सोल्जर टिसर्ट’ उत्तिकै मन पर्छ तर त्यसमा हुने उनको थप रोजाई भनेको पथ्थरहरु जडित हुनु हो । आजकल फैलिएको यस्ता अनेकथरी फेसनले गर्दा नै उनको प्रिय पोसाक बनेको छ टिसर्ट । भन्छिन्, ‘त्यसैले म हप्तैपिच्छेजसो टिसर्ट किनिराखेकी हुन्छु ।’ 

केटीहरुलाई ‘राउन्ड नेक’ र कल्लर भएको भन्दा पनि ‘भि–नेक’ र ‘यु नेक’ टिसर्टहरु बढ्ता मन पर्छ । त्यसबाहेक लगाइने गहनाको म्याचिङ्ग पनि टिसर्टसँग हुनुपर्ने उनीहरु बताउँछन् । लङ्ग टिसर्टसँग झुम्काहरु र सर्ट र फिटिङसँग ‘इयर–टप’ सुहाउँछ । त्यसैगरी लुज टिसर्ट ‘चौडा चप्पल’ सँग र फिटिङ्ग र टाइट टिसर्टहरु ‘प्वाइन्टेड सुज’, ‘वेग हिल’ र ’ र ‘पेन्सिल हिल’ सँग पनि लगाउँदा पर्फेक्ट देखिने प्रिथा र नम्रताको साझा अनुभव छ ।

उता ‘बजाज बाइक’ विज्ञापनका मोडल अमरसिंह राठोर, २४, भने केटाहरुलाई टिसर्टमा सजिनको लागि पहिले शरीरको फिटनेस ठिक हुनुपर्ने ठान्छन् । भन्छन्, ‘फेसन र ब्रान्डको कुरा त्यसपछि मात्र आउँछ ।’ अमरको अनुभवमा बढि मोटो र दुब्लो दुवैलाई टिसर्ट सुहाउँदैन । ‘धेरैले टिसर्ट लगाउनुलाई निकै हाइट हुनुपर्ने ठान्छन्’, उनी थप्छन्, ‘तर मुख्य कुरा त छाती र आम्र्स हो । हाइट भइदिए राम्रो, नभए नि त्यो समस्या हुँदैन ।’ यदि शरीर मिलेको छ भने टिसर्टसँग स्याण्डो नलगाउन उनी सुझाउँछन् । उनको अनुभव छ, ‘त्यसले शरीरको वास्तविक फिटिङ्ग देखिँदैन ।’ कालो र नीलो जिन्ससँग त्यसलाई सुहाउने रंगको टिसर्ट उनको छनौटको आधार हो । ‘राउन्ड नेक’ उनको रोजाइमा बढ्ता पर्छ भने कहिलेकाहीँ ‘भि नेक’ पनि कहिलेकाहीँ लगाउँन रुचाउँछन् । उनका अनुसार केटाहरुमा बढि ‘भि–नेक’ टिसर्ट लोकप्रिय हुनुको कारण त्यसमा सजिलै चश्मा अड्काउन सकिनु पनि हो । ‘फेरी आजकल गोजी भएको टिसर्ट लगभग हराइसकेको छ’, भन्छन्, ‘बरु कसैका भनाई लेखिएका टिसर्ट लोकप्रिय हुन थालेका छन् ।’ उनी स्वयं त्यसका पारखी हुन जसले सादा टिसर्ट किनेर त्यसमा आफूलाई मन परेको शब्दहरु पेन्ट गर्न लगाउँछन् जसलाई ४ सय देखि ५ सयको हाराहारीमा काठमाण्डुका ब्रगेल्ती ठाउँमा तयार गर्न सकिने उनको अनुभव छ । ‘द ब्याड ब्वाय इन द प्लानेट’, ‘बर्न अगेन’ उनले पेन्ट गर्न लगाएका टिर्सका केही नमूना हुन । त्यसबाहेक अफिसियल हेयर स्टाइलमा टिसर्ट त्यतीधेरै सुहाएको जस्तो लाग्दैन उनलाई । उनको भनाई छ, ‘अलिकती रफ्टफ र हल्का भिजेको कपालमा टिसर्ट बढि सुहाउँछ ।’

त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्र ‘थेसिस इयर’ का बिद्यार्थी जमिन थापा, २४, लाई भने चाहेर पनि आफूलाई मन पर्ने सेतो रंगको टिसर्ट लगाउन नसक्ने गुनासो छ । काठमाण्डुमा यात्रा गर्दा सेतो रंगको टिसर्ट लगाए छिट्टै मैलने उनको अनुभव छ । भन्छन्, ‘त्यसैले हाम्रो टिसर्ट रोजाई वातावरण मैत्री हुनुपर्छ ।’ त्यसैले उनी खैरो, रातो टिसर्ट रोजाइमा पार्छन् । त्यसबाहेक गर्मीमै पनि बाइकमा र विहान–साँझ हिंड्दा उनी ‘विन्डचिटर्स’ वा ‘लाइट ज्याकेट’ साथमा लिन्छन् । ‘टिसर्ट– गर्मीमा मेरो प्रिय पहिरन भएता पनि मेरो बढिरहेको तौलले गर्दा अझै मज्जा आइरहेको छैन’, उनी भन्छन्, ‘त्यसैले आजकल शारीरिक अभ्यासमा बढि नै जुटिरहेको छु ।’ उनलाई टिसर्ट मन पर्नुमा यसले गराउने सहजता र समयको बचत पनि हो । भन्छन्, ‘अलिअलि खुम्चँदा नि बाल भएन ।’