बाघ र मान्छेको मन कति मिल्छ ?
बुच लामालाई थाहा छैन । फिल्म लाइफ अफ पाईमा देखाइएको छ, बाघमा देखिने मानिसप्रतिको कोमलता मानिसको आफ्नै कोमलताको प्रतिबिम्ब हो । ४५ बर्षे जीवनमा लामाले पछिल्लो २२ बर्ष अधिकांश समय बाघकै वरपर बिताए । संशयसहित उनी लाइफ अफ पाइकै तर्कमा सहमत छन् ।
एक जोडि बाघ, चार्जर र सीतालाई भने सबैभन्दा नजिकबाट उनैले चिने । र, त्यही जोडि बाघलाई नै विश्वले सबैभन्दा राम्ररी चिन्यो । यो जोडिको जति फोटो र भिडियो खिचियो त्यति कुनै बाघमात्र होइन सायद अहिलेसम्म कुनै एउटै जनावरको पनि खिचिएको छैन । सीताको तस्विर त सन् १९९७ डिसेम्बरमा नेसनल जोग्राफिक म्यागेजिनले आफ्नो आवरणमा नै छाप्यो । बिबिसीले वृत्तचित्र बनायो । उता बुचको परिचय चार्जर र सीताजत्तिकै रातारात बदलियो, वाइल्ड लाइफ गाइड र वाइल्ड लाइफ फोटोग्राफरका रुपमा ।
***
सन् ८० को दशकतिर काठमाडौंमा पर्यटन व्यावसायमा जमेको एउटा परिवारका छोरा हुन् बुच । उनका बाबु नेपालको पहिलो “द रोयल होटल” खोल्ने रसियन नागरिक बोरिस लिसानिभिचसँगै कलकत्ताबाट नेपाल छिरेका थिए । उनको टाइगर टप्समा केही लगानीदेखि त्रिशुलीमा र्याफ्टिङको व्यावसाय थियो । उनी चहान्थे छोराले छिट्टै एसएलसी सकोस् अनि तिनै व्यावसायमा हात हालोस् । बुचले न त कहिल्यै एसएलसी सके न त बुवाको इच्छा बमोजिम पुस्तौनी काममा नै जमे । उनको संगत नै त्यस्तै थियो, प्रहरीको वान्टेडमा परेका, भर्खर जेलबाट छुटेका, न्यूरोडका नामूद डनजस्तासँग । “हाम्रो संगतमा परेपछि पढ्ने मान्छे पनि बिग्रिन्थ्यो,” झण्डै एक महिनाअघिको एक साँझ न्यूरोडमा उनी आफ्नो बाल्यकाल सम्झिरहेका थिए, “सहपाठी पिट्नु त हाम्रो लागि कुनै नौलो काम थिएन, शिक्षक समेत छाड्दैनथ्यौं ।” कक्षा ५ पछि उनी झण्डै आधा दर्जन स्कुलमा भर्ना भए तर कतै एक बर्ष पूरा काटेनन् । सन् ८० को दशकको अन्त्यतिर उनले दृष्टि साप्ताहिकमा समेत एक बर्ष काम गरेका छन्, कम्पोजरका रुपमा । व्यापारिक परिवारमा छोराले गरेको त्यो काम झन् सह्य भएन र उनलाई सजाएँ स्वरुप भारत मध्यप्रदेशको बान्धवगढ राष्ट्रिय निकुञ्ज पठाइयो ।
नेपालको एक राणा परिवारको त्यता रहेको सम्बन्धले बुवामार्फत उनलाई त्यहाँ पुर्यायो । १ बर्ष अघिमात्र त्यहाँ पुगेका चन्द्र समशेरका खनाती नन्द राणाका साहकर्मी भए उनी ।
सन् ९० को दशकको शुरुवाती समय । अहिले हवाइजहाजबाट उत्रेको ३ घण्टामा पुगिने त्यस ठाउँ त्यसबेला निकै बिकट लाग्थ्यो, दिल्लीबाट पुग्न मात्र ३६ घण्टा लाग्ने । आदिवासीको बाहुल्यता भएको त्यस्तो ठाउँमा १२ टेन्ट र एक लजमा उनीहरु रिसोर्ट चलाउँथे । त्यही ठाउँमा अहिले ताज, ओबेरायजस्ता भारतका चर्चित होटलले आफ्नो शाखा खोलेका छन् ।
एकदिन कामकै क्रममा बुच र नन्द दिल्ली पुग्दा उनीहरुको भेट नेसनल जोग्राफिकका रिपोर्टर निक निकोल्ससँग भयो । नेसनल जोग्राफिकका लागि बाघबारे स्टोरी गर्ने उद्देश्यसाथ हिंडेका निकोल्स कतै चित्तबुझ्दो परिवेश नभेटेपछि विरक्तिएर अमेरिका फर्कन लागेका थिए । उनको योजना सुनेपछि उनीहरुले एकपटक बान्धवगढ जान सुझाए । निकोल्स जब त्यहाँ पुगे चार्जर र सीताको सहवासको दृश्य देखियो जुन झण्डै २ हप्तासम्म चलेको थियो । उनमा त्यसैले एउटा गुड इम्प्रेसन बनायो । निकोल्सले निधो गरे आफूले खोजेको कथा त्यहीं छ ।
खास नेसनल जोग्राफिकले सन् १९९७ को अन्तिमतिरका लागि बाघको कथा खोजिराखेको थियो । त्यही समय किनभने, एकातर्फ चीनबाट बाघ लोप भइरहेको कथालाई सम्बोधन गर्नुथियो र सन् १९९७ डिसेम्बरबाट चिनिया क्यालेन्डरमा बाघ बर्ष शुरु हुँदै थियो । उक्त जोडि बाघले भर्खर सहवास गर्दै गरेकोले पनि त्यसपछिका विकासक्रम पछ्याउन त्यो निकै ठिक समय थियो । अनि शुरु भयो, लाखौं डलर लगानी भएको काम । उक्त काम कतिसम्म महत्वसाथ गरिएको थियो भने अमेरिकी राष्ट्रपति विल क्लिन्टनले सिधै भारतिय राष्ट्रपतिलाई पत्राचार गरेर उक्त कामका लागि हदैसम्मको सहयोग गर्न आग्रह गरेका थिए । त्यसबेला बान्धवगढमा अरुले नपाउने पैदल यात्राको सुविधा त्यही पत्राचारको कारण पाएका थिए उनीहरुले । काम थालेको ३ बर्षपछि उक्त आवरण प्रकाशित भयो । कारण, एउटा बाघको बच्चाले जन्मिएको २ बर्षभित्र सिकार खेल्नेदेखि लिएर जिउन आवश्यक पर्ने सबै कुरा आफ्नी आमाबाट सिक्छ ।