के दिन, के रात
प्राय: विदेश भ्रमणमा जाँदा मेरो सुत्ने तालिका नमज्जाले विथोलिन्छ । निकै कम समयका लागि गइने ठाउँमा सक्दो बढि घुमघाम र भेटघाट गर्न मन लाग्ने नै भो । मनले सोच्छ, “सुत्नलाई त नेपाल छंदैछ नि ।” हालै अन्तर्राष्ट्रिय विद्यार्थी उर्जा सम्मेलनमा सहभागि हुन एक हप्ताका लागि नर्वे पुग्दा पुरानै स्वभावकाबिच त्यहाँको रातनपर्ने विशेषताले झन् बढि सुत्नु न उठ्नु पार्यो ।

मध्यरातमा सूर्य झुल्कने देश हो नर्वे । त्यसमाथि सम्मेलन भएको सहर ट्रोन्डियम उत्तरी गोलाद्र्धभन्दा ५ सय किलोमिटर मात्रै दक्षिणतिर रहेकोले पनि त्यहाँ गर्मीयाममा अंध्यारो नै हुँदैन भने पनि हुन्छ । मध्यरातसम्म त आकासमा सूर्य नै देखिने । त्यसपछि भने साँझजस्तो उज्यालो । घडि नहेरे रात परेकै पत्तै पाइंदैन । अंध्यारो नदेखी निद्रै नलाग्ने वातावरणमा हुर्केका हामीलाई थाकेको ज्यानका बिच सुत्नु न उठ्नु किन नहोस् त । त्यसैले रातको समय हो भन्ने जनाउ दिन त्यहाँ गाडिले उज्यालैमा हेडलाइट बाल्छन् । रेष्टुराँका टेबलमा मैनबत्ति बालिन्छन् ।
कतिसम्म भने नर्वेजियन युनिभर्षिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एनटिएनयु)मा ‘स्टुडेन्टरसमफन्डेट’ नामको एक शताब्दी पुरानो गोलघर क्रितिम अंध्यारो तयार पारेर कन्सर्ट गर्ने प्रिय ठाउँ रहेछ । उद्घाटन समारोहमा चर्चित नर्वेली गायिका इल्से भेट्सभागले आफ्नो प्रस्तुति दिइरहंदा मसँगै बसिराखेका एनटिएनयुका एक विद्यार्थीले खुसुक्क भन्दैथिए, “इल्सेको कन्सर्ट मेरो लागि कुनै नौलो होइन, म यहाँ बसिराखेको त्यो भन्दा पनि अंध्यारोको रमाइलोले हो ।” उता नेपालबाट फेसबुकमा एकजनादाजु जिस्किंदै भन्दैथिए, “भनेपछि नर्वेलीहरु रक्सी पनि दिउसै पिउँछन् हो ?”