पुरातत्त्व विभागका कर्मचारी मुस्ताङका विभिन्न गुफामा भेटिएका सयौँ वर्ष
पुराना कंकाल र अस्थिपञ्जरका बाकस मिलाउँदै थिए, २८ माघमा। ती अस्थिपञ्जरका
बीच एउटा मृत बच्चाको सिंगो शरीर पनि थियो, जुन झन्डै २ हजार ५ सय वर्ष
मुस्ताङी हावापानी झेलेर काठमाडौँ छिरेको झन्डै दुई दशक पुग्यो। शाक्यमुनि
गौतम बुद्धकै समयको महत्त्वपूर्ण पुरातात्त्विक वस्तु भईकन पनि यो सामान्य
वस्तुसरह विभागको सामान्य कोठामा थन्किएको छ।
सन् '८० को दशकको अन्त्यतिर मुस्ताङको टुकुचेमा चोकोपानी लघु जलविद्युत्
परयिोजनाका लागि सुरुङ खन्दा पुरातात्त्विक महत्त्वका प्रशस्त वस्तु
भेटिएका थिए। त्यसयता पुरातत्त्व विभाग र जर्मन पुरातत्त्वविद्हरूले
संयुक्त अन्वेषण गर्दा सन् १९९५ मा मेब्राक गुफामा उक्त शरीर र अन्य ३०
मानव अस्थिपञ्जर फेला परेका थिए। उक्त गुफा त्यहाँको एउटा समुदायको मृत
शरीर राख्ने चिहानका रूपमा प्रयोग हुने गरेको पाइएको थियो । त्यहाँ भेटिएका
अस्थिपञ्जर इसापूर्व ४०० देखि सन् '५० को दशकसम्मका भएकाले त्यो परम्परा
झन्डै साढे चार सय वर्ष चलेको देखिन्छ ।
अन्वेषणका क्रममा भेटिएको सुकेको छालासहितको सिंगो शरीर ६ महिनाभन्दा कम
उमेरको बच्चाको रहेको निचोड वैज्ञानिक विश्लेषणबाट निकालिएको थियो, जसको
लिंग भने अझै खुलेको छैन । यो नेपालमा भेटिएको अहिलेसम्मकै सबैभन्दा पुरानो सिंगो शरीर हो। र, त्यहाँ
भेटिएका कंकाल हिमालय क्षेत्रका सर्वाधिक पुराना मानव अवशेष हुन् ।
पुरातत्त्वविद्हरूका अनुसार कालीगण्डकी उपत्यका आसपासमा पाइएका ती
अस्थिपञ्जर मानव सभ्यता र विकासक्रम बुझ्न निकै महत्त्वपूर्ण छन् । "२०-२५
हजार वर्ष पुरानो सभ्यता रहेको मुस्ताङ क्षेत्र पुरातात्त्विक हिसाबले
स्वर्णभूमि हो," मुस्ताङको अध्ययनमा संलग्न युनिभर्सिटी अफ
क्यालिफोर्नियाका प्राध्यापक एवं पुरातत्त्वविद् मार्क अल्डेनडर्फरले नेसनल
जियोग्राफिकसँग भनेका छन्, "त्यहाँ मानव सभ्यताबारे अझै थुप्रै
महत्त्वपूर्ण विवरण फेला पर्न सक्छन्।"