Showing posts with label Wildlife. Show all posts
Showing posts with label Wildlife. Show all posts

Saturday, September 1, 2012

सालक तस्करी

→ २५ असारमा तातोपानी नाकाबाट प्रहरीले ५० किलो सालकको खपटासहित स्थानीय दिनेश रोकालाई  पक्राउ गर्‍यो। 
गत पुसमा काभ्रेको खोपासीमा बिक्री गर्न लाग्दा र बिर्तामोडबाट फिदिम ल्याउँदाका दुई छुट्टाछुट्टै घटनामा प्रहरीले जिउँदै सालक बरामद गर्‍यो। नुवाकोट, तीनपिप्लेमा ६ किलोको मृत सालक समातियो। 
नेपाल सालक तस्करीको केन्द्र बन्न थालेको स्पष्ट संकेत होयो । जिउँदै वा खपटा मात्र झिकेर सालकको तस्करी बढ्दै गएको छ। विदेशमा सालकलाई घर, रेस्टुराँ वा गार्डेनमा पाल्नका लागि जिउँदै तस्करी गरिन्छ भने मरेको सालकलाई रसायनयुक्त सिसामा राखेर सजाउने गरिन्छ । औँठी, मालाका साथै विभिन्न प्राचीन चिनियाँ औषधीका लागि समेत सालकका खपटा प्रयोग हुँदै आएका छन्। तर, यसले औषधीको काम गर्छ/गर्दैन भन्ने कुराको हालसम्म कुनै वैज्ञानिक पुष्टि भएको छैन। सालककै खपटाबाट बनाइएको ज्याकेट/ब्यागजस्ता सामग्री प्रयोग सम्भ्रान्त वर्गबीच प्रतिष्ठाको विषय मानिँदै आएको छ। 

चिनियाँ बजारमा अहिले सालकको खपटाको मूल्य प्रतिकिलो एक लाखको हाराहारीमा छ। यो स्थानीयलाई १० देखि ३५ हजारसम्म दिएर तस्करले लैजाने गरेका छन्। यसैगरी, जिउँदो सालकको मूल्य प्रतिकिलो सरदर २० हजारदेखि ८० हजार रुपियाँसम्म पर्छ। संखुवासभा र तेह्रथुम जिल्लामा तामाफोक, मूढे, शनिश्चरे, वसन्तपुर, चौकी, गुफा, मंगलबारेजस्ता ठाउँमा एक वर्षअघिसम्म दिनहुँजसो सालक बिक्री हुन्थे। तर, हिजोआज सालक कम भेटिने र दलालसमेत पहिलेजसरी आउन छाडेको स्थानीयको भनाइ छ। बरू अहिले काभ्रेको बल्थली, मकवानपुरको खैराङ र भक्तपुरजस्ता नयाँ ठाउँ उनीहरूको निसानामा पर्न थालेका छन्। हिमालय प्रकृतिकी संरक्षण अधिकृत प्रतिभा कसपाल भन्छिन्, "आफ्नो वासस्थानमा समस्या देखिनासाथ बसाइँ सरिहाल्ने हुँदा तस्करहरू एउटै समयमा एउटै ठाउँमा पूरा शक्ति लगाएर भिड्छन्।" त्यस्ता ठाउँमा उनीहरूले सालक पत्ता लगाउन कुकुरसमेत प्रयोग गरेको पाइएको छ। सालकको श्रवणशक्ति र दृष्टि निकै कमजोर हुन्छ। 

गत जेठ र असारमा ३० हेक्टर क्षेत्रफल भएको भक्तपुरको तौडोलछाप र आसपासका सामुदायिक वनमा सर्वेक्षण गर्दा सालकका थुप्रै दुला भेटिएका थिए। तर, नयाँभन्दा पुराना दुला बढी भेटिनाले त्यस क्षेत्रमा सालकको संख्या घटेको वा अतिक्रमणका कारण बसाइँ सरेको अनुमान गरिएको थियो। यी क्षेत्र र मकवानपुरको रानी सामुदायिक वन अहिले सालक संरक्षण क्षेत्रका रूपमा छन्। तर, तस्करीसमेत तिनै क्षेत्रमा उच्च छ। 

यसमा संलग्न गिरोहको अन्तर्राष्ट्रिय सञ्जाल हुन्छ र यहाँ खटिने दलालले चीनको सीमापारसिम्म वा सीमासम्म लगिदिने काम गर्छन्। पछिल्लो समय विदेशी नागरकि नै नेपाल नै आएर सालक लैजाने गरेको समेत भेटिएको छ। ८ जेठमा ४६ किलो खपटासहित चिनियाँ नागरकि याउ फुउ, जु जियाङ्बो, भारतीय नागरकि अमित जैन र सुनीलकुमार बर्मालाई पक्राउ गरिएको थियो। 
सालकको माग सबैभन्दा बढी पूर्वी र दक्षिणपूर्वी एसियामा छ। चीन र भियतनाम सबैभन्दा आकर्षक गन्तव्य हुन्। राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य भन्छन्, "सालकलाई छुट्टै संरक्षण गर्न सकिँदैन र आफ्नै वासस्थानमा समेत यसले तस्करहरूबाट जोखिम झेलिरहेकाले संरक्षणको छुट्टै रणनीति बनाउनु आवश्यक छ।" 

नेपालभित्रै पनि विभिन्न अन्धविश्वासका कारण सालक मार्ने वा यसका अंगको प्रयोग हुने काम भइरहेको छ। भूतप्रेतबाट जोगाउने नाममा सालकका खपटाका माला लगाउने, धूप बाल्नेजस्ता काममा प्रयोग भएका पाइन्छन्। यसको मासु खाँदा दीर्घरोग निको हुने विश्वास छ। सामान्यतः एउटा सालकको तौलमा २० प्रतिशत भाग खपटा हुन्छ। एउटा सात किलोको सालकबाट १.४ किलो खपटा निस्कन्छ। शरीर कडा भए पनि सालक लजालु, संवेदनशील र शान्त प्राणी हो। यसले मानिसलाई आक्रमण गर्दैन। संवेदनशील प्राणी भएकै कारण आफ्नो वासस्थानमा केही समस्या देखिनासाथ यसले बसाइँ सर्छ। "सालकको वासस्थानबारे स्थानीयलाई जति बाहिरबाट आउने तस्करलाई जानकारी हुनै सक्दैन," प्राणीशास्त्री प्रा कर्णबहादुर शाह भन्छन्, "स्थानीय सचेत हुन सके यसको तस्करी स्वतः न्यूनीकरण हुन्छ।" 

सरकारले बाघ, गैँडा, चितुवा, कस्तूरी, भालु र रेडपान्डासँगै सालकलाई पनि अति संकटग्रस्त सूचीमा राखेको छ। वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ सालकका लागि नेपाल महत्त्वपूर्ण वासस्थानका रूपमा पाइँदासमेत पर्याप्त अध्ययन र संरक्षणको पहल नभएको बताउँछन्। भन्छन्, "नेपालका उप-उष्ण भेगमा सामुदायिक वनले पुनः हरियाली ल्याएसँगै सालकको संख्यासमेत बढी देखिन थालेको छ।" यसैबेला यसको व्यापारकि महत्त्वसमेत थाहा भएपछि पछिल्ला केही वर्षमा यसको तस्करीको क्रम बढेको हो।