Showing posts with label Science. Show all posts
Showing posts with label Science. Show all posts

Saturday, January 20, 2018

इनोभेसन २.०

नानोटेक्नोलोजी रिसर्चका लागि विश्वभर चिनिएका एक वैज्ञानिक आउँदा बर्षहरुमा विश्वमा के–कस्तो प्रविधि हावी हुने देख्छन् । 

विश्वका विभिन्न कुना चहारिरहंदा प्राध्यापक श्रीराम रामाकृष्ण एउटा प्रश्न बारम्बार सामना गरिराखेका हुन्छन्, “विश्वमा अब कस्तो प्रविधि हावी हुनेछ ?” ‘मटेरियल साइन्स’मा विश्वभर सबैभन्दा बढि उद्धृत गरिनेमध्येका एक नेसनल युनिभर्सिटी अफ सिंगापुरको नानोफाइबर तथा नानोटेक्नोलोजी केन्द्रका निर्देशक उनी धेरैजसो ठट्टामै भनिदिन्छन्, “धेरै अघिको भन्न नसकेता पनि कम्तिमा ५० बर्षपछिको कुरा भने म आरामले भन्न सक्छु । किनकि त्यसबेला सायद म मरिसकेको हुनेछु ।”

उनको ठट्टै सही, धेरैले रामाकृष्णलाई हल्का रुपमा लिंदैनन् । उनले अध्ययन गरिराखेको क्षेत्र नानो टेक्नोलोजीबारेका कुरा धेरै बर्ष ठट्टाकै रुपमा थियो । अहिले चिकित्सा क्षेत्रलाई मात्रै हेर्ने हो भने पनि नगन्य रगतको नमूनाबाट सबथोक थाहा हुन्छ, त्यसमै उपचार हुन्छ । एउटा सामान्य कागजको मोटाइभन्दा हजार गुणा सानो इकाईका कुरा पनि मानिसको जीवनमरणसँगै जोडिनेजस्तो महत्वपूर्ण अर्थ राख्दो रहेछ भन्ने कुरा कल्पना सम्म गरिएको थिएन । अहिले नानो टेक्नोलोजी केमा मात्र छैन् ! चाहे महंगा कस्मेटिक हुन् वा आरामदायी मानिने आँखाका लेन्स, पानी शुद्धिकरण प्रविधिदेखि सुरक्षाका उपकरणसम्म, खाद्य सुरक्षादेखि वातावरणमैत्री घरसम्म नानो टेक्नोलोजी जोडिएकै हुन्छ ।

कतिसम्म भएको छ जनावरप्रेमी तर मासुका पारखीका लागिरुचाइने स्वाद र प्रोटिनको मात्रा मिलाएर जनावरको हत्या नगरिकनै क्रितिम रुपबाटै मासु तयार भइसकेको छ । 

वल्र्ड इनोभेसन फोरम २०१८ को नेपाल संस्करणका रुपमा गरिएको स्विस–नेपाल टेक्नोलोजी ट्रान्सफर वर्कसपका लागि हालै काठमाडौं आएका रामाकृष्ण भन्दैथिए, “तर संसार यति रफ्तारमा अगाडि बढिराखेको छ कि अहिले हामीले जसको कुरा सबैभन्दा बढि गरिराखेका छौं, आगामी दशकमा त्यो हराइसकेको हुनसक्छ र अर्को झन् विशिष्ठ उपलब्धी र सपना हामीमाझ हुनेछ ।”

आफ्नो समयको विशिष्ठ उपलब्धी मानिएको स्टिम इञ्जिन अहिले पनि छ तर हामीमाझ त्यसको कुरा खासै हुँदैन । आउँदा बर्षमा नानो टेक्नोलोजी, क्रितिम बौद्धिकता (एआई), डिजिटल प्रविधिको भूमिका नि:सन्देह ठूलो हुनेछ । “धेरै कुरा चाहिनेभन्दा बढि बुझिएको पनि छ,” उनी भन्छन्, “एआई भनिएका सबैथोक एआई होइनन्, थुप्रै कुराहरु अझै सामान्य प्राविधिक हिसाबकिताब हुन् ।”

सत्य के हो भने, औसत मानिसहरुले भन्दा मेसिनहरुले थुप्रै कुरा छिटो र दुरुस्तै गर्न सक्छन् । एउटा मानिसको दिमागमा परिवार, भावना र दैनिक जीवनका अन्य थुप्रै कुराहरु खेलिराखेका हुन्छन् । मेसिनले गर्ने काम उसको पूर्ण क्षमताको काम हुन्छ भने मानिसका लागि थुप्रैमध्ये एउटा मात्र । त्यसैले कामको गुणस्तर र उत्पादकत्वका दृष्टिले मेसिनहरुले औसत मानिसको क्षमतालाई उछिनिसकेका छन् ।

विज्ञानको क्षेत्र नै अहिले पहिलेजसरी चलिराखेको छैन । “मैले रिसर्च शुरु गर्दा नयाँ ज्ञान पत्ता लगाउने कुरा थियो, तर अहिले धेरैजसो देशहरु प्रविधि हस्तान्तरणको युगमा छन्,” होटल याक एण्ड यतिको बगैंचामा उनी भन्दैथिए, “अहिले आधारभुत अध्ययनभन्दा पनि नयाँ कम्पनी खोलेर वा चालु व्यावसायहरुका लागि लगानी बढाएर काम हुन्छ ।”

Tuesday, November 18, 2014

रेडियोधर्मी स्रोत: प्रयोग, पारवहन र डिस्युजमा चुनौती

गत ९ वैशाखमा कलंकी सडकमा अलपत्र एउटा बोरा दिउँसो २ बजेसम्म कसैले उठाएन । त्यहीँ चिया पसल गरेर बस्ने तुलसीप्रसाद अधिकारीले बिहान पसल खोल्दाखेरि नै उक्त बोरा देखेका थिए । कसैले नलगेपछि उनले नै बोरा ल्याए, जसभित्र करिब २० किलोको एउटा बाल्टिन थियो । त्यसमा अंग्रेजीमा लेखिएको थियो, ‘डेन्जर’ अर्थात् खतरा । धन्न, ग्राहकले बारम्बार बिर्को खोल्न आग्रह गर्दा पनि उनले खोलेनन् । र, एउटा सम्भावित विपत्ति टर्‍यो ।

खासमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरबाट कुरियरमार्फत बेल्जियम पठाउन लागिएको उक्त सामग्री बाटोमै हराएको खबर फैलिएपछि चिया पसले अधिकारीले त्यो प्रहरीलाई बुझाइदिएका थिए । खासमा गहु्रँगो सामान देखेर कसैले चोरेर लगेको तर डेन्जर लेखिएको देखेपछि सडकमै छाडेर हिँडेको थियो । नेपालका लागि नौलो उक्त घटनापछि बल्ल प्रश्नहरू उब्जिए– आखिर के थियो त, उक्त बाल्टिनभित्र ? बाल्टिन खोलेको भए के हुन्थ्यो ?

स्तन, छाला, गर्भाशयलगायत क्यान्सरको उपचार हुने ब्राक्याथेरापीमा प्रयोग हुने विकिरणयुक्त स्रोत ‘इरिडियम १९२’ थियो त्यो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियोग (आईएईए)को वर्गीकरण अनुसार दोस्रो श्रेणीको ‘निकै खतरनाक’ मानिने उक्त स्रोत केही दिनसम्म हराए पनि कुनै गलत व्यक्तिको हातमा परेन वा कसैले सामान्य वस्तुलाई जसरी चलाएनन् । परिणाम, कुनै अप्रिय घटना हुन पाएन ।

यस्ता रेडियोधर्मी विकिरणयुक्त स्रोत कुन हदसम्म संवेदनशील हुन्छन् भने त्यसको प्रयोग सकिएपछि पनि उक्त स्रोतलाई ‘डिस्युज्ड’ (नष्ट गर्ने प्रक्रिया)का लागि जहाँबाट ल्याइएको हो, त्यहीँ लैजानुपर्छ । इरिडियम १९२ पनि त्यस्तै सिलसिलामा चितवनस्थित क्यान्सर अस्पतालबाट काठमाडौँ ल्याई हवाईजहाजमा बेल्जियम लगिँदै थियो । तर, जुन असावधानीका साथ उक्त काम गरियो, त्यसले रेडियोधर्मी विकिरणयुक्त स्रोतको सुरक्षामा हाम्रो कमजोर अवस्थाको चित्र बाहिर ल्याएको छ ।

Saturday, May 17, 2014

'एज अफ स्पेस'मा नेपाली झण्डा

अमेरिकाको बोस्टनस्थित नर्थइस्टन युनिभर्सिटीमा कम्प्युटर इञ्जिनियरमा स्तानक गरिरहेका क्षितिज लोहनी, २१, ले अन्तरिक्ष (एज अफ स्पेस)मा पहिलोपटक नेपाली झण्डा फहराउन र राष्ट्रिय गान बजाउन सफल भएका छन् । बैशाख १७ मा पृथ्वीको सतहभन्दा ८० हजार फिटमा उक्त काम सफल भएको थियो । सुनौ उनको अनुभव :
 
नेपाली झण्डा हेलियम बेलुनमा राखेर पठाइएको थियो । खासमा मेरो उद्देश्य अहिलेसम्म जेट विमान उड्ने ३५ हजार फिट माथि मात्रै पुर्‍याउन सके हुन्थ्यो भन्ने थियो । तर त्यो भन्दा दोब्बर नै माथिसम्म बेलुन पुग्यो । जहाँबाट अन्तरिक्षको अन्धकार र पृथ्वीको आकार राम्रोसँग छुट्याउन सकिन्छ ।

मैले बेलुनमा एउटा नयाँ र दुईवटा बिग्रेर फ्याकेका क्यामेरालाई मर्मत गरेर प्रयोग गरेको थिएँ । माथिको अत्याधिक चिसो, चापबाट बचाउन र सीमित उर्जामा धेरै समय काम सम्भव गराउन तिनलाई आफ्नो योजना अनुकुल मोडिफाई गरें । दुई वटाले तल र माथिबाट भिडियो खिच्थे र एउटाले तस्विर । त्यस्तै पुराना बिग्रेका एन्ड्रोइड मोवाइलमा ग्लोबल पोजिसनिङ सिस्टम सेट गरेर निश्चित उचाई लिएपछि राष्ट्रिय गान बजिरहने गराएँ । जमिन छाडेदेखि जमिन टेक्दासम्म ८० माइल यात्रा तय गरेको थियो । जसका लागि १ घण्टा ५८ मिनेट लाग्यो ।

विदेशमा बस्ने धेरै नेपालीले देशका लागि केही राम्रो गर्न खोजिरहेका हुन्छन् । पैसा र पहुँच हुनेले च्यारिटीदेखि अन्य सहयोग गर्छन् । मजस्ता विद्यार्थीलाई त्यो सम्भव हुँदैन । त्यसैले सिमित स्रोतबाट नेपालीलाई गर्व हुने केही काम गर्न खोजेको हुँ । यो कसैले नगरेको नयाँ काम भने होइन । तर इन्टरनेट र सोसल मिडियाको जमानामा सानै कामले पनि यो कुराले थुप्रै नेपालीलाई खुसी बनाएको छ । इन्डियाना जाने खर्च मेरा प्राध्यापकले हालिदिनुभएको थियो नत्र काम फत्ते गर्दासम्म मेरो झण्डै २५० अमेरिकी डलर मात्र खर्च भएको छ ।

भिडियो बनाउन मैले बेलुनमा एउटा नयाँ र दुईवटा बिग्रेर फ्याकेका क्यामेरालाई मर्मत गरेर प्रयोग गरेको थिएँ । माथिको अत्याधिक चिसो, चापबाट बचाउन र सीमित उर्जामा धेरै समय काम सम्भव गराउन तिनलाई आफ्नो योजना अनुकुल मोडिफाई गरें । दुई वटाले तल र माथिबाट भिडियो खिच्थे र एउटाले तस्विर । त्यस्तै पुराना बिग्रेका एन्ड्रोइड मोवाइलमा ग्लोबल पोजिसनिङ सिस्टम सेट गरेर निश्चित उचाई लिएपछि राष्ट्रिय गान बजिरहने गराएँ ।
उडान त्यतिधेरै असहज नभएता पनि सामान्य बेलुनमा त्यतिधेरै उचाई हासिल गरेपछि क्यामेरा आफूले भनेजसरी झार्न सहज थिएन । त्यसैले म इन्डियाना राज्यको फराकिलो फार्मल्याण्ड ‘फिसअर्स इन्डियाना पोलिस’ पुगेको थिएँ । जहाँको मौसमी लयलाई मैले ५ महिनाअघिदेखि पछ्याइरहेको थिएँ । अत्याधिक उचाई लिएपछि बेलुन फुट्थ्यो र केहीबेर फ्रिफल भई पछि प्यारासुटमार्फत झर्ने गराइएको थियो । नभन्दै १ माइल रेडियसमै ल्याण्ड भयो ।