Sunday, February 23, 2014

"पाएँ भन्दैमा धेरै फिल्म खेल्दिंन" [QnA]

र्‍यापर आशिष राना उर्फ लाहुरेको चर्चा अहिले संगीतकर्मी कम अभिनेताको रुपमा चुलिएको छ । बेलायती निर्देशक मुर्रे केरको लेखन तथा निर्देशनमा बन्न लागेको ‘ताण्डव’ मा उनको मुख्य अभिनय छ । र्‍यापब्याटलबाट अभिनेतामा बदलिन लागेको लाहुरेको परिचयबारे उनीसँग गरिएको कुराकानी ।

र्‍यापले चर्चा बुटुलिराखेकै बेला कसरी फिल्ममा लागियो ?
निर्माता मोहन डोटलले केही महिनाअघि फोन गरेर अफर गरे । उनलाई मैले यसअघि चिनेको पनि थिइन । शुरुमा अस्विकार गरेता पनि पछि अरुले स्क्रिप्ट हेर्न सुझाएपछि भने त्यसैले तान्यो ।

स्क्रिप्टमा के त्यस्तो छ जसले तपाईंलाई आकर्षित गर्‍यो ?
र्‍याप ब्याटलमा समेत धेरैले मेरो शब्दजत्तिकै शारीरिक हाउभाव र आक्रोसपूर्ण अभिव्यक्तिलाई रुचाएका हुन् । खासमा त्यो पनि मैले निकै तयारीसाथ गरेको अभिनय नै थियो । स्क्रिप्टमा मैले गर्ने अभिनयको स्वभाव धेरैतिर त्यस्तै छ । 

यसअघि अभिनय गरिएको थियो त ?
मेरो यो पहिलो अभिनय हो । फिल्मको अफिसियल एनाउन्समेन्ट बुधबार गरिएता पनि मैले ३ महिनाअघिदेखि अनुप बराल र टिकाभट्ट जिरेलसँग अभिनय सिक्ने र वर्कसपहरुमा सहभागि भइरहेको थिएँ ।

फिल्ममा यहाँको सांगितिक योगदान पनि हुन्छ ?
हुँदैन । सायद फिल्मको अन्त्यमा बाहेक यसमा गीत पनि हुनेछैन । यो एक्सन थ्रीलर मुभि हो । यसमा म नितान्त अभिनय गर्नेछु । ३ महिनाको तयारीले मलाई निकै आँट र उत्साह दिएको छ ।

गायनको मानिस अभिनयको टोलीसँग काम गर्दा कस्तो अनुभव हुँदोरहेछ ?
शुरुमा त मलाई अर्कै ग्रहमा आएँ कि जस्तो नि भएको थियो । जब फिल्मका धेरै प्राविधिक पक्ष बिस्तारै बुझ्न र एउटा अनुभवी पुस्तासँग काम गर्न थालेपछि बल्ल सहज भएको छ । फेरी चाहे त्यो, गायन होस् वा अभिनय दुवै कलाकै भावना अभिव्यक्त गर्ने फरक विधा हुन् ।

अन्य फिल्मको लागि पनि अफर आउन थालेका छन् ?
एउटामा अभिनय शुरु नगर्दै २ वटा स्क्रिप्ट हात परेका छन् । तर मैले हेर्न भ्याएको छैन । फिल्मले यतिधेरै समय खान्छ भन्ने मलाई शुरुमा लागेको थिएन मैले संगितमा ध्यान दिन नपाएको धेरै भइसक्यो । फेरी मैले अन्तत: गर्ने भनेको सांगितिक क्षेत्रमै हो । त्यसैले पाएँ भन्दैमा मैले धेरै फिल्म खेल्दिन ।

First Appeared in Nepal Magazine 
***
यो पनि पढ्नुहोस:: ब्याटलम्यान 

No comments:

Post a Comment