Showing posts with label Video. Show all posts
Showing posts with label Video. Show all posts

Friday, February 28, 2014

कोमामा कुमार नगरकोटी [Video]

आख्यानकार कुमार नगरकोटीको नाटक "कोमा : अ पोलिटिकल सेक्स" आजदेखि मार्च महिनाभर दिनहुँ शिल्पी थिएटर, बत्तिसपुतलीमा प्रदर्शन हुँदैछ । अखबारका लेखनमा र त्यसमा पनि अफबिट शैलीका कारण रुचाइएका कुमार नगरकोटीको लेखन भएकाले पनि धेरैले यो नाटकलाई निकै प्रतिक्षासाथ कुरेका छन् । नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका छन्  ।



नाटकको तयारीमा व्यस्त रहंदा हालैको एक साँझ हामीले उनलाई भेटेका थियौं । र, थुप्रै जिज्ञाशा राख्यौं उनको व्यक्तिगत स्वभावदेखि नाटकका बारेमा । प्रस्तुत भिडियोमा राजकुमार बानियाँ, कुमार पौडेल, लुना भट्टराई, अब्दुस मियाँ, अंकित अधिकारीप्रदीप बस्यालले सोधेका केही प्रश्न  र त्यसमा नगरकोटीको उत्तरहरु प्रस्तुत गरेका छौं । 


भिडियो सुटिङका क्रममा सघाउने शिल्पी थिएटरका सम्पूर्ण कलाकारहरु एवं निर्देशक घिमिरे युवराजप्रति म निकै आभारी छु । भिडियो खिच्न सघाउने निरज न्यौपाने र सम्पादनमा सघाउने शंकर चैसिरप्रति निकै आभारी छु ।

के भन्छन् कुमार नगरकोटी  ?

नाटकमा मेरो प्रवेश अल अफ सडन नै हो। मैले जीवनमा नाटक लेख्ने त परै जाओस्, लेखक बन्छु भनेर पनि सोचेको थिइनँ। सहरमा म विधाभञ्जकका रूपमा कुख्यात छु। नाटकमा मैले र्फमलाई क्राफ्टले भत्काएको छु। हरेक मान्छेमा एक खालको माइन्डसेट छ। त्यसलाई नभत्काई म लेख्न सक्दिनँ। मलाई बदनाम पनि प्रिय छ। म्याडनेस मेरो ब्राण्ड हो । मैले लेखेको म्याडनेसमा सब पात्रहरु मृत छन् तर नाटकमा तिनै जिवन्त हुन्छन् । किनकि म अल्टिमेट म्याडनेसमा गएर लेख्छु ।

Monday, January 27, 2014

To the top Chef, Mum cooks it like no one else [Video]


गोविन्दनरसिंह केसी, बर्ष  ५८
(सेफ अनुभव ३७ बर्ष) 
***
सन् २००१ मा होटल सोल्टी क्राउन प्लाजाले उनलाई  एक्जुकेटिभ सेफको उपाधि दिएको थियो । 
***
सोल्टीमा मात्रै  उनले ३१ वर्ष १ महिना काम गरेका छन् ।
***
सेफ बन्नुको कारण :: ब्रिटिस लाहुरे साथी भरतकृष्ण रानाले उक्साएछन् एकपटक, होटल लाइनमा छिर्‍यो भने संसार घुम्न पाइन्छ भन्ने सपना देखाएर त्यसकै लोभमा । 
***
उनका चर्चित् पाहुनाहरु :: चाउ एन लाई, बेनजिर भुट्टो, देङ् स्यायो पिङ्, राजीव गान्धी, फ्राँस्वाँ मित्तेरा, हेनरी किसिन्जर, वान की मुन, एपिजे अब्दुल कलामजस्ता विश्वविख्यात नेता हुन् या रचिर्ड गेर, स्टिभेन सेगल, आरडी बर्मन, नाना पाटेकर, नसिरुद्दीन शाह, रजिनी कान्त आदि । 
***
शुरुवाती तलब : १ सय ७५ रुपियाँ ।
***
बेस्ट कुक:: आफ्नी आमा  ।
***
प्रिय परिकार:: आमाले बनाएका कोदोको ढिँडो, कालिजको मासु, सखरखण्डको सेलरोटी ।
***
रिटायर्ड जीवनको योजना:: शिक्षक बन्ने, आश्रममा गएर ध्यान गर्ने, साहकारी बन्ने  ।

यो पनि पढ्नुहोस:: 
* राजकुमार बानियाँले नेपाल म्यागेजिनमा लेखेको उनको प्रोफाइल "पाँचतारे सेलिब्रिटी"
* उनी समेत फिचर भएको मेरो पुरानो रिपोर्ट:: किचेन कमाण्डर

Saturday, January 25, 2014

"यसरी जित्यौ फकल्याण्ड" [with Video]

(इन्द्रेणी पोखरी, खोटाङका बुद्धिराज राई, ५४, सन् १९८० मा धरान क्याम्पबाट ब्रिटीस आर्मीमा प्रवेश गरेका भूपु सैनिक हुन् । गोर्खा सैनिकको भरमा बेलायतले अर्जेन्टिनाको कब्जाबाट फुत्काएको फकल्याण्डको युद्धका साक्षी हुन् उनी । खासमा गोर्खा सैनिकले कसरी जिताएको थियो उक्त युद्ध । प्रदीप बस्यालसँगको कुराकानीमा आधारित राईको युद्ध सम्झना यहाँ प्रस्तुत गरिएको छ ।)
****
७ महिना बेलिजमा बिताएर फर्कंदा मेरो बिस्तारामा फकल्याण्ड जानका लागि हतियार, बन्दोबस्ती र खानपानको लागि सामान तयारी अवस्थामा थिए । र, बेलायत टेकेको ३ दिनमै म त्यता जानुपरेको थियो । हुन त मध्य अमेरिकाको उत्तरपुर्वी तटमा रहेको सानो राष्ट्र बेलिजमा छंदै फकल्याण्डमा बढेको तनावबारे थाहा पाइसकेको थिएँ । बेलिज भने सन् १९८१ को सेप्टेम्बरमा बेलायतबाट स्वतन्त्र भइसकेको थियो । त्यसै त अति सानो देश, त्यसमाथि उसको आफ्नै सेना थिएन । त्यसकै फाइदा उठाउँदै दक्षिणी छिमेकी ग्वाटेमालाले उसलाई हडप्न पूरा तयारी गरिरहेको थियो । ब्रिट्रीस आर्मीको ७ गोर्खा रेजिमेन्टको तर्फबाट समेत हाम्रो एउटा कम्पनी बेलिज डिफेन्स फोर्स तयार पार्न र प्रारम्भिक अवस्थामा ग्वाटेमालाबाट जोगाउनका लागि त्यहाँ गएका थियौं । त्यहाँ युद्ध चाहीं भएन तर कतिखेर युद्ध छेडिएला भन्ने भयले कुनैबेला छाडेन । ग्वाटेमालालाई त्यसैबेला चिलीले आक्रमण गर्ने भय नभएको भए सायद युद्ध हुन्थ्यो होला पनि । आजभोलि लाग्छ, बेलिजमा युद्धमय बनेको मेरो दिमाग सायद फकल्याण्ड युद्धको लागि भएको रहेछ ।

एउटा सिपाहीका लागि युद्धमा जानु कुनै असाधारण कुरा होइन । तर फकल्याण्डको युद्ध भने साधारण तरिकाले जितिने युद्ध थिएन । इङल्याण्डबाट ८०६४ माइल पर थियो उक्त टापु अर्जेन्टिनाबाट भने ३१० माइल मात्र । सन् १८३३ यता बेलायतको अधिनमा रहेता पनि सायद दूरी र निकै सानो भूभाग भएकाले बेलायतको प्राथमिकतामा त्यो कहिल्यै परेन । बेलायती सेनाको स्थायी क्याम्प समेत थिएन त्यहाँ । त्यही फाइदा उठाएको थियो अर्जेन्टिनाले । र, त्यहाँ आफ्ना सैनिक पठाएर युद्धका सबै व्यवस्थित पूर्वाधार तयार पारेपछि मात्र आफ्नो कब्जा घोषणा गरेको थियो । जसबाट ब्रिट्रीसहरु निकै चिडिएका थिए र युद्ध जित्ने निकै बलियो आड खोजिरहेका थिए । गोर्खालीहरु त्यही रणनीति अनुसार प्रयोग भएका हुन् । खासमा फकल्याण्ड युद्ध बेलायतले खडा गरेको त्यही ‘गोर्खाली त्रास’का भरमा जितेको थियो । बिबिसीले गोर्खालीको सैन्य परिचय दिन के मात्र बढाइचढाई गरी देखाएनन । उसले प्रचार गरेको थियो–– गोर्खाली मान्छेकै रगत खाने स्वभावका हुन्छन्, एउटै खुकुरीको भरमा कम्तिमा एक सय मिटर व्यासमा त उनीहरुलाई छुन पनि सकिंदैन । एउटै कसैलाई केही भए पनि कोही विपक्षीलाई छाड्दैनन्, जस्ता केके हो केके । दुश्मनमा त्रास भर्न उसले प्रचार गरेको सबैभन्दा ठूलो झुट भने गोर्खालीको सङ्ख्याको थियो । ६ सय जना जति गएकामा उनीहरुले ६ हजार गोर्खाले फकल्याण्डतर्फ रवाना भए भनेका थिए । खास, त्यसबेला ब्रिटीस आर्मीमै जम्माजम्मी ६ हजार गोर्खा सैनिकहरु थिए । तर जाने भने हाम्रो सेभेन गोर्खा रेजिमेन्ट मात्र थियो ।