Showing posts with label PakistanTrip. Show all posts
Showing posts with label PakistanTrip. Show all posts

Monday, January 14, 2013

परको पाकिस्तान

पछिल्लो समय पाकिस्तानीहरू एक्लिएको महसुस गर्न थालेका छन् । त्यो उनीहरूको देशभित्र र बाहिर दुवैतर्फ छ । लन्डनस्थित ब्रुनेल विश्वविद्यालयमा पढिरहेका पाकिस्तानी युवा मोहम्मद अली शाहले आफ्नो अनुभव साटे, 'पाकिस्तानी भन्नेबित्तिकै मानिसहरू ठूलो आँखा पारेर हेर्छन् । सकेसम्म संगत गर्न खोज्दैनन् ।' त्यसैले कतिपय सकेसम्म आफ्नो राष्ट्रियता नखुलाउने र भन्नै परे भारतीय भनेर उम्कँदा रहेछन् । पश्चिमा देशमा भिसा पाउन अन्य देशका नागरिकलाई जस्तो सहज छैन पाकिस्तानीलाई । पाकिस्तानमै विदेशी कम आउँछन् । अझ पासपोर्टमा पाकिस्तानको भिसा लाग्दा युरोप, अमेरिका जान चर्को कडाइ खेप्नुपर्ने ठानेर उसका छिमेकीसमेत पाकिस्तान जान खोज्दैनन् । मुख्य छिमेकी भारत र अफगानिस्तान दुवैसँग कटुतापूर्ण सम्बन्ध छ उसको । त्यसैले उसकै छिमेकीका लागि पनि पाकिस्तान परको झैँ भएको छ ।

सरासर जाने हो भने जमिनबाटै यात्रा गर्दा काठमाडौँदेखि डेढ दिनमा पाकिस्तानको राजधानी इस्लामावाद पुगिन्छ । हवाई जहाजमा समेत सोभन्दा बढी समय लाग्ने अमेरिका हाम्रा लागि नजिक होला तर पाकिस्तान टाढा लाग्छ । पाकिस्तान किन टाढा भयो त ? सार्कको एउटा सदस्य नेपालको नजिककको छिमेकी भइकन पनि प्रायः नेपालीका लागि पाकिस्तान किन टाढाको चिज भयो ?

हाम्रो मनमा पाकिस्तान भन्नेवित्तिकै पश्चिमा सञ्चार माध्यममा तारम्तार आउने समाचार नाच्न थाल्छन् । आतंकवादीले भिडियो सार्वजनिक गर्दा अक्सर लगाउने कमिज-सुरवालले हामीमा सबै त्यस्ता कपडाधारीमा आतंकवादीको शंका भर्छ । सायद, टाढाबाट बनेका धारणालाई ग्रहण गर्नाले नै पाकिस्तान टाढाको जस्तो लाग्ने भएको हो कि ! 

Sunday, January 13, 2013

नोटबुक #Pakistan

हिना क्रेज

पाकिस्तानी विदेशमन्त्री हिना रब्बानीको 'क्रेज' हामीमा मात्र हो कि भनेको त पाकिस्तानीमाझ झन् बढी रहेछ। इस्लामावादमा हालै सम्पन्न दक्षिण एसियाली युवा सम्मेलनमा दिनहुँ कोही न कोही मन्त्री आइरहन्थे। जब हिना आउने कुरा केही घन्टाअघि मात्र थाहा भयो, सम्मेलनस्थलको रौनक नै अर्कै भयो। एकाएक सुरक्षाकर्मी र सञ्चारकर्मी थपिए। ट्वीटरमा उनको नामको ह्यासट्याग चर्चित हुन थाल्यो। दुबई भ्रमण सकेर केही घन्टाअघि मात्र इस्लामावाद फर्केकी उनी अर्को दिन बिहानै ढाका जाने तालिकामा थिइन्। हिना त्यही व्यस्तताका बीच फुर्सद निकालेर अन्तरक्रिया तथा सम्बोधनका लागि आइन्। ट्वीटरमा उनको नाम र सम्मेलनको ह्यासट्याग विश्वव्यापी ट्वीटर ट्रेन्डमै पर्न सफल भयो। उनमा सुन्दरता मात्र होइन, कुशल कूटनीतिज्ञमा हुनुपर्ने थुप्रै गुण रहेछन्। काठमाण्डू पोस्टका पत्रकार साथी अंकित अधिकारीले फेसबुक स्ट्याटस लेखिहाले, 'रब्बानी अर्थात् सुन्दरता र कुशलताको निकै दुर्लभ सम्मिश्रण।'

बिरालोको तनाव

इस्लामावाद सहरमा झन्डै एक साता बित्यो। सन् १९६० मा कराँचीबाट राजधानी सार्नलाई विशेष योजना गरेर तयार पारिएको इस्लामावाद 'गामा वल्र्ड सिटी' अर्थात् विश्वको एउटा आदर्श सहरमा पर्छ। सडकहरू निकै फराकिला छन् र धेरैतिर सबवे र फ्लाइओभर भएका कारण यहाँ जाम विरलै हुन्छ। सडकछेउछाउ घरहरू कतै कतै मात्र देखिन्छन्। राजधानी भएर पनि यो सहर जनसंख्याका दृष्टिले कराँची र लाहोरपछि मात्र आउँछ। पाकिस्तानले यसलाई विशुद्ध प्रशासकीय राजधानीका रूपमा विकास गरेको छ। कराँची व्यापारकि राजधानी भएकाले कुल गार्हस्थ्य उत्पादनमा मात्र ०.८ योगदान दिन्छ भने शैक्षिक राजधानीका रूपमा लाहोर छ। अन्य ठाउँबाट राजधानीका लागि छुट्ने बससमेत इस्लामावाद नछिरी छेवैको जुम्ल्याहा सहर रावलपिन्डीमा रोकिन्छन्। यहाँको विमानस्थलसमेत पाकिस्तानको तेस्रो ठूलो हो।

यसरी बैगुन भेटाउन गाह्रो पर्ने सहरमा यात्रा गर्दा बिरालाहरूले भने तनाव दिए। प्रायः मुस्लिमले कुकुरलाई अपसकुनका रूपमा लिने हुँदा त्यहाँ कुकुर कम भेटिन्छन्, बिराला छ्यापछ्याप्ती। हरेक किलोमिटर यात्रा गर्दा दुई-तीनवटा बिरालाले बाटो काट्नु कुनै नौलो होइन। त्यसमाथि सबैजसो कालो रंगका। त्यसैले हरेक दिन होटलबाट सम्मेलन स्थलसम्म पुग्दा सहरको सुन्दरताले जति लोभ्याउँथ्यो, त्यसभन्दा बढी ती बाटो काट्ने बिराला सम्झेर केही अशुभ त हुँदै छैन भन्ने लागिरहन्थ्यो।

यी पढन्ते लाहुरे

बलिउड ब्लकबास्टर ‘वीर–जारा’मा पहिलोपटक लाहोर देखेका थिए, अजय जायसवालले । फिल्ममा देखिएको शहर र  त्यहाँका भवनका आर्किटेक्चरले प्रभावित पारेता पनि फिल्मले दिएको समग्र इम्प्रेसन भने त्यति राम्रो थिएन, लाहोरको । बिबिसी र सिएनएनमा देखिने पाकिस्तानका दर्दनाक दृश्यका त कुरै भएन । दिनहुँजसो हेडलाइन बन्ने तिनका समाचार सधै हत्या, हिंसा र विस्फोटनका खबरले भरिएका हुन्थे । त्यही सहि, गजलगायक गुलाम अली र पपगायक आतिफ अस्लमका ‘डाइहार्ट फ्यान’ उनलाई उनीहरुकै गृहनगर पुग्नबाट कसैले रोक्न सकेन । त्यसबाहेक जुनुन, नुरी, जलजस्ता चर्चित पाकिस्तानी पप ब्याण्डका कन्सर्ट उनीहरुकै शहरमा हेर्ने उनको एउटा पुरानो धोको छ जुन भने अहिलेसम्म पूरा हुन सकेको छैन । ३ बर्षयता यहींको पञ्जाब विश्वविद्यालयमा फार्मेसीमा स्नातक गरिराखेका छन्, अजय ।

लाहोर अहिले जति विरानो ठाउँझैं लागेता पनि यससँगको नेपाली साइनो निकै पुरानो र नजिकको छ । भारत–पाकिस्तान छुटिनुअघि नेपालीहरु काम गर्नका जाने एउटा गतिलो गन्तव्य त्यसबेलाको भारतको पञ्जाब प्रान्त थियो । र, पञ्जाबको राजधानी लाहोरबाटै लाहुर जन्मिएको हो । स्वतन्त्रतापछि पनि अहिले दुवैतर्फ पञ्जाब प्रान्त छन् । नेपालमा लाहुर शब्द अझै मरिसकेको त छैन । तर, अब लाहोर जानेलाई मात्र नभई पैसा कमाउने विदेशीनेलाई कहिंकतै लाहुरे भनिन्छ । तर असली लाहुरेहरु भने अब काम गर्न नभई पढाईका लागि लाहोरमा छन् । अहिले झण्डै २ सय ५० नेपाली विद्यार्थीहरु विभिन्न संकायमा यहाँका विभिन्न विश्वविद्यालयत तथा कलेजमा अध्ययनरत छन् । 

राजविराजका दिनेशकुमार नेपाल विश्वविद्यालयमा स्वागत हुदाको क्षण सम्झन्छन् । ‘वेलकम टु दि सिटी अफ लिभिङ हाट्र्स’, कसैले उनलाई भनेको थियो । पछि उनले थाहा पाए लाहोर पूर्वको पेरिस, पाकिस्तानको मुटु, बंगैचाको शहर, चाडपर्वको शहरजस्ता अनेकौं नामबाट चिनिंदो रहेछ । ‘लिभिङ हाट्र्समा भने निकै दम छ’, हालैको एक मध्यान्न पञ्जाब विश्वविद्यालयको क्यान्टिनमा उनले अनुभव साटे, ‘लाहुरीहरु सांच्चिकै जीउंन जानेका छन् । काम, मनोरञ्जन  र अनुसाशनको समिश्रण यिनमा निकै गज्जबको छ ।’