Showing posts with label Environment. Show all posts
Showing posts with label Environment. Show all posts

Monday, August 5, 2013

रूखप्रेमी समूह

जीवनमा कतिवटा रूख रोप्नुभो ? रोपिएका बिरुवा कस्तो हालतमा छन् ? हुर्किए कि मरिसके ? आफ्नो उमेरसँग दाँजेर एकैछिन घोत्लिनूस् त ! त्यसपछि आफ्नै जीवनशैलीमा रूखजन्य उत्पादनको प्रयोग कसरी बढिरहेको छ भन्नेतर्फ हेर्नूस्। सबेरै पढिने पत्रपत्रिकादेखि साँझ सुत्ने सानदार पलङसम्ममा त्यही रूख जोडिएको हुन्छ। हामीले रूखबाट लिएको लाभ र त्यसमा दिएको योगदानको तुलना गर्दा पृथ्वीमाथि कसरी अन्याय गरिराखेका छौँ भन्ने थाहा पाउन धेरै बेर लाग्दैन।

तन्नेरीको एउटा समूह अहिले मानिस र रूखबीच यही भावना जोड्न लागिपरेको छ। यसका अगुवा युवा हुन्, अनुज महत, रोशन कार्की, संरक्षण घिमिरे, प्रयाग उपाध्याय, दीपक मल्ल, रामकुमार भण्डारी र ध्रुव प्रजापति। अनुजले एमबीए पढेका हुन् भने अन्य सबैले कम्प्युटर विज्ञान। भिन्न परिवेश र पृष्ठभूमिबीच यो समूहले अहिले 'बर्थडे फरेस्ट' अभियान चलाइरहेको छ।

कुनै बच्चा जन्मिँदा होस् वा बर्थडे मनाइरहँदा, त्यसको सम्झनामा रूख रोप्ने अभियान हो यो। अनुज महत भन्छन्, "यसले रूखसँग आफ्नो एउटा कालखण्डको साक्षी र सँगै हुर्किरहेको साथीको भावना विकसित गर्नेछ।" विभिन्न अवसर पारेर गरिने वृक्षरोपण खासमा कुनै नयाँ अवधारणा त होइन। तर, बर्थडे फरेस्ट अभियानमा नयाँपन छ। जस्तो: उनीहरूले यसलाई प्रविधिसँग जोडेका छन् र बिरुवा रोप्ने मात्र होइन, हुर्काउने जिम्मेवारी पनि लिएका छन्। एउटा रूख रोपेबापत उनीहरूले ९ सय ८० रुपियाँ लिन्छन्। त्यस अन्तर्गत रूख रोप्नेदेखि तीन वर्षसम्म वर्षको दुईपटक तस्बिर अपडेट गरिन्छ, रूखसँग प्रायोजकको नाम र सन्दर्भ उल्लेखित मेटल प्लेट राखिन्छ। सामुदायिक वनको सहकार्यमा त्यसको हेरचार गर्ने व्यवस्थासमेत मिलाइएको छ।

बिरुवा रोपिएको ठाउँको जीपीएस ट्रयाकिङ् गरिएको हुन्छ, जसबाट वर्षौंपछि समेत प्रायोजकले आफूले रोपेको बिरुवा हेर्न सक्छन्। रोशन कार्की भन्छन्, "सामान्यतः तीन वर्षभित्र एउटा बिरुवा हुर्किसक्छ। केही गरी मर्‍यो भने अर्को बिरुवा रोपिदिन्छौँ।" र, हरेक वृक्षरोपण गर्नेको नाममा रूखको तस्बिरसमेत 'अपडेट' भइरहेको हुन्छ, उनीहरूको साइटमा।

यही अभियान जोडिएको बर्थडे फरेस्ट नामको मोबाइल एप्स गुगल स्टोर्समा छ, जसले आफ्नो जन्मदिन सम्झाउने र रूखको अवस्था देखाउँछ। झन्डै चार महिनाअघि काठमाडौँमा आयोजना गरिएको एप्स प्रतिस्पर्धामा सामाजिक सेवा शीर्षकतर्फ यो मोबाइल एप्सले उत्कृष्ट भएर एक हजार अमेरिकी डलर पुरस्कार पाएको थियो।

Sunday, January 13, 2013

चराको पछिपछि

नयाँ ठाउँ पुग्दा समेत हठन चौधरीको नजर अघिपछि भन्दा रुख–आकासतिर बढि घुम्छ । हातमा एउटा सचित्र पुस्तक, दूरविर र क्यामेरा कतिबेलै छुट्दैन उनको । उनी चरा खोरिरहेका हुन्छन् । नयाँ वा दुर्लभ देखिने चरा भेटिए त गज्जब भईहाल्यो । देखिराखेकै वा स्थानिय चरा नै भएता पनि तिनका कतिपय दुर्लव अवस्था अर्को रोचक दृश्य बन्छ । कहिलेकाहीं एउटै चरालाई ठूलो झुण्डमा देख्न पाउनु पनि चरा हेर्नका पारखीका लागि आनन्दको क्षण भइदिन्छ । ‘त्यसैले बर्ड वाचिङ जति पटक नै गरेता पनि त्यो रोचक हुन्छ’, हठन भन्छन्, ‘कतिखेर के देखिन्छ भन्नै सकिंदैन ।’

बर्ड वचिङका लागि नेपाल विश्वमै विशेष स्थान हो । यहाँ १ सय मिटरभन्दा कमदेखि विश्वको सर्वोच्च उचाईको भूभाग छ । भिन्न भिन्न हावापानी र वासस्थान हुँदा यहाँ सयौं चराहरु देखिन्छन् । गर्मीयाममा प्रजननका लागि बसाई सरेर आउने चरा नेपालमा अर्का आकर्षण बन्छन् । ‘यी विविधताका बिच चरा हेर्नु वा देखाउनु निकै जटिल काम हो’, अर्का बर्ड वाचिङ गाइड दिनेश गिरीको अनुभव छ, ‘त्यसैले यो काम आत्मैदेखिको सोख नभइकन सम्भव छैन ।’ यसका लागि प्रकृतिसँग रमाउन सक्नु त पर्छ नै उत्तिकै धैर्य समेत हुनुपर्छ । पछिल्लो ६ बर्षयता लुम्बिनी आसपासमा बसिराखेका दिनेशले केही अघिमात्र त्यहीको दानव नदि छेउमा सबैभन्दा बढि अर्था १०४ वटा सारस एकैपटक देख्ने रेकर्ड बनाएका थिए । दिनेशको निश्कर्ष छ, ‘बर्ड वाचिङ एकखाले मेडिटेसन हो ।’
बर्ड वाचिङका लागि जानुअघि पहिले आफूले कस्तो चरा हेर्न खोजेको हो त्यो जान्नु आवश्यक छ । पारखीहरु विशेषगरी दुर्लव र सहजै आँखा तान्ने रंगीचंगी चरा हेर्न खोज्छन् । हेर्न चाहेको चराको प्रकृतिले कुन ठाउँमा ति पाइन्छन् भन्ने थाहा हुन्छ । ‘धेरै चराहरु थुप्रै अवस्थामा उस्तैझैं लाग्छन् जसले गर्दा उनीहरुलाई निकै शुश्म ढंगबाट छुट्याउन सक्नुपर्छ’, दिनेश भन्छन्, ‘उसको आँखा, ठुंड, खुट्टाजस्ता अंगको लम्बाई वा रंग, उड्ने तरिका एवं आवाजले छुट्याउन सक्नुपर्छ ।’ त्यसै त निकै छोटो समयका लागि देखिने चरा, त्यसमाथि त्यसैबेला चौतर्फी ढंगबाट सोच्दा ति उडिहाल्छन् । यहि कारण धेरैले चरा हेर्न जाँदा पहिले केही नसोची तस्विरहरु लिन्छन् । र, साँझ घर फर्केपछि चराका पुस्तकमा रहेका तस्विर र विवरणसँग शुश्म ढंगबाट दाँज्छन् । दिनेशको अनुभव छ, ‘म यसरी नै धेरै पटक दुर्लभ चरा भेटाएको घर पुगेपछि मात्र थाहा पाएर उत्साहित भएको छु ।’ चरा हेर्ने यहि विशिष्ठताका कारण समूहमा जाँदा त्यही चरा कहिलेकाहीँ कसैले देख्ने कसैले नदेख्ने समेत हुन्छ । एक पटक कोशी टप्पु बन्यजन्तु आरक्षमा हठनले समुद्री चरा रेड थ्रोटेड ड्राइभर देखेका थिए जुन त्यसपछि हालसम्म देखेका छैनन् ।

Saturday, September 1, 2012

सालक तस्करी

→ २५ असारमा तातोपानी नाकाबाट प्रहरीले ५० किलो सालकको खपटासहित स्थानीय दिनेश रोकालाई  पक्राउ गर्‍यो। 
गत पुसमा काभ्रेको खोपासीमा बिक्री गर्न लाग्दा र बिर्तामोडबाट फिदिम ल्याउँदाका दुई छुट्टाछुट्टै घटनामा प्रहरीले जिउँदै सालक बरामद गर्‍यो। नुवाकोट, तीनपिप्लेमा ६ किलोको मृत सालक समातियो। 
नेपाल सालक तस्करीको केन्द्र बन्न थालेको स्पष्ट संकेत होयो । जिउँदै वा खपटा मात्र झिकेर सालकको तस्करी बढ्दै गएको छ। विदेशमा सालकलाई घर, रेस्टुराँ वा गार्डेनमा पाल्नका लागि जिउँदै तस्करी गरिन्छ भने मरेको सालकलाई रसायनयुक्त सिसामा राखेर सजाउने गरिन्छ । औँठी, मालाका साथै विभिन्न प्राचीन चिनियाँ औषधीका लागि समेत सालकका खपटा प्रयोग हुँदै आएका छन्। तर, यसले औषधीको काम गर्छ/गर्दैन भन्ने कुराको हालसम्म कुनै वैज्ञानिक पुष्टि भएको छैन। सालककै खपटाबाट बनाइएको ज्याकेट/ब्यागजस्ता सामग्री प्रयोग सम्भ्रान्त वर्गबीच प्रतिष्ठाको विषय मानिँदै आएको छ। 

चिनियाँ बजारमा अहिले सालकको खपटाको मूल्य प्रतिकिलो एक लाखको हाराहारीमा छ। यो स्थानीयलाई १० देखि ३५ हजारसम्म दिएर तस्करले लैजाने गरेका छन्। यसैगरी, जिउँदो सालकको मूल्य प्रतिकिलो सरदर २० हजारदेखि ८० हजार रुपियाँसम्म पर्छ। संखुवासभा र तेह्रथुम जिल्लामा तामाफोक, मूढे, शनिश्चरे, वसन्तपुर, चौकी, गुफा, मंगलबारेजस्ता ठाउँमा एक वर्षअघिसम्म दिनहुँजसो सालक बिक्री हुन्थे। तर, हिजोआज सालक कम भेटिने र दलालसमेत पहिलेजसरी आउन छाडेको स्थानीयको भनाइ छ। बरू अहिले काभ्रेको बल्थली, मकवानपुरको खैराङ र भक्तपुरजस्ता नयाँ ठाउँ उनीहरूको निसानामा पर्न थालेका छन्। हिमालय प्रकृतिकी संरक्षण अधिकृत प्रतिभा कसपाल भन्छिन्, "आफ्नो वासस्थानमा समस्या देखिनासाथ बसाइँ सरिहाल्ने हुँदा तस्करहरू एउटै समयमा एउटै ठाउँमा पूरा शक्ति लगाएर भिड्छन्।" त्यस्ता ठाउँमा उनीहरूले सालक पत्ता लगाउन कुकुरसमेत प्रयोग गरेको पाइएको छ। सालकको श्रवणशक्ति र दृष्टि निकै कमजोर हुन्छ। 

गत जेठ र असारमा ३० हेक्टर क्षेत्रफल भएको भक्तपुरको तौडोलछाप र आसपासका सामुदायिक वनमा सर्वेक्षण गर्दा सालकका थुप्रै दुला भेटिएका थिए। तर, नयाँभन्दा पुराना दुला बढी भेटिनाले त्यस क्षेत्रमा सालकको संख्या घटेको वा अतिक्रमणका कारण बसाइँ सरेको अनुमान गरिएको थियो। यी क्षेत्र र मकवानपुरको रानी सामुदायिक वन अहिले सालक संरक्षण क्षेत्रका रूपमा छन्। तर, तस्करीसमेत तिनै क्षेत्रमा उच्च छ। 

यसमा संलग्न गिरोहको अन्तर्राष्ट्रिय सञ्जाल हुन्छ र यहाँ खटिने दलालले चीनको सीमापारसिम्म वा सीमासम्म लगिदिने काम गर्छन्। पछिल्लो समय विदेशी नागरकि नै नेपाल नै आएर सालक लैजाने गरेको समेत भेटिएको छ। ८ जेठमा ४६ किलो खपटासहित चिनियाँ नागरकि याउ फुउ, जु जियाङ्बो, भारतीय नागरकि अमित जैन र सुनीलकुमार बर्मालाई पक्राउ गरिएको थियो। 
सालकको माग सबैभन्दा बढी पूर्वी र दक्षिणपूर्वी एसियामा छ। चीन र भियतनाम सबैभन्दा आकर्षक गन्तव्य हुन्। राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य भन्छन्, "सालकलाई छुट्टै संरक्षण गर्न सकिँदैन र आफ्नै वासस्थानमा समेत यसले तस्करहरूबाट जोखिम झेलिरहेकाले संरक्षणको छुट्टै रणनीति बनाउनु आवश्यक छ।" 

नेपालभित्रै पनि विभिन्न अन्धविश्वासका कारण सालक मार्ने वा यसका अंगको प्रयोग हुने काम भइरहेको छ। भूतप्रेतबाट जोगाउने नाममा सालकका खपटाका माला लगाउने, धूप बाल्नेजस्ता काममा प्रयोग भएका पाइन्छन्। यसको मासु खाँदा दीर्घरोग निको हुने विश्वास छ। सामान्यतः एउटा सालकको तौलमा २० प्रतिशत भाग खपटा हुन्छ। एउटा सात किलोको सालकबाट १.४ किलो खपटा निस्कन्छ। शरीर कडा भए पनि सालक लजालु, संवेदनशील र शान्त प्राणी हो। यसले मानिसलाई आक्रमण गर्दैन। संवेदनशील प्राणी भएकै कारण आफ्नो वासस्थानमा केही समस्या देखिनासाथ यसले बसाइँ सर्छ। "सालकको वासस्थानबारे स्थानीयलाई जति बाहिरबाट आउने तस्करलाई जानकारी हुनै सक्दैन," प्राणीशास्त्री प्रा कर्णबहादुर शाह भन्छन्, "स्थानीय सचेत हुन सके यसको तस्करी स्वतः न्यूनीकरण हुन्छ।" 

सरकारले बाघ, गैँडा, चितुवा, कस्तूरी, भालु र रेडपान्डासँगै सालकलाई पनि अति संकटग्रस्त सूचीमा राखेको छ। वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ सालकका लागि नेपाल महत्त्वपूर्ण वासस्थानका रूपमा पाइँदासमेत पर्याप्त अध्ययन र संरक्षणको पहल नभएको बताउँछन्। भन्छन्, "नेपालका उप-उष्ण भेगमा सामुदायिक वनले पुनः हरियाली ल्याएसँगै सालकको संख्यासमेत बढी देखिन थालेको छ।" यसैबेला यसको व्यापारकि महत्त्वसमेत थाहा भएपछि पछिल्ला केही वर्षमा यसको तस्करीको क्रम बढेको हो। 

Thursday, February 9, 2012

दामी दामन



दामन, भन्नासाथ धेरैले ‘हिउँ खेल्ने ठाउँ’ सम्झन्छन् । हुन पनि २,५८४ मिटरको उचाइमा रहेको मकवानपुर जिल्लाको उत्तरमा पर्ने दामन गाविसको सिमभञ्ज्याङले सबैभन्दा प्रशिद्धि हिउँबाटै कमायो । त्यसबाहेक दामन अन्य दुई कुराले चर्चित छ, ‘विश्वका उत्कृष्ठ १४ मध्ये ८ वटा हिमालको एकै ठाउँबाट हुने अवलोकन’ र ‘उत्कृष्ठ सूर्योदयको दृश्य’का लागि । एकै ठाउँबाट त्यतिधेरै हिमाल देखिने नेपालको निकै कम ठाउँहरु मध्ये दामन समेत एक हो । त्यहाँको एउटा “भ्यूटावर” समेत छ जसमा रहेका दूरविनको सहायताले परपरसम्मका गाउँहरु एवं हिमाललाई झनै राम्रोसँग हेर्न मिल्छ । 


त्यससँगै त्यहाँ वरपरको जंगलमा एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् भने विभिन्न शैलीका सुनगाभाका लागि समेत यो चर्चित छ । त्यहाँबाट २ घण्टा हाइकिङ् गर्दै मानवनिर्मित ताल ‘इन्द्रसरोवर’ पुग्न समेत सकिन्छ । शिशिर याममा दामनमा हिउँ पर्ने भएता पनि जाडोभर नै त्यहाँका कुलोहरुमा विहानपख पानी जमेर शिशाझैं बरफका पाताहरु देखिन्छन् । त्यही विशेषतालाई बुझेर हालै त्यहाँको करुणाभूमि सामुदायिक वन उपभोक्ता समूहले ‘क्रितिम पर्वतिय ताल’ निर्माण थालेको छ जसले चिसोमा हिमतालको रुप लिनेछ । पर्यटकको बढ्दो चापलाई बुझेरै अहिले यहाँ थप एक भ्यूटावर निर्माण थालिएको छ ।


त्रिभुवन राजपथ अन्तर्गत पर्ने दामन काठमाडौंबाट झण्डै ४ घण्टाको बस यात्राबाट  पुग्न सकिन्छ । रात विताउनका लागि त्यहाँ थुप्रै होटल तथा रिसोर्टहरु छन् ।


तस्विर: गोकर्ण लामिछाने 
  
This appeared in NEPAL magazine 

Thursday, February 2, 2012

चिसो भेट्न ‘चिसापानी’

"हाइकिङ् जाने एउटा पर्फेक्ट ट्रेल"

कडा ठण्डीकै बिचमा समेत काठमाण्डुको उत्तरमा पर्ने ‘चिसापानी ट्रेल’मा हाइकर्सहरुको कमी थिएन । तर उस्तै चिसो झेलिरहेको काठमाण्डुबाट हिंडेका उनीहरुको यात्रा ‘जाडो छल्न’ भने थिएन । नाम सुन्दैमा चिऽऽसो भएजस्तो लाग्ने ‘चिसापानी’ धेरैजसोको गन्तव्य थियो । यात्रामा भेटिएका एकजना २४ बर्षे तन्नेरी हरिबहादुर बस्नेत साँझ पर्दैगर्दा चलेको सिरसिर एवं चिसो हावाले कठ्यांग्रींदै थिए । ‘फलामलाई फलामले काट्ने अभ्यास हो यो”, चिसोले लड्बढिएको लवजमा उनी जबरजस्ती ठट्यौली बन्न खोजे, ‘यो चिसो खेपेपछि त अब हातैले फलाम काट्न सकिएला ।”

हुन पनि झण्डै सात घण्टा समय लगाएर काठमाण्डुबाट हिंडेका हरिजस्ता एक हुल चिसापानी पुग्दा साँझ परिसकेको थियो । दिनभरको थकान, त्यसमाथि झनै चिसो ठाउँ पुग्दा शुरुमा धेरैलाई उक्त यात्रा ‘निल्नु न ओकल्नु’ झैं भइसकेको थियो । तर तीन जिल्लाको (नुवाकोट, सिन्धुपाल्चोक र काठमाण्डु) संगम चिसापानीमा जब रात ढल्कन थाल्यो, केहीबेर अघिसम्म ‘थकथक’ मानिरहेका तिनैले रोमाञ्चक माहोल र मौसमको स्वाद लिए । २,१९४ मिटरको उचाईमा रहेको थुम्कोबाट ताराहरु हेर्दै, विस्तारै चल्ने मादक हावा र तपतप झर्ने ‘सित’ बिच ‘क्याम्पफायर’ गर्दै रमाउनु फरकफरक स्वाद मिसिएर जन्मिएको एउटा नयाँ वातावरण थियो । इटहरीका इन्द्र बिष्ट, २६, को मन धेरै नै फुरुंग भएछ क्यारे, थेगोजस्तै केहीछिन बिराउँदै भन्थे, ‘वण्डरफुल’ । काठमाण्डुका रामेश्वरराज भण्डारी, २८, ले भने उक्त वातावरणलाई ‘सबै चिजको मात्रा ठिक्कसँग पूगेको ककटेल मौसम’ अथ्र्याए । एकपछि अर्को कवि बन्नेक्रम चलिरहेको बेला आतिथ्य प्रदान गरिरहेका शिवपुरी फाइन्डर क्याम्पका संचालक मणिराम केशी, ४२, ले विष्टको उत्साहलाई बढाउन थपे, ‘यो त आधा मात्र हो, बाँकी अनुभव गर्न भोलिको विहानसम्म धैर्य राखौं ।’

विहानपख हिमालले गरेको स्वागत झ्यालबाटै देख्न सकिन्छ । चियाको चुस्कीसँगै पारिलो घाममा हिमाललाई पृष्ठभूमिमा राख्दै तस्विर खिच्च मानिसहरु व्यस्त हुन्छन् यतिबेला । चिसापानीबाट लाक्पा दोर्जे, गौरीशंकर, गणेश, अन्नपूर्ण, मनास्लु, माछापुछ्रे, लाङटाङ, फिस्टेल, बुद्धजस्ता ५ अञ्चलका हिमालहरु एकैथलोबाट स्पष्टसँग अवलोकन गर्न सकिन्छ । चिसो निकै बढेको बेला त्यहाँ हिउँसमेत पर्छ ।

सुन्दरीजलबाट उकालो लागेपछि चिसापानी ट्रेलको यात्रा शुरु हुन्छ । राजनीतिक नेता विपी कोइरालालाई राखिएको सुन्दरीजल जेल, चन्द्र समशेरको पालामा बनेर हालसम्म काठमाण्डुसम्म खानेपानी लैजान प्रयोग भइराखेको ठूल्ठूला पाइप ट्रेलका ‘फस्ट इम्प्रेसन’ बन्छन् । त्यसको केहीबेरमै राजधानी शहरबाट सबैभन्दा नजिक रहेको विश्वका कमै राष्ट्रिय निकुञ्जमध्येको एक ‘शिवपुरी राष्ट्रिय निकुञ्ज’ प्रवेश गरिन्छ जहाँबाट हाइकिङले वास्तविक मोड पकड्छ । केहीबेरमा मुलखर्क भन्ने गाउँ आउँछ जहाँसम्म मात्र पनि एक तहको निकै छोटो हाइकिङ् टुङ्ग्याउन सकिन्छ । त्यहाँ बस्नकै लागि समेत केही होटलहरु बनेका छन् भने वरपर घरपालुवा जनावरहरु चर्ने भिराला तर समथर चौरहरु छन् । निकै शान्त लाग्ने त्यस्ता चौरमा घाम ताप्दै एकैछिन टहलिनु वा साथीभाई मिलेर गफिनुको मज्जा अनुपम हुन्छ ।

हाइकिङको रमाइलो




नेत्र घिमिरे, ३५, को मोवाइलमा डेढ दिनयता फाट्टफुट्टबाहेक घण्टी बजेको छैन । स्वास्थ्यसम्बन्धि सामाग्री उत्पादन गर्ने कम्पनी जोन्सन एण्ड जोन्सनका कर्मचारी उनमा न त कार्यालय दिनहरुमाझैं बजारमा सामाग्रीको बिक्री तलमाथि परेका खबरहरु नै सुन्नु परेको छ । काठमाडौंको उत्तरमा पर्ने सुन्दरीजलदेखि चिसापानी जोड्ने “चिसापानी ट्रेल” को हाइकिङमा सहकर्मीहरुसाथ निस्केका उनी हालैको एक शनिवार नितान्त फरक शैलीमा देखिए । बाटाभरी आफ्ना जागीरे जीवनका तीता–मिठा घटनाहरु जुनियरहरुलाई सुनाउन भ्याए । गन्तव्यमा पुगेपछि झन् बढ्ता रौनक थपियो । साँझ क्याम्पफायर गरेर नाचगान गर्दा रातीको २ बजेको समेत पत्तो भएन उनीहरुलाई । भोलिपल्ट विहान चियाको चुस्किसाथ हिमाल हेरेर रमाइरहंदा उनको खुसीको सीमा नै रहेन । “म यसरी रमाउन सक्छु भन्ने मलाई नै थाहा थिएन”, उनले सुनाए, “सधै काम मात्र भनेर एकोहोरो कुद्दा मन नै जीर्ण बनिसकेको रहेछ ।”

उता सोही रुटहु“दै चिसापानीबाट नगरकोटतर्फ हान्निने क्रममा भेटिएका अर्का तन्नेरी श्रीराम अधिकारीमा भने यात्रा नसकिंदै घर फर्कन हतार भइसकेको प्रस्टै देखिन्थ्यो । तर त्यसमा उनको हाइकिङ प्रतिको वितृष्णा मिसिएको थिएन । ३१ बर्षेले भन्दैथिए, “कतिखेर घर पुगेर फेसबुकमा फोटो हालौं जस्तो भइसक्यो ।” पब्लिक युथ क्याम्पस, काठमाडौंबाट ३ बर्षअघि स्नातकोत्तर सकेका श्रीरामजस्ता पा“च सहपाठी मिलेर पुर्नमिलन गर्ने अवसरको रुपमा हाइकिङलाई रोजेका थिए । जसले नयाँ माहोलमा पुराना कलेज दिनहरुलाई पुर्नताजगी मात्र गराएन, मित्रतामा नयाँ अविश्मरणीय क्षणहरु समेत थप्यो ।

Sunday, August 21, 2011

अप्ठ्यारो अभ्यास

"....दिगो र स्वच्छ विकासको अवधारणामा जोड दिँदै हरित रोजगार सिर्जना गर्न नविकरणीय ऊर्जालाई उच्च प्राथमिकता दिइनेछ र यसका लागि ग्रामीण ऊर्जा अनुदान नीतिलाई आगामी आर्थिक वर्षमा पनि थप परिमार्जन गरिनेछ । "


अघिल्ला वर्षझैँ आर्थिक वर्ष २०६८/६९ को सरकारी नीति तथा कार्यक्रममा पनि हरति क्रान्तिको विषय औपचारकिताका रूपमा मात्र उठ्यो। स्पष्ट नीति र योजनाको अभावमा हरति क्रान्तिका कुराको कार्यान्वयन पक्ष सबल हुने कुरै भएन। कुरा र काम कतिसम्म परस्पर बाझिएका छन् भन्ने जान्नका लागि सबैभन्दा राम्रो उदाहरण भक्तपुरमा निर्मित छ लेनको आधुनिक सडकलाई लिन सकिन्छ, जहाँ 'साइकल ट्रयाक' छैन।

उता काठमाडाँैको उत्तरी गाविस काभ्रेस्थलीको कथा अर्कै छ। आठ वर्षअघि जैविक (अर्गानिक) कृषि प्रणाली सुरु गर्दा कालान्तरमा धेरै नोक्सानी बेहोर्नुपर्ला भन्ने त्यहाँका किसानले सोचेका थिएनन्। रासायनिक मल र 'विषादी' छाडेर अर्गानिक खेतीमा त्यहाँका ३४ घरपरिवारले एकैसाथ होमिने कठिन निर्णय गरेका थिए। तर, उनीहरूका लागि सुरुवाती दिन निकै चुनौतीपूर्ण रहे। सबैजसोका बालीमा विभिन्न रोग र लाही कीराले आक्रमण गरेको थियो। वाषिर्क एक लाख रुपियाँभन्दा बढीको मटरकोसा उत्पादन गरेर बेच्ने त्यहाँका किसानको पहिलो वर्षको लगानीसमेत पूरै डुब्यो। नेपाल सरकारले मटरकोसा उत्पादनको राम्रो सम्भावना भएको भनेर काभ्रेस्थलीलाई 'पकेट क्षेत्र' घोषणा गरेको हो।

दिगो विकास र स्वच्छ जीवनशैली अहिले विश्वमा सबैभन्दा चासोको विषय बनिरहेको छ। त्यसैले पनि पर्यावरणमैत्री नरहेको 'ब्राउन इकोनोमी'बाट 'ग्रीन इकोनोमी' अर्थात् 'हरति अर्थतन्त्र'तर्फ बढ्ने लहर बढिरहेको छ, जुन विश्वव्यापी अभियान 'गो ग्रीन'को नामले चर्चित छ। तर, त्यसतर्फको यात्रा कतिसम्म चुनौतीपूर्ण छ भन्ने अघिल्ला दुई उदाहरणले प्रस्ट पार्छन्।

वातावरणमैत्री मानिएको अर्गानिक कृषि प्रणालीतर्फ लाग्दा उत्पादनमा देखिने ह्रास नै सबैभन्दा ठूलो चुनौती मानिन्छ। "त्यसले हामीलाई निराश त पार्‍यो नै तर पनि केही हदसम्म त्यो क्षति बेहोर्न पहिले नै तयार भइसकेका थियौँ," काभ्रेस्थलीका कृषक उद्धव अधिकारी भन्छन्, "त्यसैले हामी अर्गानिक तवरबाटै त्यो समस्या सुल्झाउन लाग्यौँ।" विभिन्न विज्ञसँग छलफल गरेपछि एक किलो सुर्तीको पात पकाएर त्यसमा पाँच किलो पानी मिसाएर बालीमा छर्केपछि यहाँका किसानले एक हदसम्म बालीमा लागेका लाही कीराबाट मुक्ति पाए। कतिपय समस्या हुँदाहुँदै पनि यहाँका किसानले नेपालको पहिलो प्रांगारकि सहकारी पञ्चकन्या कृषि सहकारी संस्था स्थापना गरेका छन्। अर्गानिक खेती सुरु भएपछि जैविक रूपमा नै बालीमा आवश्यक पर्ने 'बाघे खपटे'जस्ता कीराहरू मात्र होइन, पोखरीबाट हराइसकेका माछाका कतिपय प्रजातिहरूसमेत देखिन थालेका छन् यहाँ। रसायनहरू प्रयोग नभएकै कारण काउली, आलुका डाँठहरू निर्धक्क गाईभैँसीलाई दिन सकिएको छ। "तर, बजारसँग जोडिएका किसानका अपेक्षामा भने ठेस लागेको छ," कृषक अधिकारी भन्छन्, "तुरुन्तै नाफा कमाउने जमानामा यो राम्रो भएर पनि हामीले घाटाको खेती गररिहेका छौं।" अर्गानिक विधि प्रयोग नगरेका किसानले वर्षको नौपटकसम्म मटरकोसा टिप्न पाउँछन् भने अगार्निक विधि प्रयोग गर्नेले तीनपटकभन्दा बढी टिप्न सक्दैनन्। अधिकारी भन्छन्, "हामी सबै पूर्ण रूपले कृषिमा निर्भर नभएर मात्र हो, नत्र व्यावसायिक किसानलाई यसरी अर्गानिकमा मात्र भर परेर जीवन चलाउन गाह्रो छ।" उनीहरूले अहिले सुरु गरेको गाईको गहुँत संकलन गरेर तीतो, पीरो र टर्रो वनस्पतीसँग मिलाएर बनाइने 'कम्पोस्ट टी' (झोल मल) बनाउने विधिका कारण विस्तारै उत्पादन दरमा भने वृद्धि देखिएको छ। तर, रसायन प्रयोग गर्नेहरूको भन्दा निकै कम।