Showing posts with label Tourism. Show all posts
Showing posts with label Tourism. Show all posts

Saturday, June 28, 2014

उन्मुक्त पोखरा, स्वच्छन्द पोखरेली



"यहाँ कति वर्ष बिताइयो भनेर गन्न आवश्यक नै छैन किनभने पोखरा कसैलाई कहिल्यै पुग्दैन।" अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नदीपुर, पोखराका स्वयंशु श्रेष्ठ, २३, ले फेसबुक स्ट्याटस लेखे। हुन पनि, स्वयंशुलाई पोखरा कहिल्यै पुरानो लाग्दैन। त्यसैले त पोखरा छाड्नु नपरे हुन्थ्यो भन्ने लागिरहन्छ।

न्यु इयर इभका लागि तयार भएको पोखरा, त्यसमाथि लेक साइड। फेवाताल छेवैमा 'पोखरा स्टि्रट फेस्टिभल'का लागि सजाइएको तीन किलोमिटर लामो बाटो इभको माहोलमा खचाखच छ। बिस्तारै हिँड्नेले पनि तीन किलोमिटर दूरी ३० मिनेटमा सजिलै काट्न सक्छ। तर, न्यु इयरको लेक साइड तीन किलोमिटर दूरी वा ३० मिनेटको समयले मात्र व्याख्या गर्न सक्दैन। त्यहाँ के मात्र थिएन ? पाइलैपिच्छे हिन्दुस्तानी क्लासिकदेखि पश्चिमा रकसम्मका अनेकौँ संगीत, मानिसका गालामा विभिन्न भावभंगी झल्कने फेस पेन्टिङ्। अझ सडकको ठेलमठेलबीच अलिकति अग्लिएर हेर्न खोज्ने हो भने त्यहाँ हलिउड अभिनेता विल स्मिथ, क्यानेडियन गायक जस्टिन विवर, गायिकाहरू रिहाना, माइली साइरस, फुटबलर डेबिड बेक्यामजस्ता थुप्रै सेलिब्रिटीको हेयर स्टाइलको झल्को पनि देखिन्छ। 


Saturday, April 12, 2014

बहुरंगी पोखरा


पोखरा बहुरंगी छ । त्यसैले मानिसहरू आ-आफ्नै आँखाबाट पोखरालाई व्याख्या गर्छन् । कसैले यसलाई साहास जाँच्ने ठाउँको रूपमा चिन्छन् त कसैले योग गर्न बिताउनुपर्ने सहर । साहित्य/संगीतमा त यो सहर प्रेम, सुन्दरता र निश्चलताको विम्बकै रूपमा धेरैले प्रयोग गरेका छन् । एउटा पर्यटकीय आँखाबाट हेर्दा पोखरामा के मात्र गर्न सम्भव छैन ! यो ३६० डिग्रीमा चियाउन र रमाउन सकिने सहर हो । 

अघिल्लो वर्ष अंग्रेजी नयाँ वर्षमा एक हप्ता म लेकसाइड, पोखरामा थिएँ । त्यसबेलाको पोखरा अर्कै थियो, उन्मुक्त । त्यहाँको रमाउने शैली कुनै पश्चिमा सहरको भन्दा कम थिएन । त्यसबेला विदेशी नभई स्वदेशी हाबी थिए । त्यसले निकै सुन्दर ढंगबाट मध्यमवर्गीय नेपाली समाजको रमाउन खोज्ने चाहनाको प्रतिविम्ब बोलिरहेको थियो । र, पोखरा त्यसमा सबैभन्दा राम्ररी फिट भएको थियो ।  

पोखरासँग अनेकथरी मिथक जोडिएका छन् । अर्मलाको भ्वाङ वा सेतीको बाढीजस्ता घटना घट्दा ती मिथक झन् बरालिन्छन् । तर मिथक डरलाग्दा मात्र होइनन्, रहरलाग्दा पनि छन् पोखरामा । १६ वटा प्याराग्लाइडिङ कम्पनीका सयभन्दा बढी पाइलटहरू सारङकोटको डाँडाबाट चराझैं हाम फाल्छन् । मानिसलाई आफूसँगै उडाउँछन् । त्यसबेला मानिसले डर र रोमान्सको मिश्रति अनुभूति गर्छ । आँखैअघि माछापुच्छ्रे र तलपट्टि फेवातालको आनन्द । 

प्याराग्लाइडिङ मात्र होइन, खेलौनाजस्ता अल्ट्रालाइट हवाई जहाजले पोखराको फेवादेखि माछापुच्छ्रेको फुटहिलसम्म पुग्छन् । शान्त तालमा बोटिङ गर्दै आकाशमा उडिरहेका मानिसहरूको झुन्ड हेर्न पनि निकै गजबको अनुभूति हुन्छ । पोखरा र आसपासमा रहेका ८ वटा तालमाथि साँझमा विभिन्न आकृति बनाएर उड्ने चराको झुन्ड झनै रोचक देखिन्छ । फेवातालको मज्जा मानिसहरूले कतिसम्म लिएका छन् भन्ने जान्न त्यहाँ व्यावसायिक रूपमा सञ्चालित ७ सयभन्दा बढी संख्यामा डुंगाले स्पष्ट छनक दिन्छ । दुई वर्षयता सराङकोट डाँडाबाट हेम्जा फेदीसम्म तारमा अल्झिएर 'जिप ड्राइभ' गर्ने नयाँ खेल पनि थपिएको छ । थुप्रै ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पाइलटहरू पोखराको आकाशमा आफ्नो एड्भेन्चर अनुभूति गर्न बेलाबखत आइरहन्छन् । 

व्यावसायिक उडानका लागि व्यावसायिक, सरकारी र स्थानीय सहकार्य नमिलेता पनि पोखरामा अल्ट्रालाइट हवाई जहाज तालमा अवतरणको अभ्यास समेत भइसकेको थियो । बिनाइन्जिन उड्ने हयान्डग्लाइडरको समेत सफल अभ्यास भइसकेको छ । जति बढी यसरी पोखरामा साहसिक उडानका अभ्यास भएका छन्, उत्तिकै तिनले विदेशीको ध्यान पोखरातर्फ तान्छन् । र, पोखराको 'भ्यालु' दिनानुदिन विश्वभर फैलिइरहेको छ । सायद, अन्तर्राष्ट्रिय क्षेत्रमा सबैभन्दा राम्ररी ब्रान्डिङ भएको नेपाली सहर पनि यही नै हो । 

Monday, June 24, 2013

सगरमाथा: तर, हाम्रो भएन

माधव बस्नेत र प्रदीप बस्याल 

यता नेपालले सगरमाथा आरोहणको हीरक महोत्सव कार्यक्रम गररिहँदा उता, बेलायतमा चाहिँ महारानी एलिजावेथ द्वितीयाले पनि प्रथम आरोहीका सन्तानलाई अतिथि बनाएर आफूले गद्दी सम्हालेको ६०औँ वर्षगाँठ मनाइन्। प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ र सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी सहभागी भएको रानी एलिजावेथको उक्त कार्यक्रमलाई विश्वभरका मिडियाले भव्य 'कभरेज' गरे। त्यो समाचारको चर्चा र ग्ल्यामर सेलाउन नपाउँदै विदेशी आरोहीलाई सगरमाथा आधार शिविर पुर्‍याएर फर्केको शेर्पा सहयोगीहरूको एउटा समूह काठमाडौँमा 'सगरमाथा कहिल्यै पनि नेपालीको हुन नसकेको' भन्दै बिलौना गररिहेको थियो। नेपाल पर्वतारोहण संघको कार्यालय नक्सालमा अध्यक्ष जिङवा जाङबु शेर्पासँग उनीहरू सगरमाथाबाट नेपालले खास लाभ लिन नसकेको बताइरहेका थिए। 

हुन पनि हो, भौतिक रूपमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा नेपालमा रहे पनि यससँग गाँसिएका भावना, सौन्दर्य, अर्थतन्त्र र मिथकहरू हाम्रा आफ्नै हुन सकेका छैनन्। सगरमाथाको देश भनेर गर्वले छाती फुलाए पनि या सगरमाथा विम्ब बनाएर अनेकन् गीत र कविता लेखिए पनि पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा नै सधैँका लागि नेपाली भइरहन सकेनन्। अरू त के कुरा भयो र !

भागमा सलामी मात्रै 

टाढाबाट हेर्दा सगरमाथा आरोहणबारे चर्को चर्चा, तामझाम र भव्यता झल्किन्छ। तर, सीधै भन्नुपर्दा नेपाल सरकारले पाउने सलामी दस्तुर मात्र हो। यसपटक वसन्त ऋतुमा २६ करोड ६६ लाख ७१ हजार ८ सय ४५ रुपियाँ सलामी दस्तुर संकलन भयो। ३२ वटा आरोहण दलले अनुमति लिएकामा तीनवटाले सलामी दस्तुर तिर्नुपरेन। अघिल्लो वर्ष २६ करोड ४६ लाख ५० हजार रुपियाँ सलामी दस्तुर संकलन भएको थियो। 


देखिने गरी नेपालले लिने आम्दानी यति भए पनि सगरमाथाका नाममा यसभन्दा कैयौँ गुणा बढी रकम सर्वोच्च शिखर आरोहणको अर्थतन्त्रसँग जोडिएको हुन्छ। यसको अधिकांश लाभ विदेशमा रहेका एन्जेन्सी र नेपालभित्रका एजेन्टहरूको हातमा पर्छ। नेपालभित्र रहेका कुन एजेन्सीले कति हजार डलरमा आरोहीहरूलाई आरोहण गराए भन्ने कुरा पनि खुलाउँदैनन्। सात वर्ष नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका एसियन टे्रकिङ्का प्रमुख आङछिरङि शेर्पाका अनुसार सगरमाथा चढ्न सरकारलाई जति सलामी दस्तुर तिर्नुपर्छ, त्यसको दुई गुणा बढी रकम आरोहण क्रममा खर्च हुन्छ। "यो हिसाबले सगरमाथाका नाममा नेपालभित्र मात्रै वाषिर्क एक अर्ब रुपियाँको कारोबार हुन्छ," उनी भन्छन्, "सबैजसो कारोबार गुपचुप रूपमै हुन्छ। विदेशीसँग बार्गेनिङ् गर्न सक्ने एजेन्सीहरूले ३०/३५ हजार डलर पनि लिन्छन् तर नसक्नेको हालत खासै राम्रो छैन।" 

Friday, May 24, 2013

वाइल्ड वेस्ट


पछिल्ला सरकारी तथ्यांकले बर्सेनि विदेशी पर्यटक बढेको देखाउँछन्। तथ्यांकले नदेखाउने पाटो के हो भने तीमध्ये धेरैजसो दोहोर्‍याई-तेहेर्‍याई नेपाल आउँछन्। ट्राभल एन्ड टुर्स अपरेटरहरूको चिन्ता बेग्लै छ, कतिपटक त्यही अन्नपूर्ण सर्किट, पोखरा, चितवन र लुम्बिनी देखाउने? उनीहरू विदेशी र स्वदेशी दुवै खाले पर्यटकका लागि नेपालभित्रै नयाँ गन्तव्यको खोजीमा छन्। प्रचारप्रसारको अभावमा चर्चा बटुलिनसकेका मध्य तथा सुदूरपश्चिमका विभिन्न क्षेत्र सर्वोत्तम विकल्प हुन सक्छन्। 

धार्मिक पर्यटनदेखि प्राकृतिक तथा सांस्कृतिक रूपमा मध्य तथा सुदूरपश्चिम नेपाल धनी मात्र होइन, उत्तिकै विविधतापूर्ण पनि छ। प्यूठानको स्वर्गद्वारीदेखि बाजुराको बडीमालिकासम्मको झन्डै १० दिने पदयात्रा गजबको हुन सक्छ। उक्त पदमार्ग अनुपम त हुन्छ नै, बीचमा उग्रतारा, भागेश्वर, शैलेश्वरी, खप्तडजस्ता थुप्रै मठमन्दिर एवं धार्मिक स्थलको दर्शन गर्न सकिन्छ। यातायातले सबैतिर राम्रोसँग जोडिन नसकेकाले पनि बाह्य प्रभावबाट बचेको यो क्षेत्र घुम्दा नवीनता अनुभव गर्न सकिन्छ। 

यस क्षेत्रलाई चिनाउन स्थानीय व्यवसायी तथा पर्यटनकर्मीले 'वाइल्ड वेस्ट ट्यांगल' नामको पर्यटन रणनीति तयार पारेका छन्। यो रणनीतिभित्र नेपालगन्जबाट रारा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष जोड्ने त्रिकोणीय रुट समेटिएको छ। नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाईजहाजमा यात्रा गरेपछि झन्डै तीन घन्टामा नेपालकै सबैभन्दा ठूलो ताल रारा पुगिन्छ। 

दिनभरमा थुप्रैपटक रंग फेर्ने राराले हेर्दैमा अथाह आनन्द दिन्छ। त्यसो त रारा राष्ट्रिय निकुञ्जको आकर्षण ताल मात्र होइन। निकै शान्त परिवेशमा अवस्थित उक्त निकुञ्ज मध्येको हो। विभिन्न मौसममा गरी त्यहाँ मात्रै झन्डै दुई सय प्रजातिका चरा देख्न सकिन्छ। तालको सङ्लो पानीमा सहजै देखिने रैथाने ट्राउट माछा, कस्तूरी, मृग, घोरल र हाब्रे यहाँका आकर्षण हुन्। "भौगोलिक विकटताकै कारण राराको मात्र भ्रमण स्वदेशीको हकमा महँगो पर्छ," रैका ट्राभल्सका निर्देशक अमर शाही भन्छन्, "यद्यपि, त्यसमा थोरै खर्च थपियो भने बर्दिया र शुक्लाफाँटा पनि घुम्न सकिन्छ।"