प्रदीप बस्याल
गत वर्ष मनासलु आरोहण गरेर क्याम्प–४ मा फर्कंदा भारतीय पर्वतारोही कुन्तल जोइसरलाई सरदार मिङ्मा तेन्जी शेर्पाले भनेछन्, ‘तिमी निकै बहादुर मानिस हौ ।’ जसलाई संसारकै निकै बहादुर मान्थे, उनकै मुखबाट आफू बहादुर कहलिनुलाई जोइसरले जीवनमा पाएका थुप्रै सम्मानभन्दा धेरै माथि राखेका छन् ।
आरोहणको अन्तिम अवस्थामा अर्का आरोहीको ‘गियर’ (पर्वतारोहणको बन्दोबस्ती प्याकेज)मा समस्या आयो । मिङ्माले आफ्नो गियर तिनलाई दिएर चुचुरो चुमाए । अनि, केही भइहाल्छ कि भनेर क्याम्प–४ मै कुरेर बसे । हिमाल सिर्फ आरोहण कौशलले चढिँदैन, न त हिमालको अनुभवले कोही पूर्ण नै हुन्छ । हिमालको यही विशिष्टतालाई जोडेर धेरैले आरोहणलाई रहस्यमय यात्रा मान्छन् । र, ‘बेटर’ होइन, ‘बेस्ट’ सहयोगी खोज्छन्, आरोहणका सोखिनहरू । हिमालको फेदीमै बसोवास गर्ने शेर्पा समुदाय, त्यही साहस, उच्च तहको जिम्मेवारीबोध र नि:स्वार्थ भावना बोकेको व्यावसायिक समुदाय हो । र, अन्तर्राष्ट्रिय ब्रान्ड बन्ने बलियो आधार पनि ।
खुम्बु क्षेत्रमा पदयात्रा गर्दा शेर्पा नजोडिने कुनै मोड हुँदैन । पदयात्रादेखि हिमाल चढाउने गाइडसम्म, होटल व्यवसायदेखि भरियासम्म । धेरै नसोचीकनै कुनै शेर्पालाई कतिपटक सगरमाथा चढेको भनेर सोधियो भने खोजेकै उत्तर आउँछ । चुचुरोमै नपुगेका भए तापनि बेसक्याम्प माथिसम्म वा अन्य स–साना हिमाल कुनै न कुनै कालखण्डमा पुगेकै हुन्छन् । ‘नाइँ हिमाल चढेको छैन’ भन्ने उत्तर सायदै आउँदैन । प्रसिद्ध अमेरिकी आरोही एलन अर्नेटका शब्दमा शेर्पाको त्यही परिचय खुम्बु क्षेत्रको सांस्कृतिक हिस्सा हो ।