Sunday, July 15, 2012

प्रेमको तरंग


एफएम रेडियोका ‘लभ सो’ ले युवापुस्तामाझ काउन्सिलिङको काम गरेको छ

रेडियो कान्तिपुरले सविना कार्कीलाई देखेरै आफ्नो कार्यक्रम ‘यो माया भन्ने चिज यस्तै हो’ को परिकल्पना गरेको थियो वा त्यसको निधो भइसकेपछि मात्र उनी छानिएकी थिइन्;  यी दुईमध्ये जेसुकै भए पनि उनी पर्फेक्ट प्रस्तोता छानिइन् । विगत आठ बर्षयता कार्यक्रमको चुलिइराखेको चर्चा एवं प्रशिद्धिले त्यसै भन्छ । तेत्तिस हजार बढि फ्यानहरु रहेको उनको फेसबुक पेजमा उनलाई कतिले ‘लभ एम्ब्यासिडर’ त कसैले ‘लभ गुरु’ को उपमा भिराएको देख्न सकिन्छ । 

लाग्छ, तन्नेरीहरुलाई प्रेम सिकाउने ठेक्का उनले नै लिएर बसेकी छिन् । जे होस् हजारौं तन्नेरीका मनलाई नजिकबाट पढ्ने थोरैमध्ये पर्छिन् उनी । प्रेममा तन्नेरीहरुले देखाउने हदैसम्मको त्याग र समर्पणदेखि उनीहरुले प्रेमलाई भर्‍याङ बनाउँदै आफ्ना अनेकौं स्वार्थ पूरा गर्न खोजेको पनि देखेकी छिन् उनले ।

‘युवा पुस्ता अहिले दिनानुदिन एक्लिंदो छ जसले गर्दा उसलाई बुझ्ने साथी खोजिराखेको हुन्छ’, हालैको एक विहान धुम्बाराहीस्थित आफ्नो घरमा उनले भनिन्, ‘जसले गर्दा उनीहरु छिट्टै र सहजै प्रेममा पर्न थालेका छन् ।’ तर सविनालाई समस्या त्यसबेला सिर्जना भएजस्तो लाग्छ जब उनीहरुमा आफूले मन पराउने व्यक्तिप्रतिको वास्तविक प्रेम भन्दा पनि ‘प्रेमको ग्यामर’ हावी भइराखेको हुन्छ । अनि, प्रेमबाट भावना हराउँछ र तन्नेरीहरु प्रेमले गर्दा झन् निराशा बोकेर जिउँछन् ।

उनको व्यक्तिगत स्वभाव नै कार्यक्रम सुहाउँदो छ । जस्तो, उनलाई रोमान्टिक हुन कुनै ठूलो बहानाको आवश्यकता पर्दैन । त्यसमाथि उनको ‘जादूमयी’ स्वरले धेरैलाई मन्त्रमुग्ध बनाउँछ । उनको प्रस्तुतिको एउटा विशेषता यस्तो छ कि हरेक श्रोताले सविना आफू मात्रको लागि बोलिराखेकी छिन् जस्तो ।

त्यसैले लभ सो चलाउने उनी स्वयंलाई नै थुप्रैले लभलेटर पठाउँदा रहेछन । कतिले बिग्रिएको प्रेम पुन ट्याकमा ल्याइदिन भन्छन् त कतिले मन परेको/परेकीलाई भनिदिनुपर्‍यो भन्दै ‘लमी’ बन्न लगाउँछन् । यसरी थेगिनसक्नु चिठी र इमेलका थाक नै आउन थालेपछि पछिल्लो केही बर्षयता उनले आफ्नो कार्यक्रमको प्रस्तुति नै फेरेकी छिन् । आजकल तन्नेरीका प्रेमजडित समस्या समाधान गर्न पहिलेजसरी व्यक्तिगत रुपमा कस्सिंदैनिन् उनी, बरु प्रवचन शैलीमा सबैका मनोभावना समेटिने प्रेमका कुराहरु गर्छिन् । अहिले पनि श्रोतासँग उनको अन्तरक्रिया फेसबुक, ट्विटर, एसएमएस र चिठीका माध्यमबाट उत्तिकै हुन्छ । उनी थप्छिन्, ‘जहाँबाट मैले प्रेमको पछिल्लो माहोलबारे अपडेटेड भइराखेकी हुन्छु र सबैलाई काम गर्नेगरी कार्यक्रममा बोल्छु ।’


सविनाले आजकल अचम्म लाग्छ, धेरैका प्रेमसम्बन्धहरु भर्चुअल रुपमै शुरु भइराखेको देख्दा । भर्चुअल जगमा स्थापित सम्बन्धहरु व्यावहारिक जीवनमा आइपुग्दा अर्कै खाले भइदिन्छन् । एकथरीमा यस्तो समस्या पनि छ, जो जति बढि प्रेममा नजिकंदै गयो, उति आफ्नो पार्टनरप्रति नैराश्यता लाग्ने । उनी ठान्छिन्, ‘उनीहरुबिच वास्तविक प्रेम भएकै हुँदैन र त्यस्तो हुन्छ ।’ त्यसबाहेक केटाकेटीका केही आफ्नै खाले स्वभाव हुन्छन् जसलाई एकअर्काले बुझ्नै खोज्दैनन् । केटीहरु आफ्नो प्रेमीबाट बढि नै सामिप्यता र विश्वासको वातावरण खोज्छन् भने केटाहरुमा एक पटक आफ्नो भएपछि ऊ जीवनभरकै लागि आफ्नो मात्र हो भन्ने ठान्छन् र उनीहरु सेक्समा बढि नै केन्द्रीत हुन्छन् हुन्छन् ।

तर सबैको प्रेममा आफ्नैखाले मौलिक कथा जोडिएका छन् जसले सविना निकै रोमाञ्चित पार्छ । ‘श्रोताका पत्रहरु छाडेर एकलौटी प्रेमका कुराहरु गर्न शुरु गर्दा मलाई लागेको थियो यी सकिएपछि त के गर्नेहोला भन्ने’, उनी भन्छिन्,  ‘आजकल लाग्छ यो त गनथन गरेर कहिल्यै नसकिने बिषय रहेछ ।’

डियर कल्याणले प्रेमका कथाहरुको कार्यक्रम ‘मेरो कथा’ शुरु गरेको पन्ध्र बर्ष बितिसक्यो तर उनलाई समेत सविनालाईझैं प्रेमका कुरा गरेर कहिल्यै सकिएला वा यो कहिल्यै पट्यारलाग्दो होला भन्ने लाग्दैन । एक घण्टे कार्यक्रममा आजसम्म उनले झण्डै सात सय पचासवटा श्रोताका प्रेमसँग जोडिएका सत्यकथाहरु वाचन गरेका छन् । भन्छन्, ‘मेरा लागि ति हरेक कथाहरु कुनै नयाँ चलचित्र हेरेभन्दा कमका हुँदैनन् ।’ हुन पनि कार्यक्रमका लागि भनेर आएका कतिपय कथाहरु  औधी रोचक लागेपछि प्रशारण अगावै त्यसका पात्रहरु स्वयंलाई भेट्न समेत पुगेका छन् कल्याण । त्यसले ती कथाका भित्री तथ्यको नजिक त पुर्‍याउँथ्यो नै, उनी नजानिँदो ढंगबाट कथाभित्र नै सम्बन्धको विश्लेषण समेत गर्न पुग्थे । त्यसले कतिको पुर्नमिलन त कतिलाई कम्तिमा आफ्नो गल्तीको पश्चातापबोध गराएको छ ।

प्रेमको बिषयमा मानिसहरु त्यसै त कम बोल्छन् । बोलिहाले पनि आफूले निकै नजिकको ठानेका मान्छेसँग मात्र बोल्छन् । अझ त्यसमाथि सार्वजनिक रुपमा रेडियोमा यस्ता कुरा उठाउने कम चूनौतिपूर्ण काम होइन । त्यसैले श्रोतासँगको सामिप्यता उनीहरुको भित्री कुरा बुझ्न निकै सहयोगी हुन्छ । कल्याण भन्छन्, ‘उनीहरुलाई लागोस प्रस्तोताले मेरो समस्या आफ्नोजस्तै सम्झिराखेको छ । अनिमात्र उनीहरु खुल्छन् ।’
कल्याणले हरेक कार्यक्रमको शुरुमा भन्ने गर्छन्...

आफ्ना दु:ख पीडा सबैभन्दा नजिकको मान्छेलाई भन्नुस् । त्यस्तो कोही नभए तपाईंको हरेक सुख–दुखको लागि म छु । 

‘मेरो कथा’ प्रेमको विषयमा तयार पारिएको रेडियो इतिहासको कोशेढुंगा नै हो । रेडियो सुन्ने पुरानो वा नयाँ पुस्ताका थुप्रै डियर कल्याणका फ्यान छन् । कुनै बेला देशका १६ वटा एफएम स्टेसनले प्रशारण गर्ने यो कार्यक्रम अहिले इमेज एफएमको देशव्यापी नेटवर्क र अनलाइनमार्फत हरेक विहीवार दिउसो प्रशारण हुन्छ ।
‘हाम्रो समाजमा तन्नेरीहरुलाई काउन्सिलङको ठूलो अभाव छ’, उनी ठान्छन्, ‘जसको काम मेरो र यस्तै अन्य कार्यक्रमहरुले गरे ।’ यसले धेरैमा प्रेममा यस्तो समस्या झेल्ने आफू एक्लो नभएको भावना विकसित गर्छ ।
उनले भेटेका केही आदर्श प्रेमीका कथाहरु यस्ता पनि छन् जो जबरजस्ती हुन लागेको विहेको ‘इन्गेजमेन्ट’ तोडेर वा विहेको मुखैमा आएर पनि आफ्नो प्रेमको लागि सबथोक छाड्छन् । कति लामो भौतिक दूरीमा रहेर एउटा विश्वासकै भरमा कुनैदिन भेटिने आशामा जीवन गुजारिराखेका हुन्छन् । प्रेमको कुनै सुत्र वा सीमा हुँदैन भन्ने तथ्यको बोध उनले त्यतिबेला गर्छन् जब उनीकहाँ थुप्रै जटिल कथाहरु आउँछन् । जस्तो: बाबुआमाको करकापले अरुसँग विहे गरेता पनि पछि गएर त्यहि पुरानो प्रेमीको यादले सताएका घटनाहरु उनले थुप्रै पढेका छन् । एउटा अर्को घटनामा आफ्नो व्वायफ्रेण्डले एक कल नउठाएकै कारण रुँदारुँदा एउटी युवती मानसिक समस्या झेल्न पुग्छिन् ।

यसरी निकै क्रेजी प्रेममा परेका एकथरीको कथा पढिरहंदा अर्कोतिर उनलाई अरुको मनोभावनासँग प्रेमको बहानाले खेलेका कथाहरु पनि भेट्छन् । भन्छन्, ‘यी दुईखाले सँगै भए मानिसको भावनामा कस्तो चोट पर्ला भन्ने कल्पना गरेरै धेरैपटक म झस्केको छु ।’

अर्की सेलिब्रिटी रेडियो प्रस्तोता हुन् रीता लिम्बु जसले विगत १६ बर्षको अवधिमा काठमाडौंका थुप्रै एफएम स्टेसनमा प्रेमका कार्यक्रम चलाइन् । ‘सोल मिट’, ‘हर्ट टु हर्ट’, ‘संगीत सागर’ जस्ता उनका कार्यक्रममा उनको प्रस्तुतिले किशोरदेखि बुढापाकासम्म धरधरी रुवाउँथ्यो समेत । तर उनको काम विगत दुई बर्षयता मूलधारका एफएमबाट अनलाइनमा सरेको छ । अनलाइन रेडियो नेपाल११रेडियो डट कममा प्रेम र जीवनसम्बन्धी कार्यक्रम ‘आट्र्स अफ लाइफ’ गर्छिन् अहिले उनी ।

यसबिचमा उनले प्रेम गर्ने शैलीमा आएको ठूलो परिवर्तन देखेकी छिन् । शुरु शुरुमा ‘..नभए त मर्छु’, ‘..जीवनभर कुरेर बस्छु’ भनेर जीवन काट्ने ‘पागलप्रेमी’हरु खुबै भेटिन्थे । प्रेम भयो भने जीवनमा सबथोक आँफै हुन्छ भन्ने भ्रम थियो केही अघिको पुस्तामा । ‘कमसेकम अहिलेको पुस्ता त्यतिसारो अन्धोप्रेममा पर्दैन’, उनको अनुभव छ । उनको कार्यक्रमको एउटा प्रमुख विशेषता भनेकै प्रेमको कारण नैराश्यतापूर्ण जीवन गुजारिराखेकालाई सकारात्मक उत्प्रेरणा जगाउनु हुन्छ । प्रेम, जीवन र संगीत जोडिएको उनको कार्यक्रम संगीत सागरमा उनले प्रेममा धोका खाएकालाई भन्ने एउटा वाक्य निकै चर्चित थियो, ‘और भी है महोवतकी सिवा ।’

आजकल उनले प्राप्त गर्ने श्रोताका पत्रहरुमा तन्नेरीहरु प्रेमलाई नै सबथोक ठान्ने ‘इमोसनल फुल’ कमै पाउँछिन् । त्यसैले अहिले ‘लभ’ र ‘रिलेसनसिप’ फरक कुरा भएको छ । रिलेसनसिपमा लामो समय रहेपछि बल्ल त्यसलाई प्रेममा लैजाने नलैजाने निश्कर्षमा पुग्न सक्ने भएका छन् । प्रेमको मामिलामा व्यावहारिक नहुँदा नै समस्याहरु सिर्जना हुने रीता निश्कर्ष छ । उनको भनाई छ, ‘रियल लाइफ सधै सिनेमामा जस्तो हुँदैन, ह्याप्पी इण्डिङ हुनै पर्ने ।’

यद्यपि समस्या सकिसकेको छ भन्ने पनि होइन । पछिल्लो पुस्ताले प्रेमलाई अलि बढि नै दिमागले चलाउन थाल्दा त्यसको वास्तविक मर्म नै मर्ने त होइन भन्ने पीर पनि लाग्छ कहिलेकाहीँ उनलाई । प्रेम भन्दै सबथोक बिर्सन पनि हुँदैन र त्यसो भन्दैमा प्रेमलाई बस्तुगत गराउनु पनि नहुने उनी ठान्छिन् ।


जे होस रेडियोमा आएका सविना, डियर, रीताजस्ता थुप्रैका प्रेमसम्बन्धि कार्यक्रमले युवा पुस्तालाई प्रेमको काउन्सिलिङ गरिराखेको छ । उनीहरु आफ्ना प्रेम सम्बन्धको ‘क्रस चेक’ गर्न सिकेका छन् । प्रेम अन्धो होइन व्यावहारिक धरातलमा हुन थालेको छ । अभिभावक र समाजलाई समेत विस्तारै यसबारे बढ्दै गरेको खुलापनलाई आत्मसाथ गर्न क्रान्तिकै रुपमा रेडियोको तरंगले काम गरेको छ । 


8 comments:

  1. im very happy to read you r topic...its saport to our life..thank u...

    ReplyDelete
  2. लेखका लागि यहाँलाई धन्यवाद!! महाबत जारी हे ..........

    ReplyDelete
  3. "Buddha ko desh" ma basera spiritual love ko information chhaina hahahahhahahahaha.samassya grasta vayako mind la sabai samassya nai dekhchha.timi prempurna vayau vane mattrai timro woripari premi hunchhan,bless hunchha,freedom hunchha celebration hunchha..Thyo din kati dukha lagdo chha jaba timi prempurna huna ko lagipani kasai ko sahara linchhau....

    ReplyDelete
  4. spiritual love vanako k ho?thyo taha vayena....tesai la prem maa dherai nai bikriti aaudai chha.

    ReplyDelete
  5. thanks to know about this article

    ReplyDelete
  6. M always listening this program Tx . . . Admin jiu.

    ReplyDelete
  7. साच्चै रमाईलो र राम्रो लाग्छन यि सारा रेडियो कार्यक्रमहरु :)
    कहिलेकाहि त एक हप्ताभर यस्तै कार्यक्रमको पर्खाईमा मात्रै हुन्छु।
    बरु लेखक प्रदिप जि ले रेडियो तरङ्गको अल्लि कम कुरा गरे जस्तो लाग्यो।
    किनकि खुलदुली डट कम नामक हरेक राति प्रसारण हुने त्यो कार्यक्रममा युवाको प्रेम मात्रै होइन करिअर र विविध पाटामा ब्याख्या हुन्छ।

    ReplyDelete