Showing posts with label Software. Show all posts
Showing posts with label Software. Show all posts

Thursday, September 15, 2011

नेपाली सफ्टवेर: साहस र सास्ती


ञ्चारमाध्यममा सुनिल चौलागाईं अहिले ‘हट केक’ भइराखेका छन् उनको काम सामाजिक सञ्जाल ‘मेरोपोष्ट’ का कारण । तर उनको चर्चाभित्रको धरातल निकै कमजोर छ । ‘त्यसैले अरुले सोचेजस्तो अहिल्यै त्यतिधेरै खुसी छैन’, हेलोशुक्रबारलाई त्यसो भन्नुका पछाडि उनले राम्ररी बुझेको हुनुपर्छ  अगाडिको बाटो मेरोपोष्ट बनाउनुभन्दा बढि चूनौतिपूर्ण छ भन्ने । त्यसैले आफू र आफ्नो साइटबारेको चर्चा जति बढि हुँदै जान्छ, सुनिलमा त्यो चर्चाभन्दा कयौं गुणा बढि ‘तनाव’ बढ्छ ।

यसरी सुखद खबरसँगैसँगै निराशाजनक पाटो पनि जोड्नुपर्ने कुनै रहर होइन, यो भूमिको दुर्भाग्य हो   (जुन लुकाउन सकिँदैन) जसको मार खेप्ने सुनिलजस्ता कयौं प्रविधिका तन्नेरीहरु छन् । मेरोपोष्टको सर्भर क्यानेडियन कम्पनीसँग भाडामा लिइएको छ । यसले सिर्जना गर्ने मुख्य समस्या हो– मेरोपोष्ट प्रयोगकर्ताहरुको (प्रत्यक्ष रुपमा) गोपनियता सुरक्षित हुनेमा विश्वास गर्न नसकिनु । कुनै पनि कम्युनिकेसन (कनेक्सन)का लागि सर्भर मानिसको मुटुजस्तै हो, जसको धड्कन रोकिएपछि पूरै शरिरले काम गर्न छाड्छ । सर्भरमा एक सेकेन्डकै लागि समस्या आइदियो भने कनेक्सन फेल हुन्छ । त्यसबाहेक साइटमा आदानप्रदान हुने डाटाहरु पहिले सर्भरमा पुग्छन र त्यहाँबाट स्विकृति पाएपछि मात्र एक अर्कामा साटासाट हुन्छ । चाहेको खण्डमा सर्भरवालाले ती डाटाहरुमाथि हैकम जमाउन सक्छ ।

कुनै पनि सर्भरले सतप्रतिसत काम गर्न सक्छ भन्ने त हुँदैन तर पनि मेरोपोष्टको सर्वाधिकार उनीहरुसँग नै नहुने भएपछि प्रयोगकर्ताहरुमा शंका उब्जन सक्छन् । जुन एउटा सामाजिक सञ्जाल चर्चित हुनको लागि सबैभन्दा ठूलो बाधक पनि हो ।

‘गाह्रो त गाह्रो छ’, यी २१ बर्षेले कुराकानीकै बिचमा धेरैपटक लामो सास फेर्दै भनेका थिए, ‘तर पनि हामी विकल्पहरुबारै अझै गृहकार्यमै छौं ।’ उसो त यो उनको पूर्णत: ‘ओरिजिनल’ काम भने होइन । सुनिलले चियाको चुस्कीसँगै प्राविधिक भाषामा अवस्था बताए ।

उनकै चियासँग दाँजेर बुझौं । त्यहि चियालाई अलिक बढि चिनी हालेर झन् गुलियो बनाउन, पानी वा दुधको मात्रा थपेर स्वाद नै फेर्न, वा त्यही चिया बनाउन आवश्यक पर्ने सामाग्री थाह छ भने त्यसलाई आफ्नो बेग्लै स्वाद र शैलीमा चिया पकाउन पनि सकिन्छ । हो, ठ्याक्कै यस्तै कुरा सफ्टवेरमा पनि लागु हुन्छ । आफू अनुकुल प्रयोगमा ल्याउन मिल्ने सफ्टवेयरहरु हुन् यी– ‘फ्रि एण्ड ओपन सोर्स सफ्टवेर’ । सुनिलले त्यस्तै ओपन सोर्स प्रयोग गरेर मेरोपोष्टको निर्माण गरेका हुन् । साइटलाई सजाउने काममा पनि आउटसोर्सिङकै (भर्चुअल दुनियाँमा कामको लेनदेन) बाटै सम्भव भएको थियो ।

तीन महिनाअघि अमेरिकी युवा उद्यमी डेभ ट्रोयले ट्विटरको लागि अलिक लामो सन्देश पठाउन मिल्ने ‘सर्टमेल’ सार्वजनिक गर्दा ‘एउटा ऐतिहासिक छलाङ’ भनेका थिए । तर सर्टमेलमा त्यस्तो घतलाग्दो र ठूलो कुरा केही छैन् ।  त्यत्ति धेरै मिडिया पहुँच र सुविधासम्पन्न ल्याबका वरिपरी बनेको ‘सर्टमेल’को अवधारणा कान्तिपुर इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ छैटो सेमेस्टरमा अध्ययनरत यी २१ वर्षेको भन्दा निक्कै फितलो लाग्छ । उनले ट्विटर र फेसबुकका पक्षलाई समिश्रण गर्न पनि केही केही हदसम्म सफल छन् भने च्याट सुविधा  पनि छ । प्रयोगकर्ताले आफू अनुकुल प्रोफाइलको रंग पनि फेर्न सक्छन् ।