Showing posts with label Book. Show all posts
Showing posts with label Book. Show all posts

Wednesday, January 13, 2016

माओवादी द्वन्द्वमाथि नयाँ दृष्टि

माओवादी द्वन्द्वको अभिलेखन गर्न आएका पुस्तकमा एकै खाले धारणा हावी रहे । खास गरी शासनमा खस–आर्य बाहुल्यदेखि असमावेशी राज्यका चरित्र तोड्न माओवादी द्वन्द्वको भूमिकामाथि अधिकांशको मत रह्यो । कुलचन्द्र गौतमले आफ्नो नयाँ पुस्तक लस्ट इन ट्रान्जिसनमा चल्तीका धारणालाई चुनौती दिँदै आर्थिक असफलता द्वन्द्वको कारण रहेको बहस प्रस्तुत गरेका छन् । माओवादी द्वन्द्व र त्यससँगै जन्मिएको संक्रमणको व्याख्या हो किताब ।

माओवादी द्वन्द्वले देशमा परिवर्तन ल्यायो भन्ने तर्कमा गौतम विश्वास गर्दैनन् । बरू, सामाजिक न्यायलाई अन्त्य गर्न उनीहरूले रोजेको औषधि गलत रहेकै कारण संक्रमणकाल लम्बिएको निष्कर्ष दिन्छन् । उनी के मान्छन् भने माओवादीले क्रमभंगताका नाममा भएका सामाजिक संस्थाको अन्त्य गरेको तर नयाँ संस्था प्रतिस्थापन गर्न चुकेकाले समाजमा विचलन आएको छ । जातीयताको मुद्दा नेपालमा धेरैअघिदेखि उठेको थियो । माओवादीले त्यसलाई आफ्नो राजनीतिक अस्त्र बनाएको मात्र हो ।

खास समस्या माओवादीको सैद्धान्तिक विचलनदेखि लोकतन्त्रप्रतिको उसको आस्थामै हो । देशमा आर्थिक विकास असफल भएर संरचनात्मक हिंसाले स्थान पाएको हो । ‘नेपाली समाजको समस्याबारे माओवादीले भन्ने ८० प्रतिशत कुराप्रति म सहमत हुन सकुँला तर उनीहरूले दिन खोजेका ९० प्रतिशत समाधानसँग म सहमत हुन सक्दिन,’ उनी लेख्छन् ।

संयुक्त राष्ट्रसंघको उपमहासचिव पदबाट अवकाशप्राप्त गौतमले राज्य संक्रमणको यही बुझाइ कुनै बेला ‘आउटसाइडर’ भएर त कुनै बेला प्रत्यक्ष संलग्न र हिस्सेदार भएर हेरेका छन् । उनी आफूलाई कुनै पार्टी विशेषको बिल्ला भिराउन खोज्दैनन् । तर, उनी कुनै बेला ‘राजावादी’ त कुनै बेला माओवादीका ‘जनदुस्मन’ भनेर आरोपित हुन्छन् । मानिसहरू ‘कि तिमी हामीसँग छौ कि हामीविरुद्ध’ भन्ने सहज तरिकाबाट हेर्दा उसको आलोचनात्मक पक्षलाई बिर्सने गर्छन् ।

Wednesday, February 25, 2015

डिजिटल युगको विमर्श


एलियन-वल्र्डमा सवार भएझैँ लाग्छ, पुस्तक पढ्दा । तर, विषय हामी बाँचिरहेको विश्वकै छ । अहिले पनि डिजिटल युगका प्रशस्त झिल्का महसुस भइसकेका छन् । 'द न्यु डिजिटल एज, रिसेपिङ द फ्युचर अफ पिपुल, नेसन्स एन्ड बिजनेसेस'मा चाहिँ देख्न बाँकी दृश्यहरू केलाइएका छन् । त्यसो त यो कुनै रोमाञ्चक  फिक्सन होइन । बरू मानवशास्त्रको मापनमा नपर्ने डिजिटल युगको परिकल्पना हो ।

गुगलका कार्यकारी अध्यक्ष एरिक स्मिथ र गुगल आइडियाजका निर्देशक जर्ड कोहिनको यो पुस्तकले विश्वको सबैभन्दा ठूलो 'अन गभन्र्ड' क्षेत्रको भविष्यबारे नयाँ शिराबाट सोचेको छ । किनभने, आगामी दशक अनलाइन विश्वमा आबद्ध मानिसको संख्या दुई अर्बबाट सात अर्ब पुग्दै छ । त्यो भर्चुअल विश्वले भौतिक  विश्वलाई राम्रो गर्ला वा नगर्ला ? वा, कस्तो भिन्नता ल्याउला ? यही विषयमा पुस्तक केन्द्रित छ ।

सञ्चार प्रविधिको सबैभन्दा ठूलो उपलब्धि नै शक्ति बिस्तारै राज्य वा संगठनबाट व्यक्तिगत तहमा सर्दै जानु हो । मानिस सीमा, धर्म, भाषा र संस्कृतिका पर्खाल नाघेर यसरी जोडिएका छन् कि युद्ध, कूटनीति र आन्दोलनका स्वरूप परिवर्तन भइरहेका छन् । इन्टरनेट जगत् अराजकता (एनार्की)सम्बन्धी इतिहासमै सबै भन्दा ठूलो प्रयोग भइरहेको क्षेत्र बनेको छ । हरेक मिनेट लाखौँका संख्यामा इन्टरनेटमा जन्मिने सामग्रीलाई कुनै कानुनले बाँध्न सक्दैन । त्यसैले भौतिक विश्व र भर्चुअल विश्व कहिले एकअर्काका परिपूरकजस्ता देखिन्छन् त कहिले आपसमा जुधेजस्ता । 

स्वतन्त्रता र गोपनीयताको चर्को वकालत गर्ने पछिल्लो पुस्ताले डिजिटल युग प्रवेशसँगै थुप्रै कुरा गुमाउनुपर्नेछ । लेखकद्वय आन्तरिक गुटमै रमाउने 'बाल्कनाइजेसन'को नयाँ शृंखला डिजिटल संसारमा सुरु हुने सोच्छन् । मानौँ, सुन्नी मुस्लिम बाहुल्य रहेको साउदी अरब, यमन, अल्जेरिया, मौरिटानियाजस्ता धार्मिक  कट्टरपन्थी मुलुकको समूहले बाह्य प्रभाव नहुने 'सुन्नी वेब' निर्माण गर्न सक्छन् । त्यहाँ पश्चिमा जगत्को आलोचना वा आफ्नो सम्प्रदायको मात्र गुनगान सम्भव त होला तर त्यसका फाइदाभन्दा बेफाइदा बढी हुन सक्छन् । 

पुस्तकका अनुसार 'भर्चुअल बहुराष्ट्रवाद'को सम्भावना प्रबल छ, जहाँ बेलारुस, इरिटिया, जिम्बाबे, उत्तर कोरियाजस्ता निरंकुश राज्यले साइबर युनियन बनाउन सक्छन् । त्यसले सेन्सरसिप, नियमनकारी रणनीति र प्रविधि आदानप्रदानको वातावरण बनाउन सक्छ । यसको कुरा गरिरहँदा इन्टरनेटमा लाग्न सक्ने यस्ता प्र तिबन्ध र गुटबन्दीका कारण अन्य देशमा 'इन्टरनेट शरणार्थी'का रूपमा बस्नुपर्ने अवस्था दर्साइएको छ । 

'ग्लोबल भिलेज'को चर्चामा रमाइरहेका हामीमाझ उनीहरूले पुस्तकमा नयाँ शब्दावली क्वाइन गरेका छन्, 'भर्चुअल सार्वभौमिकता र राष्ट्रवाद' । भौतिक विश्वमा औपचारिक राष्ट्रवादबाट टाढा हुनेहरू अनलाइनलाई नै माध्यम बनाएर प्रतिस्पर्धामा लाग्छन् । यो अवसरले अन्ततः वास्तविक राष्ट्रवादकै पक्षमा अवसर सिजर् ना गर्नेछ । जस्तो: इरान, सिरिया र इराकमा रहेका कुर्दिस नागरिकले 'कुर्दिस वेब' निर्माण गरेर एक खाले भर्चुअल सार्वभौमिकता कायम गर्न सक्छन् । 

Sunday, December 14, 2014

हिमाल हेर्ने पश्चिमा आँखा

जर्मन नागरिक गेर्डा पाउलर २५ वर्षपछि हठात् नेपाल आइन्। दोस्रोपटक काठमाडौँ आउने योजना भए पनि यात्रा अपर्झट भइदियो। सन् २०१२ मा ५४  लागेकी उनले पारपाचुकेको औपचारकितासँगै अदालतबाट निस्केर सीधै ट्राभल अफिस पुगी काठमाडौँको टिकट काटेकी थिइन्।

काठमाडौँ उत्रेपछि बसले उनलाई ताप्लेजुङ पुर्‍यायो। कञ्चनजंघा बेसक्याम्पसम्म हिँडेपछि सुरु भयो, जीवनकै एउटा महत्त्वपूर्ण यात्रा । पारपाचुकेको नमीठो क्षणबाट गुज्रेको केही दिनमै उनी यसरी हिमालको अलौकिक सौन्दर्यभित्र छिरेकी थिइन्। पाउलरको यात्रा संस्मरण ग्रेट हिमालय ट्रेल पनि त्यसरी  नै जन्मिएको हो।

पुस्तकको जन्मकथा व्यक्तिगत जगमा भए पनि हुर्काइ बेग्लै छ। १ सय २३ दिन लगाएर पूर्व-पश्चिम १ हजार ७ सय ५० किलोमिटरको दूरी नापेकी  पाउलरको पुस्तकमा दिनैपिच्छेको छुट्टाछुट्टै वर्णन छ। सेताम्य हिउँ, चिसो हावा, उकाली-ओराली, जुका, भिराला बाटा र उचाइसँगको संघर्ष त भइहाल्यो,  हरेक दिनको डायरीमा मानिसहरू नै केन्द्रमा छन्। चारपटक सगरमाथा र दक्षिणी मोहडाबाट अन्नपूर्णको पहिलो आरोहण गरेका सर क्रिस बोनिङटनले  भूमिकामै यसलाई 'यात्रा संस्मरणभन्दा धेरै माथि उठेको नेपालको कुनाकाप्चाको कथा बोल्ने पुस्तक' भनेका छन्।

म्युनिखबाहिरको सानो गाउँमा हुर्केकी भए पनि पाउलरका लागि हिमाल नौलो थिएन। हिमालका 'क्रेजी' उनका आमाबुबाले सानैमा उनलाई युरोपको पवर् तीय शृंखला आल्प्सतिर लैजान्थे। स्कुलसमेत सुरु नगर्दैको त्यो परिवेशमा फोका उठ्ने गरी लगाइएको हिउँ छल्ने गहु्रँगा जुत्ता, जीउमा बिझाउने ज्याकेट  र ह्वाङलांगे पाइन्ट लगाउनुपर्दा उनलाई विरक्त लाग्थ्यो। हो, त्यही अप्ठ्यारोको कमाल के भने स्कुले उमेरमै उनी हिमालतिर लहसिन्। कतिसम्म भने  केटी साथीहरूले लुगाफाटामा पैसा खर्चंदा उनी भने ट्रेकिङ ब्याग, स्लिपिङ ब्याग र यात्राका लागि पैसा जम्मा गर्न थालिसकेकी हुन्थिन्।

अक्सर शान्त भए पनि त हिउँ पग्लँदा गर्जिने हिमालको काखमा यात्रा भनेको साहस, रहस्य, अन्वेषण र रोमाञ्चसँग परिचित हुन पाउनु हो। त्यसमाथि  पाउलर त कहिलेकाहीँ नेपाली भरियाबाहेक धेरैजसो एक्लै हिँडेकी पदयात्री। यो यात्रामा उनले हिउँका तन्ना ओडेका ६ हजार मिटरमाथिका दुई र पाँच  हजारदेखि ६ हजार मिटर उचाइबीचका १६ वटा 'हाई पास' पार गरिन् ।

Saturday, December 6, 2014

[QnA] अन्तर्राष्ट्रिय पुस्तकको बजार निकै क्रुर छ -- नारायण वाग्ले

पत्रकार नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’को फ्रेन्च संस्करण हालै सार्वजनिक भएको छ । २०६१ सालमा पहिलोपटक प्रकाशित उपन्यास अंग्रेजी र कोरियन संकरण यसअघि नै बजारमा आइसकेका छन् । यही परिवेशमा लेखक वाग्लेसँग गरिएको कुराकानी ।

ट्रेन्डसेटर पुस्तकको लेखक हुनुको मज्जा के छ ?
ट्रेन्डसेटर अरुको टिप्पणी हो । मेरा लागि त यो उपन्यास मात्र हो । लेखक हुनुको मज्जा उसको निरन्तरतामा हुन्छ किनकि उसले कथा भन्ने पदवी पाएको हुन्छ । एउटा लेखेर थन्किनु भनेको चट्याङ परेजस्तो हो ।

पुस्तक कसरी लामो समयसम्म विकिरहन्छ ?
कथाभित्रको तत्व र त्यसले बोक्ने समयको शक्तिले लामो कालखण्डसम्म तान्छ । पल्पसा क्याफेको कथामा समयलाई स्पन्दन गर्ने शक्ति छ ।

अन्तर्राष्ट्रिय बजारमा जानुको चुनौति के छ ?
हाम्रा पुस्तक अनुवाद भएर बाहिर जाने बलियो परम्परा नहुँदा विदेशी भाषाका पाठकसँग हाम्रो पहुँच छैन । नाम नसुनिएका लेखकको किताब सितिमिति विदेशी बजारमा जाँदैनन् ।

अन्तर्राष्ट्रिय बजारमा कस्ता पुस्तक विक्छन् ?
अन्तर्राष्ट्रिय पुस्तकको बजार निकै क्रुर छ । जसले अन्तर्राष्ट्रिय पुरस्कार, रोयल्टी वा अन्तर्राष्ट्रिय पहिचान पाएका आधारलाई हेरेर पुस्तकको बजार तय गर्छ । नेपाली पुस्तकको त्यो परिवेश नहुँदा विक्री र प्रतिक्रिया दुवै कम आउँछन् । 

पहिलो कृतिले धेरै चिनाउँछ कि राम्रो कृतिले ?
ती सबै पाठक र बजारको अवधारणामा निर्भर हुन्छ जुन लेखकको बसमा हुँदैन । तर पहिलोबाट धेरै चिनिएका छन् । जस्तो, सलमान रुस्दीको मिडनाइट चिल्ड्रेन होस वा पारिजातको शिरिशको फूल जत्तिको उनीहरुले कहिल्यै लेखेनन् भनिन्छ ।

पत्रकार भएर उपन्यासकार हुनुको फाइदा ?
म पत्रकार नभएको भए पल्पसा क्याफे नै जन्मंदैनथ्यो । लेखिए पनि यसरी लेखिन्थेन । तत्कालिन द्वन्द्वको बस्तुगत अवस्था र सुचना प्रत्यक्ष देख्न पाएं ।

पुस्तकबारे सम्झिरहने प्रतिक्रिया ?
हालै नगरकोटको एउटा एटिएम बाहिर दुई जना मलाई भेट्न पर्खिरहेका थिए । एउटा चित्रकार थिए जसले पल्पसाको नाममा आर्ट ग्यालरी खोलेका रहेछन् । अर्को अक्सर पढ्न नरुचाउने मान्छे हुँदाहुँदै पनि फ्लाइटफोमिया मेट्न साथीबाट पाएर पढेछन् । उनलाई किन राम्रो लागेछ भने अरु किताब नै पढेका रहेनछन् ।

Friday, May 24, 2013

माइकलका आँखामा नेपाली साहित्य


युनिभर्सिटी अफ लन्डनमा नेपाली र हिमालयन स्टडिजका प्राध्यापक हुन्, माइकल हट। सोही विश्वविद्यालयको साउथ एसियन स्टडिजतर्फको स्नातक विद्यार्थीका रूपमा साढे तीन दशकअघि उनी हिन्दी पढ्न भारतको वृन्दावन आएका थिए। त्यहाँ वैष्णव अभिलेखको संकलन र संवर्द्धनका निम्ति स्थापना गरएिको एक अध्ययन संस्थान थियो । त्यसका निम्ति नेपाली कागज लिन उनका साथी र उनी नेपाल आएका थिए। साथी दिल्लीबाट हवाईजहाजमा सीधै काठमाडौँ छिरे भने माइकल हटले रक्सौल हुँदै सडकको बाटो रोजे। २० वर्षे बेलायती ठिटोलाई नेपालले यति मोहित पारेछ कि उनले योजनाभन्दा थप दुई साता यतै बिताए, काठमाडौँ र पोखरा घुमे। त्यही प्रभावले लन्डन फर्केपछि उनले नेपाली भाषाका थप दुई विषय आफ्नो ऐच्छिक अध्ययनमा थपे।

त्यसयता हो, उनको दिमागमा कवीर, सुरदास, तुलसीदाससँगै गुरुप्रसाद मैनालीका कथा, सिद्धिचरण श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटाका कविता घुम्न थालेको। त्यसरी नेपाली साहित्यसँग गाँसिएको वर्षौं लामो सामीप्यको एउटा ऐतिहासिक प्रतिविम्ब हो, उनको निबन्धसंग्रह इलक्वेन्ट हिल्स, एसेज अन नेपाली लिटरेचर। यसमा सन् १९८९ देखि २००७ भित्र लेखिएका नौ निबन्ध छन्। आधुनिक नेपाली समाज र साहित्यबारे पुस्तकमा लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, बीपी कोइरालाको सुम्निमा, पारजिातको शिरीषको फूल र भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छेको रचनाको पृष्ठभूमिको सूक्ष्म विश्लेषण छ। मुग्लान जाने, लाहुरे बन्ने एक समय चल्तीको नेपाली शैलीले साहित्यको रूप कसरी धारण गर्दै गयो भन्ने अर्को रोचक पक्ष समेटिएको छ।

विभिन्न कालखण्डमा भएका आन्दोलन कसरी साहित्यसँग जोडिए, सांगि्रला वा आदर्श नेपालका भावना कसरी साहित्यका स्रोत बने भन्ने पक्षलाई विश्लेषण गरेर पुस्तकलाई ऐतिहासिक दस्तावेजजस्तो बनाइएको छ। त्यससँगै विभिन्न समय र वादको प्रतिनिधित्व गर्ने साहित्यकारका व्यक्तिगत पक्षसमेत जोडिन आइपुग्छन्। यसरी उनका निबन्धहरूले साहित्य सामाजिक, आर्थिक, भौगोलिक, राजनीतिक पक्षसँग कसरी जोडिएको हुन्छ भन्ने सुन्दर चित्र देखाउँछन्। 

प्राध्यापक हट नेपाली भाषाका साधारण हिमायती मात्र होइनन्, उनले नेपाली भाषामै आफ्नो विद्यावारििधसमेत गरेका छन्। थुप्रै नेपाली साहित्यकारसँग लामो उठबससमेत छ उनको। दूरदराजको देशमा पुगेर त्यहाँको साहित्य केलाउन एउटा विदेशीलाई पक्कै सहज थिएन, जसका लागि उनको मिहिनेत प्रशंसनीय छ।

Sunday, February 3, 2013

प्रेमका सुख–दु:ख

कुनै कुरा रोचक बन्न नयाँ बिषयबस्तु वा निकै सुसज्जित भाषा चाहिंदैन, मानिसलाई उसको साधारण विगतकै सम्झना गराइदिए पुग्छ । सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ ले त्यही भन्छ । प्रेमकथामा बुनिएको उपन्यासमा पात्र, परिवेश र प्रशंग कुनै विशेष नभई हामी सबैले जीवनको एउटा कालखण्डमा देखीभोगिआएकै हुन् । पुस्तक पढिरहंदा पाठक मुख्य पात्र अतित र सायासँगै आफूलाई पनि त्यतै कतै पुर्‍याउँछन् । प्रेमजडित आफ्ना तिता–मिठा विगत सम्झन बिचबिचमा एकैछिन पढ्न बन्द गर्छन्, एक्लै मुस्काउँछन् । कतैकतै आफूलाई उनीहरुका रोमाञ्चक घटनासँग तुलना गर्दै पछुताउँछन् पनि । उस्तै सरल एवं चल्तीकै भाषाशैलीले उपन्यासलाई पठनिय बनाएको छ । यही कथामा सायद साहित्यमा अक्सर प्रयोग हुने फूलबुट्टाजडित शब्द, ठूल्ठूला आदर्श वा दर्शन जोडिएको भए त्यो सबैभन्दा झुर पनि हुन सक्थ्यो । किनकि मन–मस्तिस्क शून्यतामा हुँदाको अवस्थामा प्रेम हुन्छ जहाँ मन र मुखको बोलीमा केही फरक हुँदैन ।    

सायासँग अतितको भेट हुनुमा केही कारण वा प्रशंग छैन । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागमा पढ्न पाउनेहरुको सूचिमा साया शाक्यको नाम शुरुमै हुन्छ भने अतित शर्माको अन्त्यतिर । त्यसै पनि पढन्ते केटी कस्ता हुन्छन् भन्ने जान्न इच्छुक अतित, सायाको नामबाटै मोहित हुन्छ । कारण बिनाकै त्यो भाव भएता पनि त्यसलाई प्रष्ट्याउन अतितको स्वभाव काफी छ, कथालाई धेरै लम्बेचौडे बनाउन आवश्यक पर्दैन । जब उनीहरु साथी बन्छन्, सँगै कलेज आउतजावत गर्छन् कलेजमा गाइगुईं चल्छ । एकदिन कुराकानी चल्दैजाँदा अतितले उसलाई मन पराएको कुरा बताउन समेत पछि पर्दैन । उनीहरु साथीबाट प्रेमी बन्न त्यतिधेरै समय लाग्दैन । 

त्यसपछि उपन्यासमा प्रेम र यौनका पाटा आउँछन् जसले पाठकलाई कुत्कुत्याउँछ पनि । एक दुईपटक त्यस्ता प्रशंग आएपछि स्वभाविक रुपमा पाठकलाई उपन्यास पढाईको आफ्नो रफ्तार रोक्न गाह्रै पर्छ । तर यौनलाई कतिपय ठाउँ आवश्यक भन्दा बढ्ता प्रयोग गरेर सस्तो पनि बनाइएको छ । अक्सर चल्तीका प्रेम उपन्यास पुरुष हावी हुने गरेता पनि यसमा महिला पात्र हावी भएको देखिन्छ र पुरुष पात्र नै कमजोर मनोवलका लाग्छन् ।

Saturday, September 1, 2012

फिक्सन फन


टेस्ट परीक्षा भर्खर सकिएको थियो । एसएलसी सुरु हुनुअघिको डेढ-दुई महिने छुट्टीमा सहपाठीले पढाइको रफ्तारलाई सकेजति बढाएका थिए । तर अमर न्यौपानेको रफ्तार बढ्यो, उपन्यास लेख्नमा । 'एक महिनामा एउटै मोटो कापी भरेको थिएँ,' उनी सम्झन्छन्, 'त्यसमा उतिबेलाका फिल्मी प्रभाव थियो ।' 

त्यतिखेरै वसन्ती, सेतो बाघजस्ता उपन्यास पनि पढेका थिए उनले । महाभारत र स्वस्थानीको प्रभाव उनमा सानैदेखिको थियो । त्यसबेला सम्झँदा अमर आजकल एक्लै मुस्काउँछन् । अहिले उनी बजारका चर्चित कमै लेखकमा गनिन्छन् । बाल विवाहको पृष्ठभूमिमा हुर्केकी विधवाको कथामा बुनिएको उपन्यास 'सेतो धरती' प्रकाशनको तीन महिना नकट्दै दुई हजार प्रति बिक्री भइसकेको छ । 

आफ्नै हजुरआमा (बुवाकी माइजू) को कथा सेतो धरतीमा छ । त्यसमा कति उनले भोगेका त कति हजुरआमालाई देख्दा अनुमान गरेका छन् । 'उपन्यासका लागि मैले कुरा गर्न नपाउँदै उहाँ बित्नुभो,' अमर भन्छन्, 'उहाँले संन्यासी जीवन बिताउनुभएको देवघाटमा एक महिना बसेर हजुरआमाजस्ता थुप्रैको मन पढ्न खोजेको थिएँ ।' 

कुनै बेला डायमनशमशेरले जस्तो ऐतिहासिक एवं विश्वेश्वरप्रसाद कोइरालाजस्तो मनोवैज्ञानिक शैलीले खुबै तान्थ्यो उनलाई । पारिजात र गोविन्दबहादुर मल्लका समेत उस्तै फ्यान थिए अमर । भन्छन्, 'कुनै राम्रै कथाले समातेपछि शैली भन्ने अरूको प्रभावले भन्दा पनि कथा स्वयंले तय गर्दोरहेछ ।' 

यसअघि उनले 'पानीको घाम' प्रकाशित गरेका थिए । खण्डखण्डमा पढ्दा कथाजस्तो लाग्ने र पुस्तक सकिसक्दा उपन्यासजस्तो हुने यसलाई उनले हुँदा 'आख्यान' मात्र भने जसले २०६६ सालको पद्मश्री पुरस्कार पाएको थियो । नेपालगन्जका दलित बस्ती घसियारा, चिडिमारा, पथ्थरकट्टा, किन्जरियन, मगन्ताका कथाहरू संगृहीत छन् यसमा । 

Friday, August 17, 2012

राउटे चिन्ने ऐना

सञ्चारमाध्यमले राउटेसँग जोडिएका समाचारलाई पछिल्लो समय यतिधेरै प्राथमिकतासाथ छापिराखेका छन् कि यी जंगली फिरन्ते मानवजाती अब कुनै नौला रहेनन् । तर राउटे आफैमा एउटा जटिल मानवजाती हो जसलाई पत्रपत्रिकामा आउने समाचार मात्रकै कारण सहजै बुझ्न सकिंदैन । त्यसमाथि अहिले उनीहरु आफ्नो अस्तित्व र परिचय संरक्षणका लागि संघर्ष गरिराखेका छन् । एकथरी राउटेलाई सामाजिक मानिससँग घुलमिल गराउँदै परिवर्तन गर्नुपर्ने सोच्छन् भने अर्काथरीले भने त्यसो गर्दा ‘राउटे’ राउटे नै नरहने हुँदा उनीहरुकै परिवेशमा स्तरोन्नती गर्नुपर्ने ठान्छन् । उनीहरु जीवनकै सबैभन्दा जटिल मोडमा छन् जसको प्रतिबिम्ब गौरीबहादुर कार्कीको मानवशास्त्रीय अध्ययन ‘दोसाँधका राउटे’ ले गर्छ ।

आफ्नो सरकारी जागिरको दौरान तीन दशकअघि नै राउटेलाई पहिलोपटक भेटेका कार्की यसबिचमा पटक पटक उनीहरुलाई भेट्न पाए । मावनशास्त्रीय अध्ययन भएको कारण यतिलामो अवधी आफ्नै त्यसमा आएका परिवर्तन आफ्नै आँखाले देख्न पाउनु निकै मूल्यवान काम हुन्छ जसमा लेखक ‘लक्की’ छन् । यसअघि पनि राउटेबारे केही मानवशास्त्रीय अध्ययन नभएका होइनन् तर तिनमा भन्दा यो फरक हुनु भनेकै यसले संगालेको लामो अनुभव र लेखकको राउटेसँगको नजिकको सामिप्यता हो । कार्की राउटेसँग मितेरी साइनो नै गासेका व्यक्ति हुन् ।

बसोबासको ठेगान नभएको यो जाती कृषि एवं पशुपालन कुनै गर्दैन । जंगली कन्दमुल र बाँधर मारेरै खाएको भरमा यसको पुस्ता यहाँसम्म आइपुगेको हो । तर यो कति पुरानो भन्ने ठ्याक्कै यकिन समेत छैन । कतिपय ठान्छन्, यिनीहरु लडाँइमा छलिएका वा भागेका सैनिक हुन् जो शत्रुले लखेटेर वा हारेर भाग्दै गर्दा मारिने आशंकाले जंगलमै लुकेर बसे । तर वंशवृद्धिको क्रमलाई हेर्दा त्यसमा समेत प्रश्न गर्न सकिने थुप्रै ठाउँ छन् । अर्कोतर्फ यिनीहरु सामाजिक मानव जातिबाटै टुक्रिएर गएका हुन् भन्ने त्यस्तो कुनै संकेत पनि सामाज वैज्ञानिकहरु पाउँदैनन । न त राउटेको भाषा अरु कुनै ठाउँमा नै सुन्न पाइन्छ ।

Monday, June 11, 2012

एउटा कालखण्डको कथा

डियर कल्याण भनेपछि धेरैको मनमा रेडियोमा बज्ने उनको चर्चित कार्यक्रम ‘मेरो कथा’ को झल्को आउँछ । तर उनै कल्याण अहिले रेडियो कार्यक्रम प्रस्तोताबाट उपन्यासकारको फरक परिचयमा देखा परेका छन्, आफ्नो पछिल्लो ऐतिहासिक उपन्यास ‘रेडियो छाप सलाई’ मार्फत ।

नेपालमा रेडियो भित्रिएदेखि पछिल्लो समय एफएमहरुको बढ्दो लहरसम्मको झण्डै ८ दशकलामो सेरोफेरोमा उपन्यास लेखिएको छ । विसं १९८९ मा मुख्तियार रुद्रशमशेर जबराको बिग्रिएको रेडियोबाट शुरु भएर उपन्यास नेपालमा रेडियो स्टेशनहरुको विकाससँगै त्यस सेरोफेरोमा भएका ऐतिहाँसिक तथा सामाजिक घटनाक्रमलाई जोड्दै अघि बढ्छ । र, यसको एउटा गज्जबको विशेषता भनेकै काल्पनिक पात्रहरुसँगै हाम्रो आम जीवनमा देखेभेटेका पात्रहरु जोडिन आइपुग्छ । जतिखेर पाठकले यो उपन्यान नभई उपन्यासजस्तो लाग्ने कसैको जीवनवृत्त त होइन भन्ने प्रश्न आफैलाई सोध्न सक्छ ।

माओवादी कार्यकर्ताबाट पत्रकारितामा प्रवेश गरेकी अरुणा रायमाझीको पछिल्लो संघर्षशील यात्राबाट उपन्यास शुरु हुन्छ । पत्रकार उमा सिंहको हत्या भएको परिवेशमा त्यस्तै ‘रिक्स’ लिएर अरुणाले रेडियो पत्रकारिता गरिराखेकी हुन्छिन् । र, उनको पत्रकारिताका गुरु काठमाडौंको बुढानिलकण्ठ स्कुल पढेका भुषण हुन्छन् जो छापा र रेडियो पत्रकारिता दुवैमा जमेका व्यक्ति हुन्छन् । उनै भुषण अमेरिकाबाट नेपालको रेडियोबाट एउटा चलचित्र बनाउने उद्देश्यले आएकी वर्ड कलेजकी प्राध्यापक डा लाउखा कुनरेथरको कुराकानीले कथालाई एक्कासी ९० को दशकतिर मोड्छ ।

काठमाडौंको चारबुर्जा दरबारमा रहेको आलमाडिजत्रो रेडियो बिग्रिएपछि हल्लीखल्ली मच्चिन्छ । त्यसबेला रेडियो हुनु नै यति बहुमूल्य कुरा हुन्छ कि जसको मर्मतका लागि समेत जुद्धशमशेरसँग अनुमति लिनुपर्ने हुन्छ । त्यसबेला नेपालका रोलवाला राणाहरुले समेत श्री ३ बाट अनुमति लिएर मात्र रेडियो राख्न पाउँथे । भारतमा स्वतन्त्रता संग्रामको आन्दोलन उत्कर्समा रहेको बेला थियो यो । त्यसकारण पनि राणाहरु जनतालाई त्यसको जानकारी रेडियो मार्फत हुन सक्ने भयले रेडियोमा पहुँच दिएका थिएनन् ।

Monday, February 27, 2012

व्यक्तिसँग जोडिएको इतिहास


पछिल्लो समय मुस्ताङसँग जोडिएका दुई फरक फरक बिषयमा विस्तृत रिपोर्टिङ गर्नुपर्ने थियो । एउटा मौलिक सभ्यताको झल्को दिने त्यहाँका गुफाहरुबारे (भूमिभित्रको भव्यता, नेपाल) र अर्को लोमान्थाङ दरबारमा आएको आन्तरिक कलहको उत्कर्ष स्वरुप सर्वोच्च अदालतले दरबारलाई ३ भागमा विभाजन गर्न गरेको विवादास्पद निर्णय (अनरेष्ट इन द वाल सिटी, दी काठमाण्डु पोष्ट, सहलेखन) बारे । जसक्रममा थुप्रै जर्नल तथा पुस्तकहरु पढ्नुपरेको थियो जतिबेलै मुस्ताङको विशिष्ठता बुझेर म निकै रोमाञ्चित भएको थिएँ । त्यतिबेला मुस्ताङसँग जोडिएको सामिप्यताले पछिल्लोपटक ‘कर्म’ मा मेरो मन गयो । कर्म मुस्ताङको मार्फास्थित थकाली परिवारमा जन्मेर अनेकन संघर्षहरु गर्दै जापानसम्म पुगेर आफ्नो व्यावसाय शुरु गर्ने देवमान हिराचनको आत्मकथन/आत्ममन्थन हो । उनै हिराचन पछि गैरआवासिय नेपाली संघ (एनआरएन) को अध्यक्ष पनि भए । तर कर्म मात्र उनै हिराचनको जीवनवरपर घुमेको छैन नेपालको उद्योग व्यावसायको क्षेत्रमा उनले देखे/भोगेका समस्या र सम्भावनासँगै थकाली जाति र मुस्ताङ जिल्लाको इतिहाँसबारे विभिन्न रोचक तथा नविन तथ्यहरु समेत संग्रहित छन् । 

Marpha Village (© http://bit.ly/xdni0T)
उमेरले झण्डै ६ दशक काटिसकेका हिराचनसँग जीवन भोगाईका अनेकन तीता–मिठा अनुभव छन् जसले पुस्तकलाई खोक्रो आदर्शमा भन्दा पनि व्यावहारिक कुराहरुमा केन्द्रीत गरेको छ । पोखरामा स्कुल पढ्दा होस् वा काठमाडौंमा कलेज पढ्दा उनको सपना आफ्नै जातकी कुनै केटीसँग विहे गर्ने र मुस्ताङ वा पोखरामा घरजम बसाएर बस्ने मात्र हुन्थ्यो । तर उनको सपना छिनछिनमा बदलिरहने मुस्ताङी मौसमजस्तै फेरिइरहन्थ्यो । मुस्ताङमा उनका बुवा घोडा व्यापारी थिए जतिखेर उनको सपना त्यस्तै बन्ने थियो । तर जब पोखरा झरे आफू पढ्ने स्कुलका हेडसर उनका ‘आदर्श व्यक्ति’ बने र एसएलसी पास गर्दानगर्दै उनी त्यस्तै सर बन्ने सपना सझाउँथे । काठमाडौं आएर आइएस्सी पास गर्दानगर्दै उनी आफूमा इञ्जिनियर देख्न थाले । तर जीवन सोचेजस्तो कहिल्यै हुँदैन भनेझैं उनको जीवनको मोड अर्कै गतिमा बढ्न थाल्यो । मुस्ताङ फर्केर घरजम बसाउने उनको सपना जापानतर्फ मोडियो । जापानबाट रेडियोलोजीमा स्नातक सकेर उनी जापानी केटीसँग विहे गर्न पुग्छन् । त्यससँगै उनको सपनाले अर्को ‘टर्न’ लिन्छ र उनको जीवनको नयाँ अध्याय शुरु हुन्छ ‘उद्योग–व्यावसायी’ को रुपमा । 

जीवनमा यहाँसम्म आइपूग्दा नेपाल र जापानमा गरेर झण्डै दुई दर्जन व्यावसायमा उनले हात हाले । तर त्यसो भन्दैमा त्यसका शुरुवाती दिनमा झेलेको समस्या र चूनौतिलाई समेत उनले कम प्रेरणादायी मान्दैनन् । उनले भाँडा माझ्ने, लिप्नेजस्ता स–साना देखि ठूला काममा आफूलाई अभ्यस्त गर्दै लगे । मार्फामा घोडा चराउने, कुखुराका अण्डा बेच्नेजस्ता थुप्रै त्यस्ता काम पहिल्यै पनि आफूले गरिसकेको हुनाले त्यसमा उनलाई कुनै प्रकारको ग्लानी महसुस पनि भएनछ । जापान बसाईको क्रममा उनले आप्रवासीको रुपमा भोगेका समस्या समेत पुस्तकमा कोट्याएका छन् । 

Sunday, May 22, 2011

फेरिँदै स्वाद


दीपक पाण्डेलाई किताब छान्न अप्ठ्यारो परिराखेको सजिलै बुझिन्थ्यो । एउटा किताब लिएर स्टलको काउन्टरसम्म आउन नपाउँदै बीचमै अर्को पुस्तकले उनको आँखा तान्थ्यो । कुन किन्ने कुन छाड्ने सोच्दासोच्दै नेपाल कमर्स क्याम्पस मीनभवनका यी २० वर्षे विद्यार्थी हैरान हुन्थे । त्यही हैरानीका बीच प्रदर्शनीब्ााट निस्कँदा उनको झोलामा आधा दर्जन किताबहरू जम्मा भएका थिए, राजनीति, कलादेखि साहित्यसम्मका । माओवादी नेता बाबुराम भट्टराईको 'आजको माक्र्सवाद र साम्राज्यवाद', तसलिमा नसरिनको 'प्रेम र जीवन', बुद्धिसागरको 'कर्नाली ब्लुज', जोन उडको 'माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म', दीपक अधिकारीले अनुवाद गरेको मञ्जुश्री थापाको 'सिक्लेसको ठिटो' र चिनियाँ किताब 'ट्रेडिसनल बर्ड पेन्टिङ' उनले यसपटक किनेका पुस्तक हुन् । 'मैले देखेको दरबार' किन्ने बेलाचाहिँ उनको बजेटले सीमा नाघिसकेको थियो । 


१५ औं शैक्षिक तथा पुस्तक प्रदर्शनी चलिरहेको भृकुटीमण्डप यो हप्ता किताबमय बन्यो । केटाकेटीदेखि तन्नेरी हुँदै प्रौढ पाठकको घुइँचो अघिल्लो वर्षभन्दा कम भए पनि पुस्तकप्रेमी रमाइरहेका भने देखिन्थे । 'किताब अध्ययनले हाम्रो ज्ञानको तहलाई परिपक्व बनाउँछ,' दीपकले आफ्नो किताबप्रेमको कारण खोल्दै भने, 'पत्रपत्रिकाले पाठकलाई सतही जानकारी दिन्छ भने पुस्तकले बृहत् ज्ञान ।'



यस्तो प्रदर्शनीको महत्त्व धेरै पुस्तक एकै ठाउँमा पाइनु र मूल्यमा दिइने छुटलाई मानिन्छ । तर, त्रिविमा राजनीतिशास्त्रका विद्यार्थी शंकर तिवारी, २५, सँग त्यत्तिकै छुटमा अरू बेला पनि पुस्तक पसलबाट किताबहरू किन्ने गरेको अनुभव छ । 



'प्रदर्शनीमा हुने माहोलले किताबको महत्त्व बुझ्न ऊर्जा दिन्छ', भन्छन्, 'त्यसमाथि धेरै छनोटका अवसर हुने भएकाले प्रदर्शनीमा राम्रा पुस्तक पाउने सम्भावना हुन्छ ।' उनले यसपटक किनेका पुस्तकहरूमध्ये 'गान्धी-पटेल, लेटर एन्ड स्पिचेस', 'गान्धी-नेहरू, लेटर एन्ड स्पिचेस' र जे कृष्णमूर्तिको 'थिङ्क अन दिज थिङ्स' मुख्य हुन् । गान्धीदर्शनमा शंकरको रुचि पुरानै रहेछ जसक्रममा पाएकै जानकारीले उनलाई पुस्तकै ताकेर प्रदर्शनीसम्म ल्याइपुर्‍याएको थियो । भन्छन्, 'जवाहरलाल नेहरू र बल्लवभाई पटेलको कुरा मिल्दैनथ्यो, दुवैले त्यसैकारण महात्मा गान्धीलाई चिठी लेख्थे र गान्धीले अर्को चिठी लेखेर उनीहरूका कुराहरू आदानप्रदान गरिदिन्थे ।' राजनीतिसँग सम्बन्धित केही पुस्तकहरू उनले कांग्रेस नेताहरू नरहरि आचार्य र गगन थापासँग मिलेर सम्पादनसमेत गरेका छन् । थप्छन्, 'राजनीति नै मेरो रुचिको क्षेत्र भएकाले पनि मैले पढ्ने पुस्तकहरू अर्थशास्त्र, समाजशास्त्रबारे पनि  हुन्छन् ।' उनले आफूलाई आख्यानले त्यति नतान्ने बताए । 

Tuesday, May 17, 2011

उपन्यासजस्तो एउटा जीवन ‘सिक्लेसको ठिटो’


कुनै दुःखद अन्त्य बोकेको सीनेमाको प्लटझैं चन्द्र गुरुङको जीवन कथा ‘सिक्लेसको ठिटो’ शुरु हुन्छ– ताप्लेजुङको घुन्सा दुर्घटनाको घटनासँगै । २०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो । जसमध्येकै एक चन्द्र गुरुङ पनि थिए । उनै गुरुङ्ग ‘सिक्लेसको ठिटो’ का पात्र हुन् । जसको जीवनी ‘फ्यासब्याकमा’ पुस्तकमा अघि बढ्छ ।

मूल अंग्रेजीमा लेखिएको मञ्जुश्री थापाको अंग्रेजी पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को नेपाली अनुवादको रुपमा ‘सिक्लेसको ठिटो’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको हो  । भृकुटीमण्डपमा चलिरहेको पन्ध्रौं नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनीको अवसर पारेर हिमाल किताबद्वारा बजारमा ल्याइएको उक्त पुस्तकलाई पत्रकार दीपक अधिकारीले अनुवाद गरेका हुन् । फिचर लेखनमा आफ्नो बेग्लै छवि स्थापित गरिसकेका अधिकारीले यस पुस्तकमार्फत आफूलाई पुनः एकपटक अब्बल सावित गरेका छन् । मैले पढेका धेरै अनुवादीत पुस्तकहरुमध्ये कमै उत्कृष्ठमा सिक्लेसको ठिटो पनि पर्छ । संरक्षणविद तीर्थबहादुर श्रेष्ठले त उनको त्यस कामलाई लोर्कापण समारोहमै मुक्तकण्ठले प्रशंशा पनि गरे । भने, ‘धन्य हुन् मञ्जुश्री र दीपक ।’ अर्का संरक्षणविद् जगमान गुरुङ्ले त यस पुस्तकमार्फत मञ्जुश्री  र दीपकले चन्द्रसँगै आफ्नो परिचय पनि दिन सफल भएको बताए । 

पुस्तकलाई उनै डा तीर्थबहादुर श्रेष्ठ र डा जगमान गुरुङले संयुक्त रुपमा लोकार्पण गरेका थिए । आयोजित लोर्कापण कार्यक्रममा बोल्दै चन्द्र गुरुङकै गाउँ सिक्लेसका स्थानियबासी समेत रहेका जगमानले यस पुस्तकले नेपाली साहित्यमा एउटा गाथा थपेको बताए । ‘यो गैरआख्यान भएता पनि साहित्य र प्राविधिक दुवै बिषयको समिश्रणले उत्कृष्ट भएको छ’, उनले भने, ‘चन्द्र गुरुङको जीवनसँगैसँगै पाठकले नेपालको ग्रामिण बिकासका चुनौती र सफलताका कथाहरु नजिकबाट जान्न सक्नेछ ।’ 

Tuesday, November 16, 2010

दृष्टिकोण बदल्ने चिठीहरु

पिताजी खुबै किताब किन्नुहुन्छ । अझ ‘दृष्टिकोण बदल्ने’, ‘सकारात्मक सोच राख्ने’ भनिने किताबहरु हामीले पढुम भन्ने वहाँको त्यस्ता  किताबहरु किन्नुपछाडिको ध्येय हुनेगर्छ । तर पिताजीको त्यो स्नेयलाई सम्मान गर्दागर्दै पनि मलाई कहिलेकाहीँ त्यस्ता किताबहरु पढ्न ‘वाक्क’ लाग्नेगर्छ। धेरैमा हुने 'फुर्रा दर्शन' यथार्थभन्दा पर हुनेगरेको म पाउँछु । यद्यपि मलाई पिताजीले किनिदिनुभएका धेरै किताबमध्ये शिव खेडाको ‘यु क्यान विन’ र पण्डित जवाहरलाल नेहरुको ‘लेटर फ्रम अ फादर टु हिज डटर’ ले निकै प्रेरणा दिएको छ । पुस्तकको नाम सम्झंदा नै ममा निकै 'उत्साह' र 'जाँगर' आउनेगर्छ । शिव खेडाको उक्त पुस्तक म स्कुल जीवनमै सकेको थिएँ भने नेहरुको कक्षा १२ मा पढ्दैगर्दा । यस ब्लगपोष्टमा म ‘लेटर फ्रम अ फादर टु हिज डटर’ बारे केही कुरा बताउन खोज्दैछु प्रत्येक व्यक्तिले (सक्दो आफू अभिभावक हुनुपूर्व नै) पढ्नैपर्ने पुस्तक हो– ‘लेटर फ्रम अ फादर टु हिज डटर’ । जसले एउटा आदर्श पिता बन्न सिकाउँछ ।
................
‘हामीले केही पत्रका माध्यमले करोडौ बर्ष पार गरेका छौं । तातो अवस्थामा रहेको पृथ्वी कसरी चिसिदै गयो भन्ने हामीले थाहा पायौं । पृथ्वीबाट चन्द्रमा कसरी टुक्रियो, तिमीलाई थाह छ । लामो समयसम्म पृथ्वीमा जीवनको अस्तित्व थिएन । करोडौं बर्षको अन्तरालमा जीवन अस्तित्वमा आयो । वास्तवमा करोडौं बर्षको जीवनलाई अनुमान गर्नु कठिन छ । तिमी केवल १० बर्षकी छौ । तिमी किशोरावस्थामा छौ । १०० बर्ष पनि तिम्रा लागि लामो समय हो । करोडौं बर्ष त त्यसै पनि निकै लामो समय हो जुन हाम्रो साधारण मस्तिस्कले सजिलै कल्पना गर्न पनि सक्दैन । त्यसैले पनि तिम्रँे अगाडिको जीवन निकै चुनौतिपूर्ण छ । हामी आफूलाई निकै महत्वपूर्ण ठान्छौं र ससाना कुराले हामीलाई चिन्तित बनाउछ । बिश्वको कठिन र संघर्षशील इतिहास पढेकी तिमी अब सानातिना घटनाबाट चिन्तित हुनेछैन्यौ ।’
सन् १९२८ को त्यसबेला भारतीय राजनीतिज्ञ जवाहरलाल नेहरू (पछि उनी प्रथम भारतिय प्रधानमन्त्री भए) इलाहवादमा थिए भने उनकी १० बर्षकी छोरी इन्दिरा (सन् १९८० देखि १९८४ सम्म उनी पनि भारतीय प्रधानमन्त्री भइन्) हिमालयकी रानी भनेर चिनिने  रमणीय ठाउ मुसुरिमा थिइन् ।