Showing posts with label Movies. Show all posts
Showing posts with label Movies. Show all posts

Monday, August 1, 2016

कबाली अर्थात् ‘रुटिन मसला’मै रजनीकान्त

धेरैजसो साउथ इन्डियन फिल्म उस्तै लाग्छन् । जहाँ गुन्डा अवतारमा हिरो भेटिन्छन्, मरे भनिएका पात्र अपत्यारिलो गरी पुन: सिनमा आउँछन् । एक्सन त मुटु नै भइहाल्यो । कबालीमा पनि लगभग यिनै ‘रुटिन मसला’ छन् । त्यही पनि फिल्म अरूभन्दा एक कदम अगाडि छ । कारण सामान्य छ, कबालीमा रजनीकान्त छन् । साउथ इन्डियन फिल्मका लागि यसभन्दा बलियो पक्ष सायद उनले सिनेमा खेलुन्जेल अर्को केही नहोला ।

फिल्म मलेसियाको परिवेशमा छ । जहाँ ग्याङ लिडर कबालीस्वरन उर्फ कबाली (रजनीकान्त) २५ वर्षे जेल जीवन काटेर निस्केसँगै क्वालालम्पुरमा आफ्ना प्रतिद्वन्द्वी टोनी ली (विन्स्टन चाओ)सँग मुठभेडमा लाग्छन् । दुई प्रतिस्पर्धी ग्याङको लडाइँ भए तापनि पृष्ठभूमिमा त्यसले मलेसियाली तमिल र चिनियाँबीचको अधिकार प्राप्तिको लडाइँ बोकेको छ । टोनी लीसँग कबालीको रिसईबी सिर्फ क्वालालम्पुरमा कसले राज गर्ने भन्ने मात्र नभई उसकी गर्भवती श्रीमतीलाई ऊसँग अलग्याउनुको कारण हुन्छ ।

त्यसो त मलेसियामा आफूहरूले पुज्ने भगवान् शिवको मन्दिर स्थापना गर्ने स्थानका लागि तमिलहरूले संघर्ष गरिरहेका हुन्छन्, जसको बाधक त्यतिखेर शक्तिमा हुने चिनियाँ मूलका मलेसियालीहरू हुन्छन् । समान ज्याला, सामाजिक प्रतिष्ठा र दासताबाट मुक्तिका लागि भइरहेको लडाइँको मोर्चा सम्हालिरहँदा तमिलहरूका नेता मारिन्छन् ।

र, त्यसको भूमिका कबालीमा आइपुगेको हुन्छ । उसको उदय राजनीतिक पृष्ठभूमिबाट भए तापनि पछि गुन्डाका रूपमा प्रस्तुत गरिनु अस्वाभाविक रूपमै सही, चल्तीकै तमिल फिल्मको ढर्रा समात्न खोजेको देखिन्छ । यद्यपि, कबालीको उदयलाई तमिल समुदायभित्रै भाँजो उब्जाउने अवसरका रूपमा लिन्छन् चिनियाँहरू । यसकारण कबालीले एकसाथ आफ्नै मानिसहरू र प्रतिद्वन्द्वीसँग लड्नुपर्ने हुन्छ । उनी जेल जानुपर्ने अवस्था पनि आफ्नै तमिल सहकर्मीको षड्यन्त्रबाट जन्मेको हुन्छ ।

Tuesday, February 16, 2016

[फिल्म] इराक–कुवेत युद्धको भारतिय कथा

विश्व राजनीतिमा कुवेतमाथिको इराकी हमलालाई धेरैले बिर्सेका छैनन् । सन् १९९० को अगस्टमा इराकले रातारात छिमेकी कुवेतमाथि हमला गरेर एउटा सार्वभौम राष्ट्रलाई आफ्नो १९औं प्रान्त भएको घोषणा गरेको थियो । एकातर्फ कुवेतसँग लिएको मोटो ऋण चुक्ता गर्न गाह्रो परिरहेको इराकले अर्कोतर्फ हमलाको केही महिना अघिदेखि उसैलाई तेल चोरीको आरोप लगाउँदै आएको थियो । उसले कुवेतलाई तेल उत्पादन कम गर्न दबाव समेत दिइरहेको थियो ।

त्यस्तो परिवेशमा मध्यपूर्वका यी दुई पेट्रोलियम शक्तिबिचको तनाव अस्वभाविक त थिएन तर देश नै कब्जा होला भन्ने तहको अपेक्षित पनि थिएन । इराकको कब्जाबाट हटाउन अमेरिका एक्लैले ७ लाख सैनिक मरुभूमिमा उतारेपछि ‘खाडी युद्ध’ शुरु भएर ७ महिनापछि इराक पछाडि हट्न विवस भएको थियो । राजकृष्ण मेनन निर्देशित ‘एयरलिफ्ट’ यही पृष्ठभूमिमा बनेको बलिउड चलचित्र हो । तर फिल्मको केन्द्रीय कथामा भने भारत छ जहाँ युद्धग्रस्त कुवेतमा त्यसबेला रहेका एक लाख सत्तरी हजार भारतियको उद्दार कसरी गरियो भन्ने देखाइएको छ ।

एक भारतिय व्यापारी रञ्जित कटियाल (अक्षय कुमार) कुवेतमा जमेर बसिरहेका हुन्छन् । उनको ‘डिल’ कुवेती अमिर तहसम्म हुन्छ । त्यही दम्भले गर्दा उनी आफूलाई कुवेती भन्नमा गर्व गर्छन् । आफ्नै कम्पनीमा काम गर्ने भारतियप्रति समेत उनको व्यावहार एउटै देशवासीजस्तो हुँदैन । जब रातारात कुवेती भूमिमा इराकी सैनिकहरु छिरेर बमबारी र हत्या गर्न थाल्छन् रञ्जित भारतीय दूतावासतर्फ लाग्छन् । बाटोमा आलाकाँचा इराकी सेनाले उनीहरुसँग अरबीमा बोल्ने उनका ड्राइभरलाई कुवेती सोचेर हत्या गर्छन् । रञ्जित भने भारतिय भनेकै कारण बच्छन् । दूतावास समेत केही गर्न नसक्ने अवस्थामा हुन्छ । केही दिनमा त इराकी सरकारले एकै देशमा दुईटा मिसन नचाइने भन्दै कुवेतमा रहेको भारतीय दूतावास समेत बन्द गरिदिन्छ । अनि त्यहाँ रहेका भारतीयहरु शरणार्थी बन्छन् । अनि रञ्जितमा एकाएक पलाउने भारतिय भावना र त्यसकै भरमा हुने ती एक लाख सत्तरी हजारको एयरलिफ्टसम्मको कथा फिल्ममा छ ।

Friday, June 27, 2014

६० सेकेन्डको शक्ति

६० सेकेन्ड अब सानो समय रहेन । २ साता अघि काठमाडौंमा ४ सय मध्येबाट छानिएका २० देशका ३८ फिल्म ‘६० सेकेन्ड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०१४’ मा  स्क्रिनिङ भए । त्यही सेरोफेरोमा फेस्टिभल निर्देशक अब्दुस मियाँ हेलो शुक्रबारलाई भन्दैथिए, “घन्टौं लामो फिल्म हेरिसक्दा पनि अन्त्यमा बनाइने निचोड सानै हुन्छ । ६० सेकेन्डमा मानिसले धेरै नसोचिकन सिधै त्यही निचोडसम्म पुग्छ ।”

त्यसो भन्दैमा ६० सेकेन्डमा के मात्र गर्ने –– कस्तो स्क्रिप्ट लेख्ने ? कति जनाले अभिनय गर्ने ? कथाको फराकिलो दायरा नबिगारीकन कसरी त्यसलाई खुम्च्याउने ?

अर्कोतिरबाट हेर्दा ६० सेकेन्ड यस्तो समय पनि हो जसबिचमा एउटा औसत मानिस १५ देखि २० सेकेन्ड त आँखा बन्द गरेरै बिताउँछ । “चिन्ता नगर्नुस् ! फिचर फिल्ममा कुनैबेला रोमोञ्चक दृश्य आउँछ भने कुनैबेला पट्यारलाग्दा पनि,” अब्दुस भन्छन्, “यस्तो फिल्मको हरेक सेकेन्डमा चुम्बकिय क्षमता हुन्छ ।”

फेस्टिभलमा देखाइएको पाकिस्तानका असान इजको फिल्म ‘चेन्ज योर माइन्डसेट’ यस्तो थियो । भिड बसमा एक युवक र युवती उभिरहेका हुन्छन् । पछाडिपट्टि रहेको युवकलाई अन्तिम सिटमा बसिरहेका अन्य केटाहरुले धकेलिदिंदा युवतीलाई धक्का लाग्छ । दोस्रो पटक पनि त्यस्तै भएपछि ती युवतीले चड्कन नै लगाउँछिन् । बसका अन्य यात्रुले ‘तमिज नभएको मान्छे’ ‘क्या जमाना आयो’ जस्ता शब्दले लान्छना लगाउँछन् । केहीबेरमा युवक अगाडि आउँछन् । त्यसबेला अघि उसलाई परेजस्तो समस्या ती युवतीलाई पर्छ । तर उक्त युवक रिसाउँदैन । भन्छ, “चिन्ता नगर्नुस म बुझ्छु, यस्तो हुन्छ भन्ने ।” लैंगिक विवेधको कुरामा धेरै साँघुरो मानसिकताबाट बाहिर निस्कनुपर्ने सन्देस हो फिल्मको ।

सर्ट फिल्म हाउस ‘ओनियन फिल्मस्’का निर्देशक गोविन्द सिवाकोटी यस्तो अभ्यासलाई ‘विशेष’ तर ‘क्रितिम क्षमता’ भनेर अथ्र्याउँछन् । भन्छन्, “यस्तो फिल्मको अनुभव भएको मानिसले पनि लामो फिल्म नै बनाउँदा पनि त्यसको हरेक सानो समयलाई महत्व दिन सिक्छ ।” त्यसो त फिल्मी क्षेत्रमा आफ्नो करिअर बनाउने सोचिरहेका तर सानै कामबाट आफ्नो क्षमता देखाउन खोज्नेका लागि ६० सेकेन्ड फिल्म लाभदायक भइरहेका छन् । जसमा मानिसहरु क्यामेरा, कथा, निर्माणजस्ता थुप्रै काममा एक्लै भिड्न सक्छन् । र, निर्माण गर्ने मानिसको अर्को क्षमता त्यतिखेर देखिन्छ जतिखेर उसले गैरकलाकारलाई नै आफ्नो पात्र बनाउन सक्छन् ।

Sunday, February 23, 2014

"पाएँ भन्दैमा धेरै फिल्म खेल्दिंन" [QnA]

र्‍यापर आशिष राना उर्फ लाहुरेको चर्चा अहिले संगीतकर्मी कम अभिनेताको रुपमा चुलिएको छ । बेलायती निर्देशक मुर्रे केरको लेखन तथा निर्देशनमा बन्न लागेको ‘ताण्डव’ मा उनको मुख्य अभिनय छ । र्‍यापब्याटलबाट अभिनेतामा बदलिन लागेको लाहुरेको परिचयबारे उनीसँग गरिएको कुराकानी ।

र्‍यापले चर्चा बुटुलिराखेकै बेला कसरी फिल्ममा लागियो ?
निर्माता मोहन डोटलले केही महिनाअघि फोन गरेर अफर गरे । उनलाई मैले यसअघि चिनेको पनि थिइन । शुरुमा अस्विकार गरेता पनि पछि अरुले स्क्रिप्ट हेर्न सुझाएपछि भने त्यसैले तान्यो ।

स्क्रिप्टमा के त्यस्तो छ जसले तपाईंलाई आकर्षित गर्‍यो ?
र्‍याप ब्याटलमा समेत धेरैले मेरो शब्दजत्तिकै शारीरिक हाउभाव र आक्रोसपूर्ण अभिव्यक्तिलाई रुचाएका हुन् । खासमा त्यो पनि मैले निकै तयारीसाथ गरेको अभिनय नै थियो । स्क्रिप्टमा मैले गर्ने अभिनयको स्वभाव धेरैतिर त्यस्तै छ । 

यसअघि अभिनय गरिएको थियो त ?
मेरो यो पहिलो अभिनय हो । फिल्मको अफिसियल एनाउन्समेन्ट बुधबार गरिएता पनि मैले ३ महिनाअघिदेखि अनुप बराल र टिकाभट्ट जिरेलसँग अभिनय सिक्ने र वर्कसपहरुमा सहभागि भइरहेको थिएँ ।

फिल्ममा यहाँको सांगितिक योगदान पनि हुन्छ ?
हुँदैन । सायद फिल्मको अन्त्यमा बाहेक यसमा गीत पनि हुनेछैन । यो एक्सन थ्रीलर मुभि हो । यसमा म नितान्त अभिनय गर्नेछु । ३ महिनाको तयारीले मलाई निकै आँट र उत्साह दिएको छ ।

गायनको मानिस अभिनयको टोलीसँग काम गर्दा कस्तो अनुभव हुँदोरहेछ ?
शुरुमा त मलाई अर्कै ग्रहमा आएँ कि जस्तो नि भएको थियो । जब फिल्मका धेरै प्राविधिक पक्ष बिस्तारै बुझ्न र एउटा अनुभवी पुस्तासँग काम गर्न थालेपछि बल्ल सहज भएको छ । फेरी चाहे त्यो, गायन होस् वा अभिनय दुवै कलाकै भावना अभिव्यक्त गर्ने फरक विधा हुन् ।

अन्य फिल्मको लागि पनि अफर आउन थालेका छन् ?
एउटामा अभिनय शुरु नगर्दै २ वटा स्क्रिप्ट हात परेका छन् । तर मैले हेर्न भ्याएको छैन । फिल्मले यतिधेरै समय खान्छ भन्ने मलाई शुरुमा लागेको थिएन मैले संगितमा ध्यान दिन नपाएको धेरै भइसक्यो । फेरी मैले अन्तत: गर्ने भनेको सांगितिक क्षेत्रमै हो । त्यसैले पाएँ भन्दैमा मैले धेरै फिल्म खेल्दिन ।

First Appeared in Nepal Magazine 
***
यो पनि पढ्नुहोस:: ब्याटलम्यान 

Friday, August 5, 2011

ईभा ब्राउन अर्थात नेहा धुपिया


बलिउड अभिनेत्री नेहा धुपियाले हिन्दी फिल्म ‘गान्धी टु हिटलर’ मा तत्कालिन जर्मन तानाशाहा एडोल्फ हिटलरकी प्रेमिका इभा ब्राउन (पछि धर्मपत्नी पनि) भएर अभिनय गर्ने अवसर पाएकी छिन् । इभा ब्राउनको रहस्यमय र निरश जीवनशैली फिल्ममा उनको अभिनयमार्फत देख्न सकिन्छ । एक भारतिय अनलाईनलाई दिएको अन्तरवार्तामा उनले यस्तो अवसरलाई ‘कठिन चूनौति स्विकारेको’ बताएकी छिन् । भन्छिन्, ‘मानव इतिहासको एउटा कुख्यात पात्रको कोमल प्रेम आफैमा रोचक थियो र त्यसलाई अभिनयले न्याय गर्नु उत्तिकै कठिक पनि ।’

दोस्रो विश्वयुद्धताकाको परिवेशमा ‘नाजिजम्’ विरुद्ध ‘गान्धीजम्’ को कथाबस्तु समेटिएको यस चलचित्र महात्मा गान्धीले हिटलरलाई लेखेका पत्रहरुमा केन्द्रीत छ । आफ्ना केही पछिल्ला फिल्महरु ‘एक चालिसकी लास्ट लोकल’ र ‘मिथ्या’ मा ईभाजस्तै पात्रको अभिनय गरिसकेकाले पनि ‘गान्धी टु हिटलर’ मा उक्त चूनौति सामना गर्न आफूलाई सक्षम ठानेको धुपियाले बताइन् । ईभा हिटलरका सैन्य अफिसरहरुसँग पनि उत्तिकै नजिक हुन्छिन्, जसको कारण उनको भूमिकालाई वास्तविक जीवनमाझैं चलचित्रमा समेत रहस्यमै राखिएको छ । सदा हँसिलो र फरासिलो भइकन पनि उनको मुहारमा उत्तिकै उदासपन पनि भेटिन्छ । ‘र, मेरो चरित्रको सबैभन्दा जटिल भाग नै यही थियो । खुसी, उदास सबैको समिश्रण अभिनयमा देखाउने’, उनले भनिन्, ‘ईभाको अभिनय गरिसकेपछि म स्वयं वास्तविक जीवनमा पनि बढि बिनम्र हुन सिकेकी छु ।’


‘यसरी ऐतिहासिक व्यक्तिको जीवनमा अभिनय गनुअघि मैले ईभाको सन्दर्भ उल्लेख भएका इतिहासका धेरै पुस्तक र भिडियोहरु हेरें जसले मलाई उनको वास्तविक स्वभावलाई नजिकबाट आत्मसाथ गर्न प्रेरित पनि गर्‍यो’, त्यसले पनि दर्शकहरुले फिल्मले दिन खोजेको पाठलाई नजिकबाट बुझ्न सहयोग पुर्‍याउने उनले विश्वास राखेकी छिन् । यद्यपि फिल्ममा जर्मनहरुले पनि हिन्दीमै कुराकानी गरेको बिषयलाई आलोचकहरुले कमजोर पक्ष दर्शाइसकेका छन् । तर धुपियाको यसमा आफ्नै खाले तर्क छ । भन्छिन्, ‘दिल्लीको झोपडिमा हुर्केका केटाकेटीहरु स्लमडग मिलिनियरमा अंग्रेजी बोल्दा बहसको बिषय नठान्ने हामीहरु यहाँ त्यसैलाई ठूलो कुरा बनाइनुको कुनै अर्थ छैन ।’ फिल्मले दश मिनेट नाघ्ने बित्तिकै त्यो कुनै अनौठो नलागि सहज रुपमै अघि बढ्ने उनले बताइन् ।



हिटलरको प्रेमलाई फिल्ममा समेट्ने क्रममा त्यसले उनको व्यक्तिगत जीवनको पाटोलाई नजिकबाट देखाउन सफल भएको छ । त्यसमाथि बर्लिन शहरलाई अमेरिका–रसिया सहितको सैन्य टोलीले घेरिसक्दाको अन्तिम समयमा बंकरभित्र ईभासँग बिताएका क्षण र अन्तिम समयमा गरेको विवाहले क्रुर शासकभित्रको एउटा कोमल पक्षलाई देखाएको छ ।

Thursday, July 28, 2011

‘मर्डर टु’ र ज्याक्लिन फर्नाण्डिज

बलिउड फिल्ममा पछिल्लो समय विदेशी कलाकारहरु बढि देखिन थालेका छन् । ‘मर्डर २’ मा पनि सेक्सी नायिका एवं ‘पूर्व मिस श्रीलंका युनिभर्स’ ज्याक्लिन फर्नाण्डिज अभिनेत्री छिन् । यसले उनलाई २००९ को बलिउड चलचित्र ‘अलादिन’ पछिको ठूलो भूमिका देखाएको छ । र, उनी धेरै हदसम्म कथाबस्तुलाई अभिनयमार्फत न्याय गर्न सफल देखिन्छिन् पनि ।

यद्यपि ‘मर्डर २’ २००४ को चर्चित फिल्म ‘मर्डर’ को सिक्वेल भनिएता पनि त्यससँग कुनै सम्बन्ध जोडिएको छैन । मर्डरकै मुख्य अभिनेता इमरान हासमीलाई अपवाद मान्ने हो भने ‘मर्डर २’ सम्पूर्ण रुपबाट कुनैको दोस्रो भाग नभएको जस्तो स्वतन्त्र चलचित्र हो । मात्र, मर्डरले २००४ मा पाएको नामलाई जोडेर चलचित्रलाई सहज प्रचार गर्ने नियतबाट यसलाई ‘मर्डर २’ नाम दिइएको छ । त्यसैले ‘मर्डर’ नहेरेका दर्शकका निम्ति पनि ‘मर्डर २’ कथाबस्तुका हिसाबले कुनै समस्या बन्ने छैन । यो अमेरिकी चलचित्र ‘अनफेतफुल’ र दक्षिण कोरियाली चलचित्र ‘द चेसर’ बाट प्रभावित देखिन्छ । यद्यपि निर्देशक मोहित शुरीले यसलाई भारतिय स्वरुपमा ढाल्न भने सफल छन् ।

प्रहरीको जागिर छाडेर गैरकानुनी काम मार्फत धेरै पैसा कमाउने उद्देश्यले अर्जुन (इमरान हासमी) भारतिय शहर गोवामा कालो धन्दा गर्ने दलालहरुलाई सघाइरहेको हुन्छ  । उता व्यावसायिक मोडल प्रिया (ज्याक्लिन फर्नाण्डिज) अर्जुललाई प्रेम गरिराखेकी हुन्छिन् । यद्यपि त्यो, प्रेम कम शारीरिक सम्बन्ध बढि हुने गरी बनिराखेको हुन्छ जसलाई अर्जुनले फिल्मकै शब्दमा ‘ना महोवत, ना जरुरत, सिर्फ आदत’ भनिराखेका हुन्छन् । एकदिन शहरमा देहव्यापार संचालन गरिराखेको एउटा व्यक्ति अर्जुनसँग सहयोगका लागि आइपुग्छ । क्रिसमस र नयाँ बर्षको अवसरमा ग्राहकसामु गएका उसका ४ ‘कल गर्ल’ हराइराखेका हुन्छन् जसले उसको व्यावसायले उत्कर्ष रुप लिने बेला समस्या सिर्जना हुन्छ । र, अर्जुनले त्यसको कारण पत्ता लगाउन गरेको प्रयासमा चलचित्रको कथाबस्तु घुमेको छ ।

Friday, July 22, 2011

ह्यारी पोर्टर र डेनियल रेडक्लिफ



मुख्य कलाकारहरु:
डेनियल रेडक्लिफ, रुपेट ग्रिन्ट, इम्मा वाटसन, मिचेल ग्यामबन
निर्देशक: डेविड येट्स
विधा: काल्पनिक थ्रीलर
भाषा: अंग्रेजी
समय: २ घण्टा १० मिनेट
रेट: ३.५/५

‘ह्यारी पोर्टर एण्ड द देथ्ली हालोज–२’ को रिलिजसँगै ह्यारी पोर्टर सिरिजले अन्तत: बिट मार्दा आम दर्शकहरुको मनमा दुईथरी नयाँ प्रश्नहरु खेलिरहेका छन्, ‘के अब ह्यारी पोर्टरको नयाँ सिक्वेल नआउने गरी नै सकिएको हो त?’, ‘अब डेनियल रेडक्लिफ (ह्यारी पोर्टरका मुख्य पात्र) के गर्छन् ?’ निजी जीवनमा डेनियल अन्तरमुखी स्वभावका हुनाले पनि धेरैले उक्त प्रश्नको सहज उत्तर अनुमान गर्न सक्दैनन् ।


जेके रोलिङको प्रशिद्ध पुस्तक ‘ह्यारी पोर्टर’ मा आधारित ह्यारी पोर्टर सिरिजले पछिल्लो एक दशकमा ८ वटा चलचित्रसँगै (यो ७ औं चलचित्रको दोस्रो भाग हो) विश्व चलचित्र जगतमा एक प्रकारको तहल्का नै सिर्जना गर्‍यो । यसबिचमा फिल्मसँगै उत्तिकै चर्चामा रहने गर्थे ‘ह्यारी पोर्टर’ अर्थात ‘डेनियल रेडक्लिफ’ । पहिलो सिरिज ‘ह्यारी पोर्टर एण्ड द फिलोसफर स्टोन’ शुरु गर्दा उनी भर्खर एघार बर्षका थिए जतिखेर फिल्मका निर्माता डेभिड ह्याइमेनले उनका अभिभावकलाई ‘ह्यारी पोर्टर’ पात्र छान्ने अडिसनमा डेनियललाई सहभागि गराइदिन अनुरोध गरेका थिए । तर त्यस सिरिजको सम्पूर्ण सुर्टिङ अमेरिकाको क्यालिफोर्निया र लस एञ्जलसमा हुने हुँदा अभिभावकहरुले छोरो धेरै नटाढियोस भनेर उनलाई थाहा नै दिएनन् ।

अडिसन चलिराखेकै बखत एकसाँझ निर्देशक क्रिस कोलम्बसले डेनियलको पहिलो काम ‘डेभिड कोपरफिल्ड’  (चाल्र्स डिकिन्सको उपन्यासमा आधारित बिबिसी वानको नाट्य सिरिज) को भिडियो हेर्ने अवसर पाए । ८ महिनाको दर्जनौं अडिसनपछि त्यसबेला निर्माण टिमलाई लाग्यो, ‘दिस इज द ब्वाय वि वान्ट । दिस इज ह्यारी पोर्टर ।’ हाइमेनले आफ्नो फिल्मको ह्यारी पोर्टर भेट्टाउँदाको क्षण यसरी सम्झन्छन्, ‘निला आँखा भएको ऊ जिज्ञासु, फुर्तिलो र हाँसिमजाक गरिरहने स्वभावको थियो । उसमा रहेको उदारता र मिठासको समिश्रण साँच्चिकै पूर्ण देखिन्थ्यो । त्यसबखत उसमा नयाँ ज्ञान प्राप्तीको प्यास समेत उत्तिकै थियो । र, ‘रियल लाइफ’ मा ति सबै कुराको समिश्रणले गर्दा ऊ ‘रिल लाइफ’मा ह्यारी पोर्टर बनेको थियो ।’

अहिले उनै डेनियल २१ बर्षका पुगेका छन् । ह्यारी पोर्टर सिरिजको अन्त्यसँगै उनी २०१२ सुपरनेचुरल थ्रिलर फिल्म ‘द उमन इन ब्याक’ देखिँदैछन् । ‘म पट्यारलाग्दो प्रेमकथाका फिल्म रुचाउँदिन जहाँ केटा–केटी बिछोडिन्छन, जुट्छन् र खुसी हुन्छन्’, उनले भने, ‘मलाई संघर्षले भरिएका कथामा अभिनय गर्न मन लाग्छ जो धेरै हदसम्म रोचक हुन्छन् ।’ त्यसैले आफूबाट रोमान्टिक फिल्म अपेक्षा नगर्न दर्शकहरुलाई भनेका छन् (जसले सायद उनका हार्डकोर केटी फ्यानहरुलाई धेरै निराश पारेको हुनुपर्छ) । उनी आफै साना कथाहरु पनि लेख्छन्, क्रिकेटका फ्यान हुन, अन्डरग्राउण्ड र पंक संगितका पारखी हुन् ।

छोटो समयमा नै उनी कसरी लोकप्रिय र चर्चित भइसकेका छन् भन्ने जान्न केही उदहारणहरु काफी छन् । २००९ मा ‘फोब्र्स’ पत्रिकाले निकालेको ‘सबैभन्दा प्रभावशाली तन्नेरी सेलिब्रिटी’ को सूचिमा उनी एक नम्बरमा परेका थिए । सोही बर्ष ‘द टेलिग्राफ डेलि’ले निकालेको सूचिमा समेत उनी जम्माजम्मी ३ करोड अमेरिकी डलर आर्जन गरेर बेलायतको धनी युवाहरुको सूचिमा १२औं नम्बरमा परेका थिए । र, सोही पत्रिकाले नै ह्यारी पोर्टरको सिरिज सकिंदासम्ममा उनले ७ करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेको थियो जुन सहजै नाघ्ने पछिल्ला केही दिनमा ह्यारी पोर्टरले पाएको उच्च व्यावसायिक सफलताबाट अनुमान गर्न सकिन्छ ।

सिरिजको अन्य चलचित्रमाझैं ह्यारी पोर्टरको मुख्य भाव ‘ह्यारी पोर्टर एण्ड द देथ्ली हालोज–२’ मा पनि उही छ– ‘विपत्तिमा पनि विवेकले सहि काम गर्ने ।’ त्यसका अलावा प्रभावशाली प्रस्तुती, वजनदार डाइलगले फिल्मलाई आकर्षक बनाएको छ । र, सिरिजको अन्तिम फिल्म भएकै कारण यसको रोचक पक्ष हामीले पछिल्ला बर्षहरुमा देखेका पात्रहरुको मिलन गराउनु पनि हो ।

यस भागमा भने ह्यारी पोर्टर तन्त्रमन्त्र पढाई हुने ‘हगवाट्र्स स्कुल अफ विचकाफ्र्स एण्ड विजार्डी’ मा पढ्न जान्छन् । यद्यपि त्यसको लागि उनले कुनै निवेदन दिएका हुँदैनन् । तर त्यहाँबाट उनलाई दुईपटक (पहिलोपटकमा हावाले च्यात्तिन्छ) भर्नाको पत्र आउँछ । त्यहाँ गएसँगै उनले तन्त्रमन्त्र सम्बन्धी ज्ञान पाउँछन् भने आफूमा रहेको शक्तिको बोध समेत बिस्तारै हुनजान्छ ।

Thursday, July 14, 2011

जुकिपरका केभिन

"केभिन जेम्स आफ्नो छिप्पिँदो उमेरमा पनि सायद बढि रोमाञ्टिक र ‘फन्नी’ बन्न चहान्छन जुन उनको पछिल्लो फिल्म ‘जुकिपर’मा देखिन्छ"


केभिन जेम्सलाई २०११ को अप्रिलमा तेस्रो सन्तानको रुपमा पुत्रलाभ भएको थियो । यो खुसी सेलाउन नपाउँदै अहिले उनको २०११ कै तेस्रो काम, चलचित्र ‘जुकिपर’ रिजिल भएको छ जसमा उनी आफै प्रमुख अभिनेता, कथाकार र निर्माता छन् । त्यसैले यी ४६ बर्षे मोटाघाटा कलाकार अहिले आफ्नो व्यक्तिगत र सार्वजनिक दुवै छविका कारण बजारमा चर्चामा छन् । 

यद्यपि जुलाई शुरुमा रिलिज भएको हास्यप्रधान हलिउड चलचित्र ‘जुकिपर’ सबैखाले दर्शकको लागि भने होइन । तर जेम्सका ‘कोर दर्शक’ र ‘कमेडि’ का फ्यानले भने पक्कै यसलाई बढि नै रुचाउनेछन् । चलचित्र, उनले अक्सर प्रयोग गर्ने ‘हँसिमजाकका वाक्यहरु’, फिल्मको कथालाई सुहाउने ‘आकर्षक शारिरीक अपिल’ र ‘असल व्यक्तिको चरित्र’ वरपर घुमेको छ जसले उनको अभिनय र चलचित्रलाई उत्कृष्ठ बनाएको छ ।

चलचित्रमा ग्रिफिन किजले (केभिन जेम्स) एउटी महिला स्टेफिनलाई (लेसाइल बिब) प्रेम प्रस्ताव राख्छन् जुन किजको जीवनको पहिलो प्रेम हुन्छ । तर स्टेफिनको इच्छा भने आफूलाई एउटा व्यावसायिक मोडलको रुपमा स्थापित गर्ने हुन्छ जुन एउटा साधारण चिडियाखानामा जनावरहरुको रेखदेख गर्ने व्यक्तिको श्रीमती भएर सम्भव हुने देखिन्न र उनले प्रस्ताव अस्विकार गर्छिन् । तर किज जनावरहरुप्रति बढि नै स्नेह राख्ने कोमल मन भएका व्यक्ति हुन्छन् र उनी आफ्नो कामसँग रमाइराखेका पनि हुन्छन् । 


पाँच बर्षपछि किजको स्टेफिनसँगको भेटघाट उसको दाईको बिहे भोजमा हुन्छ । उसको  स्टेफिनप्रतिको मोह अझै परिवर्तन भइसकेको हुँदैन र पुन: प्रेम प्रस्ताव राख्ने सोच्छ । अचम्मले यसपटक भने स्टेफिनले किजको प्रस्तावलाई स्विकार्ने छाँटकाँट देखाउँछिन् । अब उसले स्टेफिनसँग रमाइलोसँग जीवन बिताउने कल्पना गर्न थाल्छ । चिडियाखानाको काम स्टेफिनले नरुचाउने हुँदा उनलाई खुसी पार्न त्यो जागिर समेत छाड्ने योजना बनाउन थाल्छ ।

Saturday, December 19, 2009

कल्पना लोकको सयर (फिल्म समीक्षा)

By यज्ञश 

जेम्स क्यामरुनको यो साइन्स फिक्सनले हलिउडको एउटा कडा नियम तोड्छ। पृथ्वी बाहिरको कुनै जन्तु वा यानले अमेरिकामाथि आक्रमण गर्ने र त्यसलाई अमेरिकी सेनाले परास्त गर्ने हलिउडको प्रिय कथा यो फिल्ममा उल्टिन्छ। आजसम्मकै सबभन्दा महँगो फिल्म (नेपाली रूपैयाँ २२ अर्बभन्दा बढी) 'अवतार'मा पृथ्वी बाहिरको ग्रह प्यान्डोरा आक्रमण गर्न गएको अमेरिकी सेनाको टोलीलाई त्यहाँका आदिवासीले आफ्ना धनुकाण, केही चरा र जनावरका बलमा लेखेटिदिन्छन्।


फिल्मः अवतार (साढे तीन स्टार)

पटकथा/निर्देशनः जेम्स क्यामरुन

कलाकारहरूः साम वोरिङटन, जो साल्डाना, आदि।


उच्चस्तरको प्रविधि र त्यस्तै कल्पनाको एकसाथ मिश्रण भयो भने के हुन्छ? यसको एउटा उत्तर यस्तो हुनसक्छ- त्यो बेला कुनै फिल्म निर्देशक मान्छे होइन, भगवान लाग्न सक्छ। बेलाबेला हलिउड निर्देशकहरूले पर्दामा छुट्टै संसारको रचना गरेर दर्शकलाई चकित पार्दै आएका छन्। जर्ज लुकासको 'स्टार वार' र स्टिभन स्पिलबर्गको 'जुरासिक पार्क' यस्तै संसार थिए। संसारको रचना भगवानले गरेको मान्ने हो भने, 'अवतार' बनाएर जेम्स क्यामरुनले पर्दाको नयाँ भगवान बन्ने प्रयास गरेका छन्।

यसअघि 'टाइटानिक' र 'टर्मिनेटर २'जस्ता संसार प्रसिद्ध फिल्म बनाएका जेम्स क्यामरुनको 'अवतार' सन् २१५४ को कथा हो। पृथ्वीका सारा स्रोत र खनिजको दोहनपछि अर्को ग्रह प्यान्डोरामा खनिज खोज्न गएको अमेरिकी वैज्ञानिक र सैनिकको समूहले त्यहाँका आदिवासीसँग गर्ने असफल युद्धको कथा यसले भन्छ।

फिल्ममा एउटा उपकरण छ, जसमा सुतेपछि मान्छेको 'अवतार' बन्छ। खुट्टा नचल्ने अमेरिकी सैनिक र प्यान्डोराको कल्पना लोकमा पुग्ने उसको अवतार फिल्मको मुख्य पात्र हो। प्यान्डोरामा छुट्टै भाषा र संस्कृति भएको नेभी नाम गरेको एउटा जाति छ। एलियनजस्तो पहेँला आँखा, लामो पुच्छर र अग्लो कद भएका नेभीका बीचमा जब शिवजीको जस्तो निलो रङ भएको सैनिक 'अवतार' पुग्छ, फिल्मले तिनको मायाप्रेम र पृथ्वीवासीसँगको द्वन्द्वको कथा भन्छ।

जेम्स क्यामरुनको यो साइन्स फिक्सनले हलिउडको एउटा कडा नियम तोड्छ। पृथ्वी बाहिरको कुनै जन्तु वा यानले अमेरिकामाथि आक्रमण गर्ने र त्यसलाई अमेरिकी सेनाले परास्त गर्ने हलिउडको प्रिय कथा यो फिल्ममा उल्टिन्छ। आजसम्मकै सबभन्दा महँगो फिल्म (नेपाली रूपैयाँ २२ अर्बभन्दा बढी) 'अवतार'मा पृथ्वी बाहिरको ग्रह प्यान्डोरा आक्रमण गर्न गएको अमेरिकी सेनाको टोलीलाई त्यहाँका आदिवासीले आफ्ना धनुकाण, केही चरा र जनावरका बलमा लेखेटिदिन्छन्। यो कोरा कल्पनाको लोक हो, यसैले यहाँ मेसिनगनका अगाडि धनुकाण निरीह हुन बाध्य छैन।

कथा इतिहासको होस् या भविष्यको, फिल्म सधैं वर्तमान कालमा हुन्छ। निर्देशकले वर्तमानका दर्शकलाई सम्बोधन गरेर फिल्म बनाउँछ। यसैले २१५४ को कथामा पनि अहिलेको समयको छायाँ देखिन्छ। जस्तै, १ सय ५० वर्षपछि पनि अर्को ग्रहमा आक्रमण गर्न अरु कोही होइन, अमेरिकी नै पुग्नेछन्। यो अमेरिकीले बनाएको फिल्म हो यसैले त्यो ग्रहका आदिवासीको रक्षा पनि अमेरिकीको 'अवतार'ले नै गर्नेछ।

त्यो बेला मानव जातिको सबभन्दा ठूलो खोजी खनिजको हुनेछ, अहिलेको उपभोग दरका हिसाबले त्यतिबेलासम्म पृथ्वीमा न पेट्रोल बाँकी हुनेछ न ग्याँस। र, अहिले इराकमाथि आक्रमण गरेजस्तो त्यो बेला तेलका कुवा खोज्दै अमेरिकी सेनाले अर्को ग्रहमा परेड खेल्नेछन्। र, 'ग्लोबल वार' अर्को ग्रहमा पनि पैठारी हुनेछ। वा त्यतिञ्जेलसम्म अमेरिकासँग भिड्ने हिम्मत पृथ्वीमा कसैसँग हुनेछैन, त्यसैले अमेरिकी बन्दुक प्यान्डोरातिर सोझिने छ।

भारतजस्तो विकासशील देशले समेत बहुराष्ट्रिय कम्पनीलाई खनिज उत्पादन गर्न दिन आदिवासीमाथि आक्रमण थालेका बेला क्यामरुनको कल्पनाले यर्थाथलाई सँगै लिएर उडेको प्रतीत हुन्छ।

'अवतार'मा फिल्मका सबैजसो मसला छन्। नेभी जातिकी राजकुमारी र अवतारको 'फिल्मी प्रेम' होस् या युद्धपिपासु कर्नेल, गैरमानवको कथामा पनि फिल्मले मानवीय गुणको खोजी गर्छ। तर, यी सबैभन्दा ठूलो चमत्कार चाहिँ नयाँ ग्रहको निर्माणमा अनुभूत हुन्छ। यसको चरित्र निर्माण गर्नका लागि सिर्जना गरिएका लज्जावती

झारजस्तो च्याउ, अजंगका घोडा, एउटा ठूलो रुखमुनि बस्ने नेभी, हात्ती र घोडा मिसिएको भिमकाय जनावरले यसलाई अलौकिक संसार बनाइदिन्छन्।

यो यस्तो संसार हो जहाँ रुखमुनि बस्न रुखसँग मान्छेको मन मिल्नुपर्छ र 'फ्लाइङ ड्रयागन'जस्ता लाग्ने चराले आफ्नो सवारी आफैं रोज्छन्। चरामा बसेर हावामा तुन्द्रुङ झुन्डिएका पहाडको चक्कर लगाउन मानिसको बलले काम गर्दैन, प्रेम चाहिन्छ। सयौं अत्याधुनिक हतियारजडित हेलिकोप्टरसँग भाला लिएर लड्ने आदिवासीको लडाइँले रोमाञ्चको नयाँ अनुभूति दिलाउँछ। सिनेमाको पर्दामा अहिलेसम्म रचिएको यो सबभन्दा विशाल कल्पनाको संसार हो।

फिल्ममा प्यान्डोरा लोकको मात्र कथा छैन। पृथ्वीबाट गएका मानिसको पनि आफ्नै द्वन्द्व छ। नयाँ जातिको चियो गर्न गएर उतै प्रेममा परेको सैनिकको मनोविज्ञान एकातिर छ भने अर्कातिर लड्न जाँदा पनि युद्ध विमानको अघिल्तिर बसेर कफीको मजा लिने कर्नेल छ। प्यान्डोराको खनिज प्रेमले प्राप्त गर्ने कि बलले भन्ने द्वन्द्व पनि फिल्ममा छ। क्लाइमेक्सअघि यो द्वन्द्व कायम राख्नका लागि निर्देशकले मानव पात्रहरूलाई 'हिरो' र 'भिलेन'मा वर्गीकरण गरिदिन्छन्।

बेलायती निर्देशक ड्यानी बोयलले 'स्लमडग मिलेनियर' बनाएर अंग्रेजी शब्द भण्डारमा नयाँ शब्द 'जय हो' थपिदिएका थिए। क्यामरुनले 'अवतार' थपेका छन्। र, यो शब्दले संस्कृत र नेपाली भाषाकै 'अवतार'को अर्थ बोकेर अंग्रेजीमा प्रवेश गर्नेछ।

'अवतार'को शिल्प यसको प्रविधिमा निहित छ। फिल्मका साठी प्रतिशत दृश्य कम्युटर एनिमेसनबाट तयार भएका छन्। यसैले यसको निर्देशकमा अतिरिक्त खुबी चाहिन्छ। त्यसमाथि कुनै कथा वा लोककथामा आधारित नभई आफैले लेखेको मौलिक कथामा साइन्स फिक्सन बनाएर क्यामरुनले आफ्नो प्रतिभाले संसारलाई चकित बनाइदिएका छन्। उनको यसअघिको फिल्म 'टाइटानिक'ले एघार ओस्कर पाएको थियो, 'अवतार'को भागमा कति पर्छ अनुमान अहिल्यैदेखि सुरु भइसकेको छ।




Monday, November 2, 2009

लन्डन ड्रिम्स

नाम 'लन्डन ड्रिम्स' भए पनि यो संगीतको सपनाको कथा हो। पञ्जाबमा जन्मेर 'माइकालाल जयकिसन' बन्न चाहने केटाको संगीत सपनालाई कसरी उसकै 'स्वाँठ' साथीले उडाइदिन्छ, फिल्मले त्यसको कथा भन्छ ।

सन् १९८४ मा आठ वटा ओस्कर जितेको फिल्म 'एमाडुस' र हिन्दी फिल्म 'रक अन'को अस्वभाविक मिश्रणबाट 'लन्डन ड्रिम्स'को घोल तयार हुन्छ। फिल्मको मूल द्वन्द्व जन्मिदै ल्याउने प्रतिभा ठूलो कि मान्छेको मेहनत र ज्ञान भन्ने हो। सफलता/असफलताको जश अपजश जन्म र भाग्यलाई दिने समाजमा जस्तै यो फिल्ममा पनि मान्छेका तमाम मेहनत र ज्ञानमाथि जन्मजात प्रतिभाले विजयको झन्डा फहराउँछ।

'लन्डन ड्रिम्स'लाई मुर्ख फिल्म भन्दिए हुन्छ। बलिउडी निर्देशकको खुबी भनेकै दर्शकलाई मुर्ख बनाउने खुबी हो। तर, बेलाबेला थाहै नपाई 'लन्डन ड्रिम्स'मा झैं निर्देशक आफै मुर्ख बन्न पुग्छन्। गोराहरूले भरिएको लन्डनको स्टेडियम (जसलाई फिल्ममा संसारको सबभन्दा ठूलो स्टेडियम भएको गलत सुचना दिएको छ) मा हनुमान चालिसा गाएर रकस्टार बनाउन खोज्नु बेबकुफी हो। फिल्ममा जता पनि हिन्दी बोलिरहेका गोरा भेटिन्छन्। मानौं, भारत बेलायतको होइन, बेलायत चाहिँ भारतको उपनिवेश थियो!


अर्जुन दृष्टिले विम्ब्ले स्टेडियम ताकेर बसेको संगीतकारले जब त्यही स्टेडियम पाउँछ, उ दर्शकलाई गाली गर्न थाल्छ। मनले एउटी केटी मन पराउँदा उ पेटीले हिर्काएर आफैलाई सजायँ दिन्छ। तर, आफ्नो सबभन्दा मिल्ने साथीलाई समाप्त पार्नजस्तो अपराध गर्न पनि तयार हुन्छ।

अर्को पात्र छ, जो आफ्नो साथीको महानताको तारिफ गरेर थाक्दैन तर त्यही साथीको मनस्थिति र मनोविज्ञान कहिल्यै बुझ्दैन। तर, भयंकर झगडापछि जब माफी माग्न साथी भारत फर्किन्छ, उ भन्छ, 'मलाई थाहा थियो तँ आउँछस्।' फिल्मको सबैभन्दा ठूलो कमजोरी यसको निर्देशन हो। अत्यन्त जटिल मानवीय भावना र मनोविज्ञानलाई फिल्मले एकदमै सतहीरूपमा पेश गर्छ। अतिनाटकीयताको बलिउडी रोगले यो फिल्मलाई पनि ठाउँठाउँमा समाउँछ। जबजब द्वन्द्व बढ्न तबतब पात्रहरू भगवानलाई एक झमट गाली गरेर उम्किन्छन्। न त फिल्मका चरित्र विश्वसनीय र प्रभावशाली छन् न घटना नै। संगीतका विषयमा बनेको फिल्मको संगीत पनि उत्तिकै कमजोर छ। चालीसको उमेर पार गरेका फिल्मका हिरोहरू रकस्टारको भूमिकामा निकै थकित देखिन्छन्।

सामान्यतयाः निकै मिल्ने साथीका रुची, स्वभाव र जीवनका प्राथमिकता पनि मिल्छन्। तीनै प्राथमिकताले मान्छेलाई नकिज ल्याइपुर्‍याउँछन्। तर, 'लन्डन ड्रिम्स'का साह्रै मिल्ने साथीका यी कुनै पनि कुरा मिल्दैनन्। तैपनि, पटकथालाई तन्काउनु पर्ने श्राप परेझैं यी पात्र आपसमा मिल्छन्। अर्को अचम्म लाग्दो कुरा के छ भने 'दुई हिरोवाला फिल्मको धर्म निर्वाह गर्दै' यिनले पनि एउटै केटी मन पराइदिन्छन्। दोस्रो भाग चाहिँ यिनको भयंकर ईष्या, षडन्यत्र र हिनताबोधले भरिएको छ।

त्यसमाथि ओसिएको बारुदजस्तो फिस्स पड्किने क्लाइमेक्सले फिल्मका सारा द्वन्द्व र घटनालाई बेकार सावित गरिदिन्छन्। पूरै फिल्मभरी कठोर खलनायकका रूपमा पेश भएको पात्र अन्त्यमा काकाको एक लाइनको संवादमा आगो बिना नै मैनझैं पग्लिन्छ र माफी माग्न तयार हुन्छ।

'लन्डन ड्रिम्स' सलमान खानको आजसम्मको सबैभन्दा राम्रो अभिनय भएको फिल्ममा पर्छ। महत्वकांक्षा र ठूला योजना नभएको युवाको हल्काफुल्का भूमिकामा सलमान खान मनोरञ्जक छन्। सलमानका केही जोक पनि नहुने हो भने यो फिल्म झेल्नु सजाय हुनेछ। आइरिस ब्यान्ड युटुका प्रसिद्ध गायक बोनोको 'लुक' धारण गरेपनि अजय देवगन रकस्टार लाग्दैनन्। प्रशस्त खलनायत्व बोकेको चरित्रमा उनको अभिनय भने प्रभावशाली छ। 'गजनी'जस्तो फिल्मबाट बलिउडमा आएकी आसिनले कुनै प्रभाव पार्दिनन्। न उनको चरित्र गतिलो छ न अभिनयमा कुनै जादु।

copied from http://nagariknews.com