बाटोमा हिंड्दा मानिसहरु टक्क अडिएर हेरुन् ।
“अम्मै के भ’को यस्तो !” भन्दै जिब्रो टोकुन् ।
“हजुरसँग एउटा फोटो खिचौं न ?” भनुन् ।
“अम्मै के भ’को यस्तो !” भन्दै जिब्रो टोकुन् ।
“हजुरसँग एउटा फोटो खिचौं न ?” भनुन् ।
फेस पेन्ट गराउने तन्नेरीहरु यस्तै ठान्छन् । अझ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका बेला त ‘वान एण्ड वन्ली’ बन्ने लहर चलेको छ आजकल । पारखीहरुले भन्ने गरेको पेन्टर अर्जुन भण्डारी, २५, सुनाउँछन्, “पत्रिकामा छापिने खालको, लाइभ खिच्ने क्यामेराले दोहोर्याई तेहेराई देखाउने खालको हुनुपर्यो ।”
फेस पेन्टिङको लहर कुनै बेला नेपालमा अन्तर्राष्ट्रिय खेल हुँदा वा विश्वकप फुटबल वा क्रिकेटका बेला मात्र हुन्थ्यो । “यो इन्फर्मल र रफटफ हुने शैली हो,” फेस पेन्टिङका एक सौखिन शक्ति दिपराजले भने, “भिडमा मानिसहरु हराउँछन् तर तपाईं हल्का मात्र पनि युनिक र क्रियटिभ पेन्टिङ आफ्नो अनुहारमा गराउन सक्नुभो भने भिडमा सबैभन्दा बढिले तपाईंलाई नै हेर्छन् ।”
अहिले मानिसहरु जमघट हुने अवसर भए हुन्छ फेस पेन्टिङ जोडिनु कुनै नयाँ अवसर बन्दैन । त्यसैले कन्सर्ट होस् वा मेला अनुहार रंगाएर हिंड्न रुचाउँछन् आजकल । अवसर पिच्छे केही शैली परिवर्तन् हुन्छन् तर उद्देश्य त्यही अरुलाई आकर्षित गर्ने नै हो । जस्तो, होलीमा हुने फेस पेन्टिङमा पाइने एउटा समानता भनेको त्यसले पूरै अनुहारलाई ढाक्छ । शिवरात्रीमा भने गाँजाका पातदेखि लिएर शिवका आकृतिसम्म अनुहारमा कुदिन्छन् ।
अहिले विवाह, बत्रबन्ध, बर्थडेजस्ता उत्सवहरुमा समेत फेस पेन्ट गराउन थालिएको पाइन्छ । विभिन्न अभियानमा समेत अहिले फेस पेन्टिङ जोडिन्छ । वातावरण सप्ताह मनाउँदा एक युवा अभियानकर्ताहरुले कतै अनुहारभरी हरियो पोतेर त कतै रुखका चित्र बनाएर सचेतनाको काम गरेका थिए । विरोधका लागि समेत फेस पेन्टिङ अहिले गतिलो माध्यम बनेको छ ।