Showing posts with label Lumbini. Show all posts
Showing posts with label Lumbini. Show all posts

Saturday, March 3, 2012

उत्खनन्, बौद्ध पुन्यभूमिको

पाल्पाका गर्भनर खड्गशमशेरले ब्रिट्रीस इण्डियासँग नेपालमा बौद्ध धर्मसँग जोडिएका तथ्यहरु अन्वेषण गर्ने प्रस्ताव राखेपछि सन् १८९६ मा पहिलो पटक त्यसतर्फबाट जर्मन पुरातत्वविद् डा अलिस फुरर नेपाल आएका थिए । त्यसबेलै पत्ता लागेको विभिन्न ऐतिहासिक तथ्यहरु सहितको अशोका पिलरले नै लुम्बिनीमा मानिसहरुको आकर्षण एक्कासी बढाएको थियो । त्यसरी फुररले निकै महत्वपूर्ण प्राचिन तथ्य भेटेपछि ब्रिटीस सरकारले सन् १८९९ मै अर्का पुरातत्वविद् पिसी मुखर्जीलाई नेपाल पठायो जसले लुम्बिनी, कपिलबस्तु र आसपासका धार्मीक महत्वका क्षेत्रमा पहिलो अध्ययन गरेका थिए ।

मायादेवि मन्दिर र बुद्धका त्यसबेलाका थुप्रै प्राचिन प्रमाणहरु मुखर्जीकै अध्ययन टोलिले भेटाएको थियो । पछि सन् १९३२ देखि १९३९ सम्म खड्ग समशेरले नै लुम्बिनीको ऐतिहाँसिकतालाई थप पुष्ठि गर्ने उद्देश्यले ‘विस्तृत उत्खनन’ त गरे तर त्यो  वैज्ञानिक तरिकासहितको थिएन जसले गर्दा लुम्बिनी क्षेत्रमा भद्रगोल तरिकाले खन्दै शिलालेख÷मूर्ति र अन्य धार्मीक महत्वका सामाग्री  खोज्नतर्फ मात्र लागियो । त्यस उत्खननले जमिनमुनिको भूबनोटबाटै पत्ता लगाउन सकिने कयौं महत्वपूर्ण तथ्यहरुको नष्ट गरेको थियो । जसको असर अहिलेसम्म अध्ययनकर्ताहरु झेल्नेगर्छन् । त्यसरी खड्गसमशेरको पालादेखि शुरु भएको लुम्बिनीको अन्वेषण र विकासको गतिले अहिले निकै दू्रत गति पकडिसकेको छ । तर, बुद्धको जन्मस्थल लुम्बिनी वरपर बुद्धधर्म र उनको जीवनकालसँग जोडिएका थुप्रै धार्मीकस्थलहरु छन् जसको अवस्था कतै जीर्ण, कतै अपुष्ठ तथ्य सहितको त कतै महत्व बोकिकन पनि प्रचारपसारको अभाव झेलिराखेको अवस्थामा छन् । नेपालमा मुख्यतः गौतम बुद्धका तीन महत्वपूर्ण स्थलहरु छन् । पहिलो उनी जन्मेको लुम्बिनी, दोस्रो उनले आफ्नो सकृय २९ बर्ष बिताएको कपिलबस्तु र तेस्रो उनको मामाघर तथा ससुराली कोलिय राज्य । उतीबेला यी क्षेत्रहरु दुई राज्य अन्तरगत पर्दथे । ‘गौतम बुद्धका बुवा शुद्धोधन शाक्य गणराज्य अन्तरगतको कपिलबस्तुका राजा थिए भने त्यसपूर्व दानव नदि (जो तिनाउ नदिभन्दा थोरै पश्चिमतर्फ छ) पारी र नारायणी नदिभन्दा पश्चिमपट्टि कोलिय गणराज्य अन्तरगतको दुई राज्यहरु क्रमशः देवदह र रामग्राम उल्लेख छ’, बरिष्ठ पुरातत्वविद् तथा बुद्धअध्ययनकर्ता तारानन्द मिश्र बताउँछन् ।