पछिल्ला सरकारी तथ्यांकले बर्सेनि विदेशी पर्यटक बढेको देखाउँछन्। तथ्यांकले नदेखाउने पाटो के हो भने तीमध्ये धेरैजसो दोहोर्याई-तेहेर्याई नेपाल आउँछन्। ट्राभल एन्ड टुर्स अपरेटरहरूको चिन्ता बेग्लै छ, कतिपटक त्यही अन्नपूर्ण सर्किट, पोखरा, चितवन र लुम्बिनी देखाउने? उनीहरू विदेशी र स्वदेशी दुवै खाले पर्यटकका लागि नेपालभित्रै नयाँ गन्तव्यको खोजीमा छन्। प्रचारप्रसारको अभावमा चर्चा बटुलिनसकेका मध्य तथा सुदूरपश्चिमका विभिन्न क्षेत्र सर्वोत्तम विकल्प हुन सक्छन्।
धार्मिक पर्यटनदेखि प्राकृतिक तथा सांस्कृतिक रूपमा मध्य तथा सुदूरपश्चिम नेपाल धनी मात्र होइन, उत्तिकै विविधतापूर्ण पनि छ। प्यूठानको स्वर्गद्वारीदेखि बाजुराको बडीमालिकासम्मको झन्डै १० दिने पदयात्रा गजबको हुन सक्छ। उक्त पदमार्ग अनुपम त हुन्छ नै, बीचमा उग्रतारा, भागेश्वर, शैलेश्वरी, खप्तडजस्ता थुप्रै मठमन्दिर एवं धार्मिक स्थलको दर्शन गर्न सकिन्छ। यातायातले सबैतिर राम्रोसँग जोडिन नसकेकाले पनि बाह्य प्रभावबाट बचेको यो क्षेत्र घुम्दा नवीनता अनुभव गर्न सकिन्छ।
यस क्षेत्रलाई चिनाउन स्थानीय व्यवसायी तथा पर्यटनकर्मीले 'वाइल्ड वेस्ट ट्यांगल' नामको पर्यटन रणनीति तयार पारेका छन्। यो रणनीतिभित्र नेपालगन्जबाट रारा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष जोड्ने त्रिकोणीय रुट समेटिएको छ। नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाईजहाजमा यात्रा गरेपछि झन्डै तीन घन्टामा नेपालकै सबैभन्दा ठूलो ताल रारा पुगिन्छ।
दिनभरमा थुप्रैपटक रंग फेर्ने राराले हेर्दैमा अथाह आनन्द दिन्छ। त्यसो त रारा राष्ट्रिय निकुञ्जको आकर्षण ताल मात्र होइन। निकै शान्त परिवेशमा अवस्थित उक्त निकुञ्ज मध्येको हो। विभिन्न मौसममा गरी त्यहाँ मात्रै झन्डै दुई सय प्रजातिका चरा देख्न सकिन्छ। तालको सङ्लो पानीमा सहजै देखिने रैथाने ट्राउट माछा, कस्तूरी, मृग, घोरल र हाब्रे यहाँका आकर्षण हुन्। "भौगोलिक विकटताकै कारण राराको मात्र भ्रमण स्वदेशीको हकमा महँगो पर्छ," रैका ट्राभल्सका निर्देशक अमर शाही भन्छन्, "यद्यपि, त्यसमा थोरै खर्च थपियो भने बर्दिया र शुक्लाफाँटा पनि घुम्न सकिन्छ।"