Showing posts with label Literature. Show all posts
Showing posts with label Literature. Show all posts

Saturday, December 6, 2014

[QnA] अन्तर्राष्ट्रिय पुस्तकको बजार निकै क्रुर छ -- नारायण वाग्ले

पत्रकार नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’को फ्रेन्च संस्करण हालै सार्वजनिक भएको छ । २०६१ सालमा पहिलोपटक प्रकाशित उपन्यास अंग्रेजी र कोरियन संकरण यसअघि नै बजारमा आइसकेका छन् । यही परिवेशमा लेखक वाग्लेसँग गरिएको कुराकानी ।

ट्रेन्डसेटर पुस्तकको लेखक हुनुको मज्जा के छ ?
ट्रेन्डसेटर अरुको टिप्पणी हो । मेरा लागि त यो उपन्यास मात्र हो । लेखक हुनुको मज्जा उसको निरन्तरतामा हुन्छ किनकि उसले कथा भन्ने पदवी पाएको हुन्छ । एउटा लेखेर थन्किनु भनेको चट्याङ परेजस्तो हो ।

पुस्तक कसरी लामो समयसम्म विकिरहन्छ ?
कथाभित्रको तत्व र त्यसले बोक्ने समयको शक्तिले लामो कालखण्डसम्म तान्छ । पल्पसा क्याफेको कथामा समयलाई स्पन्दन गर्ने शक्ति छ ।

अन्तर्राष्ट्रिय बजारमा जानुको चुनौति के छ ?
हाम्रा पुस्तक अनुवाद भएर बाहिर जाने बलियो परम्परा नहुँदा विदेशी भाषाका पाठकसँग हाम्रो पहुँच छैन । नाम नसुनिएका लेखकको किताब सितिमिति विदेशी बजारमा जाँदैनन् ।

अन्तर्राष्ट्रिय बजारमा कस्ता पुस्तक विक्छन् ?
अन्तर्राष्ट्रिय पुस्तकको बजार निकै क्रुर छ । जसले अन्तर्राष्ट्रिय पुरस्कार, रोयल्टी वा अन्तर्राष्ट्रिय पहिचान पाएका आधारलाई हेरेर पुस्तकको बजार तय गर्छ । नेपाली पुस्तकको त्यो परिवेश नहुँदा विक्री र प्रतिक्रिया दुवै कम आउँछन् । 

पहिलो कृतिले धेरै चिनाउँछ कि राम्रो कृतिले ?
ती सबै पाठक र बजारको अवधारणामा निर्भर हुन्छ जुन लेखकको बसमा हुँदैन । तर पहिलोबाट धेरै चिनिएका छन् । जस्तो, सलमान रुस्दीको मिडनाइट चिल्ड्रेन होस वा पारिजातको शिरिशको फूल जत्तिको उनीहरुले कहिल्यै लेखेनन् भनिन्छ ।

पत्रकार भएर उपन्यासकार हुनुको फाइदा ?
म पत्रकार नभएको भए पल्पसा क्याफे नै जन्मंदैनथ्यो । लेखिए पनि यसरी लेखिन्थेन । तत्कालिन द्वन्द्वको बस्तुगत अवस्था र सुचना प्रत्यक्ष देख्न पाएं ।

पुस्तकबारे सम्झिरहने प्रतिक्रिया ?
हालै नगरकोटको एउटा एटिएम बाहिर दुई जना मलाई भेट्न पर्खिरहेका थिए । एउटा चित्रकार थिए जसले पल्पसाको नाममा आर्ट ग्यालरी खोलेका रहेछन् । अर्को अक्सर पढ्न नरुचाउने मान्छे हुँदाहुँदै पनि फ्लाइटफोमिया मेट्न साथीबाट पाएर पढेछन् । उनलाई किन राम्रो लागेछ भने अरु किताब नै पढेका रहेनछन् ।

Thursday, July 3, 2014

के पूर्विय, के पश्चिमा ? -- सम्राट उपाध्याय

अंग्रेजीमा लेख्ने नेपाली लेखक सम्राट उपाध्यायको छैटौँ कृति द सिटी सन उपन्यास यही वर्ष प्रकाशित भएको छ । अमेरिकाको इन्डियाना युनिभर्सिटीका प्राध्यापक उपाध्यायको सन् २००३ को उपन्यास द गुरू अफ लभलाई न्युयोर्क टाइम्सले वर्षको सम्झनलायक  पुस्तकको सूचीमा पारेको थियो । नयाँ पुस्तकका सन्दर्भमा उनीसँगको कुराकानी:

द सिटी सनको कथावस्तु के हो ? नेपाली बजारमा पुस्तक कहिले आउँछ ?
आफ्नी सौतेनी आमासँग अस्वाभाविक सम्बन्ध बनाउन पुगेको युवाको कथा छ, यसमा । वाल स्टि्रट जर्नलले यसलाई 'बाल दुराचार र यौनिक अपनत्वबारेको तनावरहित उपन्यास' भनेको छ । पुस्तक केही महिनाभित्रै नेपाली बजारमा आइपुग्छ  ।

पश्चिमा पाठकलाई नेपाली परिवेशका कथा बुझाउन कत्तिको सहज छ ?
सहज किन पनि छ भने मैले पश्चिमा पाठकका लागि मात्र कथा भनिरहेको छैन । कथा सुन्न खोज्ने पूर्वीय, पश्चिमा वा त्यसबीचमा पर्ने जो-कोहीका लागि सोचेर कथा लेखिरहेको हुन्छु । बरु समस्या प्राथमिक भाषा अंग्रेजी नभएको परिवेश र मानिसका  कथालाई कसरी अंग्रेजीमा लेख्ने भन्ने हो । यद्यपि, कतिपय कुरा अनुवादका बेला चुनौती बन्छन् । तर, अंग्रेजीमा लेख्दाको रमाइलो आफ्नो स्थानमा छ ।

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको सन्दर्भलाई कसरी बुझ्नुभएको छ ?
नेपाली साहित्यलाई विश्वस्तरमा कसैले चिन्न सकेन भनेर पछुताउनुको अर्थ छैन । यसरी तुलना गर्नेहरूले नै पर्याप्त मात्रामा विश्व साहित्यको अध्ययन गरेका छैनन् । अंग्रेजीमा अनुवाद भइरहेका नेपाली साहित्यको अनुवादको स्तरसमेत कमजोर  भएका कारण त्यस्तो पहल झनै निरर्थक बनिरहेका छन् । अध्ययनका उच्च तहमै पनि अंग्रेजीको स्तर नेपालमा निकै कमजोर छ ।

यहाँको पहिलो छोटा कथाको संग्रह अरेस्टिङ गड इन काठमाण्डूमा पूर्वीयवादलाई पश्चिमा जगत्को आँखाबाट प्रचार गरेको आलोचनालाई कसरी लिनुहुन्छ ?
म स्पष्टीकरण दिन किन पनि आवश्यक ठान्दिनँ भने ती आलोचनालाई त्यति धेरै सत्य मान्दिनँ । आलोचकहरूले त्यसलाई सतही रूपमा बुझेका छन् । ती साहित्य र सत्य वान टु वान सम्बन्धमा आधारित हुन् । मैले नबुझेको कुरा 'के पूर्वीय, के पश्चिमा'  भन्ने हो । कान्तिपुर टीभीले अंग्रेजी समाचार बजाउनुअघि नेपाली मन्दिर र लोकनृत्य देखाउँछ, पोखराका ट्याक्सी ड्राइभरहरू एकअर्कामा 'गुड मर्निङ' साट्छन्, त्यसलाई पूर्वीय भन्ने कि पश्चिमा ?

Sunday, December 23, 2012

लक्की लेखक

‘ठूलो निधार हुने भाग्यमानी हुन्छन्’ भन्ने नेपाली आहान प्रज्ज्वल पराजुलीमा मेल खाएजस्तो छ । अक्सर मुण्डन तालुमा भेटिने पराजुलीको निधार कहाँसम्म छ, छुट्याउन सकिन्न । २७ बर्षे उमेरमा यी सिक्किमेली तन्नेरी ‘बुक वल्र्ड’मा भारत, नेपाल, भुटानदेखि लण्डनसम्म हट केक बनेका छन् । त्यो पनि नेपाली भाषीको कथा बोकेको आफ्नो छोटा कथाको संग्रह ‘द गुर्खाज डटर’ का कारण । गुर्खाज डटर उनको पहिलो कृति हो । र, त्यसअघि पनि उनी कुनै चल्तिका लेखन थिएनन् । यद्यपि उनको पहिलो काम नै प्रशिद्ध बेलायती प्रकाशक कोकर्स बुक्सले बजारमा ल्यायो, ‘पाँच अंके पाउण्ड स्टिर्लिङ’ प्रज्ज्वललाई बुझाएर । जसलाई भारतमा पेइङगुइन बुक्सले ल्याएको छ । कोकर्सले नै उनको उपन्यास ‘द ल्याण्ड ह्वेर आइ फ्ली’ अर्को बर्ष यसै समयमा निकाल्ने सम्झौता गरिसकेको छ, पुस्तक नहेरिकनै । उनको भाग्यलाई प्रट्स्याउन सायद यो भन्दा बढि भनिरहनु पर्दैन ।

सिक्किम, गान्तोकका यी लेखक पुस्तकको ‘लोकापर्ण भ्रमण’का क्रममा गतसाता काठमाडौंमा आउँदा एकसाझ नेपालसँग लाजिम्पाटस्थित बारिस्टा रेष्टुराँमा साटे । देशी/विदेशी सञ्चारमाध्यममा तारम्तार  प्रशंशासाथ छाउँदा जोकोहीमा उनीबारे एकखाले धारणा बन्न सक्छ, उनी त्यस्ता छैनन् । अघिल्लो दिन नेपाल–भारत पुस्तकालयमा पत्रकार नारायण वाग्लेसँग आफू र आफ्नो पुस्तकबारे बोलिरहंदा उनको व्यक्तित्वले धेरैको मन जितेको थियो । उनी केटाकेटीजस्तो मनमा जे छ ‘ड्याङडुङ’ बोलिहाल्छन् । बत्तिसपुतली, काठमाडौंमा मामाघर भएका कारण उनी सानो छंदा थुप्रैपटक काठमाडौं घुम्न आउँदाका सम्झना साटेका थिए । गान्तोकका यी तन्नेरीलाई त्यसबेला विशालबजारको हिंड्नेसिंढीले खुबै आकर्षित गर्दो रहेछ । “अहिले मबारे पत्रिकाले हावामा केके लेख्छन हो, म त्यत्तिसारो नि छैन”, पूर्वेली भाकामा उनले भने, “अझै पनि म आफूलाई पत्रिकाले भनेजस्तो लेखक ठान्दिन ।” त्यसो भए प्रश्न उठ्छ, के उनी ‘राइटर बाई लक’ हुन् त ? 

***
१३ बर्षे उमेरमा जतिखेर उनी कक्षा ९ मा पढ्थे, गान्तोकबाट साप्ताहिक रुपमा ‘द विकेन्ड रिभ्यु’ पत्रिका छापिन्थ्यो जसमा उनले स्तम्भ लेख्ने अवसर पाएका थिए । “जतिखेर लेख्दा निकै मज्जा आउँथ्यो”, प्रज्ज्वलले मुस्काउँदै भने, “अहिले ती पढ्दा भने लाज लाग्छ । ममात्रै जान्ने छु, पाठक सबै बुद्धु हुन् जसरी लेखिएका ।” गाङतोकबाट कक्षा १२ सकेपछि उनी अमेरिकाको ट्रुम्यान स्टेट युनिभर्सिटीमा मिडिया कम्युनिकेसन पढ्नका लागि हान्निए जसबिचमै उनी विश्वविद्यालयले सन् १९९६ यता प्रकाशन गरिराखेको स्वतन्त्र ट्राभल म्यागेजिन ‘डिटोर’को सम्पादक भए । सम्पादक हुनुमा समेत उनी आफ्नो भाग्यले बाजी मारेको मान्छन् किनकि  त्यसबर्ष अचम्म गरी उनका प्रतिद्वन्दी निकै कमजोर निस्किए । उनी सम्झन्छन्, “अर्को बर्ष पूर्व सम्पादकका हैसियतले म स्वयं छनौट मण्डलमा परेपछि आफैलाई कसरी छानिएछु भन्ने सोचेर अचम्म लाग्यो ।” डिटोरले मध्यपश्चिम अमेरिकाका मिजोरी, आयोवा र इलिनियस क्षेत्रका यात्रा कथा तथा फिचरहरु प्रकाशन गथ्र्यो ।

“जसको अर्थ म पहिल्यैदेखि सिरियस राइटर थिएँ भन्ने चाहीँ होइन नि”, उनी आफ्नो जटिल जीवनलाई साधारण तरिकामा भन्न खोज्दैछन्, “त्यत्ति हो कि म लेख्न सक्छु भन्ने चाहीं कताकता थियो ।” तुर्मानबाट स्नातक सकेर उनी न्यूयोर्क आए जहाँ उनी साप्ताहिक रुपमा प्रकाशित हुने न्यूयोर्कको पहिलो ट्याबलोइड ‘द भिलेज भ्वाइस’मा काम गरे, पत्रकारका रुपमा नभई एड्भटिजमेन्ट एक्जुकेटीभका रुपमा ।“पत्रकारिता मलाई सुहाउने काम होइन, भइहालेको भए म सबैभन्दा करप्ट पत्रकार हुन्थें होला”, उनी भन्छन्, “त्यसमाथि न्यूयोर्कमा पत्रकार भएर बाँच्नु गरिबीमा बाँच्नुझैं हो ।” भिलेज भ्वाइसमा दिनमा कम्तिमा ३ वटा अपोइन्टमेन्ट गर्नुपर्ने हुन्थ्यो । धेरैजसो, उनी त्यसका लागि भनेर कार्यालयबाट निस्कन्थे र दिनभर सिनेमाघर र पुस्तक पसलमा बिताउँथे । थप्छन्, “धन्न नतिजा नआउँदासम्म अफिसले केही सोध्दैनथ्यो ।” ३ बर्ष त्यसरी काम गरेपछि उनलाई दिक्क लागेछ र त्यो काम छाडे । उनी लन्डन र अफ्रिकी टापु सिचिलसमा केही महिना बिताएर भारत फर्किए । भारतमा, ट्रुम्यान पढ्दाको उनको साथी समेत भेटिए जोसँग विना योजना घुम्न निस्किए उनी । उनीहरु दिल्ली, गोवा, मुम्बई, कोलकाता, दार्जलिङ, गाङतोक, काठमाडौ, पोखरा हुँदै पुन आग्रामा पुगेर आफ्नो यात्रा छुङ्ग्याए । त्यसपछि साथी मोरक्कोतिर लाग्यो । उनी भने हिमाञ्चलको मनाली पुगे । गान्तोक फर्कंदा के–कसो गरिराखेको सोध्छन् भनेर उनी मनाली पुगेका थिए । “त्यहाँ एक हप्ताजति बिताउँदा मैले आफ्नो पहिलो कथा लेखें जुन कालिङपोङमा मुस्लिमबारेमा थियो”, उनी भन्छन्, “पछि घरै फर्किएँ र थप पाँचवटा कथा लेखें ।”