Showing posts with label Trip to Srilanka. Show all posts
Showing posts with label Trip to Srilanka. Show all posts

Sunday, January 22, 2012

नोटबुक

शाही शासनको झल्को

तपाईंलाई चाहे कत्ति पनि श्रीलंकाको राजनीतिबारे चासो नहोस, एकपटक त्यहाँ आउनुभयो भने राष्ट्रपति महेन्द्रा राजपाक्षेलाई सायदै बिर्सनु हुनेछ । कोलम्बो  विमानस्थलमा ओर्लेदेखि देशको जुनसुकै कुनामा जाँदा समेत फरकफरक शैलीमा तस्विरसाथ उनका वाणीहरु देख्न पाइन्छन् । अझ विमानस्थलको बर्हिगमनद्वारमा त उनले हात हल्लाएर विदाई गरेको फलामे तस्विर छ । लाग्छ उनी त्यहाँका कुनै ठूलै महान नेता हुन् । छुट्टै राज्यको मागसहित शसस्त्र द्वन्द्वमा रहेको तामिल विद्रोहीलाई बन्दुककै भरमा परास्त गर्न सक्नु नै उनको एउटा ठूलो उपलब्धी मान्न सकिएला । तर सामान्य मानवअधिकारको कोणबाट हेर्ने हो भने त्यसका समेत थुप्रै अंध्यारो पाटा छन् ।

कोलोम्बोमा चल्ने कतिपय बसहरुका पछाडि समेत त्यस्तै देखियो । उता श्रीलंकामा केही शिलान्यास वा उद्घाटन भयो भने समेत राजपाक्षेको नाम छुट्दो रहेनछ । उनले गरेको शिलान्यास/उद्घाटनमा उनको नाम हुने त भयो नै तर अन्य सरकारी व्यक्तिहरुले गर्नेमा समेत व्यहोराको शुरुमै “राष्ट्रपति महेन्द्रा राजपाक्षेको अवधारणामा आधारित......” भनेर लेखिंदो रहेछ । सानो कुनै विकास निर्माणको काम भयो कि त्यहाँ राजपाक्षेको तस्विर झुण्ड्याइहालिने परिपाटी अचम्मको देखियो जुन स–साना गल्ली छिर्ने बाटोमा समेत राखिएको उनको तस्विरले बताउँथ्यो । त्यसले विदेशी भूमिमा रहंदा समेत स्वदेशी शाही शासनको झल्को श्रीलंका बस्दाभर दिइराख्यो । भ्रमणमा साथै रहेका दीपक पाण्डेले ठट्टा गरिहाल्थे, “प्रचारप्रसारको मामिलामा यिनी त राजा ज्ञानेन्द्र भन्दा पनि कयौं गुणा माहिर रहेछन् ।”

Wednesday, January 18, 2012

नेपाललाई पनि पाठ


A Tamil rebel during civil war 
पूर्वी श्रीलंकाको बाटीकोलाका कथिरगमाथम्बे कृष्णराजले, २८, श्रीलंकाली गृहयुद्धसँगै हुर्किएको पुस्ताको पुस्ताको प्रतिनिधित्व गर्छन् जसले जीवनको कुनैदिन हलुका मन लिएर बाँच्न पाएन । तामिल समुदायका उनले ६ बर्षे उमेरमा पहिलोपटक आफ्नै आँखा अगाडि १६ बर्षका दाजु हत्याको दृश्य देख्नु पर्‍यो । कालान्तरमा त्यही द्वन्द्वको मार खेप्न नसकि परिवारसाथ गाउँबाटै बिस्तापित पनि भए उनी । सन् २००६ उनको लागि अर्को नमज्जाको भइदियो जतिखेर सरकारी पक्षले उनको गाउँमा हवाई हमला गर्दा मुटुरोगी उनका वुवाले समेत हृदयघातले ज्यान गुमाए । आफन्तहरु त कति मरे भन्ने लेखाजोखा नै छैन उनीसँग । जन्मजात द्वन्द्व खेप्नुपर्ने नियती बोकेर आएका उनी भन्छन्, “द्वन्द्वमा को दोषी भन्नेतर्फ अब नफर्कैं, मात्र अब फेरी यस्तो युद्ध कसैले झेल्न नपरोस् ।” 

अल्पसङ्ख्यकहरुलाई देशको मुल प्रवाहमा नल्याउँदा वा उनीहरुको शक्तिलाई कम आँक्दा राज्यले कुन हदसम्मको नराम्रो क्षती व्यहोर्छ भन्ने राम्रो उदहारण हो श्रीलंका । सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएयता त्यहाँ नेपालमा अहिलेजसरी पुर्नसंरचनाका कुराहरु उठेका थिए । जसकै क्रममा सन् १९५६ मा अंग्रेजी भाषालाई बिस्तापित गर्न श्रीलोनमा (श्रीलंकाको त्यसबेलाको नाम) सिंहालीलाई राष्ट्रिय भाषा बनाउने “सिंहाली भाषा कानुन” ल्याइयो जसले झण्डै जम्माजम्मी २९ प्रतिसतको सङ्ख्यामा रहेका तामिल भाषी श्रीलंकाली तामिल, भारतिय तामिल र मोर्स समूदायलाई समेट्न सकेन । तामिलहरुलाई शिक्षा, सरकारी सेवाजस्ता राज्यका सुविधाहरुमा सिंहालीसरह जान “अप्रत्यक्ष बन्देज” लाग्ने गरी ल्याइएको उक्त कानुनलाई तामिलहरुले “सिंहालीमात्रको कानुन” नाम दिए । जसले बेलायती उपनिवेशबाट स्वतन्त्रत बनाएको केही बर्षभित्रै देशलाई अर्को स्वतन्त्रताको लागि भनिएको आन्तरिक द्वन्द्वमा होमायो, छुट्टै तामिल राज्य “तामिल इलम” को माग सहित । सन् १९८३ देखि सन् २००९ सम्म झण्डै ३ दशक चलेको उक्त द्वन्द्वमा झण्डै एक लाखको ज्यान गएको बताइन्छ । त्यसले ४ सय ४३ बर्ष लामो बेलायती उपनिवेशबाट पाएको स्वतन्त्रतासँगै समृद्धिको बाटो निकै दू्रत गति लिएको श्रीलंकालाई पछाडि धकेलेको मात्र छैन धेरै जनताहरुमा अझै युद्धका दर्दनाक र कहालिलाग्दा छापहरु बोकेर बाँच्न विवश पारेको छ । 

Thursday, January 12, 2012

मिसन सगरमाथा


देहरादुनका एक नेपालीभाषी जुम्ल्याहा दिदीबहिनी सन् २०१२ को अन्त्यमा सगरमाथा चडेर पहिलो जुम्ल्याहा जोडिको कीर्तिमान रच्दैछन् । त्यहीँबाट उनीहरुले विश्वभरका नेपाली भाषीहरुबिचको एकताको सन्देस दिनेछन्, आफ्नै कथालाई उदहारण दिएर
.......................
सन् २०१० को डिसेम्बरमा एक हप्ता मात्र हो नुन्सी मल्लिक र तासी मल्लिक एक्लै भएको । नत्र यी १९ बर्षे जुम्ल्याहा जोडि हालसम्म छुट्टिएका छैनन् । भारतको उत्तराखण्ड राज्यस्थित देहरादुन घर भएका यी नेपाली भाषी जोडि जसरी आपसमा बाँधिएर बसेका छन्, विश्वभर छरिएर रहेका नेपाली भाषीहरुबिच पनि त्यस्तै हुनुपर्ने सन्देश दिन चहान्छन् । त्यो पनि सगरमाथाको चुचुरोसम्म सँगै गएर । 

बुवा भारतिय आर्मी भएका कारण उनीहरु भारतका विभिन्न कुनाकाप्चा घुमेर पढ्न पाए जसले अन्तत: यी जुम्ल्याहाको सोख नै भ्रमण गराएको थियो । “नयाँ ठाउँ पुग्नु नै हाम्रा लागि कलेज पुगेजस्तो हो”, दुवैले एकैस्वरमा भने, “किनकी हामी एड्वेन्चरबाट सिक्न चहान्छौं ।” नुन्सी र तासीको जीवनको विशेषता नै उनीहरुले भनेको उपल्ला दुई वाक्यमा छ । सगरमाथा मिसन पनि त्यसकै एउटा नयाँ संस्करणको रुपमा जन्मिएको हो । सन् २०१२ को अन्त्यमा गर्ने भनिएको उनीहरुको महत्वकांक्षी लक्ष्यको पछाडि २ कारण जोडिएका छन्– सगरमाथा चढ्ने पहिलो जुम्ल्याहाको कीर्तिमान राख्ने र नेपाली भाषीहरुबिच विश्वव्यापी एकताको सन्देश फैलाउने । दोस्रो लक्ष्य राख्नुको कारण बताए, “विश्वका विभिन्न राष्ट्रियता बोकेका भए नि नेपाली भन्नासाथ हामी सबैले ति सीमालाई बिर्सेर आफ्नो रगतमा गोर्खाली सम्झन्छौं । जुन हाम्रो ठूलो शक्ति र पहिचान हो ।” 

Wednesday, January 11, 2012

मातराको मज्जा

'दक्षिण एसियाली परिवेशमा द्वन्द्वको नजिकबाट अध्ययन गर्ने भए श्रीलंका स्वर्णभूमि हो।' त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकले भनेको यस वाक्यले श्रीलंका पुग्नुअघि नै राजेन्द्र सेन्चुरी, २५, लाई अझ बढी उत्सुक बनाएको थियो। श्रीलंकाको दक्षिणी छेउको तटीय सहर मातरा पुगेकै दिन त्यहाँको शान्त वातावरण र समुन्द्री किनारा देखेर सेन्चुरी छक्कै परे। उनमा कौतहूल थियो, शान्तिपूर्ण वातावरणको समाज कत्तिको शान्त होला ? रुहाना विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकासमा स्नातकोत्तर पढ्न पुगेका सेन्चुरीले विस्तारै यहाँको अध्ययन/अध्यापन शैली, तरिका र समाजका बारेमा भेउ पाउन थाले। 


सन् २००९ मा अन्त्य भएको झन्डै तीन दशक लामो जातीय द्वन्द्वपछि पनि त्यहाँका मानिसमा अझै आपसी द्वन्द्वको अवशेष भेटे उनले। विश्वविद्यालयमा पढ्न आएको एउटा तामिल साथीलाई सिंहालीको बहुसंख्या रहेको मातारा सहरमा डेरा खोज्न निकै सास्ती खेप्नुपरेछ। "साथीको सास्तीमा हामी नेपाली विद्यार्थीले सहयोग गर्‍यौँ," सेन्चुरी भन्छन्, "अन्ततः नेपालीहरूको रोहवरमा मात्र यहीँको नागरकि रहेको त्यो साथीलाई डेराको बन्दोबस्त भयो।"