Sunday, July 24, 2011

त्यो झोँछे, यो झोँछे; त्यो ठमेल, यो ठमेल

समयसँगै बदलिए यी पर्यटकप्रिय ठाउँहरू

न्युरोड हुँदै वसन्तपुर दरबार छिरेपछि दक्षिणपट्टी लाग्ने पहिलो गल्ली झोँछेमा अहिले त्यति धेरै चहलपहल देखिँदैन। अझ महानगरपालिकाले गल्लीको मुखमै काँडेतारले छेकेको छ। त्यसमाथि बाटो नै छेकिने गरी मोटरसाइकल पार्क गरिँदा मानिसहरूलाई 'त्यता पनि घुम्ने ठाउँ छ र ?' भन्ने लाग्न सक्छ। अव्यवस्था, साँघुरो गल्ली र चमकदमकपूर्ण दृश्य-परिदृश्य उभार नदेखिने झोँछे यस्तो अभागी स्थान हो, जसले बितेको ४० वर्षमा आफ्नो साख र सौन्दर्य गुमाउनु पर्‍यो।

कुनै बेला 'फ्रिक स्ट्रिट'का नामले चिनिने गल्ली त्यही हो। उतिबेला झोँछे पर्यटकीय दृष्टिले नेपालकै व्यस्त ठाउँ थियो। सन् '६० को दशकको अन्त्यतिर नेपाल बाँकी विश्वसँग जोडिने क्रम सुरु भएपछि विस्तारै बाह्य पर्यटकहरू भित्रिन सुरु गरेका थिए। नेपालमा त परै जाओस्, राजधानी काठमाडौँमा समेत विदेशी पर्यटक राख्ने पूर्वाधार तयार भइसकेका थिएनन्। झोँछे काठमाडौँको अलिक व्यवस्थित ठाउँ भएकाले पर्यटकहरूको आँखामा पर्‍यो। 

"ठमेल, दरबारमार्गजस्ता अहिलेका चर्चित पर्यटकीय ठाउँहरू त त्यसबेला यस्ता कहाँ थिए र ?," झोँछेस्थित सेन्चुरी लजका प्रमुख सुमन श्रेष्ठ, ५८, भन्छन्, "दरबार स्क्वायर वरपरको मरुहिटी, लगनचोक, झोँछे त्यसबेलाका मुख्य ठाउँ हुन्।" अरूको तुलनामा झोँछेले केही बढी पूर्वाधार विकास गरेको हुनाले यही नै चर्चित भयो। सुमन स्वयंले सन् १९७२ मा झोँछेमा लज खोलेका थिए, जतिखेर नेपालमा हिप्पी पर्यटन उत्कर्षमा थियो। पश्चिमा जगत्मा बढिरहेको पुँजीवादी अर्थव्यवस्थाबाट विरक्तिएर धेरै युवा खुसी खोज्ने बहानामा नेपाल छिरेका हुन्थे। कतिपय त अमेरिका-भियतनाम युद्धविरोधीका रूपमा 'नो वार' अभियानका साथ भित्रिन्थे।

खुसी -ह्याप्पी) खोज्ने बहानामा आएका युरोपियन र अमेरिकीहरूलाई 'हिप्पी' भनेर बोलाउन थालिएको थियो। हिप्पीहरू स्वतन्त्र जीवनशैली रुचाउँथे। लटाधारी, च्यात्तिएका लुगाहरू, जुत्तै नलगाई हिँड्ने, संगीतका पारखी र गाँजा तान्न बढी रुचाउने स्वभावका हुन्थे, हिप्पीहरू। "त्यतिखेर त अहिले बजारमा तरकारी वा किराना पसलमा चकलेट बेचेजसरी गाँजाको व्यापार हुन्थ्यो," श्रेष्ठ सम्झन्छन्, "तर, विस्तारै गाँजाबाट हिरोइन, कोब्रा बाइटजस्ता नराम्रा विकृतिहरू फैलन थालेपछि केही समस्याहरू देखा परेका हुन्।" नत्र त्यसबेलाका पर्यटकहरू हिप्पी नै भए पनि अरूलाई त्यसरी दु:ख नै दिने नियतका नभएको उनको अनुभव छ। 




हनुमानढोका आसपासमै अधिकांश सुटिङ् भएको सन् १९७१ को बलिउड चलचित्र हरे कृष्ण हरे राममा पनि हिप्पीज्म र सहजै गाँजा व्यापार हुने देखाइएको छ। हिप्पीहरू कोही पैसावाल पनि हुन्थे त कोही नेपाल सस्तो ठाउँ भएकाले घुम्न आएका हुन्थे। उनीहरू प्र्fकंदा आफूले ल्याएका सामानहरू सस्तोमै बेचेर जान्थे। नेपालको भिसा शुल्क त्यसबेला कम थियो, जसले गर्दा पर्यटकहरू लामो समयसम्म बस्थे। थापा सम्झन्छन्, "मेरोमा कति हिप्पीहरू एक वर्षसम्म पनि बसेका छन्।" चार/पाँच महिना बस्ने त धेरै हुन्थे। त्यसबेला काठमाडौँमा सबैभन्दा बढी होटलहरू झोँछेमै थिए। अहिले धेरै होटलहरू बन्द भइसकेका छन्। पर्यटकहरूलाई कोठामा धान्न नसकेर पिँडीमै समेत सुताउनुपर्ने अवस्था त्यसबेला झोँछेमा थियो।

अमेरिका, बेलायत, फ्रान्स, हल्यान्ड, जर्मनी र अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी हुन्थ्यो। उनीहरू झोँछेको गल्लीमा खुलमखुला गाँजा तान्दै हिँड्थे, जसले गर्दा झोँछेको मूल बाटोलाई 'फ्रिक 
 स्ट्रिट' नामकरण गरियो। नेपालसम्बन्धी लेखिएका धेरै पुराना किताबमा यसको उल्लेख पाइन्छ। झोँछेको यो गल्ली अझै पनि विश्वभर चर्चित छ। 

त्यसबेला हिप्पीहरू सस्तोमा विश्व घुम्थे। उनीहरू दायाँ हात वा त्यसको बूढी औँला देखाएर लिफ्ट माग्थे, सस्तो सार्वजनिक गाडी वा ट्रेनमा यात्रा गर्थे। पूर्वी युरोपबाट टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै काठमाडौँसम्म आइपुग्थेउनीहरू । बि्रटिस मोडलको 'डबलडेकर' बस त्यसैकारण काठमाडौँसम्म आइपुगेको थियो। जसको यात्रा लन्डनबाट भएर काठमाडौँमा अन्त्य हुन्थ्यो।

सन् १९६० तिरबाट सुरु भएको हिप्पीको लहर १९७० को मध्यसम्ममा हराएर गयो। नेपालीहरूलाई समेत असर गर्‍यो भनेर राजा वीरेन्द्रले हिप्पीहरूलाई प्रोत्साहन नगर्ने नीति सार्वजनिक गरे। काठमाडौँमा उनीहरूलाई पहिले जसरी लामो कपाल पालेर हिँड्न र खुला रूपमा गाँजा खान प्रतिबन्ध लगाइयो। तर, पर्यटन व्यवसायी कर्ण शाक्य हिप्पी टुरिजमको अन्त्य हुनुलाई मात्र सरकारी नीतिको प्रभावकारतिा ठान्दैनन्। भन्छन्, "कुनै बानीबेहोरासँग जोडिएर आउने पर्यटनको प्रकृति लामो समयसम्म टिक्न सक्दैन।"

शाक्य झोँछेलाई ठमेलले विस्थापित गरेको भन्ने कुरासँग सहमत छैनन्। "त्यो हिप्पी टुरिजम उर्लेर आएको व्यवसाय थियो, जुन स्वभावैले लामो समय टिक्ने कुरै हुँदैन," उनी थप्छन्, "तर, दिगो पर्यटन त प्रकृतिमा आधारति रहेर हुने पर्यटन हो। जसको सुरुवात ठमेलले गरेको थियो।" नेपालमा प्राकृतिक पर्यटनको विस्तार गर्न ठमेललाई आधार मानेर जंगल सफारी, ट्रेकिङ् र हिमाल चढ्नेजस्ता साहसिक पर्यटनको सुरुवात गरिएको थियो। त्यससँगै नेपाल आउने पर्यटकहरू काठमाडौँ बाहिर पनि घुम्न जान थाले, जसले नेपालका पर्यटकीय गन्तव्यलाई फराकिलो पार्दै लग्यो। त्यसैले शाक्य झोंछेको लोकपि्रयता ठमेलले विस्थापित गरेर भन्दा पनि पयर्टनको बदलिँदो र विकसित रूपका कारण झोँछे हराउँदै गएको ठान्छन्। एक किलोमिटर क्षेत्रभित्र पर्यटकीय सेवामूलक होटल, पसल र एजेन्सीहरू जति ठमेलमा छन्, त्यसरी विश्वका कमै ठाउँमा पाइन्छन्।

अहिले ठमेलमा दुई सय जति गेस्टहाउस, १ सय ५० को संख्यामा रेस्टुराँ र दुई सयभन्दा बढी ट्राभल एन्ड ट्रेकिङ् एजेन्सीहरू छन्। दैनिक ३० हजार व्यक्तिहरू ठमेलको पर्यटन उद्योगमा प्रत्यक्ष रूपमा काम गर्छन्। "ठमेल यसरी विकास हुनुमा यसले पर्यटन उद्योगको मागलाई सम्बोधन गर्दै लैजानु हो," ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ, ४८, भन्छन्, "त्यसबाहेक यो नयाँ ठाउँ भएको हुँदा पर्याप्त फैलने अवसर पायो, जुन झोँछेमा सम्भव थिएन।"

तर, अहिलेको ठमेल निर्माणमा झोँछेको योगदान देख्छन्, साहित्यकार तथा लेखक अभि सुवेदी। भन्छन्, "ठमेलको सुरुवात हुनुमा पनि हिप्पीहरूकै योगदान छ। उनीहरू स्वयम्भू जान ठमेलकै बाटो प्रयोग गर्थे। त्यहाँ फूलमुन नाइट मनाउँथे। त्यसरी ठमेल विस्तारै विकास भएको थियो।"

अहिले नेपाल आउने अधिकांश पर्यटक कम्तीमा एकपटक ठमेल पुगेकै हुन्छन्। तेजेन्द्रनाथ श्रेष्ठ थप्छन्, "यो पर्यटकका लागि नेपाल छिर्ने ढोका भएको छ र सारा नेपालको पर्यटन उद्योगलाई धेरै हदसम्म ठमेलले जोडेको पनि छ।" तर, ठमेलको विकाससँगै यसमा केही विकृतिहरू पनि नदेखिएका होइनन्। ठमेल 'सेक्स टुरिजम'को अखडा बनिरहेको समेत भन्ने गरिन्छ। अध्यक्ष श्रेष्ठ पनि यस कुरासँग पूर्ण रूपले सहमत भने छैनन्। उनको भनाइ छ, "जब व्यवसाय ठूलो हुँदै जान्छ, त्यसमा धेरथोर समस्याहरू देखिनु सामान्य कुरा हो।" विकृतिलाई पैसासँग मात्र जोडेर अगाडि बढ्दै गएको भए ठमेल पनि धेरै अघि झोँछेजस्तै हराएर जान सक्थ्यो।

यद्यपि, झोंछेलाई विगतका नराम्रा कुराहरूसँग जोडेर अझै सोही कोणबाट मात्र हेर्न नहुने ठान्छन् झोँछे सामुदायिक टोल सुधार समितिका सचिव गणपतिलाल श्रेष्ठ। भन्छन्, "नेपालको पर्यटन उद्योगको यो एउटा जिउँदो इतिहास र वर्तमान पनि हो।" विगतमा परेको नराम्रो छाप हटाउन झोँछेमा अहिले श्रेष्ठजस्ता युवा गाँजा नियन्त्रणको अभियानमा छन्। भन्छन्, "त्यसैको छाप दिन पनि हामीले झोँछेको यो फ्रिक स्ट्रिटलाई ओल्ड फ्रिक स्िट्रट नामकरण गरेका छौँ।"

त्यो ठमेल

जब झोँछे केन्द्रमा थियो, त्यतिबेला ठमेल दुर्गम टोल थियो । एक रोपनी जग्गा छ/सात हजारमै पाइन्थ्यो मेरो घरलाई कसरी लज बनाउने र त्यसलाई कसरी विकास गर्ने भन्ने योजना मेरो दिमागमा जहिल्यै पनि घुमिरहन्थ्यो । आखिर चञ्चले मन न हो । तर, त्यस्तो सुनसान ठाउँमा कहाँबाट पर्यटक आउनु ?

ठमेलका बाटाघाटा सुनसान लाग्थे । हाम्रो घरभित्र पस्ने बाटोको दायाँ-बायाँ खुला शौचालयजस्तो थियो । ठमेलका अधिकांश घरहरूमा शौचालयको व्यवस्था थिएन । साँझ पर्नासाथ मानिसहरू बाटोमा हिँडडुल गर्दैनथे ।

काठमाडौँ गेस्टहाउस खोलेको एक वर्षसम्म त चलेन नै । झाँेछेमा कोठा नपाएका अलिअलि हिप्पीहरू मात्र आउँथे । एयरपोर्टमा पर्यटकहरू लिन पठाउँदा पनि तिनै हिप्पीहरू नै आउँथे । म यसमा सधैँ चिन्तित रहन्थेँ । काठमाडौँ गेस्टहाउसलाई एउटा स्तरीय होटलका रूपमा सञ्चालन गर्न हिप्पीहरूभन्दा पनि बौद्धिक पर्यटकहरूको आवश्यकता थियो । 
                                                                                                               (कर्ण शाक्यको पुस्तक सोचबाट)

त्यो झोँछे 

नेपालको पर्यटनका लागि झोँछेको भविष्य धेरै छोटो थियो । त्यहाँका परम्परागत घरमा भेनिस्ताले छेकबार गरेका कोठाहरूमा लामका लाम खाटहरू राखी पर्यटकहरू फलामका काँटीझैँ सुत्थे ।

झोँछेबाट विष्णुमति झर्दा त्यसबेला गल्लीगल्लीमा सुँगुरहरू प्रशस्त हुन्थे र गल्लीको नाम नै 'पिग एल्ली' राखिएको हुन्थ्यो । त्यो वातावरण केही हदसम्म आफ्नै किसिमको थियो, अलि रमाइलो र अलिक भिन्न खालको पनि । पाश्चात्य जीवनशैलीब्ााट वाक्क भई लक्ष्यहीन भई भौँतारिएका युवकयुवतीका लागि त्यो ठाउँ वरदानजस्तै भयो ।

आफ्नो 'मनको शान्ति' ध्यान र योगको साधनाबाट प्राप्त गर्न नसकेपछि गाँजा र भाङको शरणमा पुगेका यी हिप्पीहरू झन्डै दस वर्षसम्म झाँेछेको वातावरणमै रमाए। 
                                                                                                                                                                                                                            (कर्ण शाक्यको पुस्तक सोचबाट)

This appeared in Print at NEPAL Magazine dated 25th of July, 2011. Click here to read at ekantipur.com


No comments:

Post a Comment