प्यारी भाञ्जी,
तिमी आज १ बर्षकी भयौ । जन्मदिनको धेरैधेरै शुभकामना । अहिले त तिमी लेख्न, पढ्न जान्ने भइसकेकी छैनौ । तिमीले बोल्न जानेको पनि पापा, मामा, ममी, मात्रै हो । तर तिमीले भब्य सफलतापूर्वक पार गरेको यो १ बर्षले तिम्रो पूरा जीवनको संकेत गरिरहेको मैले देखिरहेको छु । तिमी पढ्न जान्ने भएपछि यो पत्र पढ्नेछ्यौ, आफूलाई मामाको आँखाबाट पनि चिन्नेछ्यौ र एउटा असल र सफल व्यक्ति हुन सदा लालायित हुनेछ्यौ ।
तिमी गतबर्ष जन्मदाँ तिम्रो बुवा अधिकृत पास हुनु भएको दुई दिन मात्र भएको थियो । अरुहरुले तिम्रो बुवालाई जिस्क्याउँथे, ‘बाबा अधिकृत नभइकन म जन्मिन्न भनेर नानी आमाको कोखभित्रै कुरेर बसेकी रैछिन्, अब खुसीसाथ जन्मिन्छिन् ।’ भयो पनि त्यस्तै तिमी जन्मिएपछि घरमा अर्को खुसी थपियो । तिम्री आमा तिम्लाई जन्माउनु अघि निकै आत्तिरहेकी थिइन्, हामीहरु अस्पतालको प्रशुतिगृह बाहिर एकटकले भगवानलाई पुकारीरहेका थियौं । तिम्रो घर र मामाघरबाट तारम्तार फोनहरु आइरहेका थिए । तिमी जन्मिएपछि सबैले लामो शास फेरे । तिम्री आमाले पुर्नजन्म पाएको अनुभव गरिन् । अथाह पीडाका बावजुत उनी निकैबेर तिम्लाई छातीमा राखेर सुम्सुम्याइन् । भाञ्जी, तिम्लाई बताउँ, तिम्री आमा त्यतिधेरै खुसी भएको मैले त्यसअघि देखेकै थिइन ।
तिमी सानैदेखि बिलक्षण र बिशेष थियौ । बिलक्षण कोही बिशेष आविस्कार गर्दैमा मात्र मापन गरिँदैन । सच्चा बिलक्षणता उसको दिनचर्याले बोलिरहेको हुन्छ । तिमी सानैदेखि त्यस्तै थियौ । तिमी सानैदेखि परिस्थिति आत्मासाथ गथ्र्यौ, जति भोकाउँदा पनि ‘एकैछिन पर्ख ल’ भन्दा धैर्यतासाथ हाँस्दै कुरेर बस्थ्यौ, एकोहोरो रोइरहने तिम्रो स्वभाव झनै थिएन । तिम्रो अर्को विशेषता सबैखाले मानिससँग सजिलै झ्याम्मिन सक्नु पनि हो । मलाई अझै याद छ, गाडिमा कतै यात्रा गर्दा छेवैमा बस्ने अन्य यात्रीहरु तिमीबाट निकै प्रभावित हुन्थे ।
तिमी निस्फिक्री उनीहरुसँग खेल्थ्यौ । त्यसैले बिछोडिँदा धेरैका आँखा तिम्लाई हेरेर रसाउँथे । सबैले तिम्लाई केही न केही किनिदिन्थे त कसैले तिम्रो हातमा पैसा राखिदिन्थे । तिमीसँग त्यस्तो एउटा चुम्मकिय शक्ति छ । तिमीसँग झण्डै एक महिना बिताएपछि घर फर्कँदा तिम्री जिजुआमालाई निकै गाह«ो भएको थियो । भाञ्जी, तिमीलाई बताउँ, तिम्री मावली जिजुआमा निकै ‘बोल्ड’ महिला हुनुहुन्छ । तिमी ममी र हामीहरु हाम्री ममीभन्दा बढि उनै जिजुआमाको समिपमा रहेर हुर्कियौँ । उहाँले कत्ति पढ्नुभएको छैन । तर अनुभव र दुःख–सुखसँग पैँठेजोरी खेल्दा निकै बलियो महिला हुनुभएको हो । सितीमिती वहाँ रोहेको मैले देखेकै थिइन, जुन तिम्लाई काठमाण्डौंमै छाडेर जाँदा देखेँ । म आजकल त्यही भएर तिम्रो घरमा लामो समय बस्न मन लाग्दैन, तिमीसँग रिसाएर होइन कि लामो समय सँगै बसेर फेरी मेरै घर फर्कँदा तिम्रो सम्झनाले झनै पिरोल्छ ।
मैले अघि नै भनिसकेँ, तिमी सानैदेखि ‘मेचुअर’ थियौ । हुन पनि तिम्रो दाँतहरु पाँच महिना नपुग्दै आइसकेका थिए । अहिले त तिम्रा दाँतहरु धेरै नै आइसकेका छन् । आफ्नो शरीर धान्नै नसक्ने अवस्थामै पनि तिमी चारपाउ टेकेर हिड्थ्यौं । सात महिनाकै हाराहरीमा तिमी भित्ता समातेर घरभित्र एउटा कोठाबाट अर्कोमा गइरहन्थ्यौं । तिम्लाई ‘झोलुङ्गे’ त २/३ महिनाभन्दा बढि त चाहिँदै चाहिएन । र तिम्लाई १ महिनाअघि देख्दा त तिमी हिँडिरहेकी थियौ । तिमी बाबासँगै बिहान दुधपसल पुगेर दुध ल्याउन थालिछौ । दुवै हातमा केही न केही बोकेर हिँड्न थालिछौ । तर तिमी जब लड्छ्यौ, तिम्ले आफ्ना दुवै हातमा बोकेका सामानहरु छाड्दिनौ, जसले गर्दा उठ्न तिम्लाई गाह«ो पर्दौ रहेछ । तिम्रा यस्ता धेरै स्वभावहरु निकै प्यारा छन् ।
तिमी अब बिस्तारै ठूली हुनेछ्यौ । तिमी चाहेरै पनि अहिलेजस्तो रमाइलो जीवन सधैभरी आत्मासाथ गर्न पाउनेछैन्यौ । यो प्रकृतिको सत्य हो । संसार जटिल छ, लामो यात्रा गर्न चहानेहरुले झनै बढि असहजता झेल्नुपर्छ । तिमी त्यसैले त्यस्ता अप्ठ्यारालाई पनि जीवनकै एउटा पाटोको रुपमा हेर्नेछ्यौ । तिमी खुसीमा मात्तिने छैन्यौ न त दुःखमा आत्तिले नै छ्यौ किनकी दुःख, सुख कुनैपनि हाम्रा लागि स्थायी होइनन् । अझ तिमी साधारण मान्छे हुँदै होइनौ त्यसैले तिमीले देख्ने सपनाहरु ठूला हुनुपर्छ ।
आज साँझ तिम्रो जन्मदिन भब्य तरिकाले मनाउनु पर्छ । मैले तिम्लाई के पो गिफ्ट दिउँ, अझै निर्णय गरिसकेको छैन । म आज दिउसो बजारमा एकैछिन डुलेर तिम्लाई रमाइलो लाग्ने उपहार किनेर आउनेछु । तिम्रो बर्थडे मज्जाले मनाउनुपर्छ । ह्याप्पी बर्थडे प्रशिद्धि ।
Chick Here to join the facebook fan page of Prasiddhi Bhusal
No comments:
Post a Comment