Saturday, March 3, 2012

उत्खनन्, बौद्ध पुन्यभूमिको

पाल्पाका गर्भनर खड्गशमशेरले ब्रिट्रीस इण्डियासँग नेपालमा बौद्ध धर्मसँग जोडिएका तथ्यहरु अन्वेषण गर्ने प्रस्ताव राखेपछि सन् १८९६ मा पहिलो पटक त्यसतर्फबाट जर्मन पुरातत्वविद् डा अलिस फुरर नेपाल आएका थिए । त्यसबेलै पत्ता लागेको विभिन्न ऐतिहासिक तथ्यहरु सहितको अशोका पिलरले नै लुम्बिनीमा मानिसहरुको आकर्षण एक्कासी बढाएको थियो । त्यसरी फुररले निकै महत्वपूर्ण प्राचिन तथ्य भेटेपछि ब्रिटीस सरकारले सन् १८९९ मै अर्का पुरातत्वविद् पिसी मुखर्जीलाई नेपाल पठायो जसले लुम्बिनी, कपिलबस्तु र आसपासका धार्मीक महत्वका क्षेत्रमा पहिलो अध्ययन गरेका थिए ।

मायादेवि मन्दिर र बुद्धका त्यसबेलाका थुप्रै प्राचिन प्रमाणहरु मुखर्जीकै अध्ययन टोलिले भेटाएको थियो । पछि सन् १९३२ देखि १९३९ सम्म खड्ग समशेरले नै लुम्बिनीको ऐतिहाँसिकतालाई थप पुष्ठि गर्ने उद्देश्यले ‘विस्तृत उत्खनन’ त गरे तर त्यो  वैज्ञानिक तरिकासहितको थिएन जसले गर्दा लुम्बिनी क्षेत्रमा भद्रगोल तरिकाले खन्दै शिलालेख÷मूर्ति र अन्य धार्मीक महत्वका सामाग्री  खोज्नतर्फ मात्र लागियो । त्यस उत्खननले जमिनमुनिको भूबनोटबाटै पत्ता लगाउन सकिने कयौं महत्वपूर्ण तथ्यहरुको नष्ट गरेको थियो । जसको असर अहिलेसम्म अध्ययनकर्ताहरु झेल्नेगर्छन् । त्यसरी खड्गसमशेरको पालादेखि शुरु भएको लुम्बिनीको अन्वेषण र विकासको गतिले अहिले निकै दू्रत गति पकडिसकेको छ । तर, बुद्धको जन्मस्थल लुम्बिनी वरपर बुद्धधर्म र उनको जीवनकालसँग जोडिएका थुप्रै धार्मीकस्थलहरु छन् जसको अवस्था कतै जीर्ण, कतै अपुष्ठ तथ्य सहितको त कतै महत्व बोकिकन पनि प्रचारपसारको अभाव झेलिराखेको अवस्थामा छन् । नेपालमा मुख्यतः गौतम बुद्धका तीन महत्वपूर्ण स्थलहरु छन् । पहिलो उनी जन्मेको लुम्बिनी, दोस्रो उनले आफ्नो सकृय २९ बर्ष बिताएको कपिलबस्तु र तेस्रो उनको मामाघर तथा ससुराली कोलिय राज्य । उतीबेला यी क्षेत्रहरु दुई राज्य अन्तरगत पर्दथे । ‘गौतम बुद्धका बुवा शुद्धोधन शाक्य गणराज्य अन्तरगतको कपिलबस्तुका राजा थिए भने त्यसपूर्व दानव नदि (जो तिनाउ नदिभन्दा थोरै पश्चिमतर्फ छ) पारी र नारायणी नदिभन्दा पश्चिमपट्टि कोलिय गणराज्य अन्तरगतको दुई राज्यहरु क्रमशः देवदह र रामग्राम उल्लेख छ’, बरिष्ठ पुरातत्वविद् तथा बुद्धअध्ययनकर्ता तारानन्द मिश्र बताउँछन् ।

















पहिलो चरणमा कन्यामाईमा सकिएको उत्खननले भने बुद्धको जीवनकालकै प्रमाणहरु दिन भने सकेन । तर त्यहाँ दोस्रो देखि तेस्रो ईंसंबिचका पुरातात्विक तथा बुद्ध धर्मसँग जोडिएका महत्वपूर्ण बस्तुहरु फेला परेका छन् । दुई भागमा विभाजन गरेर गरिएको उक्त उत्खनन्मा एकातर्फ ढुङ्गा तथा अर्कोतर्फ ईट्टाबाट बनेका पर्खालहरु भेटिएका छन् तर स्थानियहरुले ती अधिकांशलाई विसं २०३५ सालमै खनेर मन्दिर बनाउन प्रयोग गरेकै कारण अहिलेको उत्खनन्मा केही तथ्य तलमाथि परेको हुनसक्ने ठान्छन् । ‘तर, तीनवटा साइट अझै उत्खनन हुन बाँकी रहेकोले त्यसबाट अपेक्षित तथ्यप्रमाणहरु भेटिन सक्छन्’, उत्खननमा संलग्न पुरातत्व विभाग अन्तरगतको राष्ट्रिय अभिलेखालय प्रमुख प्रकाश दर्नालले भने, ‘नत्र थप सम्भावित क्षेत्रहरु पहिचान गर्दै उत्खनन गर्नुपर्ने हुन्छ ।’

अहिले स्थानियहरु कन्यामाइलाईे गौतब बुद्धकी कान्छीआमा प्रजापति गौतमीको जन्मस्थल मानेर मन्दिर बनाई पूजा गरिराखेका छन् । सिद्धार्थ गौतम सानो छंदै आफ्नी आमाको निधन भएपछि कान्छीआमाकै स्याहार–सुसारमा गौतम बुद्ध हुर्किएका कारण उनलाई समेत बौद्धमार्गीहरु निकै श्रद्धाका साथ हेर्छन् । कन्यामाईको मन्दिरमा अहिले एउटा पद्यमपाणी लोकेस्वर र अन्य दुई महिलाको मूर्ति फुटेको अवस्थामा राखिएका छन् । अब दोस्रो चरणमा वैरिमाई मन्दिर परिसरको उत्खनन गरिनेछ जहाँ मायादेवि र लोकेस्वरको मूर्ति रहेको छ । वैरीमाईको मन्दिर कन्यामाईभन्दा दुई सय मिटर मात्र दक्षिणमा छ । त्यसको १ सय ६० मिटर उत्तरपट्टि एउटा प्रचिन इनार समेत भेटियो जुन आजकल भेटिने इनारभन्दा ठूलो थियो जसको डेढ फिट मात्र उत्खनन गर्दा समेत माटोबाट बनेका भाँडाकुँडाहरु, राता भाँडाका टुक्राहरु र मुगाका टुक्राहरु भेटिए । तर कन्यामाई उत्खननले दिएको सुन्दर पक्ष भने त्यहाँ भेटिएको बुद्धको टाउकोको भाग नभएको भुस्पर्स अवस्थाको प्रस्तर मूर्ति, प्रस्तरकै टाउको मात्र भएको पुरुष मूर्ति र अर्को पहिचान गरिनसकिएको पुरुषकै प्रस्तर मूर्ति हुन् । र, त्यहाँ एउटा शिलालेख समेत भेटिएको छ जसमा ३ अंकको एउटा मिति उल्लेख छ । उत्खननकर्ताहरुले भेटाएको उक्त शिलालेखमा पछिल्ला दुई अंक ५ र ७ छन् भने अघिल्लो सजिलै नबुझिनेगरी नष्ट भएकोले अहिले अध्ययनका लागि लगिएको छ । ‘हाम्रो उत्खनन अझ बढि गहिराईसम्म गयो भने यसबाटै सोचेअनुसारका नतिजाहरु समेत आउन सक्छन’, लुम्बिनी बिकास कोषका अनुसन्धान अधिकृत वसन्त विंडारी भन्छन्, ‘अहिले तिथिमिति खुलेका प्रमाणहरु नभेटिएकाले तत्काल केही भनिहाल्ने अवस्था छैन तर धर्मग्रन्थमा उल्लेख रहेझैं कोलिय राज्यको यो क्षेत्र धार्मीक रुपमा पवित्रभूमि हो भन्नेमा चाहीँ कुनै दुविधा छैन ।’ वैरीमाईपछि भग्नावसेसहरुको थुप्रो भएको भवानीपुरमा उत्खनन टोली भिड्नेछ भने त्यसपछि खयरवनडाँडामा, जहाँ जंगलबिच भईकन पनि त्यस्तै भग्नावशेसहरु भेटिएका छन् ।

तर एकथरी अध्ययनकर्ताहरु रामग्रामभन्दा उत्तरपश्चिममा रहेको पण्डितपुरलाई समेत कोलिय राज्यको राजधानी देवदह हुनसक्ने लख काट्छन् जहाँ समेत केहीअघि परिक्षण उत्खनन्बाट बुद्धधर्मसँग सम्बन्धित केही राम्रा तथ्य फेला परिएको थियो । तर त्यो निकै सानो क्षेत्रफल लिएर गरिने परिक्षण उत्खनन् मात्र भएकोले वास्तवमै के हो भनेर जान्न थप लगानी तथा मिहिनेत गर्नुपर्ने राष्ट्रिय अभिलेखालय प्रमुख दर्नाल बताउँछन्, ‘तर अहिले सम्भावना देखिएका ठाउँलाई विशेष संरक्षण गरिहाल्नुपर्छ, नत्र स्थानिय अतिक्रमण भएमा त्यसबाट महत्वपर्ण तथ्यहरु हराउन सक्छन् ।’ रामग्राम नजिकै कतै त्यसबेला बुद्धको निकै प्रभाव रहेको मध्येको एक शहर ‘लानमो’ पनि थियो भन्ने बुद्धग्रन्थमा बताइएको कारण पनि ‘पंडितपुर’ देवदह कोलियको राजधानी नभए पनि ग्रन्थमा उल्लेख महत्वपूर्ण शहर लानमो समेत हुनसक्छ । त्यसैले पनि पंडितपुरको उत्खनन गर्नुपर्ने अपरिहार्यता बढिराखेको छ ।

तर, रामग्राम स्वयं समेत ऐतिहाँसिक तथा धार्मीक रुपमा अति विशेष महत्व राख्ने ठाउँ भइकन पनि दुरावस्था झेलिराखेको छ । नवलपरासी जिल्लाको सदरमुकाम परासीबाट ३ किलोमिटर दक्षिणमा एउटा स्तुप छ जुन रामग्राम हो । बुद्धले कुशिनगरमा देहत्याग गरेपछि उनका अस्तुधातु कलश लिन आउनेमा बुद्धका मावली ‘कोलिय वंशी’ हरु पनि थिए । त्यसबेला ८ ठाउँका लागि अस्तिधातुको भागबण्डा गरिएकोमा पाउनेमध्ये ‘रामग्राम कोलिय’ समेत एक थियो जसलाई नै राखेर रामग्राम स्तुप निर्माण गरिएको थियो । पछि सम्राट अशोकले ती आठ ठाउँका अस्तुलाई झिकेर असी हजार ठाउँमा लगेर स्तुपहरु बनाउने भनेर लागे । उनी त्यसैका क्रममा रामग्राममा समेत आएका थिए । तर त्यहाका नागवंशीहरुले उक्त अस्तु झिक्न दिएनन् र उनी रित्तो हात फर्किए । तर अन्य सात ठाउँबाट भने उनले अस्तुहरु निकाल्न सफल भए । त्यसैले पनि रामग्रामलाई बुद्धको मौलिक अस्तु भएको एकमात्र ठाउँको रुपमा बुझिन्छ ।

सन् १९९७ र सन् १९९९ मा गरेर दुई फरकफरक समयमा बेलायती पुरातत्वविद्हरु रामग्राम आएर भूभौतिकी अध्ययन गरेपछि मात्र यसको वैज्ञानिक अध्ययन शुरु भएको हो । यद्यपि रामग्राम पत्ता लागेको भने लुम्बिनीभन्दा अगाडि नै सन् १८८० मा हो । त्यसबेलाका एकजना बौद्धयात्री तथा अध्ययनकर्ता डा. ह्वेले समेत आफ्लो एउटा पुस्तकमा स्थानियहरुले राम्रोसँग संरक्षण गर्ने गरेको उल्लेख गरेका छन् तर भारतिय प्राध्यापक डा एसवी डेवले सन् १९६४ मा भ्रमण गर्दा त्यसको दुरावस्था देखेपनि बल्ल यसको वैज्ञानिक संरक्षणको कुरा उठेको थियो । पछि गरिएको उत्खननका क्रममा त्यहाँ विभिन्न अंक तथा धर्काहरु कोरिएका ढुङ्गा, ईश्वीको पहिलो शताब्दीदेखि तेस्रोसम्म राज गरेका कुसानवंशीहरुले प्रयोग गर्ने सिक्काहरु भेटिए । तर स्तुपाभित्रबाटै सन् १९१८, सन् १९४० (दुईटा) र सन् १९४२ का चार चाँदीका सिक्काहरु पनि भेटिएका थिए जुन ब्रिट्रीस इण्डियाका शासक जर्ज पाँचौं, जर्स पहिलो र जर्ज छैठौंको पालामा निस्कासित भएका थिए । त्यसबाहेक विसं २०१७, २०२५, २०२६ र २०४९ सालमा निस्कासित भएका नेपाली सिक्का समेत भेटिनुले उक्त स्तुप समयक्रममा धेरैले खोलेको हुनसक्ने अनुमान समेत गर्न सकिन्छ । तर ग्रन्थ र विभिन्न बौद्धयात्रीहरुले उल्लेख गर्ने गरेको रामग्राम स्तुप भने त्यही नै रहेकोमा अब कुनै संदेह नरहेको उक्त उत्खननमा संलग्न पुरातत्व विभागका सेवानिवित्त उपसचिव सुक्रसागर श्रेष्ठले आफ्नो एक लेखमा लेखेका छन् । उनले भनेका छन्, ‘लुम्बिनी र नारायणी नदिको बिचमा एवं उत्तरमा शिवालिकदेखि दक्षिणमा कुशिनगरसम्म अर्को कुनै स्तुप भेटिएको छैन ।’ बुद्ध साहित्यहरुमा समेत देवदह र रामग्राम कुशिनगरभन्दा धेरै उत्तर पर्वतको छेउमा रहेको बताइएको र उक्त कुरा यथार्थमा मिलिराखेको समेत हुनाले देवदह–पण्डितपुर–रामग्रामसम्म विशेष अध्ययन÷अन्वेषण तथा उत्खनन हुनुपर्ने देखिन्छ । यद्यपि यत्तिका महत्व बोकेको रामग्राम झरहि नदिको छेवैमा हुँदा र प्रयाप्त तटबन्ध नहुँदा बर्षेनी बाढिको कटान व्यहोरिराखेको छ ।

उता बुटवलबाट ९ किलोमिटर पश्चिममा महेन्द्र राजमार्गसँगै सैनामैनामा अर्को महत्वपूर्ण स्थल ‘सामगाम’ छ जहाँ बुद्ध स्वयं भ्रमण गरी केही शिश्यहरुलाई प्रवचन दिएका थिए भन्ने बौद्ध साहित्यहरुमै उल्लेख छ । त्यहाँ दुई पक्की खम्बा समेत त्यहाँ भेटिएका छन् जसमध्येको एउटामा खस भाषामा ‘ओम माने पेमें हो’ लेखिएको छ । त्यसबाहेक प्रारम्भिक उत्खननबाटै सामगाममा भेटिएको बुद्धको एउटा ढुङगे मूर्ति लुम्बिनी लगेर संग्राहलयमा राखिएको छ । त्यहाँ चौधौं शताब्दीमा खस राजा रिपु मल्ल आएर उक्त पक्की खम्बाहरु निर्माण गर्न लगाएका थिए । रिपु मल्लबारे समेत लुम्बिनी र निग्लिसागरको खम्बामा केही उल्लेख छ । ‘तर त्यसरी ग्रन्थमै उल्लेख भएको र थुप्रै महत्वपूर्ण पुरातात्विक बस्तुहरु भेटिएको स्थल भने स्थानिय अतिक्रमणले अस्तित्व नै नास हुन सक्ने अवस्थामा छ’, लामो समय लुम्बिनीमा रहेका काम गरिसकेका पुरातत्व विभागका पूर्व उपमहानिर्देशक तारानन्द मिश्रले भने, ‘कपिलबस्तु आसपासमा समेत थुप्रैको हविगत सामगामकै होलाजस्तो छ ।’

कपिलबस्तुमै रहेको निग्लिहवालाई बुद्धभन्दा पहिले नै जन्मिएका कनकमुनि बुद्ध जन्मिएको शहर भनेर बुझिन्छ जहाँ नै उनले समेत बुद्धत्व प्राप्त गरेका छन् । त्यहाँ एउटा चैत्य थियो जसको जीर्णोद्धार नै सम्राट अशोकको पालमा उस्तै प्रकृतिको तर दोब्बर ठूलो गराएर गरिएको थियो । त्यसको नजिकै कनकमुनि बुद्धको घर रहेको शहर अरौराकोट रहेको ग्रन्थमा उल्लेख छ ।

अलिस फुरर पहिलोपटक नेपाल आएकै बेला उनी लुम्बिनीसँगै कपिलबस्तु क्षेत्रको समेत अध्यननमा जुटेका थिए जसले त्यहाँका गाउँहरु अरौराकोट, श्रीनगरवा, रामपुरवा, जगदिश्पुर, लौरीकुदान र गोटिहवालाई समेटेर उतिबेलाको कपिलबस्तु राज्य बताएका थिए । तर तिरौराकोट नै कपिलबस्तु हो भन्ने चाहीँ पिसी मुखर्जी हुन् । त्यसले हालको कपिलबस्तुको ठूलो क्षेत्र गौतम बुद्धले आफ्नो सकृया २९ बर्षे युवाकाल र पछि बुद्धत्व प्राप्त गरेपछिको केही बर्ष बिताएका थिए । तौलिहवा बजार नजिकैको लौरीकुदान त्यस्तो ठाउँ हो जहाँ बुद्धत्व प्राप्त गरेर फर्केपछि पहिलोपटक राजा शुद्धोधनले बुद्धलाई भेटेका थिए ।

तौलिहवाबाट उत्तर पूर्वमा रहेको सगरहवा कोशल राजकुमार विरुद्धकले हजारौं शाक्यमुनीहरुको नरसंहार गरेको सम्झनामा मात्र चर्चित छैन, बुद्ध स्वयंका कारण त्यसअघि ३ पटक उक्त प्रयास बिफल भएको कारण समेत उल्लेख छ । बौद्धग्रन्थमा कपिलबस्तुमा शाक्यवंशी राजपरिवार पहिले भारतको कोशल वंशबाट छुट्टिएर आएका थिए । बुद्ध कपिलबस्तुमा रहेको बखत कोशल राजा बुद्ध दर्शनबाट निकै प्रभावित भई प्रवचन सुन्न आइरहन्थे । बुद्धलाई आफ्नो राज्यमा समेत लैजान सकियोस भनेर उनले शाक्यवंशकी राजकुमारीसँग विहे गर्ने इच्छा व्यक्त गरे । तर राज्यबाट पाखा पारिएको पहिलेको बदला लिने उद्देश्यले शाक्यराजा महानामले आफ्नी दासीपुत्रीलाई राजकुमारी भनेर विवाहा गरिदिए । पछि उनीबाट जन्मेको छोरा विरुद्धक मावली आएर पढ्दा निकै हपाई व्यहोर्नु प¥यो जसको कारण उसले थाहा पाई आफ्ना बुवालाई धोका दिएको बदला स्वरुप नरसंहार गरेको थियो । सगरहवामा अहिले पनि उत्खनन गर्दा त्यसबेलाका थुप्रै मानव अवशेष भेटिन्छन् ।

सगरहवामै त्यसबेला शाक्यवंशीहरुले बुद्ध घर फकंदा दरवारमा बस्न नमानेपछि बनाइदिएको महावन विहार थियो भन्ने विश्वास राखिन्छ । तर त्यहाँ समेत वैज्ञानिक अन्वेषणको साटो खन्ने र ठोस बस्तु मात्र खोज्ने काम गरिंदा पाइनसक्ने थुप्रै सूचनाहरु नष्ट भए । कपिलबस्तुका ८ महत्वपूर्ण शहरहरुमध्येको एक अरौराकोट हो भने सिसहनियामा गरिएको उत्खनन्मा त त्यहाँबाट ईपु ६०० देखि ३०० सम्मका माटोको भाँडा भाँडा समेत भेटिनुले त्यो बुद्ध समयकै निकै महत्वपूर्ण शहर हो भन्ने भेटिन्छ ।

पुरातत्वविद् तारानन्द मिश्र त्यसैले सरकारी आर्थिक क्षमताका कारण एकैपटक ति सबै ठाउँमा उत्खनन गर्न नसकिएता पनि पहिले ति ठाउँलाई निकै सुश्म ढंगबाट संरक्षण गर्नतर्फ लागि हाल्नुपर्ने बताउँछन् । ‘लुम्बिनीमा जति बिकास गरियो त्यसको एकचौथाई काम पनि आसपासका अन्य महत्वपूर्ण स्थलमा हुन सकेन’, मिश्रको तर्क छ, ‘मक्कामदिनाझैं बुद्धमार्गीको पवित्र तिर्थस्थलको रुपमा विकास गर्ने भए लुम्बिनीसँगै आसपासका ति सबैलाई जोड्ने काम हुनुपर्छ ।’ त्यसका लागि पहिलो चरणमा आवश्यक पक्कि सडक जोड्ने अभियान कामभन्दा बढि कुराको रुपमा रहेको छ । ति महत्वपूर्ण स्थानका वरपर गुम्बा तथा ध्यानकेन्द्रहरु स्थापना गर्नुपर्ने तथा वैज्ञानिक अध्ययन÷अन्वेषका लागि पर्याप्त अध्ययन केन्द्रहरुको स्थापना गर्नुपर्ने विज्ञहरु सुझाउँछन जसले त्यस क्षेत्रमा छिर्नेवित्तीकै बेग्लै माहोल सिर्जना गरोस । तर लुम्बिनी बिकास कोषले समेत महत्वपूर्ण सबै क्षेत्रमा आफ्नो भूमिका बढाउन सकेको छैन । पण्डितपुर, सामगामजस्ता ठाउँहरु आफ्नो क्षेत्राधिकार बाहिरको काम भन्दै विकास कोष पन्छिंदा महत्वपूर्ण ठाउँ लुम्बिनी ट्रेलभित्रै पर्न छुटेका छन् । ट्रेलभित्र पारिएकाहरु समेत दुरावस्थाको पराकास्टा झेल्न विवस छन् ।

यस फिचरका धेरै अंशहरु नेपाल साप्ताहिकमा प्रकाशित 'लुम्बिनी उत्खननको खुलासा'मा समावेश छन् 

No comments:

Post a Comment