सन्तोष आचार्य र प्रदीप बस्याल
साउन लागेपछि सेलिबि्रटीजस्ता लाग्छन्, भगवान् शिव। युवक-युवतीहरू उनका
फ्यानजस्ता लाग्छन्। युवतीहरू त सोमबारे व्रत बस्छन् नै, युवकहरूसमेत
महिनाभरि मांसाहारी भोजन लिँदैनन्। पहिरन, मेहन्दीदेखि पुस्तक र
गीत-संगीतसम्म जताततै 'शिव ग्ल्यामर' छ।
साउन र शिवको सम्बन्ध नङ र मासुको जस्तो छ, नेपाली समाजमा। जहाँ जहाँ
शिवका नाममा स्थापित मन्दिर, त्यहाँ त्यहाँ सनातन हिन्दु धर्मावलम्बीको
घुइँचो। साउने सोमबार हातमा फूल-प्रसाद, जल र दूध लिएर दर्शन गररिहेका
भेटिन्छन् भक्तजन।
विवाहिता वा अविवाहिता महिलाहरूले शिवलाई नै सम्झिएर हातमा हरियो मेहन्दी,
हरिया चुरा अनि रातो र केही हरियो मिश्रति शिव-शक्ति रंगका सारी वा कुर्ता
सुरुवाल लगाउनु सामान्य हो। पुरुषसमेत हरियो पहिरनमा शिव मन्दिर परसिरमा
देखिन्छन्।
साउनमा
सहरका बुटिक तथा ब्युटीपार्लर निकै व्यस्त हुन्छन्। सादा हरियो रंगका
कुर्ता र साडीमा विभिन्न रंगका इम्ब्रोइडरी गर्नुका साथै पत्थर जोड्ने काम
बढी हुन्छ साउनमा। फेसन डिजाइनर तरुणिका महतोसमेत अचेल साउन थिमका पहिरन
परिकल्पनामै व्यस्त छिन् । भन्छिन्, "ग्राहकहरू हिन्दी सिरियलको जस्तै
डिजाइन माग्छन् । त्यसैले म पनि साउनमा त्यस्ता सिरियलमा तानिन्छु ।"
शिव मन्दिर धाउने युवतीहरू साउने सोमबारलाई सहरमा आइरहेका फेसनसँग
साक्षात्कार गर्न पाइने अवसरका रूपमा बुझ्छन्। डिजाइनर महतोका अनुसार गत
वर्ष बजारमा हरियो र प्याजी रंगको फेसन थियो भने यसपालि हरियो र पहेँलो रंग
मिश्रति फेसन।
महिनाभरि हात वा खुट्टामा मेहन्दी राख्छन् युवतीहरू। त्यसबीच मेहन्दीका
डिजाइन थुप्रैपटक फेरिन्छन्। नेपाली बजारमा अहिले अरबिक, जयपुरी,
पाकिस्तानी र अफ्रिकी डिजाइनका मेहन्दीको फेसन चल्तीमा छ। लहरा र पत्ताले
भरिएको अरबिक शैलीको डिजाइन अझ चल्तीमा छ। सुन्दर देखाउनु त छँदै छ,
त्यससँगै अनेकथरी मिथक जोडिएका छन्। हनुमानढोकामा कलेज ड्रेसमै मेहन्दी
लगाउँदै गर्दा भेटिएकी स्मारिका अधिकारी भन्छिन्, "जसको हातमा मेहन्दी गाढा
बस्यो, उसलाई श्रीमान्ले धेरै माया गर्छन् रे!"
एकथरी शिवभक्त पुरुषहरू कपाल पाल्नका सोखिन हुन्छन्। यसको कारण नक्कल वा
आडम्बरभन्दा पनि प्राकृतिक स्वभावमै रमाउने भगवान्का रूपमा शिवप्रति झुकाव
हो। समस्यामा परेका वा समाजबाट बहिष्कृत भएकामा शिवप्रतिको झुकाव बढी रहेको
चर्चित भारतीय लेखक अमिश त्रिपाठीको ठम्याइ छ। उनले शिव दर्शनलाई आधार
मानेर उपन्यास लेखेका छन्।
शिवको 'रफटफ' आकृति र बुझाइ विभिन्न गीतमा समेत तन्नेरीहरू उस्तै गरी
पोख्छन्। भुवन खनालको पप गीत 'शिव मान्दै मान्दैन' होस् र कोमल वलीको
'पोइला जान पाम् शिव' यस्ता केही उदाहरण हुन्। यस्ता गीतले सामाजिक एवं
धार्मिक आस्थामाथि ठेस पुर्याउने भन्दै धेरैतिरबाट विवादका स्वर उठे पनि
शिवभक्त तन्नेरीहरू त्यस्ता आक्रोश एवं विरोधलाई स्वाभाविक ठान्छन्।
रातो र हरियो सौभाग्यको रंग हो, शिव-पार्वतीको पि्रय रंग पनि। साउन
महिनालाई शिवको पि्रय महिना मानिन्छ। यस महिनामा गरिएका पूजा-आराधना विशेष
फलदायी हुन्छन् भन्ने हिन्दु मान्यता छ। यस महिना शिवजीकै एउटा रूप
ज्योर्तिलिंगमा जलाभिषेक गर्नाले शुभलाभ हुन्छ भन्ने विश्वास गर्नेहरूको
संख्या पनि ठूलै छ।
सोमबारका
दिन उपवास बस्नाले मनोकांक्षा पूर्ण हुन्छ भन्ने विश्वासमा पनि नेपाली
हिन्दु धर्मावलम्बीहरू शिव पुकारा गररिहेका हुन्छन्। रमाइलो त के भने
महिलाहरू शिवपत्नी पार्वतीमा भन्दा शिवतिर नै बढी आकषिर्त देखिन्छन्।
त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व विभागकी
पूर्वप्रमुख वीणा पौडेल भन्छिन्, "महिलाहरू परिवारका पुरुष सदस्यहरूबाट
घेरिएर बस्नुपर्ने अवस्था छ। उनीहरू धार्मिक संस्कारको आडमा बाहिर हिँडडुल
गर्ने स्वतन्त्रता पाउनुको श्रेय शिवलाई नै दिन चाहन्छन्।"
उन्मुक्त महिला
आफ्नो यौन चाहना मनमै दबाउन बाध्य महिलाहरूलाई सिँगारएिर पुरुषसँग नजिकिने
अवसर पनि साउनले नै दिन्छ। वर्षायामको यो महिना रतिरागात्मक आवेग उत्पन्न
हुने महिना पनि हो।
महिलाहरू साउनलगत्तै आउने हरितालिका तीजमा उन्मुक्त भएर नाच्न चाहन्छन्,
आफ्नो मनमा भएका गाँठो फुकाउन चाहन्छन्। अविवाहित नारीले योग्य वरको कामना
गर्छन्। हिन्दु मिथकका महानायक शिवमा पुरुषत्व देख्छन् र त्यस्तै वर
माग्छन्।
धर्मशास्त्र अनुसार शिव करुणाका सागर हुन्, सबै समस्याका समाधानकर्ता
हुन्। आखिर महिला पनि हरेक पीडाको औषधी बोकेर हिँड्ने पुरुष नै जीवनसाथी
चाहन्छन्। विवाहिता महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना
गर्नुपछाडि पनि यौनभावना नै लुकेको पाइन्छ। शिवलाई कामेश्वर पनि भनिन्छ।
महिलाहरूका
लागि तीज मनोरञ्जनको पर्व पनि हो, शैव दर्शनसँग उनीहरूको खासै चासो
हुँदैन। आखिर उनीहरू शिवभक्त कम, शिवका फ्यान बढी देखिन्छन्। युवकहरूका
लागि शिव 'कुल' भगवान् हुन् भने युवतीहरूका लागि 'हट'।
धार्मिक गन्थहरूमा शिवले पार्वतीलाई औधी प्रेम र सम्भोग गरेका वर्णन
पाइन्छन्। ऋषिपत्नीहरू शिवको बलिष्ठ शरीर र आकर्षक लिंग देखेर पछ्याएको कथा
सुनेका महिलाका लागि शिव यौनका आदिगुरु पनि हुन्। कुनै बेलाका लोकपि्रय पप
गायक एल्भिस पि्रस्लेलाई देख्न पाउँदा युवतीहरू जसरी भुतुक्क हुन्थे,
अहिले नेपाली महिलाहरू शिवसँग जोडिन पाउँदा मक्ख पर्नुको कारण पनि कहीँ न
कहीँ यौनसँगै जोडिन आइपुग्छ।
हिन्दुधर्मका अध्येता शिवगोपाल रिसालको भनाइमा शिवजीको पूजा गर्न सहज र
प्रसादका रूपमा जल र बेलपत्र मात्र चढाए पुग्ने र तुरुन्त खुसी हुने भएकाले
पनि उनको पूजामा भक्तजन बढी आकषिर्त हुन्छन्। तान्त्रिक, वैदिक वा दुवै
विधिबाट पूजा गरे पनि हुने, मन्दिर जान नसके मनमनै पूजा गर्न सकिने, पूजा
विधि पनि निकै सहज भएकाले शिवप्रति आकर्षण बढेको हो। रिसाल भन्छन्, "उनी
सोझा छन्, त्यसैले भोलेनाथ भनिन्छ। पूजाबाट चाँडो खुसी हुन्छन्, त्यसैले
उनलाई आशुतोष भनिएको हो।"
शिवको मिथकीय चरत्रि राम र कृष्णजस्तो आकर्षक छैन। यिनमा राम र कृष्णको
जस्तो आदर्श छवि पनि छैन। अहिलेका अविवाहिता महिलाहरू आदर्शबाट थाकिसकेका
छन्। यसैले शिव स्वीकार्य हुन्छन्, उनीहरूका लागि। महिलाहरू आफूलाई सामाजिक
रूपले पीडित मान्छन्। उनीहरू शिव पीडितको पक्षमा रहेको ठान्छन्।
शाकाहारी भोजन र शिव परम्परा
हिन्दुहरू साउन महिनालाई शिवमै समर्पित गर्छन्। सोमबारलाई शिवजीको पि्रय
बार मानिन्छ। पछिल्लो समय धर्ममा खासै आस्था नराख्नेहरूसमेत साउन महिनाभरि
मांस-मदिरा सेवनबाट टाढै रहन रुचाउँछन्। यो महिना मासुको व्यापार कम हुन्छ।
अरू महिना खचाखच भरिने तामसी रेस्टुराँहरू साउनका सोमबार खालीजस्तै
देखिन्छन्। महिनाभरि नै व्यापार मन्द हुन्छ। बबरमहलस्थित रातो भाले
रेस्टुराँका प्रबन्धक सन्तोष श्रेष्ठ भन्छन्, "साउने सोमबार मासुका
परिकारको खपत आधा घट्छ भने बाँकी दिन मासुका परिकारको खपत एक चौथाइ कम
हुन्छ।"
साउनमा भगुवा रंगका लुगा लगाएर 'बोल ओम' भन्दै खाली खुट्टा पैदलै शिव
मन्दिर हिँडिरहेका भक्तालुहरू जताततै देखिन्छन्। काठमाडौँको पशुपतिनाथमा
मात्र होइन, भक्तपुरको डोलेश्वर महादेवमा पनि हिन्दु भक्तहरूको लावालस्कर
देख्ने जोकोहीलाई लाग्न सक्छ, शिवजीको यस्तो महिमा आखिर किन ?
साउन महिना मात्र होइन, भदौमा हिन्दु महिलाहरूले मनाउने हरितालिका तीज पनि
शिवप्रति नै समर्पित हुन्छ। तीजमा नाच्ने, गीत गाउने, शिवको नाममा व्रत
बस्ने, अविवाहिताले राम्रो वर माग्ने र विवाहिताले सौभाग्य र पतिको
दीर्घायुको वर माग्ने परम्परा सनातनदेखि चलेकै छ।
महाशिवरात्रि पनि शिवमै समर्पित छ। हिन्दु धर्मावलम्बी मात्र होइन, नेपाली
सेनाले समेत शिवलाई नै केन्द्रमा राखेर यो पर्व मनाउने प्रचलन छ।
पशुपतिनाथको श्लेषमान्तक वनवरपर प्रशस्तै युवा गाँजालाई शिवबुटी मानेर सेवन
गररिहेका देखिन्छन्।
"नेपाली भगवान्"
नेपाली समाज शिवाग्रही हुनुको प्रमुख कारण शिव नेपाली भूगोलसँग जोडिनु पनि
हो। शिव पुराणदेखि महाभारतसम्मका धार्मिक शास्त्रमा शिवजीको वासस्थान
हिमालय पर्वत शृंखला रहेको उल्लेख छ।
उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मका पर्वत शृंखलामा शिवको भूमिका
देखिन्छ, धर्मशास्त्रहरूमा। त्यसमा पनि हिमवत्खण्डमा शिवको विचरण बढी भएको
मानिन्छ। सबै हिन्दु धर्मशास्त्रमा हिमवत्खण्ड नै नेपाली भूमि भएको उल्लेख
छ।
एकथरीको मत अनुसार नेपालको सुदूरपश्चिममा पर्ने खप्तड लेकको सेरोफेरो नै
शिवको वासस्थान हो। कैलाश पर्वत तिब्बतमा नभई नेपालमा रहेको उनीहरूको मत छ।
हिमवत्खण्डलाई तीर्थै तीर्थ र साधुसन्तहरूको बसोवास बढी भएको थलो मानिएको
छ।
एकै
शिव अनन्त रूपमा छरिएर रहेकाले पनि नेपाललाई शिवभूमि भनिएको हो। त्यस कारण
पनि नेपाली समाजमा शिव प्रभाव बढी हुनु अस्वाभाविक नभएको अध्येताहरूको
भनाइ छ।
"पुराणहरूमा वाग्मतीको तटवर्ती क्षेत्रलाई शिवपत्नी पार्वतीको तपोभूमि
मानिएको छ," वास्तुविद् तथा ज्योतिषाचार्य वासुदेवकृष्ण शास्त्री भन्छन्,
"स्वयं पार्वतीको वासस्थान पनि हिमालय क्षेत्र नै मानिएको छ, जुन नेपालसँग
जोडिन आउँछ।"
प्राचीन कालमा कैलाश मानिआएको नेपाली भूमिमा शिव र उनको कैलाश परिवारको
उपस्थिति किराँतकालीन विभिन्न मूर्ति तथा शिवलिंगमा पनि देखिँदै आएको छ।
यसबाहेक नेपालको प्रामाणिक इतिहासको प्रारम्भ हुने मानिएको लिच्छविकालमा
शिव र उनको परिवारका नाममा स्थापित मठ, मन्दिर, मूर्ति र शिवलिंगहरूको
अवशेष पशुपतिनाथ क्षेत्रमा अद्यापि छँदै छ। त्यसैले हिन्दु धर्मावलम्बीहरू
शिवमा स्थानीयपन देख्छन्।
पशुपतिनाथ मन्दिरमाथि रहेको मृगस्थली वनमा पार्वतीसँग विहार गरेर केही काल
बसेको, एक्लै आई ध्यान गरेर बसेको जस्ता धार्मिक प्रसंगहरू पनि नेपालसँग
कहीँ न कहीँ जोडिन्छ। कालकुट विषको प्रभाव घटाउन रसुवाको गोसाइर्ंकुण्ड र
सतीदेवीको शव बोकेर धरानको दन्तकालीसम्म पुगेका कथाहरू पनि छन्। पशुपति
क्षेत्र विकास कोषका सदस्य-सचिव तथा पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन
नामक पुस्तकका लेखक गोविन्द टण्डन सम्पूर्ण हिन्दु धर्मावलम्बीका
आराध्यदेवका रूपमा स्वीकारिनुका साथै देशकै इष्टदेवका रूपमा पशुपतिनाथ
(शिव)लाई पुजिनुले पनि उनीप्रतिको आकर्षण मापन गर्न सकिने बताउँछन्।
भन्छन्, "हिमवत्खण्ड, नेपाल माहात्म्य, पशुपतिपुराण, शिवपुराण,
श्रीस्वस्थानीजस्ता ग्रन्थहरूमा भगवान् शिवलाई करुणा र कल्याणको भावना
राख्ने स्थानीय नायकका रूपमा प्रस्तुत गरिएको छ। यो कुरा जनजनमा पुगेपछि
यसले उनीप्रति आकर्षण बढेको हुन सक्छ।"
सेनादेखि सेक्ससम्म
मदनमोहन मिश्रले आफ्नो पुस्तक नेपाली संस्कृतिमा शिव महिमामा लेखेका छन्,
'शिवबिनाको संस्कृतिलाई आध्यात्मिक दृष्टिले शवबराबर अपवित्र मानिआएकाले
हिमवत्खण्डका प्राचीन आर्यहरूले बिनाशंकर स्वदेश हुन्न भनी आफ्नो उदगार
व्यक्त गरेको पाउँछौँ।'
मिश्रले भनेजस्तै नेपाली समाजका विभिन्न आयामसँग शिव जोडिएका छन्। यस्तो कुनै क्षेत्र छैन, जहाँ
कुनै न कुनै रूपले शिव नजोडिएका हुन्। जस्तो: राजतन्त्र अस्तित्वमा
रहदाँसम्म राजाले देशवासीका नाममा गर्ने कुनै पनि सम्बोधनको अन्त्यमा
'पशुपतिनाथले हामी सबैको कल्याण गरून्' भन्ने वाक्यांश अनिवार्य राखिएकै
हुन्थ्यो। राजतन्त्रको समाप्तिपछि पनि पूर्वराजा ज्ञानेन्द्र शाहले
सार्वजनिक रूपमा दिने लिखित वा मौखिक अभिव्यक्तिहरूको अन्त्यमा उक्त
वाक्यांश राखेकै छन्। यति मात्र होइन, पूर्वराजाहरूले आफ्नो प्रशस्तिमा
लेखाउने गरेको 'गिरिजाज चक्र चूडामणि...' भन्ने शब्दावली पनि शिवसँगै
जोडिएको छ।
नेपाली सेनामा पनि शिव कुनै न कुनै रूपमा स्थापित देखिन्छन्। राज्यको मूल
अंग नेपाली सेनाको चिह्नमा पनि शिवजीको प्रतीक मानिने त्रिशूल र डमरु नै छ।
सेनाका विभिन्न पल्टनका नाम शिवका विभिन्न नाममा आधारति छन्। जस्तो:
पशुपतिप्रसाद, भैरवनाथ, श्रीनाथ आदि। यसबाहेक सेनाका ब्यारेकहरूमा गरिने
कतिपय पूजा पनि शिवमाथि नै केन्दि्रत छन्। विशेष गरी शिवरात्रिलाई नेपाली
सेनाले धुमधामका साथ मनाउँछ। अन्तरमि संविधानमार्फत नेपाललाई हिन्दु
राष्ट्रबाट धर्मनिरपेक्ष कायम गरसिकेपछि पनि सेनाले आफ्नो संगठनलाई त्यस
अनुरूप नबनाएको आलोचना धर्मनिरपेक्षताका पक्षपातीबाट हुँदै आएको छ।
नेपाली हुलाक टिकटमा पनि शिव वा उनका कुनै न कुनै रूपले स्थान पाइरहेका
छन्। जस्तो: गौरीशंकर हिमाल, शिवजीको चतुर्मूर्ति, जलेश्वर महादेवदेखि
शिवरात्रिसम्मको तस्बिर अंकित हुलाक टिकट जारी भइसकेका छन्।
नेपाली मुद्रा पनि शिवमय छ। राजा जयदेवदेखि पूर्वराजा ज्ञानेन्द्रको
समयसम्म चलनचल्तीमा रहेका सिक्का तथा नोटहरूमा कुनै न कुनै रूपमा शिवलाई
स्थान दिइएको छ। चाहे त्यो एक हजार रुपियाँको नोटमा होस् वा सिक्कामा।
पशुपतिनाथको मन्दिर र त्रिशूलदेखि भैरवको दण्डसम्मलाई नेपाली मुद्रामा
स्थान दिइएको छ । कतिपय स्थानसँग पनि शिव जोडिएकै छन्। जस्तो: शिवपुरी
डाँडा, गौरीशंकर हिमाल, शिवनगरदेखि शिवचोकसम्म।
शिवजीको गहना मानिएको नागसमेत नेपाली समाजमा स-सम्मान उपस्थित छ। दूषित
वायु ग्रहण गरेर जीविका चलाउने मानिएको नागलाई शिवकै प्रसाधनका रूपमा
नेपाली समाजमा पुज्ने परम्परा छ। नागपञ्चमीका दिन देशभरिका नागस्थान तथा
मन्दिरहरूमा पूजा गरिन्छ। नागलाई राजसिंहासनदेखि ढुंगेधाराहरूमा समेत स्थान
दिइएको छ। नागढुंगादेखि नागदहसम्मका नामकरण यसैको संकेत हो।
६४ लिंग, ६४ कला
शिवका ६४ लिंगलाई ६४ कलाका रूप मानिन्छ। शिव ६४ कलाका आदि गुरु मानिन्छन्।
जस्तो ः उनी नृत्यगुरु पनि हुन् भन्ने शैव मान्यता छ। उनको ताण्डव नृत्य
जति चर्चित छ, त्यति नै चर्चित उनको नृत्य गर्दै गरेको नाट्यश्वरको मूर्ति
पनि। उनको यो चर्चित मूर्ति बैठक कोठादेखि ठूला होटल र महलहरू सजाउनका लागि
उपयोग हुन्छ। नेपाल आउने विदेशी प्रतिनिधिमण्डललाई उनको यही मूर्ति उपहार
दिइन्छ। सन् १९७५ मा पि|mत्जाँफ कापराले लेखेको पुस्तक ताओ अफ फिजिक्समा
ताण्डव नृत्य गर्ने शिवलाई गतिशील ब्रह्माण्डका सबैभन्दा आदर्श मानवीकरण
भनिएको छ।
उनी आदि योगगुरु पनि हुन्। त्यसैले उनलाई योगेश्वर पनि भनिन्छ। उनका ८४
आसनका योग सर्वव्यापी छ नै। त्यसबाहेक उनी यौनकलाका पनि आदिगुरु हुन्। शिव र
पार्वतीबीच भएको संवादमा आधारति पुस्तक विज्ञान भैरव तन्त्रमा बताइएको
यौनकलाकै आधारमा मनुष्यको यौनजीवन घुमिरहेको छ।
शिव
संस्कृत भाषाबाट आएको शब्द हो, जसको अर्थ हुन्छ, कल्याणकारी। शिव नै
त्यस्ता कल्याणकारी भगवान् हुन्, जसले यौनलाई कला र तन्त्रसँग जोडे।
कलात्मक र लयपूर्वक गरिने सम्भोगले युगल जोडीलाई समाधिसम्म पुर्याउन सक्छ
भन्ने मान्यता उनले नै स्थापित गरेका हुन्। वात्स्यायनको कामसूत्रलाई पनि
शिवकै देन मानिएको छ।
जतिबेला देवताहरू समुद्र मन्थन गरेर अप्सरादेखि ऐरावत हात्ती र मणिमाणिक्य
लिन तँछाडमछाड गररिहेका थिए, त्यतिबेला शिवले नै समुद्र मन्थनबाट
निक्लिएको कालकुट विष पिएको मिथकले पनि उनको छवि नायकको बनाउन मद्दत गरेको
देखिन्छ। हिन्दु मिथक अनुसार उनी देवताका मात्र नभई असुरहरूका पनि उत्तिकै
पि्रय हुन्।
त्यसो त शिवसँग मुत्यु पनि जोडिन्छ। मसानघाटमा शिवको आराधना गरेर बस्ने
अघोर सम्प्रदायका अनुयायीहरू पनि छन्। शिवजीले घस्ने खरानीलाई शव अर्थात्
मुत्युकै संकेत मानिन्छ। भाषाशास्त्रीहरू शिवबाटै शव आएको बताउँछन्। शिवबाट
इकार हटाउँदा शव बन्छ। जन्मदेखि मुत्युसम्म शिव नै जोडिने भएकाले पनि
हिन्दुहरूको कुनै न कुनै रूपमा शिवसँग सम्बन्ध रहँदै आएको देखिन्छ। शिवलाई
तन्त्र, मन्त्र, यौनदेखि नृत्य, संगीत, व्याकरण, योग सबै विद्याका आदिगुरु
मानिएको छ।
गोरखनाथ मठका संरक्षक रामानन्द गिरी शिवको लोकपि्रयतापछाडिका कारण खोतल्दै
भन्छन्, "न कुनै राग, न कुनै आशक्तिका कारण शिवजी बच्चाजस्ता छन्। जसरी
बच्चाहरूलाई सबैले रुचाउँछन, त्यही बालसुलभ गुणका कारण उनी सबैका पि्रय
भएका हुन्।"
सबै कलाका ज्ञाता बहुमुखी प्रतिभाका रूपमा हिन्दु धर्मावलम्बीबीच शिवको
छवि नायकको हुनु आफैँमा अस्वाभाविक पनि होइन। आखिर शिवजी असल पति, असल पिता
र लप्पनछप्पन नगर्ने भोलेबाबा जो हुन्। यही कारण हुन सक्छ, शिव भगवान्
नभएर कुनै 'सेलिबि्रटी' हुन्। त्यही भएर होला, उनलाई मान्नेहरू, जसको
संख्या नयाँ पुस्तामा उल्लेख्य रूपमा बढिरहेको छ, उनका अनुयायीभन्दा पनि
कुनै नायकका 'फ्यान'जस्ता देखिन्छन्।
यी शिव साधक
मखन
पशुपतिका द्वारपाल हुन्, राजन महर्जन, ४१। विसं ०५४ सालदेखि शिव साधनामा
लागेका महर्जनको सम्पूर्ण पहिरन शिवमय छ। गलामा रुद्राक्षको माला लगाएका
छन् भने शिवको सानो मूर्तिलाई त्यही मालामै उनेका छन्। लामो टुप्पी पालेका
उनको टिसर्टमा पनि शिव नै अंकित छन्। हातमा खोपिएका तीनवटा ट्याटु शिवकै
हुन्। भन्छन्, "मरेर आफूसँग केही लान नपाए पनि शिवजी भने साथमै हुनेछन्।"
शिवका आठवटा औँठीले उनका पूरै औँला भरिएका छन्। एउटा बालामा पनि शिव नै
कुँदिएका छन्। उनकी पत्नी, एक छोरा र छोरी पनि शिवका साधक हुन्। परिवार नै
एकछाके छन्। महर्जन भन्छन्, "साउन र साउनको सोमबार मेरा लागि निकै
महत्त्वपूर्ण हुन्छ।"
सर्व स्वीकार्य
शिवलाई
शैव धर्मावलम्बीहरूले मात्र होइन, ओमकार परिवारले पनि मान्दै आएको छ। उनका
भक्तहरू धेरै हुनुको एउटा कारण यो पनि हो। जस्तो कि, वैदिक सनातन धर्म
परिवारका शिवलाई नै इष्ट-आराध्य मान्ने शैवहरू, शिवलाई बोधमय गुरुका रूपमा
सम्मान गर्ने वैष्णवजगत् र शक्तिसहगामी ईश्वरका रूपमा शिवलाई मान्ने
शाक्तहरूका कारण पनि उनी धेरै सम्प्रदायबाट स्वीकार्य भगवान् मानिन्छन्।
आचार्य खेमराज केशवशरणका अनुसार 'ओम मणिपद्मे हुम्' मन्त्र जप्ने बौद्घ
हुन् वा 'नमो अरहिन्ताणम्' मन्त्र बोल्ने जैन र 'एक ओमकार सत् नाम' मन्त्र
जप्ने सिखहरू नै, सबैलाई शिवले आकषिर्त गरेकै छन्।
किराँत समुदायको पनि शिवजीसँग अन्तरनिहित सम्बन्ध छ। पशुपति क्षेत्रमा
रहेको किराँतेश्वर महादेव र किराँत समुदायको सम्बन्ध पौराणिककालदेखिकै हो।
बौद्घ महायानीहरूले पनि शिवलाई अष्ट बीतरागीको संज्ञा दिएर शिव पूजा गरेको
पाइन्छ। हिन्दु परम्परामा वैदिक र तान्त्रिक दुवैलाई बुद्घको मुकुट
पहिराउने परम्परा छ। अध्यात्मविद् शिवगोपाल रिसाल भन्छन्, "हामी शैव मात्रै
होइनौँ, वैष्णव भईकन पनि शैव हौँ, शाक्य भईकन पनि शैव हौँ। शिख भईकन पनि
शैव हौँ । त्यसैले हामी नेपाली अझ कतिसम्म भने बौद्घ भईकन पनि शैव हौँ।"
No comments:
Post a Comment