Thursday, September 15, 2011

नेपाली सफ्टवेर: साहस र सास्ती


ञ्चारमाध्यममा सुनिल चौलागाईं अहिले ‘हट केक’ भइराखेका छन् उनको काम सामाजिक सञ्जाल ‘मेरोपोष्ट’ का कारण । तर उनको चर्चाभित्रको धरातल निकै कमजोर छ । ‘त्यसैले अरुले सोचेजस्तो अहिल्यै त्यतिधेरै खुसी छैन’, हेलोशुक्रबारलाई त्यसो भन्नुका पछाडि उनले राम्ररी बुझेको हुनुपर्छ  अगाडिको बाटो मेरोपोष्ट बनाउनुभन्दा बढि चूनौतिपूर्ण छ भन्ने । त्यसैले आफू र आफ्नो साइटबारेको चर्चा जति बढि हुँदै जान्छ, सुनिलमा त्यो चर्चाभन्दा कयौं गुणा बढि ‘तनाव’ बढ्छ ।

यसरी सुखद खबरसँगैसँगै निराशाजनक पाटो पनि जोड्नुपर्ने कुनै रहर होइन, यो भूमिको दुर्भाग्य हो   (जुन लुकाउन सकिँदैन) जसको मार खेप्ने सुनिलजस्ता कयौं प्रविधिका तन्नेरीहरु छन् । मेरोपोष्टको सर्भर क्यानेडियन कम्पनीसँग भाडामा लिइएको छ । यसले सिर्जना गर्ने मुख्य समस्या हो– मेरोपोष्ट प्रयोगकर्ताहरुको (प्रत्यक्ष रुपमा) गोपनियता सुरक्षित हुनेमा विश्वास गर्न नसकिनु । कुनै पनि कम्युनिकेसन (कनेक्सन)का लागि सर्भर मानिसको मुटुजस्तै हो, जसको धड्कन रोकिएपछि पूरै शरिरले काम गर्न छाड्छ । सर्भरमा एक सेकेन्डकै लागि समस्या आइदियो भने कनेक्सन फेल हुन्छ । त्यसबाहेक साइटमा आदानप्रदान हुने डाटाहरु पहिले सर्भरमा पुग्छन र त्यहाँबाट स्विकृति पाएपछि मात्र एक अर्कामा साटासाट हुन्छ । चाहेको खण्डमा सर्भरवालाले ती डाटाहरुमाथि हैकम जमाउन सक्छ ।

कुनै पनि सर्भरले सतप्रतिसत काम गर्न सक्छ भन्ने त हुँदैन तर पनि मेरोपोष्टको सर्वाधिकार उनीहरुसँग नै नहुने भएपछि प्रयोगकर्ताहरुमा शंका उब्जन सक्छन् । जुन एउटा सामाजिक सञ्जाल चर्चित हुनको लागि सबैभन्दा ठूलो बाधक पनि हो ।

‘गाह्रो त गाह्रो छ’, यी २१ बर्षेले कुराकानीकै बिचमा धेरैपटक लामो सास फेर्दै भनेका थिए, ‘तर पनि हामी विकल्पहरुबारै अझै गृहकार्यमै छौं ।’ उसो त यो उनको पूर्णत: ‘ओरिजिनल’ काम भने होइन । सुनिलले चियाको चुस्कीसँगै प्राविधिक भाषामा अवस्था बताए ।

उनकै चियासँग दाँजेर बुझौं । त्यहि चियालाई अलिक बढि चिनी हालेर झन् गुलियो बनाउन, पानी वा दुधको मात्रा थपेर स्वाद नै फेर्न, वा त्यही चिया बनाउन आवश्यक पर्ने सामाग्री थाह छ भने त्यसलाई आफ्नो बेग्लै स्वाद र शैलीमा चिया पकाउन पनि सकिन्छ । हो, ठ्याक्कै यस्तै कुरा सफ्टवेरमा पनि लागु हुन्छ । आफू अनुकुल प्रयोगमा ल्याउन मिल्ने सफ्टवेयरहरु हुन् यी– ‘फ्रि एण्ड ओपन सोर्स सफ्टवेर’ । सुनिलले त्यस्तै ओपन सोर्स प्रयोग गरेर मेरोपोष्टको निर्माण गरेका हुन् । साइटलाई सजाउने काममा पनि आउटसोर्सिङकै (भर्चुअल दुनियाँमा कामको लेनदेन) बाटै सम्भव भएको थियो ।

तीन महिनाअघि अमेरिकी युवा उद्यमी डेभ ट्रोयले ट्विटरको लागि अलिक लामो सन्देश पठाउन मिल्ने ‘सर्टमेल’ सार्वजनिक गर्दा ‘एउटा ऐतिहासिक छलाङ’ भनेका थिए । तर सर्टमेलमा त्यस्तो घतलाग्दो र ठूलो कुरा केही छैन् ।  त्यत्ति धेरै मिडिया पहुँच र सुविधासम्पन्न ल्याबका वरिपरी बनेको ‘सर्टमेल’को अवधारणा कान्तिपुर इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ छैटो सेमेस्टरमा अध्ययनरत यी २१ वर्षेको भन्दा निक्कै फितलो लाग्छ । उनले ट्विटर र फेसबुकका पक्षलाई समिश्रण गर्न पनि केही केही हदसम्म सफल छन् भने च्याट सुविधा  पनि छ । प्रयोगकर्ताले आफू अनुकुल प्रोफाइलको रंग पनि फेर्न सक्छन् ।



अब एकैछिन सामाजिक सञ्जाललाई छाडेर पनि हेरौं । ओपनसोर्स सफ्टवेरको प्रयोगबाट तयार पारिएको एउटा अनलाइन लाईब्रेरीमा छ जसमा छिर्न ‘पुस्तकालय डट ओआरजी’ लगइन गर्नुपर्छ । नेपालमा खुला सफ्टवेर अवधारणामा भएको काममध्ये सबैभन्दा बढि रुचाइएको काम पनि हो यो । साझा शिक्षा नामको एक संस्थाले विकास गरेको यस अनलाइन पुस्तकालयमा अहिले २२ सय बढि नेपाली र अंग्रेजीमा टेक्ट्स, अडियो र भिडियो पुस्तकहरु छन् । त्यसबाहेक यसको अर्को राम्रो पक्ष खुला सफ्टवेरबाट निर्माण भई खुला सफ्टवेरकै रुपमा छाडिनु पनि हो । शहरका लाइब्रेरीदेखि नेपालका दुर्गम भेगका स्कुलसम्म यसको उपयोगिता बढ्दो छ । खुला सफ्टवेरको सबैभन्दा राम्रो विशेषता भन्नु नै स्थानिय परिवेश अनुकुल हुनेगरी तयार पार्न सकिनु पनि हो जुन यो अनलाइन पुस्तकालयले गरेको छ ।

त्यसबाहेक नेपालमा केही समयअघिसम्म मदन पुरस्कार पुस्तकालयले लिनक्स अपरेटिङ सिस्टमलाई ‘नेपाली लिनक्स’ को रुपमा स्वदेशी अपरेटिङ सिस्टम बनाएको थियो । लिनक्स आफैमा ओपन सोर्स हुँदा यसमा विभिन्न परिवर्तनहरु स–सानो समयमा भइरहन्छन् । तर नेपाली लिनक्स बिकासको एउटा तहसम्म आएर अहिले बन्दप्राय: छ । खुला सफ्टवेर अभियानका एकजना अभियानकर्ता तथा कम्प्युटर इञ्जिनियर अंकुर शर्मा यसलाई निराशाजनक तर स्वभाविक दुवै रुपबाट हेर्छन् । भन्छन्, ‘हामी नेपालको लागि आवश्यक सफ्टवेर निर्माणमा अझै खरो उत्रन सकेका छैनौं, यहाँको सफ्टवेर व्यावसाय पूर्णत: आउटसोर्टिङमा निर्भर छ ।’ सायद नेपाली लिनक्सले खेपेको मार पनि त्यही नै हो ।

अर्को एउटा उदहारणिय सफ्टवेर ‘नेपाली पात्रो’ पनि हो जसलाई इन्टरनेटमा नेपालीपात्रो डट कम डट एनपि लगइन गरेर हेर्न सकिन्छ । सामाजिक कामको रुपमा लिइएको यो पात्रोमा विभिन्न मितिमा पर्ने विभिन्न समुदायका चाडपर्व, स्थानियदेखि अन्तर्राष्ट्रिय दिवसहरुजस्ता विविध पक्षका विवरण पाइन्छ । यसको थप विशेषता भनेको प्रयोगकर्ताहरु स्वयं योगदान दिन पनि सक्नु पनि हो । यस सफ्टवेरको एडन कोड प्रयोग गरि अहिले विश्वका विभिन्न कुनाबाट ५ सय वेवसाइटले आफ्नोमा नेपालीपात्रो राखेका छन् । ‘शुरुमा फेसबुक एप्लिकेसनमा रमाइलोको लागि यस अवधारणाको शुरुवात गरिएता पनि पछि विदेशमा रहेका नेपालीहरुले राम्रो प्रतिक्रियाहरु दिएपछि यसलाई ‘सामाजिक उद्देश्य’को रुपमा बिकास गरिएको हो’ नेपालीपात्रो निर्माण टिमका एकजस्ता सदस्य बिर्जन महर्जन भन्छन्, ‘जहाँ त्यही पात्रोलाई माध्यम बनाएर नेपाली–नेपालीबिच आफ्ना सामाजिक, सांस्कृतिक र धार्मीक अवसरहरुमा जमघट हुने माहोल तयार पार्न खोजिएको हो ।’

अहिले ससाना कार्यालयहरुदेखि अन्तर्राष्ट्रिय बजारमा नेपालमा बनेका सफ्टवेर जम्न सफल छन् ।  दृष्ट्रिविहीनलाई कम्प्युटर सिकाउने ‘ब्रेल ट्युटर’ सामाजिक उद्देश्यले तयार पारिएको स्वदेशी सफ्टवेर हो जसको सफल परिक्षण भइसकेता पनि व्यावसायिक उत्पादन अझै हुन सकेको छैन । उता नेपालका बैंकमा समेत केही नेपाली सफ्टवेरहरु नै चर्चित छन् । ‘पुमुरी’ एउटा त्यस्तै चर्चित हो । खेलतर्फ ‘बाघचाल’ चर्चित छ भने ‘नेपाली युनिकोड’ र ‘नेपाली डिक्सनेरी’ त अहिले नेपालीमाझ निकै बढि छाइसकेका छन् । ‘मेरो सप अनलाइन सपिङ’को सफ्टवेर समेत नेपालमै बनेको हो । “तर व्यापारिक प्रयोजनका लागि अझैं नेपाल सफ्टवेरको राम्रो बजार बन्न सकिराखेको छैन”, अंकुरको तर्क छ, “पहिले सरकारी रणनिती पनि टेक्नोफ्रेन्ड्ली हुनुपर्छ जसले यहाँ सफ्टवेरको उपयोगिता बढाउँछ ।”

This appeared in Print at Hello Shukrabar (KANTIPUR) dated 16 Sept, 2011. Click here for e-paper view

1 comment: