Thursday, December 24, 2009

आध्यात्मिक ठिटो

जीवनमा सानोभन्दा सानो कुराले पछिसम्म महत्व राख्दोरहेछ । २ बर्षअघि दशैंबिदामा घर जादा कसैले उनलाई बिपत्सना ध्यानबारे एको भए सायदै आज उनी मेरो लेखनको बिषय बन्थे । न त उनीसग यसरी मेरो भेटघाट सम्भव हुन्थ्यो । औसत तन्नेरीहरुझैं उनी पनि कतै डान्सपार्टी, फिल्महल या गर्लफ्रेन्सग डेटिङमा रमाइरहेका हुन्थे होला । त्यही कसैले सुनाएको हल्लैहल्ला र लहलहैले १० दिने मेडिटेसन क्याम्पमा (ध्यान सिविर) ध्यान गर्न २० बर्षे बिकाश रेग्मीलाई दुई बर्षे अघि लुम्बिनी पु¥यायो । आज यहा त्यसैको फ्यासब्याक सुन्नु छ । ‘त्यहा“ पुग्दासम्म म मेडिटेसनलाई टिभीमाझैं सामान्य रुपमा लिएको थिए“ । बरु घरमा त्यसै बस्नुभन्दा पक्कै रमाइलो होला भन्ने भ्रमले मलाई तानेको हुनुपर्छ ।’





हालैको एक हुस्सु परेको साझ । ओशोको जन्मोत्सव मनाएर तपोवनबाट फर्कंदा मेरो आग्रहमा बिकास आफ्ना अनुभव सुनाउदै थिए । झट्ट कुराकानीको शैली हेर्दा कुनै महात्मा वा सन्तझैं लाग्ने उनी मेकानिकल इञ्जिनियरिङ्गका बिद्यार्थी हुन् । हातमा अल्बर्ट आइन्स्टाइनको बिश्वप्रशिद्ध पुस्तक ‘दि वल्ड एज आइ सी इट’ छ । २०औं शताब्दीका महानायक भौतिकशास्त्री आइस्टाइनले आफ्नो जीवनको पछिल्लोसमयमा लेखेको उक्त पुस्तक आफैमा एउटा अमर आइस्टाइन हो जसमा एउटा भौतिकशास्त्रीको नजरमा संसार बुझ्न खोजिएको छ । म दोधारमा परें, यी तन्नेरीको अन्तरवार्ता के भनेर लिउ– एउटा बिज्ञानको बिद्यार्थी वा आध्यात्मिक ठिटो । ‘स्वामी एक, रुप अनेक’ म सोच्दैगर्दा साथै रहेको मनोज भण्डारी ठट्यौली पारामा बोल्यो । पछि मनोजबाटै थाह पाए, साथीहरु आजकल उनलाई ‘स्वामी’ भनेर जिस्क्याउछन् । मनोजले यस्तो जेपीटी तर्क गरिरहदा बिकासलाई केही भन्नु छैन । त्यत्ति त उनी एउटा मन्द मुस्कानमै टारिदिन्छन् ।





‘बिपत्सना’ अर्थात ‘आफू भित्रको आत्मालाई चिन्नु’ । ‘आफैभित्र समस्या लिएर अरुलाई परिवर्तन गर्न सकिदैन’ बिकास प्रवचन शैलीमा प्रस्तुत भए ‘हामी आफूलाई आफै चिन्न सक्ने, ध्यान मात्रै त्यस्तो एउटा अस्त्र हो ।’ उनका अनुसार संसार जती भौतिक रुपमा सम्पन्न र बिकसीत हुदैछ, मानिसहरुका मन त्यक्तिकै दायित्वबिमुख र करप्टेड बन्दैछन् । अझ हामीमा आफैलाई मात्र सर्वश्रेष्ठ ठान्ने रोग छ । ‘मै खाउ, मै लाउ..’ भावना मात्र छ । ‘यी सब हाम्रा भ्रम हुन्’, उनी ठान्छन्, ‘भ्रममा रमाउनुभन्दा आफूलाई चिनेर रमाउनुमा अझ बढी मज्जा छ ।’ जुन जीवन निकै आनन्दमय र स्वतन्त्र छ । उनका यस्ता कुरा सुन्दा आफ्ना अभिभावकलाई स्वतन्त्रताका बाधक सोच्ने तन्नेरीहरु के सोच्दाहुन् ? ‘हामीलाई हामीभित्रैको ईष्र्या,क्रोध र शंकाले बा“धेर राखेको छ ।’ देख्दामा ठिटो यी स्वामीका कुरामा निकै दम छ । औधी पुस्तक अध्ययनले उनका कुराहरु खरीएका देखिन्छन् । जीवन दर्शनका किताब खोज्न कहिले उनी जमल धाउछन् त कहिले ठमेलका दुर्लभ पुस्तकहरु पाइने पसलहरुमा । ओशो र बुद्धका धेरै पुस्तक सकिसकेछन् । अहिले त्यही हातमा लिएको पुस्तकमा रमाइरहेका छन् ।





तर दुई बर्षअघि पहिलोपटक मेडिटेसन गर्न जादाको उनको अनुभव बेग्लै छ । ‘पहिलो दिन त जसोतसो ढल्यो । तर जब रात शुरु हुन्थ्यो, अर्को दिन कसरी काट्ने भन्ने समस्याले पिरोल्थ्यो । सपनामा समेत मन छट्पटाउथ्यो । सबैसग शांकेतिक संवाद गरेका र ध्यानमै होमिएका सपनाहरु मात्र ।’, अहिले दिनहू उठ्नेबित्तिकै र सुत्नुअघि केहीबेर ध्यान गर्छन् । ‘तर त्यसबखत म आत्तिए । कसरी सकियोस् त्यत्तिका दिन नबोली बस्न, अझ ४ पर्खालभित्र ।’ ती कठिन अनुभव सम्झदा बिकाश अहिले भने कत्ति तनावमा देखिएनन् । ‘कक्षामा पढ्दा खुबै हल्ला गरिन्थ्यो । अगाडि सरले लेकचर दिइरहदा अन्तिम बेञ्चमा बसेर नानाथरी गफ गर्न पल्केको मन ।’ शिक्षक जति नै कडा किन नहोस्, कपिमा लेखेर साथीसग ‘रिटन कन्र्भसेसन’सम्म गरेको उनी सम्झन्छन् । बारम्बारका एसएमएस र फोनहरु । सोसन नेटवर्कमा भइरहने अपडेटहरु । त्यस्तो बानी परेका उनी सकेनन् ध्यानमा बस्न ! अन्ततः पाचौं दिनको सबेरै शिविरबाट भागे ।





त्यसबखत उनले आफूलाई केही हदसम्म चिने । मन अरुका भरमा रमाइरहेको छ, अधैर्य छ....जस्ता धेरै । एकछिन् उनी शान्त भएर बस्न सकेनन् । भन्छन्, ‘घटना र सन्देश एकअर्काका परिपुरक हुन् ।’ पछि धेरैपटक उनी ध्यान शिविरमा गइसकेका छन् । पढाइसकेपछि कतै शान्त ठाउमा आश्रम खोल्ने कुरा सुन्दा यी इञ्जिनियरिङ्गका बिद्यार्थी त हुन् भन्ने शंका लाग्ला ? तर यी सन्यासी पनि होइनन् । ‘घरपरिवार र यही समाजमा रहेर आत्मशान्तिको जीवन्त यात्रा गर्न सकिन्छ ।’, उनी ढुक्क छन् ।





ती स्वामीले त्यसो भनिरहदा म भने तीन बर्षअघि दक्षिण एसियाका तीन सहर काठमाण्डौं, ढाका र नया“दिल्लीमा गरिएको एउटा अध्ययनलाई सम्झन्छु । जसमा किशोरकिशोरीले ‘लुगा र साथीभाइको चयन, प्रेमसम्बन्ध, बाबुआमाको हप्किदप्की, ईष्र्या र अविश्वास’ जस्ता बिषयलाई आफ्नो समस्या ठह¥याएका थिए । आज सोच्दैछु सायद त्यसमा ‘अधैयर्ता’ थपेको भए राम्रो हुन्थ्यो । ‘तन्नेरीहरुमा शान्त रहन नसक्नु ठूलो समस्या छ ।’ मैले यसो भनिरहदा उता उनी सहमतिको मुस्कान दिइरहेका थिए ।


(Catch its printed piece on Hello Shukrabar, a youth suppliment on KANTIPUR national daily dated 25th December 2009)



No comments:

Post a Comment