Sunday, May 22, 2011

फेरिँदै स्वाद


दीपक पाण्डेलाई किताब छान्न अप्ठ्यारो परिराखेको सजिलै बुझिन्थ्यो । एउटा किताब लिएर स्टलको काउन्टरसम्म आउन नपाउँदै बीचमै अर्को पुस्तकले उनको आँखा तान्थ्यो । कुन किन्ने कुन छाड्ने सोच्दासोच्दै नेपाल कमर्स क्याम्पस मीनभवनका यी २० वर्षे विद्यार्थी हैरान हुन्थे । त्यही हैरानीका बीच प्रदर्शनीब्ााट निस्कँदा उनको झोलामा आधा दर्जन किताबहरू जम्मा भएका थिए, राजनीति, कलादेखि साहित्यसम्मका । माओवादी नेता बाबुराम भट्टराईको 'आजको माक्र्सवाद र साम्राज्यवाद', तसलिमा नसरिनको 'प्रेम र जीवन', बुद्धिसागरको 'कर्नाली ब्लुज', जोन उडको 'माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म', दीपक अधिकारीले अनुवाद गरेको मञ्जुश्री थापाको 'सिक्लेसको ठिटो' र चिनियाँ किताब 'ट्रेडिसनल बर्ड पेन्टिङ' उनले यसपटक किनेका पुस्तक हुन् । 'मैले देखेको दरबार' किन्ने बेलाचाहिँ उनको बजेटले सीमा नाघिसकेको थियो । 


१५ औं शैक्षिक तथा पुस्तक प्रदर्शनी चलिरहेको भृकुटीमण्डप यो हप्ता किताबमय बन्यो । केटाकेटीदेखि तन्नेरी हुँदै प्रौढ पाठकको घुइँचो अघिल्लो वर्षभन्दा कम भए पनि पुस्तकप्रेमी रमाइरहेका भने देखिन्थे । 'किताब अध्ययनले हाम्रो ज्ञानको तहलाई परिपक्व बनाउँछ,' दीपकले आफ्नो किताबप्रेमको कारण खोल्दै भने, 'पत्रपत्रिकाले पाठकलाई सतही जानकारी दिन्छ भने पुस्तकले बृहत् ज्ञान ।'



यस्तो प्रदर्शनीको महत्त्व धेरै पुस्तक एकै ठाउँमा पाइनु र मूल्यमा दिइने छुटलाई मानिन्छ । तर, त्रिविमा राजनीतिशास्त्रका विद्यार्थी शंकर तिवारी, २५, सँग त्यत्तिकै छुटमा अरू बेला पनि पुस्तक पसलबाट किताबहरू किन्ने गरेको अनुभव छ । 



'प्रदर्शनीमा हुने माहोलले किताबको महत्त्व बुझ्न ऊर्जा दिन्छ', भन्छन्, 'त्यसमाथि धेरै छनोटका अवसर हुने भएकाले प्रदर्शनीमा राम्रा पुस्तक पाउने सम्भावना हुन्छ ।' उनले यसपटक किनेका पुस्तकहरूमध्ये 'गान्धी-पटेल, लेटर एन्ड स्पिचेस', 'गान्धी-नेहरू, लेटर एन्ड स्पिचेस' र जे कृष्णमूर्तिको 'थिङ्क अन दिज थिङ्स' मुख्य हुन् । गान्धीदर्शनमा शंकरको रुचि पुरानै रहेछ जसक्रममा पाएकै जानकारीले उनलाई पुस्तकै ताकेर प्रदर्शनीसम्म ल्याइपुर्‍याएको थियो । भन्छन्, 'जवाहरलाल नेहरू र बल्लवभाई पटेलको कुरा मिल्दैनथ्यो, दुवैले त्यसैकारण महात्मा गान्धीलाई चिठी लेख्थे र गान्धीले अर्को चिठी लेखेर उनीहरूका कुराहरू आदानप्रदान गरिदिन्थे ।' राजनीतिसँग सम्बन्धित केही पुस्तकहरू उनले कांग्रेस नेताहरू नरहरि आचार्य र गगन थापासँग मिलेर सम्पादनसमेत गरेका छन् । थप्छन्, 'राजनीति नै मेरो रुचिको क्षेत्र भएकाले पनि मैले पढ्ने पुस्तकहरू अर्थशास्त्र, समाजशास्त्रबारे पनि  हुन्छन् ।' उनले आफूलाई आख्यानले त्यति नतान्ने बताए । 



शंकरजस्तै आख्यानले आफूलाई आकषिर्त नगर्ने बताउँछन् अनिलकुमार झा, ३९ । पेसाले गणित शिक्षक उनले त्यसो भन्दैमा मानवीय संवेदना नै नभएका प्राविधिक पुस्तकहरू पनि पढ्ने सूचीमा राख्दैनन् । 'चर्चित मानिसका जीवनी पढ्न रुचाउँछु,' उनी भन्छन्, 'चर्चित र महान् मानिसको जीवनी पढ्दा आउने आनन्द कुनै रोचक उपन्यासको भन्दा कमको हुँदैन ।' अनिललाई पढेकामध्ये महात्मा गान्धीको जीवनी सबैभन्दा बढी प्रेरणादायी लागेको थियो । भृकुटीमण्डपमा भने उनको हातमा कृष्णप्रसाद भट्टराईको 'मेरो म' थियो । 'प्रधानमन्त्री भएर पनि सन्त जीवनयापन गरेका उनको जीवनीका बाहिर नआएका कुरा थाहा पाउने मेरो इच्छा हो ।' अनिलले त्यसो भन्दै गर्दा आइतबार मात्र सार्वजनिक भएको संरक्षणविद् चन्द्र गुरुङको जीवनी 'सिक्लेसको ठिटो' तेस्रो दिन सकिँदासम्म झन्डै पाँच सय प्रति बिक्री भइसकेको हिमाल किताबले बताएको थियो । 



पुस्तक पढ्ने भनेको कथा, उपन्यास वा कविता सङ्ग्रह पढ्ने मात्रै हो भन्ने जनमानसमा रहेको नेपाली बुझाइ बिस्तारै भत्कँदै गरेको यी व्यक्तिहरूका अनुभवले झल्काइरहेका छन् भने अर्कोतर्फ आध्यात्मिक दर्शनका किताबहरूले राम्रो पाठकवृत्त बनाइसकेका छन् । ओशो तपोवनले आफ्ना पुस्तकहरू बिक्रीका लागि राखेको स्टलमा पनि कम भीड थिएन । बरु तन्नेरीहरूको जमात नै बढ्ता देखिन्थ्यो । आनन्द अरुणको 'सन्त दर्शन' ओशो तपोवनको स्टलबाट सबैभन्दा बढी बिक्री भएको थियो । 



आख्यानतर्फ अंग्रेजी पुस्तकहरू नै धेरै बिक्री भइराखेका छन् । 'द मस्ट इलिजिवल ब्याचलर', 'जस्ट प|mेन्ड्स', 



'लिगल्ली लभिङ योर्स' जस्ता उपन्यासहरू किशोरकिशोरीहरूले बढ्ता रुचाइरहेको ब्रजंगवली बुक इन्टरप्राइजेजका विमलकुमार दासले बताए । पाउलो कोहेल्लो, चेतन भगतका उपन्यासहरू पुराना नै भए तापनि अझै नेपाली पाठक जगत्मा चर्चा र उच्च बिक्रीमै छन् । 



प्रदर्शनी अवधि र केहीअघि सार्वजनिक भएका अनमोलमणिको कविता संग्रह 'सबुत', नारायण श्रेष्ठको कविता 'साक्षी', अभय श्रेष्ठको कथासङ्ग्रह 'तेस्रो किनारा', किशोर नेपालको उपन्यास 'पाताल', तारालाल श्रेष्ठको पुस्तक 'शक्ति, स्रष्टा र सबाल्र्टन' र कवि श्यामलले अनुवाद गरेको प्रसिद्ध लेखक गाबि्रयल गार्सिया मार्खेजको लघुउपन्यास 'अभागी कर्नेल' पनि चर्चामा रहे ।



चिनियाँ पुस्तकहरू मात्र राखिएको एउटा स्टलमा भीड त अन्यको दाँजोमा कम देखिन्थ्यो तर त्यहाँ जानेहरू भने निकै बौद्धिक लाग्थे । यो स्टलमा चिनियाँ विकास र भूगोलसम्बन्धी पुस्तकले पाठकलाई तानेको थियो । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा 'द्वन्द्व, शान्ति र विकास'मा स्नातकोत्तर गर्दै गरेकी गोमा पराजुली पनि ती व्यक्तिजस्तै कुनै विषयमा गहिरिएर वा विश्लेषण गरेर उत्सुकता मेट्न सकिने 'रिसर्च बुक'हरू प्ाढ्न रहर लाग्ने बताउँछिन् । भन्छिन्, 'पहिलेपहिले औधि उपन्यास पढ्थें, अहिले भने गैरआख्यान नै रमाइला लाग्छन् ।'



पुस्तक बजारमा साहित्य, खासगरी उपन्यासको उपस्थिति सबभन्दा बाक्लो देखिए पनि प्रदर्शनीमा गैरआख्यान पनि पछि परेनन् । तैपनि, बिक्री र चर्चाको हिसाबले आख्यान नै सबभन्दा अगाडि रहे । विश्वविद्यालय र कलेज पढ्दै गरेका विद्यार्थीको रुचि इतिहास, राजनीति र समाजशास्त्रका पुस्तकतिर बढ्दै गएको देख्दा भने पाठकको स्वाद फेरिएको अनुमान गर्न सकिन्छ ।

This originally appeared appeared in print in KANTIPUR's Koseli dated 21th of May, 2011. Click here for e-paper view

No comments:

Post a Comment