Friday, June 3, 2011

टाइम म्याटर्स


‘एक्लै समयको सदुपयोग गर्छु भनेर मात्र सकिँदैन, त्यसका लागि सबैले आफ्नो कारण अरुको समय खेर गइराखेको त छैन भनेर पनि सोच्नु पर्छ’


‘ह्वेन एभ्रिथिङ चेन्जेज इन सेकेन्ड, ह्वाई टु से फर मिनेटस्’, भारतिय मोवाइल कम्पनी टाटा डोकोमोको विज्ञापनमा बज्ने यो भनाई केही समय अघिसम्म जयजङ्ग महतलाई ‘बकवास’ लाग्नेगथ्र्यो । एक घण्टाको कामलाई हप्तादिनसम्म झेल्ने नियतिमा अभ्यस्त भइसकेका उनलाई त्यो एउटा सुन्दर आदर्शभन्दा बढ्ता लागोस् पनि कसरी † तर सेन्ट जेभियर्स कलेजबाट सोसल वर्कमा स्नातकोत्तर गर्दै गरेका यिनै २४ बर्षे जतिखेर एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन स्विजरल्याण्डको ब्राउनहण्ड पुगे, उनलाई बल्ल लाग्यो, ‘डोकोमोको विज्ञापनमा पक्कै केही रहेछ ।’ 

पहिलोपटक यसरी विदेश हान्निएका उनको मनमा जति नयाँ ठाउँप्रतिको उत्सुकता  थियो, त्यो भन्दा कयौं गुणा अपरिचित ठाउँमा यात्रा गर्दा पर्न सक्ने समस्याले पिरोलिराखेको थियो । ज्युरिच बिमानस्थल ओर्लेपछि कार्यक्रम आयोजना गरिएको ब्राउनहण्ड पुग्न २ घण्टामा झण्डै चारवटा रेल बदल्नुपथ्र्यो । त्यसमाथि तोकिएको ट्रान्जिट समय निकै कम थियो । ‘अलिकती पनि ढिलो भए के होला’, उनी झन् आत्तिएका थिए, ‘तर म प्रत्येक स्टेशन पुग्दा अर्कोको लागि ट्रेन तयार अवस्थामा हुन्थ्यो र तोकिएकै ठिक समयमा उनी सम्मेलन स्थल ब्राउनहण्ड पुगें ।’

‘जीवनमा त्यसअघि कहिल्यै नपुगेको ठाउँमा पनि म तोकिएकै समयमै पुगेँ’, भन्छन्, ‘पश्चिमाहरुको विशेषता भनेकै त्यही रैछ– समयलाई निकै महत्व दिने र कत्तिपनि समय खेरा नजाओस् भनेर निकै संवेदनशील रहने ।’ यद्यपि जयसँग पुरानो बसपार्क–कलंकी रुटमा माइक्रोभित्रै अन्तरवार्ता लिइरहंदाको परिवेश सयौं माइल पर स्विजरल्याण्डको भन्दा बेग्लै थियो । त्रिपुरेश्वरको सडकमा थेगिनसक्नु जाम थियो । कलेजको एउटा प्रोजेक्ट वर्कका लागि रविभवन हिँडेका उनी सामान्य समयभन्दा आधा घण्टा मार्जिन राखेर हिँड्दा पनि थप एक घण्टा ढिलो भइसकेका थिए । भन्दैथिए, ‘आजकल मलाई सबैभन्दा तनाव नै यस्तै सडक जामले दिन्छ ।’


जयजस्तै सडक जामले हैरान मध्येका एक हुन् त्रिचन्द्र क्याम्पस, काठमाण्डुमा बिएस्सी दोस्रो बर्षका बिद्यार्थी आगमन भुसाल, २० । त्यसैले आजकल उनी आफ्नो घर बालुवाटारबाट क्याम्पससम्म धेरैजसो पैदल हिँड्छन् । ‘जब गाडि चड्दा पैदलभन्दा दोब्बर समय लाग्छ भने के का लागि चढ्नु’, भन्छन्, ‘यस्ता छोटा दूरीका यात्रामा पैदल हिंड्ने हो भने जाम त कम हुन्थ्यो नै, हाम्रो दिन पनि राम्ररी बित्थ्यो ।’ आगमनको अनुभवमा कार्यस्थल (कलेज वा अफिस) हिँड्दा विहानै थला परियो भने त्यस दिन नै बिग्रन्छ । भन्छन्, ‘घरबाट एउटा उत्साह लिएर हिडिँन्छ कलेज पुग्दासम्म त्यही उत्साह फ्रस्टेसनमा बदलिन्छ ।’ समस्या सडक जाममा मात्र होइन, परिक्षाको फारम भर्न जाँदा होस् या बिजुली/टेलिफोनको पैसा तिर्न जाँदा समस्या उस्तै छ । थप्छन्, ‘विहान उठ्दा कहिलेकाहीँ धारामा पानी आउँदैन, अनि कलेज कसरी जानु ?’ समय ब्यवस्थापन आफूले चाहेर मात्र नहुने उनको अनुभव छ । थप्छन्, ‘आफू सम्बन्धीत हरेक क्षेत्रले समयको महत्व बुझ्नुपर्छ जसका लागि पहिले हाम्रो सिस्टम राम्रो हुनु जरुरी छ ।’ 

सबैभन्दा बढि समयको महत्व नबुझ्नेमा उनले आफू अध्ययनरत त्रिभुवन विश्वविद्यालयलाई पनि ठान्छन् । ‘कोर्स सकिसक्दा पनि परिक्षाको रुटिन सार्वजनिक गरिँदैन, ३ बर्षे कोर्स सकिन ४ बर्षसम्म लाग्छ, रिजल्ट आउन उस्तै ढिलो’, भन्छन्, ‘टियुका केही कुरा तालिका अनुसार आउँदैन । एक्जाम आउला भन्दै बसिन्छ न इक्जाम आउँछ न त्यो समय अरु सिर्जनशील काम सिक्नेमा लगाउन नै सकिन्छ ।’

समय व्यवस्थापन गर्न नसक्नुमा हाम्रो सिस्टम कतिसम्म दोषी छ भन्ने पवन सिटौला, २४, ले अहिले आफै अनुभव गरिराखेका छन् । पिएचडी अध्ययनका लागि अमेरिका हान्निने तर्खरमा रहेका उनी यसबिचमा स–सानो कामका लागि धेरैपटक सरकारी कार्यालयहरु धाए । ‘त्यहाँका अनावश्यक प्रकृयाहरुले मलाई त शुरुमा साइको बनायो, त्यसमाथि सरकारी कर्मचारीहरुको बिनाकारण अरुलाई कुराईराख्ने बानी’, भन्छन्, ‘भित्र मिटिङ छ भन्दै गफ चुटेर बन्ने । हाम्रो त समय नै होइन जस्तो ।’ न्यूनोतम जानकारीहरु मन्त्रालयका वेवसाइटमा राख्ने हो भने समयको बचतसँगै धेरै सहजता हुने उनी सुझाउँछन् । भन्छन्, ‘तर ति कहिल्यै अपडेट नै हुँदैनन् ।’ अर्कोतर्फ हाम्रो कहिल्यै निको नहुने रोगजस्तो बनेको लोडसेडिङको मारमा पवन पनि राम्ररी परेका छन् । थेसिस सक्नुपर्ने बेला भइसक्दा पनि त्यही लोडसेडिङकै कारण बल्लतल्ल प्रपोजल सकिएको छ । ‘घरमा एउटा कम्प्युटर छ लाइन आउँदा सबैको कामको थाक लागेर बसेको हुन्छ, क–कसले के–के मात्र गर्ने ?’

नेशनल मेडिकल कलेज, वीरगंजमा एमबिबिएस दोस्रो बर्षकी बिद्यार्थी सैलु अर्याललाई आजकल सबैभन्दा तनाव त्यतिखेर हुन्छ जतिबेला उनी आफूले खोजेको रफ्तारभन्दा निकै सुस्त गतिमा काम गर्नुपर्छ । कलेज वा साइबर क्याफेकै कम्प्युटरमा इन्टरनेट चलाउँदा हुने सुस्तताले उनलाई पिरोल्छ । भन्छिन्, ‘हामीमा पैसा लिएपछि सेवा पनि त्यही अनुसार दिनुपर्छ भन्ने परिपाटी नै छैन, खाली काम चलाउ पारा मात्र ।’ उनका अनुसार कसैले देख्दामा छोटो समय नै खर्च हुने समस्या भएता पनि हामीलाई ठूलो तनाव दिइराखेको हुन्छ । ‘एउटा लय र रफ्तारमा गरिराखेको काममा बाधा आयो भने त्यो काम नै बिग्रन्छ’, यी २० बर्षेले समस्याको अर्को पाटो झल्काइन्, ‘कुनै कार्यक्रम वा जमघटमा पनि नेपाली टाइम भन्दै घण्टौं ढिलो गर्ने र कुराउने त चलन नै भइसकेको छ ।’ सैलुका भनाईमा यस्ता कुरामा जिम्मेवार तह र तप्काकै व्यक्तिहरु गैरजिम्मेवार भइदिँदा समय व्यावस्थापन हुन नसक्नु समस्या बनेको हो ।  

जय, आगमन, पवन र सैलु नयाँ पुस्ताका केही प्रतिनिधि तन्नेरी हुन् जो आफ्नो दिनचर्यामा हरेक छोटो समयले पनि महत्व राख्ने ठान्छन् र समय व्यावस्थापन गर्दै अघि बढिरहेका छन् । तर उनीहरु सबैको एउटै भनाई छ, ‘एक्लै समयको सदुपयोग गर्छु भनेर मात्र सकिँदैन, त्यसका लागि सबैले आफ्नो कारण अरुको समय खेर गइराखेको त छैन भनेर पनि सोच्नु पर्छ ।’

This appeared in Print at Hello Shukrabar (KANTIPUR) dated 2nd of June, 2011. Click here for the e-paper view

No comments:

Post a Comment