अफ्गानीहरु आफ्नो अस्थिरताको लागि सायद अमेरिकालाई भन्दा बढ्ता आफ्नै छिमेकी पाकिस्तानलाई दोष दिन्छन् । इन्डियन इञ्चिच्युट अफ म्यानेजमेन्ट (आइआइएम) बैङ्लोरमा महमद जेन अफ्कसँग द्वन्द झेलिरहेको उनको मुलुक अफ्गानस्थानबारे कुराकानी भइरहँदा ब्यक्त भएका भावनाहरुले त्यसको झल्को स्पष्टसँग दिइराखेको थियो । उनी भन्दैथिए, ‘अफ्गानस्थानमा तालिवान विद्रोहीबाट फेला पारिने धेरै हतियार र ल्याण्डमाइनहरुमा नत्र किन पाकिस्तानमा निर्मित उपकरणहरु भेटिन्छन् त ?’ मलिन र भावुक हुँदै आफ्नो मुलुकको अस्थिरताको जड कारण बताइरहँदा उनले ओसामा बिन लादेन पाकिस्तानमा भेटिएको घटना समेत जोड्न छाडेनन् । जसबारे थप टिप्पणी गर्न नचाहेता पनि पाकिस्तानले आफ्नो मुलुकको समृद्धि नचाहिरहेको प्रस्ट्याउनको लागि भने त्यस घटना समेत उनको लागि एउटा थप आधार थियो ।
Aishath Saleem |
‘यति हुँदाहुँदै पनि हाम्रो सबैभन्दा नजिकको कोही छ भने त्यो पाकिस्तान नै हो’, छेवैमा रहेको पाकिस्तानी साथी महमद अविस अवनलाई अंगाल्दै यी २६ बर्षे अफ्गानी वकिलले थपे, ‘तालिवान शासनताका लाखौं अफ्गानीहरुलाई पाकिस्तानले शरण दिएको थियो ।’ उनी स्वयं त्यसमध्येका एक थिए जसको ८ बर्ष पाकिस्तानको पेशावरमा शरणार्थी रुपमा बितेको थियो । ‘हाम्रो भाषा, संस्कृति, रितिरिवाज उस्तैउस्तै छ तर पनि एउटाले अर्कालाई दुश्मनझैं सोच्नाले दुवैको अहित गरिराखेको छ’ महमद जेनको भनाई छ, ‘सायद त्यसकै कारण सात समुद्र पारीबाट पश्चिमाहरु आएर हाम्रो भूमिमा राज गर्न पाइराखेका छन् ।’ आपसमा मिल्ने हो भने अफ्गानस्थानको द्वन्द्व दक्षिण एसियालीहरुकै पहलमै पनि मिलाउन सकिने उनको भनाई थियो ।
द्वन्द्व र त्यसले निम्त्याएको असुरक्षा दक्षिण एसियाकै एउटा नियती बनिरहेको बेला द इकोनोमिस्ट पत्रिकाले आफ्नो एउटा पछिल्लो अंकमा भारत र पाकिस्तानबिचको सीमा क्षेत्र ‘विश्वकै सबैभन्दा खतरनाक’ भनेर आफ्नो एउटा अंकमा प्रमुख कभरेज दिएको थियो । यसै प्रशंगबाट शुरु भएको पेशावर विश्वविद्यालय पाकिस्तानकी बिद्यार्थी आइसा इल्याससँगको कुराकानीले पुन: एकपटक अफ्गानस्थानकै महमज जेनसँग जस्तै आंकवादकै प्रशंगमा जोडियो । ‘जब म भारत आएँ, मलाई कत्ति पनि विदेशी भूमिमा छु जस्तो लागेन । कारण हाम्रा झण्डैझण्डै सबथोक उस्तै छन्’, कम्युनिकेसन डिजाइन पढिराखेकी यी २२ बर्षेले थपिन्, ‘तर पनि हाम्रो परिचय विश्वमाझ यसरी छाउनु आफैमा दुर्भाग्यपूर्ण हो ।’ उता आइसा महमद जेनले उठाएको प्रश्नको पनि उत्तर दिन पनि खोज्दैछिन् । भनिन्, ‘हामीले आत्मासाथ गर्न सक्नुपर्छ तालिवानलाई जन्माउनेदेखि हुर्काउनेसम्म उनीहरु नै (अमेरिकीहरु) हुन् ।’ उनका अनुसार त्यही पछि अमेरिकाका लागि प्रत्यूत्पादक सावित भयो र सेप्टेम्बर ११ को दू:खद घटना घट्यो । तर त्यसपछि जुन रुपमा पश्चिमा जगतमा ‘इश्लामिक टेरोरिजम’ भन्दै सम्पूर्ण मुस्लिम विश्वलाई एकै रुपमा हेर्न थालियो त्यसले झन् थप समस्याहरु सिर्जना गरेको उनको भनाई थियो । थपिन्, ‘इश्लाममा कतै मारकाटलाई आदर्शको रुपमा व्याख्या गरिएको छैन । तर हाम्रा मुलुकहरुमा जसरी इश्लामलाई जोडेर द्वन्द्व चर्किरहेको छ, मलाई त लाग्छ तिनीहरु सच्चा इश्लाम नै होइनन् ।’ उनी स्वयं आफ्ना अनुभव बताउँदैथिइन् जतिखेर त्यहाँको एउटा मुख्य शहर पेशावरमै घुम्न निस्कँदा साँझ घर फर्कन सक्ने कि नसक्नेमा आफैलाई द्वविधा हुन्थ्यो । उनको तर्क थियो, ‘म स्वयं मुस्लिम हुँ, यदि इश्लामिक टेरोरिजम हुँदो हो त मैले असुरक्षित महसुस गर्नु नपर्ने हो नि ।’ त्यसैले उनको निश्कर्ष छ, ‘आतंकवाद भनेको राष्ट्रियता, धर्म र संस्कृति भन्दा बाहिरको कुरा हो ।’
Chathurangi De Silva |
आइसासँग कुराकानी भइरहँदा भारतिय इलेक्ट्रोनिक इञ्जिनियर तथा ब्लगर प्रशान्त मेहता, २७, छेवैमा थिए । उनले भारत पाकिस्तान बिचको सम्बन्धलाई दुई देशका सरकारहरुले जनस्तरबाटै सुधार्नुको साटो उल्टै बिगारिराखेको बताए । उनले आइपिएलमा पाकिस्तानी खेलाडि पनि राख्नुपर्ने कुराले जुन रुपमा चर्को बहस सिर्जना गरायो त्यलाई ‘ब्यर्थको’ भने । थपे, ‘कोही व्यावसायिक रुपमै आइपिएलमा छानिन्छ भने त्यसलाई भारत–पाकिस्तानको मुद्दासँग जोड्नु नै आवश्यक छैन । जिम्मेवार निकायबाटै गरिने यस्ता व्यर्थका कामले हामीबिचको घनिस्टता झन् बढि समस्याको रुपमा बदलिंदै जान्छ ।’ प्रशान्तलाई आफ्नो देश दक्षिण एसियाको सबैभन्दा ठूलो र शक्तिशाली राष्ट्र भइकन पनि उसलाई दक्षिण एसियाली छिमेकीहरुले खाली नरुचाउने कुरा बढ्ता सुनिरहँदा सबैभन्दा बढि नरमाइलो लाग्दो रहेछ । भन्छन्, ‘हामी सबै दक्षिण एसियालीहरु जनस्तरबाटै आत्मिय र घनिष्ट छौं तर हाम्रा नेतृत्वहरुले किन यो सम्बन्धलाई सुधार्न भन्दा बिगार्न बढि कस्सिन्छन् ?’
Kaushal Sapkota |
उता माल्दिभ्स अहिले आफ्नैखाले समस्याले ग्रस्त छ । ‘म त्यस्तो देशको नागरिक हुँ जुन देशको अस्तित्व अव विश्वको नक्साबाटै हराउँदै छ’, इसहात सलिम, २४, ले आफ्नो परिचय दिँदा आजकल हरेक ठाउँमा यो वाक्य भन्न छुटाउँदिनन् । ‘तर’, भनिन्, ‘हाम्रो एक्लो प्रयासले केही हुँदैन, शक्तिशाली मुलुकहरु हाम्रो बाँच्न पाउने अधिकारको संरक्षण गर्न जिम्मेवार छैनन् ।’ जलवायु परिवर्तनको कारण अबको ५० बर्षमा अस्तित्व समाप्त हुने भनिएको माल्दिभ्समा अहिले त्यसको प्रारम्भिक असरहरु देखिन थालिसकेका छन् । इसहात भन्छिन्, ‘समुन्द्रका छालले जमिन कटान गर्न थालिसकेको छ, जमिनमुनीबाट तानिने पानी समेत आजकल नुनिलो हुन्छ ।’ जसले टापुहरुको राष्ट्र माल्दिभ्सका मानिसमा सधै एक खालको तनावले डेरा जमाइराखेको छ । कानुनमा स्नातक गर्दै गरेकी उनी भन्छिन्, ‘हाम्रो शक्ति भनेकै हाम्रा समस्याहरु पनि हुन् । हामीले समुन्द्रमुनी मन्त्रीपरिषद्को वैठक गरेपछि नेपालमा पनि सगरमाथाको फेदिमा त्यस्तै भएछ । हाम्रा यस्तै समस्याले पनि हामीलाई नजिक ल्याएको छ ।’ उता बंगलादेशका ओसामा बिन नुर पनि आफ्नो देश मौसम परिवर्तनको चपेटामा परी कृषिमा निकै पछि परेको र छिट्टै १८ प्रतिसत देशको तटिय भू–भाग गुमाउन लागेको बताउँछन् । थप्छन्, ‘पूरा दक्षिण एसिया जलवायु परिवर्तनको शिकार बन्दैछ, त्यसैले हामी सबै जुटेर औद्योगिक मुलुकहरुलाई मनाउन र दबाब दिन लाग्नुपर्छ ।’
Mohammad Jan Ofuq |
भुटानका पुरन गुरुङका बाजे धेरै पहिले नेपालबाटै बसाई सरेर गएका थिए । त्यसैले उनी नेपाललाई पनि आफ्नै घरजस्तो सोच्छन् । घरमा नेपाली बोल्छन् । भारतमा बसेर पढ्ने गरेता पनि उनलाई विदेश गएको भान नै हुँदैन । भन्छन्, ‘यहि नै दक्षिण एसियाको विशेषता हो ।’ बिस्तारै भुटानमा प्रजातन्त्र आइराखेको छ, भुटानले पनि समृद्धिको यात्रामा फड्को मारिराखेको छ भनेर आजकल भन्न पाउँदा उनलाई भुटानी हुनुमा गर्व महसुस हुन्छ । भर्खर बैङ्लोरको सिएमआर कलेज अफ म्यानेजमेन्टबाट पत्रकारितामा स्नातकोत्तर सकेका उनी स्वदेश फर्केरै पत्रकारिताको करिअर बनाउन चहान्छन् । तर आफ्ना देशका लाखौं जनताहरु शरणार्थीको रुपमा नेपाल र तेस्रो मुलुकमा रहँदा पनि साझा पहलको अभावमा स्वदेश फिर्ता हुन नपाएको घटनाले उनलाई पिरोल्छ । ‘भुटान, भारत र नेपाल तिनैजना मिल्ने हो भने सहजै हल हुने यो समस्यालाई किन हामी दिनदिनै जटिल बनाउँदैछौ ?’
Prashant Mehta |
Osama Bin Noor & Puran Gurung |
कौशलकै कुरामा साथ जनाउँदै मोरटुवा विश्वविद्यालय, कोलम्बोकी (श्रीलंका) चतुरांगी दि सिल्भा, २३, भन्छिन्, ‘त्यसैले बिस्तारै शान्तिको बाटोतर्फ लागिरहेको दक्षिण एसियामा अब फेरी अशान्तिको विउ रोप्न कोही पनि नकस्सिउँ ।’ उनी थप्छिन्, ‘मेरै देश श्रीलंका होस् या नेपाल या अफ्गानस्थान नै किन नहोस् सबै अहिले द्वन्द्वबाट आजित भएर शान्ति निर्माणको बाटोमा छन्, त्यसमा छिमेकीहरुको साथ झनै आवश्यक छ ।’ उनी त झन् युरोपेली राष्ट्रहरुझैं सबै दक्षिण एसियाली राष्ट्रमा एउटै भिसाले काम गर्ने नीति बनाउन ढिलो गर्न नहुने विचार राख्छिन् । चतुरांगीको निश्कर्ष पनि महमद, आइसा, प्रशान्त, इसहात, ओसामा, पुरन, कौशलको भन्दा फरक छैन । उनीहरु भन्छन्, ‘दक्षिण एसिया ८ फरक फरक राष्ट्र मिलेर बनेता पनि यो एउटा घरजस्तो छ । घरको कुनै एक सदस्य अशान्तिमा हुँदा अरु सदस्यको मन पनि शान्त हुन सक्दैन । त्यसैले घरभित्रका सबै सदस्यमा असमझदारी र कटुटा होइन समझदारी र साझेदारी आवश्यक छ ।’
This appeared in KANTIPUR daily dated 24th of June, 2010. Click here for epaper view.
Great write up! I liked it.
ReplyDeletewell written...grt job.
ReplyDelete