Sunday, September 25, 2011

वहदेखि खुसीसम्म, विचारदेखि आक्रोशसम्म

इन्टरनेट सञ्जालमा नेपाली ब्लग खोज्दै जाँदा भेटिएको 'दुर्जेन चेतना' नामको ब्लगमा गतवर्षको तिहारलाई सन्दर्भ पारेर लेखिएको छ, "तिहार  आयो, मेरी दिदीलाई सम्झाएर गयो।" तिहारमा टीका लगाउन नपाएपछि ब्लगरले दिदीसँग बिताएका पुराना क्षणलाई स्मृति शैलीमा  अभिव्यक्त गर्दै लेखेका छन्, "म सानै हुँदादेखि नै दिदीले मलाई आमाको पछ्यौराले ढाडमा बोकेर हिँड्नु हुन्थ्यो रे ! तर, पहिलोपटक मलाई हात  समातेर शिशुकक्षा पढ्न जाँदादेखिका क्षणहरू मात्र मलाई याद छन्।"

उक्त ब्लगमा ब्लगरका दिदीसँगका सुख-दु:खका क्षणहरू मात्र भेटिँदैनन्, ब्लग लेखनको एउटा पाटोको झल्को पनि पाइन्छ। त्यसो भए के हो त  ब्लग लेखन वा ब्लगिङ् ? एउटै उत्तर भेटाउनु सजिलो छैन। सामान्यतया मान्छेले आफ्ना अनुभव, अनुभूति र दृष्टिकोणलाई आफ्नै शैलीमा  अभिव्यक्त गर्ने एउटा माध्यम भनेर ब्लगिङ्लाई बुझिन्छ। पछिल्ला दिनमा यसलाई लेखकीय उत्तरदायित्वसँग जोडेर विभिन्न बहसहरू पनि  सुरु भएका छन्। अहिले ब्लगिङ् चरम स्वच्छन्दतामा आफ्ना भावनाहरू अनगिन्ती शैली, तरिका र विषयहरूमा पोख्न सकिने थलोका रूपमा  विकसित भइरहेको छ।

सुमन मञ्जरी (सरीता खनाल)को ब्लगमा 'झरीले जोडेको सम्बन्ध' शीर्षकमा विशेष सन्दर्भ पारेर कसैलाई पहिलोपटक त्यस्तै झरीमा भेट्दाको अनुभव व्यक्त गरिएको  छ। मञ्जरीले उक्त ब्लगपोस्टमा लेखेकी छन्, "यी दिनमा लगातार झरी पररिहँदा हाम्रो भेटघाटका सुरुवाती  क्षण याद आउँदै छन्। तीन वर्षअघिको यही भदौरे झरीमा हाम्रो भेट भएको थियो। लगातारको झरीले दिनहरू निथु्रक्क भिजेका थिए। थोरै बो ल्ने अनि चुपचाप बस्न रुचाउने रहेछौ तिमी, मलाई भने बोलिरहनुपर्ने। एकै भेटमा तिमीलाई अत्याएकी थिएँ क्यारे मैले। प्रश्नमाथि प्रश्न  गरेर।" त्रिभुवन विश्वविद्यालयमा नेपालीमा स्नातकोत्तरकी विद्यार्थी मञ्जरीले महिनामा औसत पाँच/छवटा ब्लग लेख्ने गरेकी छन्। भन्छिन्,  "म समाचार लेख्दिनँ, कुनै घटनाले मनलाई छोयो भने लेखिहाल्छु।" त्यसो त उनका ब्लगमा अधिकांश कुरा कसैसँग भेट्दा वा कतै घुम्न जाँदाको अनुभव, कथा, कविता र कुनै विषयमा उनका अन्तरमनका भाव भेटिन्छन् । 

ब्लगको प्रकृति लेख्ने व्यक्तिको व्यवसाय र पृष्ठभूमिले पनि धेरै हदसम्म व्यक्त गरेको पाइन्छ। ग्याजेटका सोखिन भास्कर हुमागाईंले ब्लगमा  नयाँनयाँ सफ्टवेर र सूचनाप्रविधिमा अद्यावधिक भइरहेका कुराहरू खोजेर राख्ने गर्छन्। भन्छन्, "यस्ता कुराहरू ब्लगमा राख्नु आफ्नो सोख  मेट्नु त हो नै, त्यसबाहेक आईटीबारे जानकारी खोजिरहेका धेरैलाई सहयोग पनि पुग्छ।" नेपालमा कति ब्लगर छन्, यकिन छैन। पत्रकार,  विद्यार्थी, कर्मचारीदेखि लिएर धेरै सेवानिवृत्त व्यक्तिहरूसम्मले ब्लगिङ् गररिहेका साइटहरू भेटिन्छन्। 
"व्यक्तिगत विचार र अनुभूति साटासाट गर्ने ब्लगका सुरुवाती पृष्ठभूमि भए तापनि अहिले त्यसको दायरामा धेरै व्यापकता ल्याइसकेको छ,"  आकारपोस्ट डटकमका ब्लगर अनिल आकार भन्छन्, "त्यसैले ब्लगमा के लेख्न मिल्ने र के नमिल्ने भनेर तर्कवितर्क गर्नेभन्दा पनि व्यक्तिको रु चिलाई स्वतन्त्र छाडिनुपर्छ। र, सच्चा ब्लगिङ् हुने पनि त्यसरी नै हो।" अहिले ब्लगहरू राजनीतिक, सामाजिक र सांस्कृतिक बहसका थलो  पनि बनेका छन्। आकार थप्छन्, "स्वतन्त्रतालाई सबैभन्दा प्रिय सोच्ने अहिलेको नयाँ पुस्तामा ब्लगले एकप्रकारको रौनक नै ल्याएको छ।" 

पेसाले नेपाल सरकारका शाखा अधिकृत अनुप पाण्डेय आफ्नो गाउँका खबर र अनुभवलाई ब्लगमा राख्छन्। यसले उनको गाउँबाट विदेश  गएकाहरूलाई गाउँको खबर बुझ्ने राम्रो चौतारी तयार पारिदिएको छ। स्याङ्जाको बिर्घाका स्थायी बासिन्दा उनले आफ्नो ब्लगको नाम  नै बिर्घा ब्लग राखेका छन्, जसलाई औसतमा दैनिक चार सय जनाले अवलोकन गर्ने गरेको उनको अनुभव छ। भन्छन्, "नेपालको खबर बुझ्न  ईकान्तिपुर हेरिराखेजस्तो गाउँको खबर बुझ्न बिर्घा ब्लग हेर्छन्, विदेशमा रहेका बिर्घाबासीहरू।" त्यसैले अब ब्लग लेख्ने कामसँगै ब्लग पढने सर्कल पनि बनाउन आवश्यक हुने उनको तर्क छ। अहिले फेसबुक, ट्वीटर, गुगलप्लसजस्ता सामाजिक सञ्जालमा 'लिंक सेयर' गर्ने,  साथीहरूको ब्लगमा एकअर्काको ब्लग लिंक राख्नेजस्ता उपक्रमले पनि ब्लगहरूको अवलोकन बढ्न सम्भव छ। 'सर्च किवर्ड'को सम्बन्ध  तपाईंको ब्लगपोस्टसँग मिल्यो भने कतिपय अवस्थामा गुगलले समेत नयाँ अवलोकनकर्तालाई तपाईंको ब्लगसम्म पुर्‍याउँछ।

अचेल व्यक्तिगत तथा भावनात्मक कुरादेखि आफ्ना साहित्यिक रचना हुँदै समाचार र राजनीतिक विश्लेषण गर्ने ब्लगहरू प्रशस्त भेटिन्छन्।  त्यसैगरी, फोटो र भिडियो ब्लग गर्नेहरू पनि उत्तिकै छन्। पत्रकार सौरभ ढकाल भिडियोमा मानिसका कथा बुन्दै आफ्नो साइट स्टोरीसाइकल  डटकममा भिडियो ब्लग गर्छन्। उनका शब्दमा भिडियो ब्लगिङ्ले आफ्ना अनुभव मात्रै सम्पे्रषण गर्दैन, दिन खोजेको सन्देश बाँड्ने एउटा सबै भन्दा राम्रो तरिकालाई समेट्छ। मोबाइल फोन र डिजिटल क्यामराले भिडियो ब्लगिङ् गर्न धेरै सहज बनाएका छन्।

सुजन शर्माको त ब्लगको नाम नै मेरो फोटो ब्लग राखिएको छ, जहाँ उनले आफूले खिचेका तस्विरलाई आधार बनाएर विवरण प्रस्तुत  गर्छिन्। उनको पछिल्लो एउटा ब्लगपोस्टको शीर्षकले 'छोरीको प्रोजेक्टवर्क र काठमाडौँका धरोहरहरू'लाई समेट्छ। कक्षा ३ मा पढ्ने उनकी  छोरीलाई काठमाडौँका ऐतिहासिक संरचनाको
तस्विर निकालेर कापीमा टाँस्न भनेर प्रोजेक्टवर्क दिइएको रहेछ। फोटो ब्लगकी सोखिन  शर्माले छोरीलाई लिएर काठमाडौँ घुम्दाको परिदृश्यलाई कलात्मक हिसाबले सम्प्रेषण गरेकी छन्। भन्छिन्, "गुगलबाटै खोजेर छोरीका लागि  काम गरेको भए पनि हुन्थ्यो तर आफ्नो काम ब्लगमा देखाउनुको मज्जा अर्कै हुन्छ।" पेसाले चिकित्सक सुदीप आचार्यसमेत आफ्नो कामबाट  फुर्सद मिलाएर फोटो ब्लगिङ्मा झुम्छन्। उनको भनाइ छ, "लेखिरहन नभ्याउने हामीहरूजस्ताका लागि आफ्नो सिर्जना व्यक्त गर्न फोटो  ब्लगिङ् राम्रो माध्यम हो। यसले मेरो घुमघामको सोख र ब्लगिङ्को रुचिलाई पनि प्रतिनिधित्व गर्छ।"

ब्लग चलाइराख्न प्राविधिक रूपमा दक्ष भइराख्नु नपर्ने र इमेलझैँ सजिलै अपडेट गर्न सकिने हुँदा पनि यो माध्यम लोकप्रिय भइरहेको हो। तर,  यसले सिर्जना गरेको सबैभन्दा सुन्दर पाटो भने तन्नेरीदेखि बूढापाकासम्म सबैलाई स्वतन्त्रपूर्वक मनका वह र अनुभव पोख्न दिनु हो। कुनै  राष्ट्रिय महत्त्वका विषयमा बहस चल्दा कतिपय ब्लगहरू बहसका उपयुक्त चौतारी मात्र नभई समाचारस्रोत नै बनेका उदाहरण पनि छन्।  कतिपयले यसलाई 'ब्लग'हरू पत्रकारितातर्फ ढल्के भनेर टिप्पणी गरेको पनि सुनिन्छ। 

नेपालमा भने ब्लगको जन्म केही हदसम्म
पत्रकारितासँगै जोडिएर आएको हो। सन् २००३ तिरै छिटफुट रूपमा नेपालमा ब्लगिङ् सुरु भए पनि  १९ माघको 'शाही कू'पछि ब्लगिङ्को प्रयोग र लोकपि्रयता बढेको हो। विगत सात वर्षमा ब्लगिङ्ले धेरै विषयवस्तु समेटेको मात्र छैन,  व्यक्तिभित्रका उकुसमुकुसहरूलाई प्रविधिमार्फत अरूसम्म पुर्‍याउने मौकासमेत प्रदान गरेको छ। 

भूमिगत ब्लगमा आकर्षण 

ब्लगिङ् दुनियाँमा कतिपय यस्ता ब्लगर पनि छन्, जो छद्मभेषी रहन रुचाउँछन्। यस्ता ब्लगहरूमा समसामयिक घटना र सन्दर्भमा  अन्यको तुलनामा निकै कडा टिप्पणीहरू पाइन्छन्। नेपालीकेटी डट नेट नामको छद्म ब्लग चलाउने एक ब्लगर भन्छिन्, "जब आफ्नै नामबाट  केही लेखिन्छ, त्यहाँ आफूले उठान गर्ने विषयसँगै आफू को हो भन्ने पनि जोडिएर आउँछ। तर, परचिय लुकाएर लेख्दा आफ्ना मनले सोचेका  कुरा अभिव्यक्त गर्न पाइन्छ। यस्तो बेला अरूले के सोच्लान् भन्ने डर कत्ति पनि हुँदैन।" सायद त्यसैले पनि उनको ब्लग लेखन चर्चित छ।  चार वर्षअघिदेखि ब्लग लेखन सुरु गरेकी उनका ब्लगपोस्टहरू एक अंग्रेजी दैनिकले नियमितजसो छापिरहेको छ। मिसनेपाल, ब्रायनएडम्सको  काठमाडौँमा आयोजित कन्सर्टजस्ता महत्त्वपूर्ण बेलामा उनले लेखेका ब्लगले बजारमा राम्रै तहल्का पिटेका थिए। उनलाई कहिलेकाहीँ ब्लग  लेखन अरूका लागि भन्दा पनि आफ्नै लागि हो जस्तो लाग्छ रे ! 

सिथिंकअफहरसेल्फ डट वर्डप्रेस डटकम पनि अर्को चर्चित ब्लग हो, जसको परचियमा ब्लगरले लेखेकी छन्, "म दिशाहीन छु, म निष्कर्षहीन छु।  म देख्छु, त्यसलाई सोच्छु र यही ब्लगमा ल्याएर पोख्छु। त्यसैले यहाँ मेरा विचारहरू मात्र छन्।" उनले सुरुमा आफ्नो लेखन अभ्यास गर्ने  थलोका रूपमा यसरी लेख्न थालेकी थिइन्, "ब्लग मेरा लागि त्यस्तो ठाउँ हो, जहाँ मैले मेरा मनमा उठ्ने तर्कवितर्क र विचारलाई शब्दका  माध्यमले यहाँ पोखिरहेकी हुन्छु।" तर, उनी त्यो पाठकको रुचि बुझेर भन्दा पनि आफ्नै लागि लेखेको भन्न रुचाउँछिन्। थप्छिन्, "मेरो ब्लग  कसैले पढ्नु र नपढ्नुले कुनै फरक पार्दैन। तर, कसैले मैले कसरी सोचिरहेकी छु भन्ने जान्न खोज्दैछ भने त्यो मेरा लागि खुसीको कुरा हो।"

यूशाफ्ट डट वर्डप्रेस डटकम मा लेख्ने अर्का भूमिगत ब्लगर एन्डि्रउ अन्डरसफ्ट हाम्रो मूलधारको बहसमा आलोचनात्मक र तथ्यसंगत ढंगबाट  सोच्ने कुराको अभाव देख्छन्।  प्रयाप्त अध्ययन वा विवेचना विना नै कुनै बहसलाई स्थापित गर्न खोज्ने समाजका अर्थहीन र वाहियात कुराह रूले चर्चा बटुलिराखेको तर्क गर्दै उनी भन्छन्, "हामीमा प्रश्न, प्रतिप्रश्न गर्दै अर्थपूर्ण निष्कर्षका लागि जुट्ने संस्कार नै विकसित भएको छैन।  एउटा तह र तप्काका व्यक्तिले भनेका कुरामा सबै पछि लाग्छन्।" मानिसका कुरामा विविधता नभेटिनु उनीहरू बोल्न नसक्नु हो भन्ने ठान्छन्  उनी। र, त्यसतर्फ एउटा जिम्मेवार नागरकिका हैसियतले आफूले फरक र औचित्यपूर्ण विचार ब्लगमार्फत राखेको बताउँछन्। भन्छन्, "म  हाम्रो समाजमा व्याप्त एकतर्फी वा एकैखालेजस्तो विचार मन पराउँदिनँ र पाठकलाई पनि तर्कसंगत कुरा गर्न प्रोत्साहित गर्छु, जुन मेरो  ब्लगिङ्मार्फत धेरै हदसम्म झल्किन्छ पनि। यथार्थको सबैभन्दा बढी नजिक हुने हुँदा पाठकको आकर्षण पनि छद्मभेषी ब्लगतिर दिनप्रतिदिन  बढेको देख्न सकिन्छ।



This appeared in Print in NEPAL magazine, Sep 25, 2011 issue 

1 comment: