Thursday, October 20, 2011

टिभी टाइम

भेषराज कार्की लुम्बिनी अञ्चल आसपासमा एक परिचित नाम हो । पाल्पा र रूपन्देहीका आधा दर्जन बढी एफएम रेडियोहरूमा झन्डै ७ वर्ष बिताएका उनको आवाजसँग स्थानीयहरू राम्रैसँग अभ्यस्त छन् । तर अहिले यी २७ वर्षेको काम एउटै भइकन पनि त्यसको प्रकृति फेरिएको छ । पहिलेजस्तो अब उनको स्वर मात्र स्थानीयको मानसपटलमा छैन, नाम लिनेबित्तिकै उनको अनुहार पनि सम्भिmइन्छ हिजोआज । कारण उनी अहिले टेलिभिजनमा सरेका छन् । बुटवलको बुद्ध टेलिभिजनमा समाचार प्रमुख तथा प्रस्तोता हुन् उनी ।

पहिले पहिले जसरी रेडियोमा काम गर्ने क्रेज स्थानीय तन्नेरीहरूमा थियो, अहिले त्यो बिस्तारै पातलिँदो छ । जसको कारण खोतल्दै जाने हो भने लामै फेहरिस्त तयार हुन्छ । तर छुटाउनै नहुने केही भने यस्ता छन् । अहिले ब्रगेल्ती एफएमहरू खुले, त्यो पनि राजनीतिक दल, जाति/समुदाय जस्ता केही निश्चित समूहका व्यक्तिहरू जुटेर । यसले एफएमको बढ्दो विस्तारसँगै व्यावसायिकता खस्काएको छ । 'त्यसैले पनि एफएममा काम गर्नु पहिलेजस्तो इज्जतिलो मानिँदैन,' भेषराजले भने, 'त्यसैले व्यावसायिक रूपमा विकसित भएका रेडियोका जनशक्ति अहिले टिभीतिर जान थालेका हुन् ।'

बुटवलमा अहिले आफैं कार्यक्रम उत्पादन गरेर चलाउने दुई भूसतही (बिना केबल नेटवर्क टिप्ने) टेलिभिजनहरू छन् जसले स्थानीय महत्त्वका विषयवस्तुमा कार्यक्रम चलाउँछन् । नेपालको पहिलो सामुदायिक टेलिभिजनको रूपमा लुम्बिनी टेलिभिजन गनिने गर्छ । २०६४ यता प्रसारणमा आएको यसले बिहानको ६ बजेदेखि रातको १० बजेसम्म कार्यक्रमहरू चलाउँछ। लुम्बिनी टिभीका प्रमुख कार्यकारी निर्देशक सिद्धिचरण भट्टराईले भने, 'मूलधारका टिभीमा बज्ने धेरैजसो  कार्यक्रमहरू हामी आफैं उत्पादन गर्छौं, तर स्थानीय परिवेशअनुकूल बनाएर ।' उनका अनुसार लुम्बिनी टिभीमा मात्र झन्डै तीन चौथाई जनशक्ति एफएम पृष्ठभूमिबाट आएका छन् । बुद्ध टेलिभिजनमा समेत बाहुल्य एफएमबाट आएकै जनशक्तिको छ । थप्छन्, 'टेलिभिजनका लागि काम गर्न चाहिने प्राविधिक पक्षहरू एफएममा काम गरेकाले धेरै बुझिसकेको हुने हुँदा त्यस्ता जनशक्ति बढी लिइएको हो ।' टेलिभिजनलाई आवश्यक पर्ने गरी प्रशिक्षित गर्न रेडियोमा काम गरेकालाई त्यसैले पनि बढी सहज हुने भट्टराई बताउँछन् । रेडियोमा प्राविधिकको रूपमा काम गरेकाहरूलाई समेत स्थानीय टिभीमा काम गर्ने विकल्प खुलेको छ । 



लुम्बिनी टिभीमै फोनइन कार्यक्रम 'कनेक्सन लुम्बिनी' चलाउने गीता केसी एफएममा काम गरेकै कारण मात्र टिभीमा फिट हुन सक्ने मान्दिनन् । 'कन्टेन्ट र टेक्निकल कुरामा केही सहयोग त हुन्छ नै, तर त्यति मात्रैले पुग्दैन,' २३ वर्षेले आँखा झिमझिम पार्दै भनिन्, 'क्यामेरा फेस गरेर बोल्नु एफएमको कुनै कोठामा बसेर बोल्नुभन्दा धेरै फरक हुन्छ ।' बुटवलको तिनाउ एफएममा झन्डै ३ वर्ष उस्तै प्रकृतिको फोनइन कार्यक्रम चलाएकी उनले त्यसबीचमा धेरै सार्वजनिक एवं स्टेज कार्यक्रमहरू पनि उद्घोषण गर्ने अवसर पाएकी थिइन् । जसले उनलाई मनमनै लागिरहेको थियो, 'अब टिभीतिर जान पाए' भन्ने । बुटवलमा टिभी खुल्यो अनि त उनी मख्ख ।

रेडियोको खस्कँदो विश्वसनीयता र कमजोर धरातलमा बढिरहेका जनशक्तिका कारण पनि त्यताका राम्रा जनशक्तिहरू अहिले टिभीमा सरेको ठान्छन् लुम्बिनी टिभीकै वरिष्ठ संवाददाता प्रदीप आचार्य । २७ वर्षे आचार्यसँग पनि उपत्यका बाहिरको पहिलो सामुदायिक एफएम 'रेडियो लुम्बिनी' मा ७ वर्ष समाचार वाचकको रूपमा काम गरेको अनुभव छ । त्यसबाहेक सामुदायिक रेडियोहरूका लागि समाचार तयार पार्ने एक 'समाचार एजेन्सी' मा समेत उनले एक वर्ष काम गरेका थिए । भन्छन्, 'अहिलेको परिवेशले पनि मानिसहरूको ध्यान सुन्नेभन्दा हेर्नेमा बढेको छ ।' केही वर्ष अघिसम्म गाउँघरमा केही सीमित व्यक्तिका घरमा मात्र टिभी हुन्थे जतिखेर रेडियोको महत्त्व बेग्लै थियो । अहिले अधिकांशका घरमा टिभी छन् । 'र, बिना केबल नेटवर्क एफएम जसरी टेलिभिजनमा स्थानीय सामग्री आउन थालेपछि मानिसहरूको मन पनि स्थानीय टिभीमा सरेको छ,' आचार्यले भने, 'मूलधारका टिभीको बर्चस्व बढिराखेकै अवस्थामा पनि स्थानीय टिभीको महत्त्व र लोकपि्रयता समेत कमको छैन ।'

बुद्ध टेलिभिजनका अर्का प्रस्तोता कृष्ण ढकाल,३०, यसका संस्थापकमध्येका समेत एक हुन् । बुटवलको तिनाउ एफएम र चितवनको त्रिवेणी एफएममा आधा दशक बढी समय बिताएका हुन् ढकाल पनि । उनी स्थानीय टेलिभिजनहरू पनि अहिले ब्रगेल्ती खुलेका एफएमहरू जसरी आगामी दिनमा बढ्ने ठान्छन् । हुन पनि झन्डै १ करोडको लगानीमा अहिले भूसतही टेलिभिजन स्थापना सम्भव छ । भन्छन्, 'तर एफएमहरू जसरी जति पनि टिभी खोल्ने अनुमति दिइयो भने यसले पुनः एफएमतिरझैं व्यावसायिकतामा प्रश्नचिह्न खडा गर्छ ।' त्यसैले उनी स्थानीय टिभीहरूको दिगोपन र प्रभावकारिताका निम्ति त्यसले स्थानीय परिवेशलाई उत्तिकै महत्त्व दिनुपर्ने ठान्छन् । थप्छन्, 'जसले गर्दा मूलधारका टिभी र स्थानीय टिभीहरू आ-आफ्नै तरिकाले सस्टेन हुन सक्छन् ।'

बुद्ध टिभीले लुम्बिनी अञ्चलभित्रका विषयवस्तु र समाचारलाई मात्र समेट्छ । राष्ट्रिय विषयवस्तुको अन्तरसम्बन्ध स्थानीयसँग भए मात्र कहिलेकाहीँ त्यसले स्थान पाउने मात्र हो । त्यसबाहेक गाउँघरका महायज्ञ, सभा/सम्मेलन, विभिन्न संघ-संस्थाका वाषिर्कोत्सवजस्ता सामग्रीहरू खिचेर त्यसलाई नै सम्पादनसहित कार्यक्रम बनाएर पनि प्रसारण गर्छन् । जसबापत टिभीले रकम लिन्छ, उनीहरूको अर्थोपार्जनको राम्रो माध्यम पनि बनेको छ भने एफएमको पृष्ठभूमिमा हुर्केर धेरै स्थानीय जनशक्ति अहिले टेलिभिजनमा रमाउन पाइराखेका छन् ।



This appeared in Hello Shukrabar dated 14th Oct, 2011. Click here for e-paper view

2 comments:

  1. यस्ता थुप्रै सर्जक हरुका आफ्नै किसिमका कथा हरु हुन्छन एउटा रेडयोकर्मी तेलिभिजनकर्मी बन्दा सम्मका सबै बृतान्त वस्तब्मै रोचक रहेछन

    ReplyDelete