Monday, July 9, 2012

मुगुका लागि एडिनबर्गमा म्याराथन

सहर छिरेपछि गाउँ बिर्सन्छन्। विदेश भासिएपछि मुलुकै बिर्सन्छन्। नेपाली युवाप्रतिको आमबुझाइ यस्तै छ। तर, बेलायतमा रहेका केही युवाले मानव विकास सूचकांकमा सबैभन्दा पछाडि रहेको जिल्ला मुगुका लागि अनौठो तरिकाबाट सहयोग जुटाएका छन्। बेलायतको एडिनबर्गमा बर्सेनि आयोजना हुने विश्वप्रतिष्ठित 'एडिनबर्ग म्याराथन'मा सहभागी भएर चार नेपाली युवा प्रदीप मरहट्ठा, नवीन क्षेत्री, विभु पौडेल र राजेन्द्र रेग्मीले मुगुको मुर्मा स्वास्थ्य चौकीका लागि संयुक्त रूपमा ३ हजार ७ सय पाउन्ड अर्थात् झन्डै पाँच लाख रुपियाँ जुटाएका छन्।

बेलायतमा सामाजिक उद्देश्य प्राप्तिका लागि दौडको आयोजना गर्ने चलन पुरानै हो। यस्ता दौडमा जुटेको सहयोगले सहभागीहरूको सार्वजनिक छवि र व्यक्तिगत सम्बन्धको आकारलाई पनि दर्शाउँछ। सहभागी नेपाली युवामध्ये रेग्मी र पौड्याल एडनबर्ग विश्वविद्यालयमा अनुसन्धाता र शिक्षकका रूपमा कार्यरत छन्, क्षेत्री र मरहट्ठा स्वतन्त्र अध्ययनकर्ता। उनीहरू साहित्य र अरू क्षेत्रमा पनि उत्तिकै सक्रिय भएकाले पनि सहयोगको मात्रा उल्लेख्य रहेको हो। यस कामका लागि म्याराथन अवधिभर र पछि गरेर १ सय ६० जनाले सहयोग गरेका थिए।

उक्त म्याराथनमा यसपटक विश्वभरका एक सय मुलुकबाट झन्डै २३ हजार धावक सहभागी थिए। नेपाली युवाको यस अभियानमा बेलायतबाहेक अस्ट्रेलिया र अमेरिकाबाट समेत अनलाइनमार्फत सहयोग जुटेको थियो। चारै जना नेपाली हिमालयन संगठनका तर्फबाट उक्त म्याराथनमा सामेल भएका थिए। उनीहरूले उठेको रकम हेल्प नेपाल नेटवर्कमार्फत मुर्मा स्वास्थ्य चौकीलाई पठाए। मुर्मा स्वास्थ्य चौकी हेल्प नेपालकै पहलमा स्थापना भएको हो। नेपालको दुर्गम जिल्लाका बासिन्दाको स्वास्थ्यका लागि सहयोग जुटाउन पाएकामा ती युवा पनि दंग छन्। सहभागीमध्येका एक विभु पौडेल भन्छन्, "यसरी म्याराथनबाट रकम जुटाएर आफ्ना लागि मात्रै होइन, अरूका लागि पनि बाँचौँ भन्ने सन्देश दिन खोजेका हौँ।" एडिनबर्ग म्याराथनको यो दसौँ संस्करण हो, जसबाट यस्ता विभिन्न सामाजिक उद्देश्यका लागि कुल ४५ लाख पाउन्ड संकलन भएको थियो।

No comments:

Post a Comment