Saturday, April 6, 2013

स्वप्न बंगैचा सान

केही पाइलाकै फरकमा कोलाहलपूर्ण माहोलबाट एउटा ‘स्वर्गसरी’ आनन्ददायी ठाउँ  पुगिन्छ । बाहिरपट्टि सडकमा भुस्याहा कुकुरको सास्ती र ब्रगेल्ती पछ्याउने मगन्तेको तनावबाट फुत्किएर जब तपाई काठमाडौं ठमेल नजिकैको त्रिदेवीमार्गस्थित स्वप्न बगैँचा छिर्नुहुन्छ, केही समय अघिको उदेकलाग्दो दैनिकी विर्सन समय लाग्दैन । अग्ला पर्खालले घेरिएको सुन्दर बगैँचामा मन के कारण रमाउँछ ठ्याक्कै भन्न त गाह्रो छ तर प्रशिद्ध अमेरिकी म्यागेजिन टाइमले मन, शरिर र आत्माका लागि विश्वका उत्कृष्ठ २४ गुपचुक ठाउँको पंक्तिमा स्वप्न बगैँचालाई पनि राखेको छ । २५ मार्चको आफ्नो अंकमा बगैँचाको प्रशंसामा १५९ शब्द खर्चंदै टाइमले आत्माका लागि उत्कृष्ठ भन्दै लेखेको छ, ‘आफ्नो मनले खोजेको ठाउँ रोज्न केहीबेर बगैँचा वरपर चहारेर जब दुबोमा लम्पसार परेर कुनै पुस्तक पढ्न थालिन्छ, शहरको आवाज आकासमा तैरिएझैं लाग्छ ।’

स्वप्न बगैँचामा के छ त्यस्तो जसले बारम्बार स्वदेशी–विदेशी छापाको ध्यान मात्र खिच्दैन, नेपाल आउनेलाई एकपटक छिर्न बाध्य पार्छ । सेलिब्रिटी, उच्च कूटनीतिज्ञदेखि सर्वसाधारणसम्म यहाँ फुत्त छिर्छन् र थाहै नपाई निस्कन्छन् । धेरैजसो आइरहने एक तन्नेरी मनोज भण्डारी भन्छन्, ‘धेरैले यसलाई आफू एक्लिने नीजि ठाउँ होस् भन्ने चहान्छन् । त्यसैले साथीभाईको जमघटजस्ता उद्देश्यका लागि प्रयोग हुनबाट बगैँचा बचेको छ ।’ मनोजले भनेझैं सायद बगैँचाको मौलिकता पनि त्यसभित्रै लुकेको छ ।

थुप्रै मगमगाउँदा मौसमी फूलको छेउ लागेर रुखमा आड लिनुस् वा त्यहाँ रहेका स–साना पोखरीमा तैरने माछालाई नियाल्नुस् । वा, आँखा चिम्म गरेर चराको चिर्बिर आवाज र नेपथ्यबाट आउने गाडिका हर्नसँग तुलना गर्नुस् । इञ्जिनियरिङ विद्यार्थी विकास रेग्मीलाई लाग्दो रहेछ, ‘यहाँको बसाई एक वा अर्को रुपमा ध्यान गरेझैं हुन्छ ।’ यद्यपि यहाँ डेटिङदेखि पारिवारिक जमघट वा विनाकारण टहलिन आउनेको ठूलो सङ्ख्या छ । बगैंचाका कार्यकारी निर्देशक ध्रुवराज रेग्मी भन्छन्, ‘यत्तिको सानो ठाउँमा थुप्रै अनुपम विविधताको संमिश्रण विश्वमै निकै दुर्लभ मानिन्छ ।’

Photo: Garden of Dreams
***
बगैँचा प्राकृतिक र वास्तुकलाको दृष्टिले मात्र अनुपम भएको होइन यसको इतिहास खोतल्दा झण्डै एक शताब्दी पछाडि फर्कर्नुपर्छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरका छोरा केशर शमशेर निकै सौखिन थिए । युरोप भ्रमणमा जाँदा उनी त्यहाँका राजा एड्भर्डको निजी बगैँचा पुग्ने अवसर पाएका रहेछन् । त्यही उनको लागि गुड इम्प्रेसन भइदियो । नेपाल फर्केपछि आफ्ना पितालाई त्यस्तै बगैँचा बनाउन आग्रह त गरे तर केही सुधारवादी मानिएका चन्द्र शमशेरले त्यसो गर्दा जनताले राम्रो नठान्ने सोचेर राजी भएनन् । त्यही सहि, केशर शमशेरको सपना मरिसकेको थिएन । एउटा तिहारमा पितासँग जुवा खेलेर एक लाख रुपियाँ जितेपछि त्यसैलाई स्वप्न बगैँचा निर्माणमा लगाए । यसको भूदृश्य, वास्तुकला र वनस्पतिमा बेलायती प्रभाव देखिन्छ ।


केशर शमशेर स्वयं त्यसको रेखदेख र सुन्दरता बढाउन लागिरहन्थे रे । जानकारहरुका विचारमा थुप्रै सोख, क्षमता र कलाको बहुमुखी प्रतिभा भएका केशर शमशेरको व्यक्तित्वको प्रभाव त्यसबेलाको बगैंचामा झल्किएको थियो । उनको निधनपछि भने बगैँचाको बैराग शुरु हुनथाल्यो । पछि केशर पुस्तकालयसँगै बगैँचा सरकारलाई हस्तानतरण गरियो । केशर शमशेरजसरी चासो र उत्सुकता देखाउने अन्य मानिसको अभावमा यो त्यत्तिकै रह्यो । अहिलेको क्षेत्रफल र स्वरुप स्थापनाकालको भन्दा झण्डै आधामात्र हो । नेपाल भ्रमण बर्ष १९९८ मा  अस्ट्रियन विदेशमन्त्री युक्त स्टेफनको आँखामा यो परेपछि उनकै पहलबाट झण्डै १० लाख अमेरिकी डलर खर्चेर सन् २००० देखि २००७ बिचमा बगैँचाको जिर्णोद्वार गरिएको थियो ।

शुरुमा बगैँचाभित्र ६ ऋतुका नाममा तिनका विशेषता झल्कने सदनहरु भएकामा अहिले ३ वटामात्र अस्तित्वमा छन् । पूर्वपट्टिको बसन्त र पश्चिमपट्टिको बर्षा सदनमा केशर क्याफे छ भने दक्षिणपट्टिको गृष्म सदनलाई प्रवेशद्वार गराइएको छ । सदनहरु मौसम अनुसार सूर्यको विशेषता ग्रहण गर्न सकिनेगरी बनाइएका थिए । बगैंचामा कतै ग्रीक शैलीको नाट्यशाला छ त कतै उच्च स्थानमा गोलो सदन । विभिन्न कुनामा केही ओझेल परेर बस्न मिल्नेगरी स–साना ‘हिडन गार्डेन’ छन् । त्यहाँभित्र एउटा फोटो ग्यालरी पनि छ जहाँ रहेका नयाँ–पुराना तस्विरले संग्राहलको झल्को समेत दिन्छ । भगवान लक्ष्मीको पृथक शैलीको मूर्ति, हात्तीको मूर्ति, धाराहरु र पानीको फोहोराले एउटा क्लासिक युरोपको झल्को दिने खालको छ । यो अझैपनि एसियाकै नमूना बगैंचाको रुपमा चर्चित छ । 
***
नेपाल आउने थुप्रै उच्च ओहदाका व्यक्तिदेखि चर्चित सेलिब्रेटीको यहाँ हुने गुपचुप आवतजावतबारे कहिलेकाहीं गार्डेन प्रशासनले पछि मात्र थाहा पाउँदोरहेछ । भारतिय अभिनेता नसरुद्धिन शाह केही अघि नेपाल आउँदा एउटा कुनामा एक्लै बसेर टोलाइरहेका रहेछन् । त्यहाँका एक कर्मचारी सानु कर्माचार्य भन्छन्, ‘झट्ट देख्दा निकै अचम्म र खुसी लाग्यो ।’

दशैं–तिहारको सेरोफेरोमा यहाँ पिङ राखिन्छ । एउटै बगैंचा भइकन पनि हरेकपटक जाँदा यसले फरक अनुभव गराउँछ । विहान, दिउसो वा साँझपख छिर्नुमै शरीरले फरक अनुभूति गर्छ भने विभिन्न ऋतुपिच्छे जाँदा झन् बेग्लै किन नहोस् । विभिन्न देशका ट्राभल पत्रिकाले बगैँचाबारे उल्लेख गरेका छन् । अस्ट्रेलियाको ‘होम’ टयाब्लोइडले ‘भिजन अफ ब्युटी’ शीर्षकमा बगैंचाको चर्चा गरेको थियो भने प्रशिद्ध अमेरिकी ट्राभल म्यागेजिन ‘कोन्डी नास्ट’ले ‘फर्टाइल इम्याजिनेसन’ भन्दै भ्रमणका लागि सुझाएको थियो ।

स्वप्न बगैंचा साँच्चिकै सबैको सपनाको बगैंचा हो । आफ्नो सपना बाँड्न कमैले चहान्छन् । जसरी धेरैले स्वप्न बगैँचालाई आफ्नो मात्र प्रिय र गोप्य अड्डा होस् भन्ने चहान्छन्, त्यसरी नै यसको प्रशंसा उनीहरुले अरुसँग भन्दा बढि आफैसँग गर्छन् । टाइमले भनेझैं, किनकि ‘स्वप्न बगैँचा’ आत्मा शुद्धिको लागि हो ।

No comments:

Post a Comment