Thursday, January 9, 2014

RAPPER LAURE TO DEBUT ON BIG SCREEN THIS YEAR

आशिष राना, २३, का हजुरबुवासम्म ब्रिट्रिस आर्मीमा थिए । बुवाका पालादेखि लाहुर जाने क्रम रोकियो । तर लाग्छ, परिवारको लाहुरे साख ‘गीतको युद्ध’ गर्ने छोरा पुस्तामा आएर झनै बलियो भएको छ । एकथरी तन्नेरी पुस्ता ‘लाहुरे’ शब्द सुन्नासाथ आशिषलाई सम्झन्छन्, जुन उनको ‘स्टेज नेम’ हो । लाहुरे, अर्थात् नेपाली र्‍याप ब्याटलको हिरो ।

नेपाली इन्टरनेट दुनियाँमा लाहुरे जसरी निकै कम मानिस रातारात सेलिब्रिटी बनेका छन् । नेपाली ब्याटल लिग ‘रबार्ज’मा शुरुमा उनी इजी टुभ्वेल्भसँग ब्याटल गरेका थिए । र, पछि युनिक पोयटसँग गरेसँगै त उनी रातारात ‘भाइरल’ भए । जसको भिडियोले हप्ता दिनमै एक लाख कट्यो, दोस्रो हप्तामै चार । अहिलेसम्म झण्डै दश लाख असी हजार बढिले उक्त ब्याटल हेरेका छन् । जसले पोखरेली साथीभाईको सानो सर्कलमा सीमित उनका फ्यान देशभित्र मात्र नभई युरोप, अमेरिकासम्म फैलिएको छ । फेसबुकमा एकैदिन हजारभन्दा बढि फ्रेन्ड रिक्वेस्ट आउन थालेपछि शुरुमा एकैछिन त आत्तिएछन् उनी । भन्छन्, “अनि फेसबुकलाई एकाउन्टबाट पेजमा नलगी भएन ।” अहिले उनको अफिसियल फेसबुक पेजमा झण्डै ८५ हजार फ्यान छन् । कुनै फ्यानले खोलिदिएको अनअफिसियल फ्यान पेजमा भने त्यो भन्दा बढि झन्डै ९० हजार ।  

नयाँबजार, पोखरास्थित आफ्नै घरमा भेटिंदा लाहुरे यही जनवरी अन्त्यमा कोरियाको राजधानी सोलमा हुन लागेको एक कन्सर्टको तयारीमा थिए । लगत्तै फेब्रअरीको पहिलो साता उनी हङ्कङ र जुनमा लण्डन पुग्दैछन् । भन्छन्, “अचानक भएको यो स्टारडमले खुसी त बनाएको छ नै तर एक्कासी भइदिंदा अलि असहज पनि लाग्दो रहेछ ।” 
***

रबार्जमा आउनुअघि उनले ६ वटा र्‍याप गीत रेकर्ड गराएर युट्युबमा राखेका थिए । “त्यसबेला कसले सुनोस, मुस्किलले हजारजति मानिसले हेर्थे ती,” हेलो शुक्रबारलाई उनले भने, “ब्याटलमा मानिसहरुले रुचाएपछि पहिलेका भिडियोहरु पनि खोजिखोजी हेर्न थालेछन् ।” अहिले उनका सबैजसो र्‍याप हेर्नेहरु हजारबाट लाखमा आइपुगेका छन् । धेरैले उनलाई ती र्‍यापको एल्बम निकाल्न सुझाइरहेका पनि छन् । तर ती सबै इन्टरनेटमा पाइने विदेशी र्‍यापरले बनाएर छाडेका ‘बिट’ प्रयोग गरेर बनाइएका ‘मिक्स टेप’ हुन् । जसलाई गाएर युट्युबमा अपलोड गर्न त मिल्छ तर एल्बम निकाल्न भने पाइंदैन । त्यसो हुनुमा नेपालमा र्‍याप गाउनका लागि राम्रो ‘बिट’ बनाउनेहरु नहुनु पनि हो । तर सबैभन्दा मुख्य कुरा लाहुरेलाई युट्युबकै संसारसँग दोस्ती बसेको छ । भन्छन्, “संगीतमा विकल्पहरु धेरै छन् जसका कारण मानिसहरु धेरै दु:ख नगरी सुन्न चहान्छन् ।”

लाहुरेका विचारमा पछिल्लो समयमा मानिसहरु गीतबाट सन्देस चाहिरहेका छैनन्, उनीहरु आनन्द खोज्छन् । “र्‍याप ब्याटलमा त्यही फन छ,” उनले सुनाए, “तर र्‍यापलाई बुझ्न नसक्दा यसलाई नकारात्मक सोच्नेहरु पनि छन् ।”

रबार्जका पहिलो सिजनमा असभ्य र व्यक्तिकेन्द्रित शब्द एवं शैलीहरु बढि प्रयोग भएपछि दोस्रो सिजनयता तिनलाई बन्देझ लगाउने नियमहरु पनि बनाइयो । बरु दोहोरो अर्थ लाग्ने शब्दहरु प्रयोग गर्न उत्साहित गर्न थालियो । झट्ट सुन्दा यो राम्रै लागेता पनि ब्याटलको मर्म त्यसरी नआउने उनी ठान्छन् । “ब्याटल आक्रोस, अपमानमै बढि खुल्छ । पश्चिमा ब्याटलमा त कतिसम्म हुन्छ भने आफन्त र प्रियजन निधनका कुरा समेत जोडेर ब्याटल गर्छन्,” उनको भनाई छ, “मात्र मानिसहरु त्यही नै र्‍याप हो भनेर बुझ्नपर्छ ।” र्‍याप के हो भन्ने नबुझी मानिसहरु आए भने त त्यो रमाइलो नभई झैझगडामा परिणत हुन बेर लाग्दैन । ब्याटलमा हाँस्नु वा मुस्काउनु भनेको आफ्नै लागि खतरनाक हो । “त्यसो गरे त प्रतिद्वन्द्वीको हौसला बढिहाल्छ र दर्शक प्रतिद्वन्द्वीलाई साथ दिंदै हुटिङ गर्न थाल्छन् ।” त्यस्तो बेला अलिकती पनि संयम गुमाइयो वा दबावमा परियो भने त ब्याटलभर कमजोर भइन्छ । 

***

लाहुरेको युनिक पोयटसँगको ब्याटल धेरैले रुचाउनुमा दुवै प्रतिभाशाली र्‍यापर हुनु हो । लाहुरेले राज बताए, “जति बलियो प्रतिद्वन्द्वी हुन्छन् उत्तिकै नयाँ शैली तथा शब्दहरु एक्सप्लोर गरिन्छ ।”

लाहुरे त्यही भएर शब्दमा मात्र खेल्दैनन्, उनको शारीरिक हलचल र अनुहारको हाउभावमा समेत उत्तिकै मिहिनेत गर्छन् । शब्दलाई उच्चारणमा खेलाउने उनको अर्को शैलीले समेत धेरैलाई तानेको छ । निजी जीवन भने लाहुरेको भिडियोमा देखिनेभन्दा उल्टो सरल छ । भन्छन्, “रिसाउन नसक्नु सायद मेरो कमजोरी हो ।” तर ब्याटलका धेरै फ्यानलाई उनको त्यही रिसाउने स्वभावले तानेको छ । धेरैले फेसबुकमा पठाउने मेसेजमा त्यही रिसाउने शैलीबारे जिज्ञासा राख्छन् । कतिले त ‘ग्याङ्स्टर’ हो भन्दै पनि लख काट्दा रहेछन् । तर आफ्नो स्वभावको ठ्याक्कै विपरित परिचय बनाउनका लागि लाहुरेले दर्जनौं पटक ऐना अगाडि बसेर रिसाउने अभ्यास गरेका थिए । हुन त उनलाई व्यक्तिगत रुपमा भेट्ने जोकोहीले उनको उक्त स्वभाव छुट्याउन धेरै दु:ख गर्नु पर्दैन । “म बरु बढि भावनामा बहकिन्छु,” कफिको चुस्कीपछिको लामो मौनता तोड्दै उनले आफ्नो निजी जीवनबारे भने, “मेरा र्‍याप गीतहरु हेर्नुन् आफै चिनिहाल्नुहुन्छ ।”

उनले डेढ महिनाअघि मात्र युट्युबमै सार्वजनिक गरेको ‘मेरो सोल्टा’ गीतमा साथी युद्धमा मरेपछि एक्लै घर फर्कंदाको कथा छ । कतै उनले ‘सबै हो लाहुरे’ भन्दै आम नेपालीलाई लाहुरेको बिम्बमा देखाएका हुन्छन् त कतै ‘तितो सत्य’ भन्दै देशको राजनीतिमाथि व्यङ्ग्य गर्छन् । भन्छन्, “र्‍याप पनि स्टोरी टेलिङ् नै हो । बरु यसमा समाजका घटनालाई धेरै रंगीचंगी नबनाई सिधै प्रस्तुत गरिन्छ ।”

लाहुरेका प्रतिद्वन्द्वीहरु समेत उनको फ्यान छन् । युनिक पोयटले उनीबारे भन्छन्, “आक्रमक शैली र शारीरिक प्रस्तुतिले भिड पूरै प्रति वहाँप्रति आकर्षित् हुन्छ ।” युनिक पोयटलाई लाहुरेको सबैभन्दा आकर्षित गर्ने पक्ष चाहीं ‘ओरिजिनल स्टाइल’मा प्रस्तुति दिनसक्नु पनि हो । अंग्रेजीमा ब्याटल गर्नेहरु हावी भइरहेको बेला नेपाली स्टाइलमै ब्याटल गरेर पनि लोकप्रियताको शिखरमा रहनु सायद त्यसै ‘ओरिजिनालिटी’कै प्रभाव हो । लाहुरेलाई सबैभन्दा आनन्द लाग्ने कमेन्ट भनेको मेटल संगीतकर्मीले समेत उनको गीत र शैलीको प्रसंसा गर्नु हो । सामान्यत: मेटल हेड र हिपहपकर्मीहरु एक अर्कालाई सैद्धान्तिक रुपमै रुचाउँदैनन् ।

बिबिए सकेर मास्टर्सका लागि विदेशीले सोचेका उनलाई यही स्टारडमले रोकेको छ । लाहुरेको बहुमुखी शैलीले फ्यान फलोइङ यसरी बढिरहेको छ कि लाहुरे अहिले एक फिल्ममा काम गरिरहेका छन् जुन् २०१४ भित्रै रिलिज हुँदैछ । उनी अभिनय जगत्का अनुप बरालजस्ता हस्तीसँग अभिनय समेत सिकिरहेका छन् । अभिनयले यी ब्याटलबाज लाहुरेको फ्यान फलोइङ् अझ झन् कसरी बढाउँला ? फिल्म जत्तिकै सायद त्यो पनि हेर्न रोचक हुनेछ ।

No comments:

Post a Comment